अचाक्ली रक्सी पिउनु र स्वास्थ्य
“सान्टा!” “स्यालुट!” “जा भाशे जोरोभेई!” “चुक सुक क्वा!” फ्रान्स होस् वा इटाली, रूस होस् वा भियतनाम, साथीहरू सँगै बसेर पिउनुअघि “सुस्वास्थ्यको कामना,” “चियर्स” वा अरू यस्तै केही भनिन्छ। यद्यपि, विश्वका लाखौं व्यक्तिहरूले आफैलाई मृत्युको मुखतर्फ धकेलिरहेका छन्।
अचाक्ली रक्सी पिउनु एउटा जटिल समस्या हो। यसमा सम्भाव्य खतरा, हानि गरिसकेको र निर्भरताजस्ता चरणहरू हुन्छन्। विश्व स्वास्थ्य संगठनअनुसार सम्भाव्य खतरा-ले “रक्सीको यस्तो प्रयोगलाई” जनाउँछ जसले शारीरिक, मानसिक वा सामाजिक तवरमा “हानि गर्न सक्छ।” यो स्वास्थ्यकर्मीहरूले दिएको सल्लाह वा कानुनले अनुमति दिएकोभन्दा बढी पिउनु हो। हानि गरिसकेको अवस्थालाई अत्यधिक मदिरा सेवन गर्नु पनि भनिन्छ। यस अवस्थामा रक्सीले पुऱ्याएको शारीरिक वा मानसिक क्षतिको असर देखा पर्न थलिसकेको हुन्छ तर रक्सीमाथि पूरै निर्भर भइसकेको हुँदैन। निर्भरता “रक्सी छोड्नै नसक्ने गरी नियन्त्रण बाहिर गइसकेको” अवस्था हो। रक्सीमा निर्भर भइसकेको व्यक्तिलाई रक्सीको असाध्यै तलतल लाग्छ र रक्सीले जतिसुकै समस्याहरू निम्त्याए पनि पिउन छोड्दैन। रक्सी पिउन पाएन भने छटपटी हुन्छ।
तपाईंको उमेर, लिङ्ग वा राष्ट्रियता जेसुकै होस्, रक्सीले गर्ने सम्भाव्य खतराका जोखिमहरूबाट सुरक्षित हुनुहुन्न। रक्सीले शरीरलाई कसरी असर गर्छ? अचाक्ली रक्सी पिउँदा स्वास्थ्यमा कस्ता हानिहरू हुन्छन्? अनि कति पिउनु ठिक्क हो?
मस्तिष्कको लागि खतरनाक
प्रायजसो मदिरामा इथानोल नाउँको रसायनिक पदार्थ हुन्छ। स्नायुको लागि विषालु यस पदार्थले स्नायु प्रणालीमा क्षति पुऱ्याउन वा पूरै खत्तम गर्न सक्छ। रक्सीले मातिएको व्यक्तिलाई वास्तवमा एक प्रकारको विषले असर गरिरहेको हुन्छ। शरीरमा इथानोलको मात्रा धेरै भयो भने अचेत गराउन वा मृत्युसमेत हुन सक्छ। उदाहरणका लागि, जापानमा सासै नरोकी घटघट रक्सी पिउने प्रचलनलाई इक्किनोमी भनिन्छ र यसरी पिएको कारण हरेक वर्ष थुप्रै विद्यार्थीहरूको मृत्यु हुन्छ। हाम्रो शरीरसित इथानोललाई अहानिकारक पदार्थमा परिवर्तन गर्ने क्षमता छ। तर यस्तो परिवर्तन तुरुन्तै हुँदैन, समय लाग्छ। शरीरले इथानोल पचाउन नभ्याउँदै रक्सी पिएको पियै गऱ्यौं भने शरीरमा इथानोल जम्मा हुन्छ र मस्तिष्कका कार्यहरूमा यसको प्रतिकूल असर देखिन थाल्छ। कस्ता असरहरू?
