प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ५/८ पृ. १२-१४
  • “इन्टरनेट डेटिङ गरूँ कि क्या हो?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “इन्टरनेट डेटिङ गरूँ कि क्या हो?”
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन-लाइन डेटिङप्रतिको आकर्षण
  • के यो एक-अर्कालाई चिन्‍ने सही तरिका हो?
  • आमनेसामने भेट हुँदा
  • हतार गर्नुका खतराहरू
  • के इन्टरनेट डेटिङ साँच्चै खतरनाक हुन सक्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • डेटिङ—भाग २: डेटिङ गर्दा मैले कुन कुरा मनमा राख्नुपर्छ?
    युवाहरू सोध्छन्‌
  • के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ५/८ पृ. १२-१४

युवा जनहरू सोध्छन्‌ . . .

“इन्टरनेट डेटिङ गरूँ कि क्या हो?”

“हामी हरेक दिन एक-अर्कालाई ई-मेल पठाउँथ्यौं। हामीले कहाँ बस्ने र के काम गर्ने भन्‍ने विषयमा योजनाहरू बनाएका थियौं। मैले मगनीको लागि औंठीको बन्दोबस्त मिलाउनुपर्ने थियो। एक महिनाअघिसम्म हामीलाई एक-अर्काको बारेमा केही थाह थिएन न त हाम्रो आमनेसामने नै भेट भएको थियो।”—मोनिका, अस्ट्रिया।a

तपाईंलाई यस्तो व्यक्‍तिसित भेट्‌न अवश्‍य मनपर्ला—जसलाई तपाईं राम्ररी चिन्‍न सक्नुहुन्छ, जसलाई तपाईं आफ्नो जीवनसाथी बनाउन चाहनुहुन्छ। तर अहिलेसम्म पनि त्यस्तो व्यक्‍ति मिलेकै छैन। हितैषी मित्र र परिवारले कसैसित तपाईंको चिनजान गराउने प्रयास नगरेका पनि होइनन्‌ तर ती सब प्रयास बेकार भएका छन्‌ र तपाईंलाई पहिलाभन्दा बढी निराशाले छोपेको छ। त्यसकारण अब तपाईं सञ्चारमाध्यमको सहारा लिने सोचमा हुनुहुन्छ।

कम्प्युटरको यस जमानामा आफ्नो लागि सुहाउँदो जोडी खोज्नु त बायाँ हातको खेल हो अर्थात्‌ एक दुई चोटि कम्प्युटरको माउस क्लिक गरे पुगिहाल्छ जस्तो लाग्न सक्छ। अविवाहितहरूलाई लक्षित गरेर तयार पारिएको वेब साइट अथवा च्याट रूम लग अन गर्नुभयो भने काम बनिहाल्छ भनी कोही-कोही भन्‍ने गर्छन्‌। संयुक्‍त राज्य अमेरिकामा मात्रै एक महिनामा ४ करोड ५० लाख मानिसहरूले अन-लाइन डेटिङ वेब साइटहरू हेर्ने गर्छन्‌ भनी द न्यु योर्क टाइम्स्‌ रिपोर्ट गर्छ। जोडी मिलाइदिने एउटा इन्टरनेट सेवाको दाबीअनुसार २४० वटा देशमा ९० लाखभन्दा बढी मानिसहरूले यसको सेवा उपभोग गर्ने गर्छ।

अन-लाइन डेटिङप्रतिको आकर्षण

के तपाईं लजालु हुनुहुन्छ र तपाईंलाई मानिसहरूसित भेटेर कुरा गर्न अप्ठ्यारो लाग्छ? तिरस्कृत हुनुपर्ला भनेर डराउनु पो हुन्छ कि? अथवा के तपाईंलाई आफ्नो टोलछिमेकमा विवाह गर्न लायकको व्यक्‍ति नै छैन जस्तो लाग्छ? त्यस्तो लाग्छ भने इन्टरनेट डेटिङप्रति तपाईं आकर्षित हुने सम्भावना छ। त्यसरी आकर्षित हुनुको एउटा कारण डेटिङ गर्नुहुने व्यक्‍तिको मन जित्न सक्नुहुन्छ भन्‍ने अन-लाइनमार्फत जोडी मिलाइदिने सेवाहरूको भनाइ हो। सर्च बक्सहरूमा व्यक्‍तिको उमेर, देश, व्यक्‍तित्वबारे जानकारी, फोटो र नक्कली नाउँ दिइएका हुन्छन्‌। इन्टरनेट प्रयोगकर्ताले रोज्न सक्ने कुरा धेरै हुने भएकोले अन-लाइन डेटिङ गर्नु बढी प्रभावकारी र आमनेसामने भेटेर कुरा गर्नुभन्दा कम झन्झटिलो लाग्न सक्छ।

त्यसोभए यथार्थ कुरा के त? के अन-लाइन डेटिङ गर्दा साँच्चै चिरकालीन आनन्द मिल्छ? एउटा कुरा विचार गर्नुहोस्‌: छ वर्षको दौडान जोडी मिलाइदिने एउटा इन्टरनेट सेवाका जम्मा १.१ करोड ग्राहक थिए। तर त्यसमध्ये १,४७५ जनाको मात्रै विवाह भयो। अर्को डेटिङ सेवाले मिलाइदिएको दस लाख सदस्यमध्ये ७५ जनाको मात्रै पक्का विवाह हुन सक्यो! के भएर त्यस्तो भयो?

के यो एक-अर्कालाई चिन्‍ने सही तरिका हो?

एउटा खबरपत्रिकाको लेख यसो भन्छ: “इन्टरनेटमा त सबैले आफूलाई आकर्षक, इमानदार र सफल व्यक्‍तिजस्तो देखाउँछन्‌।” तर मानिसहरूले आफ्नो विषयमा दिएको जानकारी कत्तिको सही हुन्छ? अर्को एउटा खबरपत्रिकाले यस विषयमा यसो भन्यो: “सबैले अलि-अलि त ढाँटिहाल्छन्‌ नि भनेर मानिसहरूले सहजै स्वीकार्छन्‌।” किशोरकिशोरीहरूका लागि तयार पारिएको एउटा लोकप्रिय पत्रिकाका सम्पादकले यस विषयमा अनुसन्धान गरिन्‌। तीनवटा लोकप्रिय डेटिङ वेब-साइटमा आफ्नो नाउँ दर्ता गरेको भोलिपल्टै तिनले थुप्रै मेलहरू प्राप्त गरिन्‌। यसपछि धेरै पुरुषहरूसित तिनको डेटिङ चल्यो। परिणाम कस्तो भयो? एउटै पनि सफल भएन! ती पुरुषहरूले आफ्नो विषयमा ढाँट्‌नुसम्मै ढाँटेका थिए। तिनले यस्तो चेतावनी दिइन्‌: “मेरो आफ्नो अनुभवको आधारमा त तिनीहरूले ढाँट्‌छन्‌।”

आफ्नो वास्तविक उचाइ वा वजन नबताउनु मामुली कुराजस्तो लाग्न सक्छ। ‘बाहिरी रूप त्यति महत्त्वपूर्ण कुरा होइन’ भनी कसै-कसैले तर्क गर्लान्‌। हुन त हो, बाइबलले पनि “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उडिजाने हुन्छ” भनी बताउँछ। (हितोपदेश ३१:३०) तर सानोतिनो जस्तो देखिने कुरामा झूटो बोलेर सम्बन्ध बढाउनु के राम्रो कुरा हो र? (लूका १६:१०) व्यक्‍तिगत लक्ष्यजस्ता गम्भीर विषयहरूमा कुनै व्यक्‍तिले भनेको कुरामा तपाईं कत्तिको पक्का हुन सक्नुहुन्छ? बाइबल भन्छ: “हरेकले आफ्नो छिमेकीसित साँचो बोल्ने गर।” (जकरिया ८:१६) हो, कुनै पनि सम्बन्ध सफल हुनको लागि इमानदारिता अत्यावश्‍यक छ।

