प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ४/८ पृ. २३-२५
  • के तपाईं गोहीलाई हेरेर हाँस्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं गोहीलाई हेरेर हाँस्न सक्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “नुनिलो पानीमा पाइने” ढड्डु
  • समर्पित आमाहरू
  • मगर गोही र लामो नाक भएको घडियाल
  • इकोसिस्टममा तिनीहरूको भूमिका
  • बाँच्नको लागि सङ्‌घर्ष—गोहीको आँसु होइन
  • हाँस्न नबिर्सनुहोस्‌!
  • गोहीलाई नियालेर हेर्दा
    ब्यूँझनुहोस्‌!—१९९५
  • गोहीको बङ्‌गारा
    ब्यूँझनुहोस्‌!—२०१५
  • जंगलमा बच्चा हुर्काउने
    ब्यूँझनुहोस्‌!—२००१
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ४/८ पृ. २३-२५

के तपाईं गोहीलाई हेरेर हाँस्न सक्नुहुन्छ?

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

के तपाईं गोहीलाई हेरेर हाँस्ने कल्पना गर्न सक्नुहुन्छ? पिटर पान भनिने बालकथाहरूको साङ्‌गीतिक संस्करणमा क्याप्टेन हुक भन्‍ने पात्रले “गोहीलाई हेरेर कहिल्यै नहाँस्नू” भन्‍ने सल्लाह दिनुको कारण बताउँछन्‌। तिनले बताएअनुसार “तिमी मेरो मुखभित्र कति मजाले अटाउँछौ” भनेर गोहीले सोचिरहेको हुन्छ!

हुन त हो, संसारमा भएका विभिन्‍न किसिमका गोहीमध्ये मानिसलाई आक्रमण गर्ने किसिमका गोही पनि छन्‌ तर “यस्तो घटना एकदम कम मात्र हुने हुँदा . . . गोहीलाई सामान्यतया नरभक्षी भन्‍न मिल्दैन।” (इन्साइक्लोपीडिया ब्रिटानिका) कोही-कोही मानिसहरूलाई यी प्राणीहरू घिनलाग्दो र भयावह लाग्छ भने कतिपयलाई रोमाञ्चकारी लाग्छ। आउनुहोस्‌, भारतमा पाइने तीन किसिमका गोहीलाई हेरौं—नुनिलो पानीमा पाइने गोही (क्रोकोडाइलस पोरोसस), मगर गोही (क्रोकोडाइलस पालुस्ट्रिस) अनि घडियाल (गाभियालिस गाङ्‌गेटिकस्‌)।

“नुनिलो पानीमा पाइने” ढड्डु

नुनिलो पानी वा नदीको मुहानमा पाइने गोहीहरू संसारमा पाइने सबैभन्दा बडेमाका घस्रने जन्तु हुन्‌, यसको लम्बाइ ७ मिटर वा त्योभन्दा लामो अनि वजन पनि १,००० किलोग्रामसम्म अर्थात्‌ एक टन हुन सक्छ। नुनिलो पानीमा मात्रै पाइने यी प्राणीहरू भारतदेखि उत्तरी अस्ट्रेलियाको समुद्रीतटसम्म, नदीको मुहान र समुद्र छेउको नुनिलो पानीमा हुने जडीबुटीको रूखका दलदलहरूमा पाइन्छन्‌। यिनीहरू मांसहारी हुन्‌ र मुसा, भ्यागुता, माछा, सर्प, गंगटो, कछुवा र मृग थोरै मात्रामा मात्र खाने गर्छन्‌। बडेमाको भालेले पनि प्रतिदिन औसतमा ५०० ग्रामदेखि ७०० ग्राम मात्र खाने गर्छन्‌। घाम तापेर बस्ने वा पानीमा तैरिरहने आरामदायी जीवन शैली र शक्‍ति खेर नफाल्ने प्रभावकारी पाचन प्रणालीले गर्दा तिनीहरूको शक्‍तिको खपत कम मात्र हुने गर्छ। “नुनिलो पानीमा पाइने” यी ढड्डुहरूले होस नपुऱ्‍याउने मानिसलाई कहिलेकाहीं आक्रमण गर्न सक्छन्‌। यी ढड्डु गोहीहरू नाकको प्वाल र आँखाबाहेक सम्पूर्ण शरीर पानीमा डुबाएर आफ्नो पुच्छर एक छेउदेखि अर्को छेउसम्म हल्लाउँदै पौडी खेल्छन्‌ अनि आफ्ना छोटा खुट्टाले हिंड्‌छन्‌। तिनीहरू आफ्नो आहारा समात्न उफ्रन सक्छन्‌ अनि सिकार भेट्टाउन कहिलेकाहीं बेस्सरी कुद्‌ने गरेको पनि पाइएको छ। अरू गोहीहरूजस्तै यिनीहरूको पनि सुँघ्ने, हेर्ने र सुन्‍ने इन्द्रियको क्षमता तीक्ष्ण हुन्छ। बच्चा जन्माउनको लागि पोथीसित बसेको बेलामा यसले आफ्नो इलाकामा कसैलाई पस्न दिंदैन अनि पोथीले पनि अण्डाहरूको जगेर्ना गर्न कुनै कसर बाँकी राख्दैन।

समर्पित आमाहरू

पोथी गोहीले पानीको छेउमा आफ्नो घर बनाउँछे र यो अक्सर कुहिएको वनस्पति र माटोले बनेको ढिस्को हुन्छ। त्यसले अण्डाकार, कडा खोल भएको १०० वटा जति अण्डा पार्छे, त्यसलाई छोप्छे अनि आक्रमणकारीहरूबाट जोगाउँछे। अनि आफ्नो घर बनाएको ढिस्कोलाई चाँडचाँडो कुहाउनको लागि त्यसमा पानी छ्याप्छे जसले उत्पन्‍न गर्ने तापले गर्दा अण्डा कोरल्न छिटो हुन्छ।

अब एउटा एकदमै अचम्मको कुरा हुन्छ। प्रत्येक अण्डा जुन तापक्रममा कोरलिन्छ, त्यसले नै बच्चा भाले हुने हो वा पोथी, त्यो छुट्याउँछ। कल्पना गर्नुहोस्‌ त! यसरी २८ डिग्री सेल्सियस र ३१ डिग्री सेल्सियस तापक्रमबीच कोरलिने अण्डाहरूबाट लगभग १०० दिनमा पोथी गोही निस्कन्छ भने ३२.५ डिग्री तापक्रममा कोरलिने अण्डाहरूबाट ६४ दिनमा भाले निस्कन्छ। अनि ३२.५ डिग्री सेल्सियस र ३३ डिग्री सेल्सियसबीचको तापक्रममा कोरलिने अण्डाहरू भने भाले वा पोथी जे पनि हुन सक्छ। गोही बस्ने ठाउँको एउटा छेउ पानीको मुहानतिर अनि अर्को पारिलो घामतिर फर्केको छ भने न्यानो ठाउँबाट भाले र चिसो ठाउँबाट पोथी निस्कन सक्छ।

आमाले चिरचिर आवाज सुनेपछि झारपातहरू हटाउँछे अनि बच्चाहरूले आफ्नो विशेष प्रकारको तीखो दाँतले अण्डा फुटाएर बाहिर निस्किसकेका छैनन्‌ भने आमाले नै अण्डा फुटाइदिन्छे। आफ्नो ठूलो बङ्‌गाराले बच्चालाई बिस्तारै उठाउँछे अनि आफ्नो जिब्रोमुनिको थैलामा बोकेर पानीको छेउसम्म पुऱ्‍याउँछे। तिनीहरू जन्मने बित्तिकै आफ्नो हेरचाह आफै गर्न सक्छन्‌ अनि कीरा, भ्यागुता र साना माछाहरू तुरुन्तै खोज्न थाल्छन्‌। तथापि, आफ्नो बच्चाको अत्यन्तै सुरक्षा गर्ने आमाहरू भने महिनौंसम्म बच्चाहरूसँगै बस्छन्‌, दलदलमा बच्चाहरूको स्याहार गर्ने ठाउँ बनाउँछन्‌ र त्यहाँ बुबा गोहीले पनि बच्चालाई पालो बस्ने र सुरक्षा दिने काममा सघाउन सक्छन्‌।

मगर गोही र लामो नाक भएको घडियाल

मगर गोही र घडियाल केवल भारतीय उपद्वीपमा मात्रै पाइन्छ। लगभग चार मिटर लामो अनि भारतका नुनिलो पानी नहुने दलदल, ताल र नदीहरूमा पाइने मगर गोही, नुनिलो पानीमा पाइने गोहीभन्दा निकै सानो हुन्छ। आफ्ना बलिया बङ्‌गाराहरू चलाएर यसले साना जनावरहरू समात्छ, पानीमा डुबाउँछ अनि त्यसलाई लछारपछार गरेर मासुका चोक्टाहरू निकाल्छ।

मगर गोहीहरू सन्तान जन्माउनको लागि पोथीसित कसरी भेट्‌छन्‌? पोथी खोज्ने क्रममा भालेले पानीमा आफ्नो बङ्‌गारा बजार्छ अनि गर्जन्छ। पछि भाले पोथीसितै मिलेर अण्डालाई सुरक्षित राख्ने काम गर्छ, बच्चाहरूलाई अण्डाबाट निस्कन मदत गर्छ अनि केही समयको लागि तिनीहरूसितै बस्छ।