बोल्ने, हेर्ने, शरीरका अङ्गहरूबीच समन्वय गर्ने, विचार गर्ने, विभिन्न खालका स्वभावहरू देखाउने आदि क्रियाकलापहरूको मस्तिष्कसित सम्बन्ध हुन्छ। मस्तिष्कका स्नायुहरू वा मुख्य कोषहरूमा हुने अत्यन्त जटिल रसायनिक प्रतिक्रियाले यी सबै कार्यहरूलाई नियन्त्रण गरिरहेको हुन्छ। इथानोलले यस्ता प्रतिक्रियाहरूको गतिमा परिवर्तन ल्याइदिन्छ। इथानोलले एक स्नायुबाट अर्को स्नायुमा जानकारीहरू प्रवाह गर्ने रसायनहरूलाई चाहिनेभन्दा ढिलो वा छिटो गतिमा काम गर्न लगाउँछ। यसरी मस्तिष्कमा हुने जानकारीको आदान-प्रदानमा असर पुग्छ र दिमागले ठीकसित काम गर्न सक्दैन। त्यसैले बढ्ता रक्सी पिएको मानिसको बोली लर्बरिन्छ, आँखा तिर्मिराउँछ, खुट्टा लर्खराउँछ र मनलागी गर्न थाल्छ। यी सबै मातिएका लक्षणहरू हुन्।
लामो समयसम्म रक्सी पिइरह्यो भने मस्तिष्कले इथानोलको विषालु असरसित लड्ने क्षमता विकास गर्न थाल्छ र रक्सी पिए तापनि दिमागले काम गरिरहेकै हुन्छ। यसरी रक्सी पचाउने क्षमता बढ्छ। यस अवस्थामा पहिला जति रक्सीले असर गर्थ्यो, अब त्यतिले कुनै असर गर्दैन। मस्तिष्कलाई रक्सीको बानी परेको कारण दिमागले ठीकसित काम गर्न रक्सी नभई नहुने अवस्थामा पुगेपछि रक्सीमाथिको निर्भरता सुरु हुन्छ। शरीरमा रसायनिक सन्तुलन मिलाउन रक्सी नभई हुँदैन। त्यस व्यक्तिले रक्सी पिउन पाएन भने मस्तिष्कका रसायनहरूमा गडबडी उत्पन्न हुन्छ अनि चिन्तित हुने, काम्ने वा बेहोससमेत हुने जस्ता विभिन्न लक्षणहरू देखिन्छ।
अत्यधिक रक्सी पिउँदा मस्तिष्कमा रसायनिक गडबडी उत्पन्न हुनुको अलावा कोषहरू नष्ट भएर मस्तिष्कको संरचनामै परिवर्तनसमेत आउन सक्छ। रक्सी चटक्कै छोड्यो भने अलिअलि निको त होला तर रक्सीले बिगारिसकेको भाग पूर्णतः निको हुन भने असम्भव छ। यसले गर्दा स्मरण शक्ति र अन्य बौद्धिक क्षमता कमजोर हुन्छ। लामो समयसम्म रक्सी पिइरह्यो भने मात्र मस्तिष्कमा क्षति पुग्ने होइन। अनुसन्धानहरूले देखाएअनुसार अचाक्ली रक्सी पिउनुहुन्छ भने भर्खरै मात्र पिउनथाल्नुभएको छ भने पनि यो हानिकारक हुन सक्छ।
कलेजोको रोग र क्यान्सर
खाना पचाउन, रोगसित लड्न, रक्तसञ्चार नियमित गर्न अनि शरीरबाट इथानोल लगायत अन्य विषाक्त पदार्थहरू हटाउन कलेजोको महत्त्वपूर्ण भूमिका हुन्छ। लामो समयसम्म रक्सी पिउँदा कलेजोलाई तीन चरणमा बिगार्छ। पहिलो चरणमा, कलेजोले इथानोल टुक्र्याउनुपर्ने हुनाले चिल्लो पचाउने क्षमतामा कमी आउँछ र कलेजोमा बोसो जम्न थाल्छ। यस्तो अवस्थालाई अल्कोहलिक स्टेटोसिस भनिन्छ। पछि गएर कलेजो सुन्निने अर्थात् हेपाटाइटिस हुन्छ। रक्सीले हेपाटाइटिस त गराउँछ नै। साथै, यसले हेपाटाइटिस बी र हेपाटाइटिस सी भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमतामा पनि कमी ल्याउँछ।a कलेजो सुन्निने क्रम बेलैमा रोकिएन भने कोषहरू फुट्छन् र मर्छन्। यतिले मात्र नपुगेर रक्सीले डि एन ए आफसेआफ टुक्रने गतिलाई पनि बढाउँछ। यसलाई एपप्टोसिस भनिन्छ।