यद्यपि, इन्टरनेटमा डेटिङ गर्दा अक्सर अव्यावहारिक आशाहरू गर्न पुगिन्छ। न्युजविक पत्रिकामा दिइएको एउटा रिपोर्ट यसो भन्छ: “अन-लाइन डेटिङ गर्नेहरूले मीठा-मीठा शब्दहरू छानेर ई-मेल लेख्न तथा आफ्नो विषयमा बढाइचढाइ गरेर कुरा गर्न सक्छन्‌। . . . फलस्वरूप यस्तो ई-मेल पाउने व्यक्‍तिहरू पट्टिन पुग्छन्‌: मेल पठाउने व्यक्‍तिहरू भलादमी लाग्नुका साथै उनीहरूले तपाईंप्रति चासो देखाएकोले तपाईं पनि बढो भलादमी बन्‍नुहुन्छ र उनीहरूप्रति चासो देखाउनुहुन्छ।” अन-लाइनमार्फत सम्बन्ध गाँस्ने विषयमा अध्ययनरत न्यु योर्कका रेन्सलार पोलीटेक्निक इन्स्टिच्युटका प्राध्यापकको भनाइअनुसार यस्तो परिस्थितिमा एक-अर्काबीच सजिलै घनिष्ठता बढ्‌छ। यद्यपि, यस्तो सम्बन्ध अन्तमा गएर आनन्दित वैवाहिक जीवनमा टुङ्‌गिदैन भन्‍ने कुरा अनुभवहरूबाट छर्लङ्‌ग भइसकेका छन्‌। अन-लाइनमा डेटिङ गरेका एक जना व्यक्‍तिले आफ्नो अनुभव यसरी लेखे: “यो त एउटा पासो हो। डेटिङ गरिरहेको व्यक्‍तिमा जस्तो-जस्तो कुरा होस्‌ भन्‍ने तपाईं चाहनुहुन्छ, तिनी साँच्चै त्यस्तै होलान्‌ भनेर कल्पना गर्न थाल्नुहुन्छ।”

आमनेसामने भेट हुँदा

तथापि, व्यक्‍तिगत रूपमा भेटेर कुरा नगर्नुका पनि आफ्नै फाइदाहरू छन्‌ जस्तो कसै-कसैलाई लाग्न सक्छ। अन-लाइन डेटिङ गर्दा हुनेवाला जोडीको बाहिरी रूपमा होइन तर तिनको भित्री स्वभाव कस्तो छ त्यसमा ध्यान केन्द्रित गर्न सकिन्छ जस्तो उनीहरूलाई लाग्न सक्छ। कुरा ठीकै हो, बाइबलले पनि हामीलाई मानिसको भित्री गुणहरूमा ध्यान दिन प्रोत्साहन दिन्छ। (१ पत्रुस ३:४) यद्यपि, इन्टरनेटमार्फत सम्बन्ध गाँस्दा तपाईं हुनेवाला जोडीको हावभाव, मूड वा चालचलन कस्तो छ याद गर्न सक्नुहुन्‍न। दबाबमा परेको बेला तिनले अरूसित कस्तो व्यवहार गर्छन्‌ त्यो तपाईं देख्न सक्नुहुन्‍न। अनि तपाईंले भरोसा र माया गर्न सक्नुहुने व्यक्‍ति वास्तवमा तिनै हुन्‌ कि होइनन्‌ भनी निर्णय गर्दा यस्ता कुराहरूलाई ध्यान दिनु महत्त्वपूर्ण छ। पहिलो कोरिन्थी १३:४, ५ मा पाइने प्रेमसम्बन्धी बाइबलीय विवरण पढ्‌नुहोस्‌। यहाँ प्रेम बोलीमा होइन तर व्यवहारमा कस्तो हुन्छ भनी वर्णन गरिएको याद गर्नुहोस्‌। त्यसकारण कुनै पनि व्यक्‍तिले आफ्नो वचनअनुसार काम पनि गर्छन्‌ कि गर्दैनन्‌ सो थाह पाउन तपाईंले समय लगाउनै पर्छ।

यस्तो महत्त्वपूर्ण कुरा थाह नभएका जोडीहरूले अक्सर विवाहपूर्व भेटघाटको सुरु-सुरुतिरै आफ्नो मनका भावनाहरू साटासाट गर्न थाल्छन्‌। पहिल्यै राम्रोसित सोचविचार नगरेको कारण एक-अर्कालाई राम्रोसित नचिने पनि केही युगल जोडीहरूले हतारमा गम्भीर रोमान्टिक वचनबद्धता जाहेर गरिहाल्छन्‌। “इन्टरनेटमा प्रेम साँच्चै अन्धो हुन्छ” शीर्षकको एउटा लेखमा १२,८०० किलोमिटर टाढा भएका दुई जना व्यक्‍तिले अन-लाइनमा भेटघाट गरेको कुरा उल्लेख छ। इन्टरनेटमा भेटेको तीन हप्तापछि उनीहरूको आमनेसामने भेट भयो। केटाले यसो भने, “तिनले आँखामा डरैलाग्दो गरी मस्करा लगाएकी थिइन्‌। मस्करा लगाउने केटीहरूसँग म डेटिङ नै गर्दिनँ।” क्षणभरमै सम्बन्ध टुट्यो। आमनेसामने भेट भएको अर्को जोडी पनि यत्ति निराश हुनुपऱ्‍यो कि केटाले आफूलाई भेट्‌न आउने केटीको फिर्ती हवाईजहाज टिकट नै रद्द गरिदिए!

एडा नाउँकी जवान स्त्री अन-लाइन डेटिङ गर्दाको आफ्नो अनुभव सम्झिन्छिन्‌। तिनी यसो भन्छिन्‌: “हाम्रो सम्बन्ध यत्ति गाढा थियो कि हामीलाई नै अचम्म लाग्थ्यो। हामी विवाह गर्ने सुरमा थियौं।” तर आमनेसामने भेट भएपछि उनीहरूको सम्बन्धले हावा खायो। “ऊ मैले आशा गरेजस्तो व्यक्‍ति थिएन तर गल्ती कोट्याइरहने र गनगने स्वभावको थियो। कुनै पनि हालतमा हाम्रो पारा मिल्ने थिएन।” एक हप्तापछि सम्बन्ध टुट्यो र एडालाई निराशाले गाँज्यो।

कम्प्युटरमार्फत गरिने डेटिङको काल्पनिक संसारमा हराउँदा राम्रोसँग मान्छे चिन्दै नचिनी भावनात्मक रूपमा नजिकिने सम्भावना हुन्छ। सम्बन्ध सोचेजस्तो सफल भएन भने तपाईंले भावनात्मक पीडा भोग्नुपर्ने हुन सक्छ। हितोपदेश २८:२६ यस्तो चेतावनी दिन्छ, “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” हो, कल्पनामा डुबेर अनि भावनामा बहेर गम्भीर निर्णयहरू गर्नु कदापि बुद्धिमानी कुरा होइन। यसैकारण हितोपदेश अझै यसो भन्छ: “तर बुद्धिको मार्गमा हिंड्‌ने सुरक्षित रहनेछ।”

हतार गर्नुका खतराहरू

एक-अर्काको बारेमा राम्रोसित थाह नपाईकन सम्बन्ध गाँस्न हतारिनु कुनै पनि हालतमा बुद्धिमानी कुरा होइन। अङ्‌ग्रेज लेखक सेक्सपियरले यसो भनेका थिए: “हतारमा गरेको विवाह सफल हुने झिनो आशा हुन्छ।” बाइबलको सल्लाह अझ स्पष्ट छ: “हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।”—हितोपदेश २१:५.

दुःखको कुरा, इन्टरनेट डेटिङ गर्ने धेरैले यो तीतो वास्तविकता अनुभव गरेका छन्‌। एक जना व्यक्‍तिसित एक महिनासम्म पत्राचार गरिसकेपछि सुरुमा उल्लिखित मोनिकाले आफूले खोजेजस्तै जीवनसाथी भेट्टाएँ भन्ठानेकी थिइन्‌। विवाहका योजनाहरू मिलाए तापनि—अझ भनौं भने मगनीको लागि औंठीको समेत बन्दोबस्त मिलाए पनि हतारमा गाँसेको तिनको सम्बन्ध “ठूलो दुःखमा” टुङ्‌गिन पुग्यो।

बाइबलको यो सल्लाह पालन गरेर तपाईं यस्तो दुःखबाट बच्न सक्नुहुन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) तथापि, कम्प्युटरमार्फत डेटिङ गर्दा झेल्नुपर्ने खतराहरू निराशा अनि चित्त दुखाइ मात्र होइनन्‌। आगामी लेखमा यसका थप समस्याहरूबारे छलफल गरिनेछ। (g05 4/22)

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १३-मा भएको चित्र]

अन-लाइनमा हुँदा मानिसहरूले अक्सर आफ्नो बारेमा बढाइचढाइ गरेर कुरा गर्छन्‌ अथवा ढाँट्‌छन्‌

[पृष्ठ १४-मा भएको चित्र]

धेरैपल्ट रोमान्टिक ई-मेलहरू आदानप्रदान गरिसकेपछि पनि आमनेसामने भेटघाट हुँदा परिणाम अक्सर निराशाजनक साबित हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने