किन मानिसहरू डरै-डरमा जीवन बिताउँछन्?
डरको कालो बादलले मानिसजातिलाई छोपेको छ। डर एउटा यस्तो चीज हो जसलाई देख्न नसके पनि महसुस भने गर्न सकिन्छ र डर छ भन्ने सोचाइ नराखे पनि यसले प्रायजसो सबैलाई नै असर गर्छ। के कारण डराउनुपर्ने स्थिति उत्पन्न हुन्छ? घरबाट बाहिर निस्कनासाथ कतिपय मानिसहरू डराउन थाल्छन्, किन? किन धेरैले काम गर्ने ठाउँमा असुरक्षित महसुस गर्छन्? धेरै जना आफ्ना छोराछोरीको सुरक्षाबारे चिन्तित हुनुको कारण के हो? कस्ता खतराहरूले गर्दा मानिसहरू आफ्नै घरमा पनि डराइ-डराइ बस्छन्?
हो, थुप्रै कारणले गर्दा डर उत्पन्न हुन्छ तर अहिलेचाहिं हामी मानिसहरूलाई लगातार असर गरिरहन सक्ने चारवटा खतराबारे चर्चा गर्नेछौं। ती खतराहरू हुन्—सहरी क्षेत्रमा हुने हिंसा, यौन दुर्व्यवहार, बलात्कार र घरेलु हिंसा। आउनुहोस्, सबैभन्दा पहिला सहरी क्षेत्रमा हुने हिंसाबारे विचार गरौं। यस विषयमा अहिले चर्चा गर्नु निकै सान्दर्भिक छ किनभने विश्वका आधाजसो मानिस सहरी क्षेत्रमै बसोबास गर्छन्।
सहरमा हुने खतराहरू
सम्भवतः सुरक्षाको लागि भनेरै सुरुमा सहरहरू निर्माण गरिएका थिए तर अचेल धेरै मानिसहरू सहरलाई खतरनाक ठाउँको रूपमा हेर्छन्। कुनै समय सुरक्षास्थल ठानिएको सहरमा आज डरको जगजगी छ। भीडभाड भएका सहरी क्षेत्रहरूमा लुटेराहरूले लुट्छन् अनि सडकमा एक-दुइटा बत्ती र दुई-चार जना प्रहरी मात्र हुने सहरको कुनै-कुनै गरिब इलाकाहरूमा त पाइला टेक्नै डरसरी हुन्छ।
डरबारे जहिले पनि बढाइचढाइ गरेर कुरा गरिंदैन; हिंसाको कारण कैयौं मानिसहरूले ज्यान गुमाउँछन्। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार हिंसाको कारण वर्षेनी विश्वका १६ लाख मानिसहरूले ज्यान गुमाउँछन्। अफ्रिकामा, वर्षेनी १ लाख मानिसमध्ये अनुमानित ६०.९ जनाको त हिंसाकै कारण मृत्यु हुने गर्दछ।
सुरक्षित ठानिएका मानिस, ठाउँ र संगठनहरूलाई हिजोआज सुरक्षाको निम्ति खतरा मान्न थालिएको छ। उदाहरणका लागि, थुप्रै खेल मैदान, स्कूल अनि पसलहरूलाई अचेल अत्यधिक हिंसा हुने डरलाग्दा क्षेत्रहरू मानिन्छन्। कुनै-कुनै अवस्थामा त धार्मिक नेता, सामाजिक कार्यकर्ता तथा शिक्षकहरू, जसले सुरक्षा दिनुपर्ने हो तिनै व्यक्तिहरूले विश्वासघात गरेका छन्। तिनीहरूमध्ये कसै-कसैले गरेको बाल दुर्व्यवहारका रिपोर्टहरूले गर्दा आमाबाबुहरू आफ्ना छोराछोरीलाई अरूको जिम्मामा छोड्न हिचकिचाउँछन्। प्रहरीको काम मानिसको सुरक्षा गर्नु हो तर कुनै-कुनै सहरका प्रहरीहरू ज्यादै भ्रष्ट छन् र शक्तिको दुरुपयोग गर्छन्। “सुरक्षाफौजको” सन्दर्भमा कुरा गर्ने हो भने, कुनै-कुनै देशमा गृह-युद्धका घाउहरू अझ आलै छन्, जुन युद्धमा सुरक्षाफौजले धेरैका प्रियजनहरूलाई लिएर गएपछि बेपत्ता पारे। त्यसैकारण त संसारका विभिन्न ठाउँमा प्रहरी तथा सेनाहरूले डरको वातावरणलाई कम गर्नुको सट्टा झनै भयावह बनाएका छन्।
सिटिजन्स् अफ फियर—अर्बान भ्वाइलेन्स् इन ल्याटिन अमेरिका नामक पुस्तक यसो भन्छ: “ल्याटिन अमेरिकाको कतिपय राजधानीमा बसोबास गर्ने मानिसहरू डरै-डरमा जीवन बिताउँछन् र ती राजधानीमध्ये कतिलाई त विश्वकै सबैभन्दा खतरनाक ठाउँहरू मानिन्छ। त्यस विशाल प्रान्तमा वर्षेनी करिब एक लाख चालीस हजार मानिसहरू हिंसाको कारण मर्छन् भने, तीन जनामा एक जना नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसाको सिकार बन्ने गरेको छ।” पृथ्वीका अन्य भागहरूमा पनि राजधानीका सहरहरूमा पटक-पटक राजनैतिक विरोध-जुलुस निकाल्ने गरिन्छ। यस्तो विरोध-जुलुस हिंसामा परिणत हुँदा स्थिति भद्रगोल हुन्छ र यस्तो परिस्थितिको फाइदा उठाएर मानिसहरूले पसलहरूमा लुटपाट मच्चाउँछन्। सहरमा व्यापार-व्यवसाय गरेर बसेका मानिसहरू अनाहकमा क्रुद्ध भीडहरूको तारो बन्छन्।
धेरै देशहरूमा धनी र गरिब मानिसको जीवनस्तरबीच आकास-जमिनको फरक छ र यस्तो फरकले गर्दा मानिसहरू झनै क्रुद्ध हुन्छन्। आधारभूत आवश्यकताहरूबाट वञ्चित महसुस गर्ने मानिसहरूको भीडले समाजका हुनेखाने मानिसहरूको इलाका लुटेका छन्। कुनै-कुनै सहरमा यस्तो स्थिति अझसम्म देखापरेको छैन होला तर अवस्था पड्कनै लागेको टाइम बमजस्तै छ—कहिले पड्किन्छ कसैलाई थाह छैन।
डर उत्पन्न गर्न चोर-डाकू र क्रान्तिकारीहरूको खतरा नै पर्याप्त छ जस्तो देखिए पनि डरको वातावरणलाई अझ भयावह बनाउने फिक्री उत्पन्न गर्ने अन्य कारणहरू पनि छन्।
यौन दुर्व्यवहारको त्रास
बदमाश केटाहरूले सुसेली बजाएर, जथाभावी छाडा इसारा गरेर अनि कामुक तरिकाले हेरेर लाखौं महिलाहरूलाई दिनहुँ हैरान पार्छन्। एसिया विक यसो भन्छ: “सर्वेक्षणले देखाएअनुसार चार जनामा एक जना जापानी महिलालाई सार्वजनिक ठाउँमा यौन दुर्व्यवहार गरिएको छ र ९०% जति यस्तो घटना रेलमा हुने गर्छ। . . . यस्तो दुराचार हुँदा २% प्रतिशत जतिले मात्र त्यसको प्रतिकार गर्छन्। दुर्व्यवहार गर्ने व्यक्तिहरूको विरुद्धमा बोल्यो भने पछि तिनीहरूले बदला लेलान् भन्ने डरले गर्दा चुप लागेर बसेको पीडितहरू बताउँछन्।”
भारतमा यौन दुर्व्यवहार गर्ने चलन ह्वात्तै बढेको छ। त्यहाँका एक जना पत्रकार यसो भन्छिन्, “कुनै पनि स्त्री घरदेखि बाहिर निस्कनासाथ तिनलाई डरले सताउन थाल्छ। कदम-कदममा तिनले उपहासपूर्ण अपमान सहनुपर्छ र तिनको विषयमा अभद्र टीकाटिपप्णी गरिन्छ।” अरू सहरभन्दा आफ्नो सहर सुरक्षित भएकोमा गर्व गर्ने एउटा भारतीय सहरबाट यस्तो रिपोर्ट प्राप्त भएको छ: “[यस सहरको] समस्या सडकमा होइन तर कार्यालयहरूमा छ। . . . सर्वेक्षण गरिएका ३५ प्रतिशत महिलाहरूले काम गर्ने ठाउँमा यौन दुर्व्यवहार भोगेको कुरा बताए। . . . काम गर्ने ठाउँमा हुन सक्ने यौन दुर्व्यवहारको डरले गर्दा ५२ प्रतिशत महिलाहरू कम तलब पाउने काम छान्छन् . . . जहाँ उनीहरूको लेनदेन महिलाहरूसँग [मात्र] हुन्छ।”
बलात्कार हुने डर
महिलाहरूलाई आफ्नो इज्जत जाला भन्ने डर मात्र हुँदैन। यौन दुर्व्यवहारले कहिलेकाहीं बलात्कार हुने खतरालाई पनि बुझाउँछ। हो, बलात्कार एउटा अपराध हो र थुप्रै महिलाहरू हत्याभन्दा पनि कसैले बलात्कार गर्ला भनेर बढी डराउँछन्। एउटी महिलाले आफूलाई अचानक यस्तो ठाउँमा एक्लो पाउन सक्छिन् जहाँ तिनलाई बलात्कार हुने डरले सताउँछ। चिन्दै नचिनेको वा विश्वासै नलाग्ने कुनै केटा मान्छे तिनले देख्न सक्छिन्। परिआउने परिस्थितिबारे आत्तिएर विचार गर्दा तिनको मुटु ढुक-ढुक हुन थाल्छ। ‘त्यसले के गर्ने होला? म कहाँ भाग्नु? चिच्च्याउने किन नचिच्च्याउने?’ बारम्बार यस किसिमको कुरा अनुभव गर्नुपऱ्यो भने त्यसले महिलाहरूको स्वास्थ्यमा बिस्तारै असर गर्न थाल्छ। यस्तो डरले गर्दा धेरै मानिसहरू सहरी क्षेत्रमा बस्न चाहँदैनन् अथवा सहरतिर जाने मनै गर्दैनन्।
द फिमेल फियर नामक पुस्तक यसो भन्छ, “धेरै महिलाहरूको लागि डर, चिन्ता र तनाव भन्ने कुरा सहरी जीवनको दिनचर्या नै भइसकेको छ। कसैले बलात्कार गर्ला भनेर महिलाहरू डराउनु भनेको एउटा यस्तो भाव हो जसले उनीहरूलाई आफूमाथि हुन सक्ने आक्रमणबारे सतर्क, होसियार र सजग रहन लगाउँछ, एउटा यस्तो भावना हो जसले उनीहरूलाई विशेष गरी रातको समयमा कोही आफ्नो पछाडि एकदमै नजिकबाट हिंडिरहेको छ भने चिन्ताग्रस्त पार्छ। यो . . . एउटा यस्तो भावना हो जसबाट महिलाहरू कहिल्यै पूर्णतया मुक्त हुँदैनन्।”
हिंसात्मक अपराधले थुप्रै महिलाहरूलाई असर गर्छ। तथापि, हिंसाको डरले भने प्रायजसो सबै महिलाहरूलाई नै असर गर्छ। संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित द स्टेट अफ वर्ल्ड पपुलेसन २००० नामक एउटा प्रकाशनमा यसो भनिएको छ: “विश्वभर कम्तीमा पनि एक तिहाइ महिलाहरू पिटिएका छन्, जबरजस्ती यौन क्रियाकलापमा लगाइएका छन् अथवा अरू नै तरिकामा उनीहरूलाई दुर्व्यवहार गरिएको छ—त्यो पनि अक्सर आफूले चिनेजानेकै व्यक्तिद्वारा।” के डरको वातावरणले योभन्दा बढी असर गर्न थालेको छ? आफ्नै घरमा डरसरी बस्नु मानिसहरूको लागि कत्तिको सामान्य कुरा हो?
घरेलु हिंसाको डर
अरूले नदेख्ने गरी आफ्ना पत्नीहरूलाई कुटपिट गर्नु एउटा घोर अन्याय हो र यस्तो अन्याय विश्वभर व्याप्त छ। अनि थुप्रै ठाउँमा यसलाई हालसालै अपराधको रूपमा लिन थालिएको छ। भारतबाट प्राप्त एउटा रिपोर्टको दाबीअनुसार “भारतका कम्तीमा पनि ४५ प्रतिशत महिलाहरूलाई पतिहरूले थप्पड लगाउँछन्, लात हान्छन् अथवा पिट्छन्।” पति वा पत्नीलाई दुर्व्यवहार गर्नु भनेको एउटा गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या हो। संयुक्त राज्य अमेरिकाका १५ देखि ४४ वर्षबीचका महिलाहरूबारे संघीय गुप्तचर विभागको रिपोर्टमा भनिएको छ कि कार दुर्घटना, लुटपाट अनि बलात्कार सबै गरेर भन्दा घरेलु हिंसाको कारण धेरै मानिसहरू घाइते हुन्छन्। त्यसकारण, घरेलु हिंसा भनेको कहिलेकाहीं भनावैरी भएपछि एक-अर्कालाई लगाइने थप्पडभन्दा धेरै गम्भीर कुरा हो। घरमा कसैले चोटपटक लाग्ने गरी कुटपिट गर्ला वा कसैले मार्ला भनी धेरै महिलाहरू डराउँछन्। क्यानाडामा गरिएको एउटा राष्ट्रव्यापी सर्वेक्षणबाट घरेलु हिंसाको सिकार भएका एक तिहाइ महिलाहरू कहिलेकाहीं आफ्नो ज्यान जाला भनी डराउने गरेको कुरा थाह हुन आयो। संयुक्त राज्य अमेरिकामा दुई जना अनुसन्धाता यस्तो निष्कर्षमा पुगे: “महिलाहरूको लागि सबैभन्दा खतरनाक ठाउँ घर हो अनि अक्सर क्रूर व्यवहार गरिने र सास्ती दिइने ठाउँ पनि घर नै हो।”
यति धेरै महिलाहरू यस्तो खतरनाक बन्धनमा बाँधिन बाध्य हुनुको कारण के हो? धेरै भन्ने गर्छन्: ‘उनीहरू किन मदत खोज्दैनन्? उनीहरू किन घर छोडेर भाग्दैनन्?’ प्रायजसो अवस्थामा यी प्रश्नहरूको एउटै जवाफ हुन्छ, डर। डरलाई घरेलु हिंसाको एउटा अलग्गै छुट्टिने चिनारी मानिन्छ। साधारणतया कुटपिट गर्ने लोग्ने मानिसहरूले आफ्ना पत्नीहरूलाई हिंस्रक व्यवहार गरेर आफ्नो वशमा राख्छन् र मार्ने धम्की दिएर उनीहरूलाई चुप गराउँछन्। कुटपिटको सिकार भएकी पत्नी मदत खोज्न अग्रसर भइन् भने पनि तिनले सधैं भनेजस्तो मदत पाउँछिन् भन्ने छैन। अरू प्रकारका हिंसालाई घृणा गर्ने मानिसहरूमाझ समेत पतिहरूले गरेको हिंसालाई मामुली ठान्ने, वास्ता नगर्ने अथवा ठीकै ठान्ने झुकाव हुन्छ। यसबाहेक, कुटपिट गर्ने पति घरबाहिर चाहिं बडो भलाद्मी देखिन सक्छन्। तिनले आफ्नी पत्नीलाई पिट्छन् भनेर साथीहरूले अक्सर पत्याउँदै-पत्याउँदैनन्। यसरी कसैले नपत्याएपछि र उम्कने बाटो पनि नभएपछि दुर्व्यवहारको सिकार भएका पत्नीहरूलाई डरै-डरमा जीवन बिताउनुसिवाय अर्को विकल्प छैन जस्तो लाग्न सक्छ।
कुटपिटको सिकार भएको कारण घरबाट भाग्ने महिलाहरू कहिलेकाहीं अर्कै किसिमको दुर्व्यवहारको सिकार बन्छन् र त्यो हो, केटाहरूले पिछा गर्ने। उत्तर अमेरिकाको लुइजियाना राज्यमा एक हजार महिलाबारे हालै गरिएको अध्ययनले देखाएअनुसार ती हजार महिलामध्ये १५ प्रतिशतलाई केटाहरूले पिछा गरेको रिपोर्ट प्राप्त भयो। उनीहरूलाई कत्ति डर लाग्यो होला कल्पना गर्नुहोस् त! तपाईंलाई धम्की दिने व्यक्तिले तपाईं जहाँ गए पनि तपाईंको पिछा गर्न छोड्दैन। उसले तपाईंलाई फोन गर्छ, पिछा गर्छ, तपाईंको निगरानी राख्छ र तपाईंलाई पर्खन्छ। उसले तपाईंको घरपालुवा जनावरलाई समेत मारिदिन सक्छ। तपाईंलाई तर्साउन उसले यी सबै कुरा गर्छ!
तपाईं त्यस किसिमको डरको सिकार त नहुनुहोला। तर तपाईंले दिनहुँ गर्नुहुने कामकुरामा डरले कुन हदसम्म असर गर्छ?
के डरले तपाईंको दिनचर्यामा असर गर्छ?
हामी डरै-डरमा बाँचिरहेको कारण हामीले दिनहुँ गर्ने धेरैजसो निर्णयहरूमा डरले असर गरेको थाहै नहुन सक्छ। डरले तपाईंको दिनचर्यामा कत्तिको असर गर्छ?
के हिंसाको डरले गर्दा तपाईं अथवा तपाईंको परिवार राती एक्लै घर आउन बन्द गर्नुभएको छ? के डरको कारण तपाईं सार्वजनिक यातायातमा यात्रा गर्न हिचकिचाउनुहुन्छ? के घरबाट काम गर्ने ठाउँसम्म जाँदा बाटोमा आइपर्ने खतराहरूले जागिर छनौट गर्ने सन्दर्भमा असर गरेको छ? अथवा सँगै काम गर्ने व्यक्ति अथवा तपाईंको लेनदेन भइरहने मानिसहरूको डरले कस्तो जागिर खाने भन्ने कुरामा असर गरेको छ कि? के डरले तपाईंको सामाजिक जीवन अथवा तपाईंले छनौट गर्नुहुने मनोरञ्जनमा असर गरेको छ? मतवाला र छाडा मानिसहरूको भीडभाडको डरले गर्दा कतै तपाईं कुनै-कुनै खेलकुद तथा सांगीतिक कार्यक्रमहरूमा जानदेखि वञ्चित हुनुपरेको त छैन? के स्कूलमा गर्नुहुने तपाईंको काममा डरले असर गरेको छ? छोराछोरी हुल्याहाहरू होलान् भन्ने डरले धेरै आमाबाबुहरू आफ्ना छोराछोरीलाई कुन स्कूलमा पढाउने होला भनी दोधारमा पर्छन् र धेरै आमाबाबुहरू स्कूल छुट्टी भएपछि हिंडेर आफै घर आउन सक्ने अथवा सार्वजनिक यातायात प्रयोग गर्न सक्ने छोराछोरीलाई पनि आफै लिन जानुको कारण हामी यसबाट बुझ्न सक्छौं।
साँच्चै भन्ने हो भने, मानिसहरूले डरै-डरमा जीवन बिताइरहेका छन्। तर हिंसाको डरले हामीलाई मानव इतिहासको सुरुदेखि नै लखेटिरहेको छ। के हामी साँच्चै फरक कुराको आशा गर्न सक्छौं? के डराउनै नपर्ने समय आउला? अथवा खराब कुरादेखि डराउनै नपर्ने भविष्यको आशा गर्न सक्ने के कुनै ठोस कारण छ? (g05 8/8)