अन्तिम चरण सिरोसिस् हो। कलेजो सुन्निने क्रम बढ्दै जान्छ र कोषहरू नष्ट भएको कारण कहिल्यै निको नहुने गरी कलेजो बिग्रन्छ। नरम हुनुपर्नेमा कलेजो कडा हुँदै जान्छ। अन्तमा, बिग्रिएको भागले गर्दा कलेजोमा राम्रोसित रक्तसञ्चार हुन पाउँदैन, कलेजोले काम गर्न छोड्छ र मान्छे मर्छ।
भित्र-भित्रै रक्सीले कलेजोलाई असर गरिसकेको हुन सक्छ। क्यान्सर गराउने तत्त्वहरूसित कलेजोले प्रभावकारी ढङ्गमा लड्न सक्दैन। कलेजोको क्यान्सर गराउनुका साथै रक्सीले मुख, घाँटी र अन्ननलीको क्यान्सर हुने सम्भावना पनि बढाउँछ। मुखभित्रको झिल्लीलाई सूर्तीमा भएका क्यान्सर गराउने तत्त्वहरूले सजिलै छेड्न सक्ने बनाइदिन्छ। यसले गर्दा धूम्रपान गर्ने रक्सीबाजहरूलाई क्यान्सरको खतरा एकदमै उच्च हुन्छ। दिनहुँ रक्सी पिउने महिलाहरूलाई स्तनक्यान्सर हुने सम्भावना बढी हुन्छ। एउटा अध्ययनअनुसार दिनहुँ तीन पेग वा सोभन्दा बढी मदिरा सेवन गर्नेहरूलाई स्तनक्यान्सर हुने सम्भावना पटक्कै मदिरा सेवन नगर्नेहरूमा भन्दा ६९ प्रतिशत बढी देखियो।
विषाक्त बच्चाहरू
रक्सीले पार्ने घातक असर गर्भमा रहेका बच्चाहरूलाई हो। “गर्भमा विकास हुँदै गरेको भ्रूणलाई अरू कुनै पनि लागूपदार्थले भन्दा रक्सीले बढी क्षति पुऱ्याउँछ” भनी इन्टरनेसनल हेराल्ड ट्रिब्युन पत्रिका बताउँछ। गर्भवती महिलाले रक्सी पिउँदा गर्भमा रहेको बच्चाले पनि पिइरहेको हुन्छ। भ्रूणको विकास हुँदै गरेको यस अवस्थामा आमाले पिएको रक्सी गर्भमा रहेको बच्चाको लागि विषसरह हुन्छ। रक्सीले भ्रूणको केन्द्रीय स्नायु प्रणालीमा अपूरणीय क्षति गर्छ। स्नायुहरू सही तरिकाले विकास हुँदैनन्। कोषहरू मर्छन्। अरू कतिपय कोषहरू गलत ठाउँमा विकास हुन्छन्।
नवजात शिशुहरूको मानसिक विकास सही तरिकाले नहुनुको एउटा प्रमुख कारण नै यही हो। यसलाई फिटल अल्कोहल सिन्ड्रम (एफ ए एस) भनिन्छ। यस्ता बच्चाहरू सुस्त मनस्थितिका हुन्छन्, लाटो-लठब्रो हुन्छन्, मानसिक विकास ढिलो हुन्छ, अनौठो स्वभावका हुन्छन्, ढिलो बढ्छन्, एकाग्रताको कमी हुन्छन् र सुन्ने तथा देख्ने क्षमतालाई हानि गर्छ। फिटल अल्कोहल सिन्ड्रम भएका थुप्रै बच्चाहरू जन्मँदै कुरूप पनि हुन्छन्।
गर्भमा बच्चा हुँदा ठिक्क मात्रामा पिउने आमाहरूको बच्चासमेत सामान्य बच्चाहरूभन्दा भिन्न स्वभावको र ढिलो सिक्ने जस्ता विकृतिहरू सहित जन्मन सक्छ। वासिङ्टन युनिभर्सिटी-मा रक्सी र लागू-पदार्थले भ्रूणहरूमा पार्ने असरसम्बन्धी अध्ययन गर्ने विभागकी प्राध्यापक आन स्ट्रिस्गुथको भनाइअनुसार “आफ्नो बच्चालाई हानि पुऱ्याउन तपाईं जँड्याहा हुनै पर्छ भन्ने छैन। गर्भवती हुनुहुन्छ भने अलिकता पिउनु पनि खतरनाक हुन्छ।” स्वास्थ्य र औषधीसम्बन्धी अनुसन्धान गर्ने फ्रान्सको एउटा संस्थाले तयार पारेको रक्सीले स्वास्थ्यमा पार्ने असर (फ्रान्सेली) नाउँको प्रतिवेदन यसो भन्छ: “गर्भावस्थामा कुनै पनि यस्तो समय छैन जति बेला रक्सीले हानि नगरोस्। अनि कति पियो भने क्षति पुग्दैन भनेर अहिलेसम्म त्यस्तो कुनै सीमा निर्धारण गरिएकै छैन।” त्यसैले गर्भवती महिलाहरूले र गर्भाधारण गर्ने विचार गरिरहेका महिलाहरूले रक्सी मुखमै नहाल्नु बेस।b