एकदमै कम मात्र पाइने घडियाल एकदमै फरक हुनुका थुप्रै कारणहरू छन्‌ र यसलाई वास्तवमा गोही वर्गमा राख्न मिल्दैन। यसको अति लामो, साँघुरो बङ्‌गाराले गर्दा सजिलै चिन्‍न सकिन्छ अनि यसको प्रमुख आहारा माछा पक्रनको लागि यस्तो प्रकारको थुतुना उपयुक्‍त हुन्छ। घडियालको लम्बाइ, नुनिलो पानीमा पाइने गोहीको जत्रै हुने भए तापनि यसले मान्छेलाई आक्रमण गरेको सुनिएको छैन। यसको चिल्लो, सुलुत्त परेको जीउले गर्दा उत्तरी भारतका गहिरो अनि छिटछिटो बग्ने नदीहरूमा पनि यो तेज गतिले हुइँकिन सक्छ। भाले घडियालको प्रजनन कालमा यसको थुतुनोको टुप्पामा एउटा डल्लो निस्कन्छ। यसले गर्दा सामान्यतया सुनिने सुसाएको आवाज अझ ठूलो हुन्छ र यसले पोथीहरूलाई आकर्षित गर्छ।

इकोसिस्टममा तिनीहरूको भूमिका

हाम्रो वातावरणको लागि गोहीहरू कत्तिको महत्त्वपूर्ण छन्‌? तिनीहरू फोहोर हटाउने प्राणीहरू हुन्‌ जसले नदी, ताल अनि वरपरको इलाकाबाट मरेको माछा तथा सिनुहरू हटाउँछन्‌। यिनीहरूले पानीलाई सफा राख्न मदत गर्छन्‌। सिकारीहरू भएको हुँदा यिनीहरूले कमजोर, घाइते अनि बिरामी जनावरहरूलाई ताक्छन्‌। यिनीहरूले हानिकारक क्याटफिस जस्ता माछाहरू खान्छन्‌ किनभने यी क्याटफिसहरूले मानव भोजनको प्रमुख स्रोत कार्प र टिलापियाजस्ता माछाहरू खाने गर्छन्‌।

बाँच्नको लागि सङ्‌घर्ष—गोहीको आँसु होइन

उसले त गोहीको आँसु बगाइरहेको थियो भनेको के तपाईंले सुन्‍नुभएको छ? यसको मतलब, त्यो आँसु र दुःख साँच्चैको नभई देखावटी हो। वास्तवमा, गोहीको आँसुले यसको शरीरबाट अनावश्‍यक नुन निष्कासन गर्छ। सन्‌ १९७० दशकको सुरुतिर भने गोहीको लागि साँच्चै आँसु बगाउन सकिन्थ्यो। भारतमा केही हजार गोहीहरू मात्र बाँकी थिए, पहिलेको संख्याको १० प्रतिशत मात्र। किन? मानिसहरूले तिनीहरूको आवासमा अतिक्रमण गर्न थालेपछि गोही मार्न थालियो किनभने तिनीहरू ससाना र कमजोर घरपालुवा जनावरहरूको लागि खतरा ठानिन्थ्यो। धेरै मानिसहरूले गोहीको मासु र अण्डा मीठो हुँदो रहेछ भनी थाह पाए। गोहीहरूको कस्तूरी ग्रन्थीबाट अत्तर बनाइन्थ्यो। यसबाहेक, बाँध निर्माण र पानीको प्रदूषणले गर्दा गोहीको संख्यामा कमी आयो। तर तिनीहरू लगभग लोप हुने अवस्थामा पुग्नुको कारण चाहिं तिनीहरूको छालाको बढ्‌दो मागले गर्दा थियो। गोहीको छालाबाट बनाइएका जुत्ता, हान्डब्याग, पेटी र अन्य सामानहरू राम्रा, टिकाउ अनि आकर्षक हुन्छन्‌। यस्ता खतराहरू यथावत्‌ नै छन्‌ तर संरक्षण उपायहरू अत्यन्तै सफल साबित भएका छन्‌!—तल दिइएको पेटी हेर्नुहोस्‌।

हाँस्न नबिर्सनुहोस्‌!

गोही परिवारका केही सदस्यहरूबारे तपाईंलाई धेरै कुरा थाह भएको हुँदा अब तपाईंलाई कस्तो लाग्छ? आशा छ, ती जीवहरूप्रतिको नकारात्मक सोचाइ अब चासोमा परिणत भएको छ। संसारभरिका पशुप्रेमीहरू नुनिलो पानीमा पाइने यी बडेमाका जन्तुहरूसित पनि डराउनु नपर्ने समयको प्रतीक्षामा छन्‌। घस्रने जीवहरूका सृष्टिकर्ताले पृथ्वीलाई नयाँ बनाउनुहुँदा गोहीहरूलाई हेरेर हामी हाँस्न सक्नेछौं।—यशैया ११:८, ९. (g05 3/8)

[पृष्ठ २५-मा भएको पेटी/चित्र]

मद्रासको गोही बैंक

एसियाका कुनै-कुनै भागमा प्राकृतिक अवस्थामा एकदम थोरै मात्र गोहीहरू बाँकी छन्‌ भनी एउटा सर्वेक्षणले देखाएपछि सन्‌ १९७२ मा मद्रास सर्प पार्कले गोहीको संरक्षण कार्य सुरु गऱ्‍यो। मद्रासको गोही बैंक भारतमा भएका ३० वटा सरीसृप केन्द्रमध्ये सबैभन्दा पुरानो र ठूलो हो। घस्रने तथा जलस्थल दुवैमा बस्ने प्राणीहरूबारे अध्ययन गर्ने विशेषज्ञ, रोमुलस ह्वीटेकरले यो केन्द्र सन्‌ १९७६ मा स्थापना गरेका थिए। कोरोमन्डेल समुद्रीतटको साढे आठ हेक्टर जमिनमा फैलिएको यस केन्द्रमा १५० जातका रूखहरू छन्‌ जसले थरिथरिका सुन्दर चरा तथा कीराहरूलाई आकर्षित गर्छ।

गोही र घडियालहरू आरक्षमा नै सन्तानोत्पादन गरेर हुर्काइन्छ अनि त्यसपछि दलदल वा नदीमा छोडिन्छ अथवा अर्कै आरक्ष र अनुसन्धान केन्द्रहरूमा पठाइन्छ। यो बैंकमा गोहीका बच्चाहरूको लागि पनि ठाउँ छ र यहाँ एक चोटिमा २,५०० वटा सम्म पोखरीमा राखिन्छ अनि स्थानीय मछुवाले टुक्रा पारेर ल्याउने माछा दिनहुँ खुवाइन्छ। तिनीहरूको खोरमाथि राखिएको जालीले सिकारी चराहरूलाई माछा वा गोहीका कमजोर बच्चाहरू चोर्नदेखि रोक्छ। यी बच्चाहरू हुर्केपछि ठूलो पोखरीमा सारिन्छ र तिनीहरू तीन वर्षजति अनि १.२५ देखि १.५ मिटर लम्बाइको नहोउन्जेल सिङ्‌गो माछा खुवाइन्छ। त्यसपछि तिनीहरूलाई एउटा ठूलो मासु प्रशोधन केन्द्रबाट ल्याइने बीफ खुवाइन्छ। सुरु-सुरुतिर यो बैंकमा भारतमा पाइने तीन जातको गोहीको मात्र सन्तानोत्पादन गरिन्थ्यो भने अहिले यहाँ थप ७ किसिमका छन्‌ र भविष्यमा भने संसारमा पाइने सबै जातको गोही राख्ने योजना छ। गोहीको छाला र मासु बेच्ने आर्थिक प्रयोजनको लागि गोहीको सन्तानोत्पादन गर्ने विषयमा छलफल भइरहेको छ। ह्वीटेकरले ब्यूँझनुहोस्‌!-लाई बताएअनुसार यिनीहरूको मासु स्वादिलो र यसमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। संरक्षणको लागि गरिएको सफल प्रयासले गर्दा लोप हुनै लागेका यी विशाल प्राणीहरू अहिले प्रशस्तै भएका छन्‌। मद्रासको गोही बैंक, पर्यटकहरूको लागि आकर्षण केन्द्र हो अनि यसले गोहीबारे जनसाधारणको गलत धारणा हटाउनुका साथै तिनीहरूको लोकप्रियता बढाउन खोजेको छ।

[स्रोत]

Romulus Whitaker, Madras Crocodile Bank

[पृष्ठ २३-मा भएको चित्र]

“नुनिलो पानीमा पाइने” ढड्डु

[पृष्ठ २४-मा भएको चित्र]

नुनिलो पानीमा पाइने पोथी गोहीले आफ्ना बच्चाहरूलाई बङ्‌गाराले समात्छे

[स्रोत]

© Adam Britton, http://crocodilian.com

[पृष्ठ २४-मा भएको चित्र]

मगर गोही

[स्रोत]

© E. Hanumantha Rao/Photo Researchers, Inc.

[पृष्ठ २४-मा भएको चित्र]

लामो नाक भएको घडियाल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने