युवाजनहरू सोध्छन् . . .
शारीरिक श्रम किन गर्ने?
“शारीरिक श्रम गरेको सोच्दा मात्र पनि मलाई अत्यास लागेर आउँथ्यो। मलाई कम्प्युटर चलाउनै मज्जा लाग्थ्यो।”—नेथन।
“केही ठीटाठिटीहरू हामी जस्ता शारीरिक श्रम गर्नेहरूलाई तुच्छ ठान्थे र हामीलाई त ग्वाँजे नै ठान्थे।”—सारा।
शारीरिक श्रम भन्ने बित्तिकै धेरैले झ्याउलाग्दो, फोहोरी र मन नलाग्ने कामको रूपमा हेर्छन्। मेहनत मजदुरी कामबारे अर्थशास्त्रका एक प्राध्यापक यसो भन्छन्, “मान-इज्जतप्रति अचाक्ली सचेत आजको विश्वमा यस्तो कामलाई इज्जतदार पेसा ठानिंदैन।” अतः शारीरिक श्रम भन्ने बित्तिकै धेरै युवाहरूले नाक खुम्च्याउनु कुनै छक्कलाग्दो कुरा होइन।
तर बाइबलले कडा शारीरिक श्रमबारे पूर्णतः बेग्लै दृष्टिकोण राख्छ। राजा सुलेमानले यसो भने: “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा गर्नुभन्दा अरू बढी केही छैन।” (उपदेशक २:२४) बाइबलको समयमा इस्राएलीहरूको मुख्य पेसा कृषि थियो। हलो जोत्नु, कटनी गर्नु र बाली चुट्नु जस्ता कामको लागि चानचुने शारीरिक श्रम गरेर पुग्दैनथ्यो। तर कडा मेहनतले प्रचुर आशिष् ल्याउँछ भनी सुलेमानले भने।
शताब्दीयौं पछि प्रेरित पावलले यसो भने: “चोर्नेले फेरि नचोरोस्, बरु त्यसले परिश्रम गरोस्, र जे असल छ, सो आफ्नै हातले” गरोस्। (एफिसी ४:२७-२८) पावल शारीरिक श्रमबारे अनभिज्ञ थिएनन्। धेरै पढेलेखेको भए तापनि जीविका धान्न उनी कहिलेकाहीं पाल सिउने काम गर्थे।—प्रेरित १८:१-३.
हात-पाउ चलाएर गर्नुपर्ने कामबारे तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ? चाहे तपाईं मान्नुस् या नमान्नुस्, शारीरिक श्रमले तपाईंलाई थुप्रै तरिकाहरूमा लाभ पुऱ्याउन सक्छ।
जीवनको लागि तालिम
चाहे हतौडो चलाउने होस् वा घाँस काट्ने—शारीरिक श्रममा मन लगाउनुहोस्। यसले तपाईंको सुस्वास्थ्यमा योगदान पुऱ्याउन सक्छ। यसले तपाईंलाई शारीरिक रूपमा छरितो र जाँगरिलो राख्नुका साथै अन्य धेरै फाइदा गर्छ। के तपाईंलाई साइकलको पन्चर टाल्न आउँछ? के तपाईंलाई बिग्रेको झ्याल मर्मत गर्न वा जाम भएको निकास खोल्न आउँछ? के तपाईंलाई खाना पकाउन आउँछ? के तपाईं आफ्नो बाथरूम टिलिक्क र किटाणुमुक्त राख्न सक्नुहुन्छ? यस्ता सीपहरू केटा र केटी दुवैले जान्नुपर्छ जसले कुनै दिन तपाईंलाई सफलतापूर्वक आफ्नै खुट्टामा उभिन मदत गर्छ।
रोचक कुरा, येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा उहाँ स्वयम् शारीरिक श्रम आवश्यक पर्ने केही सीपहरूमा निपुण हुनुहुन्थ्यो। हो, आफ्नो धर्मपिता यूसुफबाट उहाँले सिकर्मी पेसा सिक्नुभयो किनकि उहाँलाई सिकर्मी भनेर बोलाइयो। (मत्ती १३:५५; मर्कूस ६:३) आफ्नो हात-पाउ चलाएर तपाईं विभिन्न उपयोगी सीपहरू सिक्न सक्नुहुन्छ।
चरित्र निर्माण गर्ने
कडा श्रमले आफूप्रति तपाईंले राख्ने सोचाइलाई असर गर्न सक्छ। यू.एस. नेसनल मेन्टल हेल्थ एण्ड एजुकेशन सेन्टरको लागि लेख्दै डा. फ्रेड प्रोभेनजानो भन्छन्, शारीरिक काम सिक्नुभयो भने यसले तपाईंमा “आत्मनिर्भरता र आत्मविश्वास” बढाउँछ अनि “आत्म-अनुशासन र सुव्यवस्थित हुने गुण पनि विकास गर्न सक्छ र यी गुणहरू राम्रो जागिर पाउन नभई नहुने कुरा हो।” जोन नाउँका एक युवक भन्छन्: “शरीरिक श्रमले धीरज गुण सिक्न मदत गर्छ। तपाईं समस्यासित जुध्न सिक्नुहुन्छ।”
माथि उल्लिखित सारा यसो भन्छिन्: “शारीरिक श्रमले मलाई मेहनती र उद्यमी हुन सिकायो। मानसिक र शारीरिक तवरमा आफूलाई अनुशासनमा राख्न मैले सिकें।” के कडा श्रम झ्याउलाग्दो हुनैपर्छ? नेथन भन्छन्: “मैले दस नङ्ग्रा खियाएर गर्ने कामबाट आनन्द उठाउन सिकें। आफ्नो दक्षता तिर्खादै जाँदा कामको गुणस्तर बढेको मैले महसुस गरें। यसले मेरो आत्म-सम्मान बढायो।”
शारीरिक श्रमले सन्तुष्टिको अनुभूति गर्न पनि सिकाउन सक्छ। जेम्स यसो भन्छन्: “सिकर्मी कामबाट म आनन्द उठाउँछु। कहिलेकाहीं शारीरिक रूपमा थकित भए तापनि आफूले बनाएका कुराहरूलाई सधैं फर्केर हेर्न सक्छु र यसले सन्तुष्टि दिन्छ। साँच्चै गहिरो सन्तुष्टि दिन्छ।” ब्राएनका भावनाहरू पनि यस्तै छन्: “म गाडी मर्मत गर्ने कामबाट आनन्द उठाउँछु। टुटेका पाटपूर्जा मर्मत गर्ने र त्यसलाई नयाँ जस्तै बनाउने क्षमता मसित छ भन्ने कुराले मेरो आत्मविश्वास बढाउँछ अनि मलाई सन्तुष्टि दिन्छ।”
पवित्र सेवा
मसीही जवानहरूको लागि शारीरिक श्रम गर्न सक्षम हुनु परमेश्वरको सेवामा मदतकारी साबित हुन सक्छ। राजा सुलेमानलाई यहोवाको भव्य मन्दिर बनाउने काम सुम्पिंदा उक्त कामको लागि धेरै मेहनत र सीप चाहिने कुरा तिनले महसुस गरे। बाइबल यसो भन्छ: “सुलेमान राजाले हीरामलाई सोरबाट बोलाइपठाए। तिनी नप्तालीको कुलको एउटी विधवाका छोरा थिए। तिनका पिता सोर देशवासी काँसाका काम गर्ने थिए। हीराम आफै पनि काँसाका सबै किसिमका काम गर्ने सीपालु, अत्यन्तै निपुण र दक्ष मानिस थिए। हीराम सुलेमान राजाकहाँ आए, र तिनका सबै कामहरू गरे।”—१ राजा ७:१३, १४.
आफ्नो सीप यहोवाको उपासना विस्तार गर्न उपयोग गर्न पाउनु हिरामको लागि कस्तो ठूलो सुअवसर! हिरामको अनुभवले हितोपदेश २२:२९, (NRV) का बाइबलका यी शब्दहरूको सत्यतालाई जोड दिन्छ: “आफ्नो काममा सीपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले साधारण मानिसको सेवा गर्दैन।”
आज निर्माणकार्य सम्बन्धी अनुभव कम हुने र ठ्याम्मै अनुभव नहुने युवाहरूले समेत राज्यभवन निर्माणमा काम गर्ने सुअवसर पाएका छन्। यस्ता आयोजनाहरूमा काम गरेको हुनाले कसै-कसैले इलेक्ट्रिकल, प्लम्बिङ्ग, ढुङ्गाको काम र सिकर्मी जस्ता उपयोगी सीपहरू सिकेका छन्। तपाईंले पनि स्थानीय प्राचीनहरूसित राज्यभवन निर्माणकार्यमा भाग लिने आफ्नो सम्भाव्यताबारे कुरा गर्न सक्नुहुन्छ।
थुप्रै राज्यभवन निर्माणको काममा भाग लिइसकेका जेम्स यसो भन्छन्: “मण्डलीका धेरैसित मदत गर्न समय र सीप नहुन सक्छ। अतः मदत गरेर तपाईंले सम्पूर्ण मण्डलीलाई नै सहयोग पुऱ्याइरहनुभएको हुन्छ।” कङ्क्रिटको काम सिकेका नेथनले आफ्नो सीपले गर्दा परमेश्वरको सेवा गर्ने थप सुअवसर पाए। उनी सम्झन्छन्: “म जिम्बावे जान सकें र यहोवाका साक्षीहरूको शाखा कार्यालय निर्माणमा आफ्नो सीप उपयोग गर्न सकें। त्यहाँ मैले तीन महिनाको लागि काम गरें र त्यो मेरो जीवनको एउटा अत्यन्तै मीठो अनुभव थियो।” कडा श्रम गर्ने इच्छाले धेरै जवानहरूलाई यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयमा स्वयम्सेवकको रूपमा सेवा गर्न आवेदन दिन उत्प्रेरित गरेको छ।
शारीरिक श्रममा सीपालु हुँदा त्यसले तपाईंलाई केही हदसम्म “सन्तुष्टता” पनि दिन सक्छ। (१ तिमोथी ६:६) यहोवाका साक्षीहरूबीच धेरै जवानहरू पूर्ण-समय प्रचारक अर्थात् अग्रगामीको रूपमा सेवा गर्छन्। सीप सिकेका कारण कसै-कसैले स्कूलको शिक्षामा धेरै समय र पैसा लगानी नगरीकनै आफ्नो गुजारा चलाउन सकेका छन्।
कसरी सिक्ने
पेसाको रूपमै अपनाउन होस् अथवा घरमा कामचलाउको लागि मात्र—शारीरिक सीप सिकेर तपाईंले धेरै लाभ उठाउन सक्नुहुन्छ। तपाईंको स्कूलमा केही सीपहरू सिकाउलान्। अनि तपाईंले घरमै केही तालिम पनि लिन सक्नुहुन्छ। कसरी? घरधन्दा सम्बन्धी केही काम सिकेर। माथि उल्लिखित डा. प्रोभेनजानो यस्तो लेख्छन्: “किशोरकिशोरीको लागि विशेष गरेर घरधन्दाका काम सिक्नु महत्त्वपूर्ण हुन्छ किनकि यसले घरव्यवहार सम्बन्धी आधारभूत ‘जीवनयापनका सीपहरू’ सिकाउँछ र आमाबाबुबाट अलग्गै बस्नुपर्ने समय आउँदा सफलतापूर्वक र मजाले जीवनयापन गर्न यसले मदत गर्छ।” घरमा केही गर्नु छ कि, सजग भइहाल्नुहोस्। आँगनको घाँस काट्नु पर्छ कि अथवा मेच पो मर्मत गर्नुपर्छ कि?
शारीरिक श्रमलाई तुच्छ अथवा हेयको दृष्टिले नहेर्नुहोस्, यसले तपाईंलाई धेरै तरिकाहरूमा फाइदा पुऱ्याउन सक्छ। शारीरिक श्रमबाट नभाग्नुहोस्। बरु, आफ्नो परिश्रमबाट ‘आनन्द उपभोग गर्ने’ कोसिस गर्नुहोस् किनकि उपदेशक ३:१३ ले भन्छ, यो ‘परमेश्वरको वरदान हो।’ (g05 3/22)
[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]
सीप सिक्नाले धेरै युवाहरूले परमेश्वरको सेवा विस्तार गर्न मदत पाएका छन्
[पृष्ठ २२-मा भएको चित्र]
अक्सर आमाबाबुले नै तपाईंलाई आधारभूत सीपहरू सिकाउन सक्छन्