ठिक्क पिउने
रक्सीले पुऱ्याउने हानि यतिमा मात्र सीमित छैन। सन् २००४ मा नेचर पत्रिकाले बताएअनुसार “अलिकता रक्सीले समेत दुर्घटनामा पर्न सक्ने र लगभग ६० प्रकारका रोग लाग्न सक्ने खतरा बढाउँछ।” यी सबै विचार गर्दा, कति पिउँदा ठिक्क हुन्छ? आज संसारका करोडौंले बेलाबेलामा ठिक्क पिएर रक्सीको आनन्द लिन्छन्। स्वास्थ्यमा फाइदा पुग्ने गरी पिउने हो भने बढ्ता पिउनु हुँदैन। तर कतिलाई बढ्ता मान्ने? अधिकांश व्यक्तिहरू आफूले जति पचाउन सक्छ त्यो नै ठिक्क मात्रा हो भन्ठान्छन्। मातिएको छैन वा रक्सीमा निर्भर भएको छैन भने केही फरक पर्दैन भन्छन्। तर युरोपमा ४ जनामा १ जनाले हानि गर्ने मात्रामा मदिरा सेवन गर्छन्।
पुरुषहरूले दिनको २० ग्राम अल्कोहल अर्थात् दुई पेग (स्ट्याण्डर्ड ड्रिंक) र महिलाहरूले दिनको १० ग्राम अल्कोहल अर्थात् एक पेग पिउनु ठिक्क हुन्छ भनेर विभिन्न स्रोतहरूले बताएका छन्। फ्रान्सेली र बेलाइती स्वास्थ्य अधिकारीहरू पुरुषहरूले दिनको तीन पेग र महिलाहरूले दुई पेग पिउनु “ठीक” हो भन्छन्। यु. एस. नेसनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एन्ड अल्कोहलिज्मले “६५ वर्ष वा सोभन्दा माथिकालाई दिनको एक पेग मात्र पिउन” सल्लाह दिन्छ।c तर व्यक्तिपिच्छे रक्सीको असर फरक-फरक हुन्छ। कहिलेकाहीं थोरै पिए तापनि त्यही नै धेरै हुन सक्छ। उदाहरणका लागि, “छिनछिनमा मुड परिवर्तन भइरहने (मुड डिसअर्डर) र फिक्रीजस्ता सामान्य मानसिक समस्या भएकाहरूले ठिक्क पिउनु पनि हानिकारक हुन सक्छ” भनी रक्सीले स्वास्थ्यमा पार्ने असरबारे अमेरिकी संसद्समक्ष प्रस्तुत १० औं विशेष प्रतिवेदन (अङ्ग्रेजी) बताउँछ। रक्सी पिउनुअघि उमेर, स्वास्थ्य समस्या र जीउडालजस्ता कुराहरू विचार गर्नुपर्छ।—“जोखिम कम गर्ने” शीर्षकको पेटी हेर्नुहोस्।
अचाक्ली रक्सी पिउनेहरूले यो लत कसरी त्याग्ने र तिनीहरूलाई कसरी मदत गर्ने? यसको जवाफ अर्को लेखमा दिइनेछ। (g05 10/8)
[फुटनोटहरू]
a फ्रान्समा गरिएको एउटा अध्ययनअनुसार हेपाटाइटिस सी भएकाहरूमध्ये ठिक्क पिउनेहरूलाई भन्दा बढी पिउनेहरूलाई सिरोसिस् हुने सम्भावना दुई गुणा बढी हुन्छ। हेपाटाइटिस सी भएकाहरूलाई अलिकति मात्र पिउन वा थोपै नपिउन सल्लाह दिइएको छ।
b स्तनपान गराइरहेका महिलाहरूले थाह पाउनुपर्ने कुरा, रक्सी पिएपछि दूधमा अल्कोहल जम्मा हुन्छ। वास्तवमा, पिएपछि दूधमा अल्कोहलको मात्रा रगतमा भन्दा पनि बढी हुन्छ। किनकि रगतमा पानीको मात्रा दूधमा भन्दा धेरै हुने भएकोले पानीले रक्सीको असरलाई कम गरिदिन्छ तर दूधमा यस्तो हुन पाउँदैन।
c “एक पेग” ठाउँ अनुसार फरक-फरक हुने भएकोले गिलासमा हालिने रक्सीको मात्रा स्थानीय प्रचलनमा भर पर्छ। त्यसैले पिउन बस्नुअघि नै यो कुरा विचार गर्नुपर्छ।
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
पिएर गाडी हाँक्न हुन्छ?
गाडीहरूको सुरुवात् जहिलेदेखि भयो, त्यति बेलादेखि नै पिएर गाडी हाँक्नुहुन्न भन्ने मान्यता रहिआएको छ। तर कानुनद्वारै यो नियम पारित गर्ने पहिलो मुलुक भने डेनमार्क हो। उसले यो नियम सन् १९०३ मा बनाएको थियो।
खाली पेटमा रक्सी पिउनुभयो भने रगतमा अल्कोहलको मात्रा सबैभन्दा उच्च बिन्दुमा पुग्न आधा घण्टा पनि लाग्दैन। भनिन्छ, कफी पियो, चिसो हावामा बस्यो वा व्यायाम गऱ्यो भने रक्सीको मात चाँडै उत्रन्छ। तर यस भनाइमा कुनै सत्यता छैन। रक्सीको नशा कम गर्ने एक मात्र उपाय समय बित्न दिनु हो। समय बित्दै जाँदा मात आफै घट्दै जान्छ। यो पनि नबिर्सनुहोस्, “आखिर रक्सी भनेको रक्सी नै हो।” मतलब, चाहे तपाईं वाइनमा रमाउनुहोस्, बियरको चुस्की लिनुहोस् वा स्प्रिट पिउनुहोस्, अल्कोहलको मात्रा उति नै हुन्छ।d
अलिकति रक्सीले समेत गाडी हाँक्ने तपाईंको क्षमतामा नराम्रो असर गर्न सक्छ। रक्सीले तपाईंको दृष्टिमा असर गर्छ। सडकका सङ्केत चिह्नहरू साना देखिन्छन्। सामान्य अवस्थामा तपाईंले टाउको नघुमाई आफ्नो दायाँ-बायाँ जति देख्न सक्नुहुन्छ रक्सी पिएपछि त्यति देख्न सक्नुहुन्न। दूरी अन्दाज गर्ने र टाढाका वस्तुहरू देख्ने क्षमतामा कमी आउँछ। प्राप्त जानकारीहरू विश्लेषण गर्ने, प्रतिक्रिया देखाउने र शरीरका अङ्गहरूबीच समन्वय गर्ने गति ढिलो हुन्छ।
रक्सी पिएको बेला तपाईं दुर्घटनामा पर्नुभयो भने नपिएको भए जति चोटपटक लाग्थ्यो, त्योभन्दा गम्भीर चोटपटक लाग्ने सम्भावना हुन्छ। साथै, रक्सीले मुटु र रक्तसञ्चारमा असर पार्ने हुनाले आपत्कालीन शल्यक्रिया गर्नुपर्ने भयो भने तपाईंको बाँच्ने सम्भावना कम हुन्छ। “साधारणतया मानिसहरूले सोचेअनुसार नभई, रक्सीको कारण हुने दुर्घटनाहरूले गर्दा मृत्यु हुनेहरूमा अधिकांश चालकहरू नै हुन्छन्” भनी स्वास्थ्य र औषधीसम्बन्धी अनुसन्धान गर्ने फ्रान्सको एउटा संस्थाले तयार पारेको प्रतिवेदन बताउँछ। रक्सी पिएर सवारी साधन चलाउँदाका खतरालाई ध्यानमा राख्दै उक्त प्रतिवेदन यस्ता सुझावहरू दिन्छ:
◼ पिएर नचलाउनुहोस्।
◼ चालकले पिएको छ भने त्यस्तो गाडीमा बस्दै नबस्नुहोस्।
◼ साथीहरू वा आमाबाबुलाई रक्सी पिएर गाडी चलाउन नदिनुहोस्।
[फुटनोट]
d साधारणतया, शरीरले एक घण्टामा सात ग्राम अल्कोहलको नशालाई कम गर्छ। एक पेगमा कति मदिरा हुन्छ, देशअनुसार फरक-फरक हुन्छ। विश्व स्वास्थ्य संगठनले एक पेग मदिरामा १० ग्राम शुद्ध अल्कोहल (इथानोल) हुन्छ भनेर बताएको छ। यसको अर्थ एक पेगमा लगभग २५० मिलिलिटर बियर, १०० मिलिलिटर वाइन वा ३० मिलिलिटर स्प्रिट हुन्छ।
यी पेय पदार्थहरूमा अल्कोहलको मात्रा लगभग बराबर हुन्छ
आधा बोतल बियर (५% अल्कोहल भएको ३३० मि लि)
एक पेग स्प्रिट (ह्विस्की, जिन, भोड्का) (४०% अल्कोहल भएको ४० मि लि)
एक गिलास वाइन (१२% अल्कोहल भएको १४० मि लि)
सानो गिलासको एक गिलास लिक्वेर (२५% अल्कोहल भएको ७० मि लि)
[पृष्ठ ६-मा भएको पेटी]
रक्सीमाथिको निर्भरता जिनमा भर पर्छ?
वैज्ञानिकहरूले मद्यव्यसन विरुद्धको उपचार पत्ता लगाउन रक्सी पिउने बानीमा जिनले पार्ने प्रभावबारे बुझ्ने कोसिस गरेका छन्। हालसम्ममा वैज्ञानिकहरूले यस्ता केही जिनहरू पत्ता लगाइसकेका छन् जसले रक्सीप्रति मानिसले देखाउने प्रतिक्रियामा असर गर्छ जस्तो देखिन्छ। तर कुनै व्यक्ति जँड्याहा हुनुमा जिनको मात्र हात हुँदैन। जिनको आधारमा हेर्दा कोही व्यक्ति मद्यव्यसनी हुनुनपर्ने जस्तो देखिए तापनि त्यो व्यक्ति रक्सीमाथि निर्भर हुनेछैन भनेर ठोकुवा गर्न सक्ने कुनै आधार छैन। वरपरको वातावरणले पनि असर गर्छ। राम्रो लालनपालन नपाएकाहरू, घरमा वा साथीभाइमध्ये कोही मद्यव्यसनी भएकाहरू, कलहमा हुर्केकाहरू, भावनात्मक समस्या भएकाहरू, निराश, झनक्क रिसाउने, खतरा मोल्ने, धेरै रक्सी पचाउन सक्ने वा अरू लागूपदार्थको कुलतमा फसेकाहरू जँड्याहा हुने सम्भावना धेरै हुन्छ। यी र अरू कारणहरूले गर्दा मानिसहरू रक्सीमाथि निर्भर हुन सक्छन्।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
फ्रान्स:
अध्ययनहरूले देखाएअनुसार लगभग ५० लाख मानिसले अचाक्ली रक्सी पिउँछन्, जसमध्ये २० देखि ३० लाख रक्सीमै निर्भर छन्
नाइजेरिया:
लागोसबाट निस्कने डेली च्याम्पियन पत्रिकाअनुसार कुल जनसंख्याको लगभग १२ प्रतिशत अर्थात् “एक करोड ५० लाख भन्दा बढी नाइजेरियनहरू जँड्याहा” छन्
पोर्चुगल:
औसतमा यहाँका मानिसहरूले विश्वमै सबैभन्दा बढी रक्सी पिउँछन्। लिस्बनबाट निस्कने पब्लिको पत्रिकाअनुसार कुल जनसंख्याको १० प्रतिशत व्यक्तिहरू “रक्सीले गर्दा लाग्ने गम्भीर रोगहरूद्वारा पीडित” छन्
संयुक्त राज्य अमेरिका:
रक्सीले स्वास्थ्यमा पार्ने असरबारे अमेरिकी संसद्समक्ष प्रस्तुत १० औं विशेष प्रतिवेदन-अनुसार (अङ्ग्रेजी) “लगभग १ करोड ४० लाख अर्थात् कुल जनसंख्याको ७.४ प्रतिशत अमेरिकीहरू अचाक्ली रक्सी पिउने वर्गमा पर्छन्”
[पृष्ठ ८-मा भएको पेटी]
जोखिम कम गर्ने
विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य तथा लागूपदार्थमाथिको निर्भरता विभागले जोखिम कम गर्ने निम्न सुझावहरू प्रकाशन गरेको छ। तर जोखिम कम गर्नुको मतलब जोखिम हुँदै हुँदैन भनेको चाहिं होइन। रक्सीको असर व्यक्तिपिच्छे फरक-फरक हुन्छ।
◼ दिनको दुई पेगभन्दा बढी नपिउनुहोस्e
◼ कम्तीमा पनि हप्ताको दुई दिन रक्सी मुखमै नहाल्नुहोस्।
निम्न अवस्थाहरूमा अलिकता पिउनु पनि हानिकारक हुन सक्छ
◼ सवारी साधन हाँक्दा वा मेसिन चलाउँदा
◼ गर्भावस्थामा वा स्तनपान गराइरहनुभएको छ भने
◼ कुनै खास औषधी सेवन गरिरहनुभएको छ भने
◼ कुनै खास रोग लागेको छ भने
◼ पिउने बानीलाई वशमा राख्न सक्नुहुन्न भने
[फुटनोट]
e एक पेगमा दस ग्राम अल्कोहल हुन्छ।
[स्रोत]
स्रोत: ब्रिफ इन्टरभेन्सन फर हजार्डियस एण्ड हार्मफुल ड्रिङ्किङ
[पृष्ठ ९-मा भएको पेटी/चित्र]
मुटुको लागि रक्सी कत्तिको फाइदाजनक?
रेड वाइनमा पाइने रसायनहरूले (पोलिफिनोल) रक्तनली खुम्च्याउँछ भनी वैज्ञानिकहरू विश्वास गर्छन्।
साथै, साधारणतया अल्कोहलले राम्रो कोलस्ट्रोलको मात्रा बढाउँछ भनेर पनि मानिंदै आएको छ। यसले रगत जमाउने पदार्थलाई पनि घटाउँछ।
तर पिउन पायो भन्दैमा आँखा चिम्लेर पिउँदा यस्तो फाइदा हुँदैन। यसको लागि त अलिअलि पिउनुपर्छ। दिनमा दुई पेगभन्दा बढी पियो भने रक्तचाप बढ्छ। अनि अझ धेरै पियो भने मस्तिष्कघात हुने खतरा हुन्छ, मुटु सुन्निन सक्छ र मुटुको धड्कन अनियमित हुन्छ। ठिक्क पिउँदा रक्सीले मुटुलाई जति फाइदा गर्छ, बढ्ता पियो भने त्योभन्दा कयौं गुणा बढी हानि गर्छ। भनाइ नै छ, धेरै खायो भने चिनी पनि तितो हुन्छ।
[पृष्ठ ७-मा भएको रेखाचित्र/चित्र]
रक्सीले के-कस्ता हानि पुऱ्याउन सक्छ
मस्तिष्क
कोष नाश, स्मरणशक्ति ह्रास, नैराश्य, झगडालु स्वभाव
देख्ने, बोल्ने र शरीरका अङ्गहरूबीच समन्वय गर्ने क्षमतामा कमी
घाँटी, मुख, स्तन र कलेजोको क्यान्सर
मुटु
कमजोर मांसपेशी, हृदयघातको सम्भावना
कलेजो
बोसो जम्छ, सुन्निन्छ अनि सिरोसिस् हुन्छ
अरू खतराहरू
रोग प्रतिरोधात्मक क्षमतामा ह्रास, अल्सर, प्यांक्रियाज सुन्निने
गर्भवती महिलाहरू
लुला-लङ्गडा र सुस्त मनस्थितिका बच्चाहरू जन्मन सक्छन्
[पृष्ठ ८-मा भएको चित्र]
“गर्भमा विकास हुँदै गरेको भ्रूणलाई अरू कुनै पनि लागूपदार्थले भन्दा रक्सीले बढी क्षति पुऱ्याउँछ”