प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ११/८ पृ. १३-१५
  • च्याट गर्दा आइपर्ने खतराहरूदेखि कसरी जोगिन सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • च्याट गर्दा आइपर्ने खतराहरूदेखि कसरी जोगिन सक्छु?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विषयअनुसार
  • नैतिक पतनको स्रोत
  • परिवारदेखि टाढिने खतरा
  • खतराहरू पन्छाउने
  • च्याट गर्नुअघि मैले के बुझेको हुनुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • इन्टरनेट—खतराहरूबाट कसरी जोगिने
    ब्यूँझनुहोस्‌!—२००५
  • इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?
    ब्यूँझनुहोस्‌!—२०००
  • इन्टरनेटका सेवा तथा सामग्री
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ११/८ पृ. १३-१५

युवा जनहरू सोध्छन्‌ . . .

च्याट गर्दा आइपर्ने खतराहरूदेखि कसरी जोगिन सक्छु?

“म दिनको तीन/चार घण्टा च्याट गर्थें। कहिलेकाहीं त छ/सात घण्टासम्म च्याटमै मस्त हुन्थें।”—हरीश।a

अपरिचित व्यक्‍तिहरूसित संगत गर्दा होसियार भएझैं च्याट गर्दा पनि सजग हुनुपर्छ। उदाहरणको लागि, ठूलो सहरमा जानुहुँदा कुनै किसिमको खतरामा नपर्न तपाईं त्यहाँका बदनाम इलाकाहरूबाट पर बस्नुहुन्छ।

च्याट नगरी नहुने भयो भने त्यसरी नै होसियार हुनुपर्छ। अक्टोबर ८ अंकको ब्यूँझनुहोस्‌! पत्रिकामा च्याट गर्दा होसियार रहनुपर्ने दुइटा खतराबारे छलफल गरिएको थियो। ती खतराहरू हुन्‌: यौन सिकारीहरूसित हुनसक्ने भेट र अरूलाई झुक्याउने प्रलोभन। च्याट गर्दा विचार पुऱ्‍याउनुपर्ने अन्य खतराहरू पनि छन्‌। तर सर्वप्रथम, च्याट साइटलाई कसरी मिलाइएको हुन्छ, त्यो बुझौं।

विषयअनुसार

केही खास उमेरका मानिसहरूलाई आकर्षक लाग्ने विषयअनुसार च्याट साइटहरू तयार पारिएका हुन्छन्‌। केही च्याटहरू खेल वा सोख भन्‍ने बित्तिकै भुतुक्कै हुनेहरूको लागि तयार पारिएको हुन्छ भने अन्य कतिपय चाहिं टेलिभिजन कार्यक्रमबारे छलफल गर्नका लागि तयार पारिएको हुन्छ। अझै अरू कति त कुनै खास धर्मका अनुयायीहरूको लागि भनेरै तयार पारिएको हुन्छ।

कुनै-कुनै च्याट साइटहरूले विश्‍वभरिका युवा साक्षीहरूले नयाँ साथीहरू बनाउन सक्ने ठाउँ भनेर दाबी गरेका हुन्छन्‌। यदि तपाईं यहोवाको साक्षी हुनहुन्छ भने, यस्ता साइटहरूमा जान उत्सुक हुनु होला। अरू साक्षी युवायुवतीहरूलाई साथी बनाउन खोज्नु राम्रै हो। तर यस्ता च्याट साइटहरू मसीहीहरूका लागि हानिकारक हुन सक्छन्‌। कसरी?

नैतिक पतनको स्रोत

“म एउटा समूहसित च्याट गरिरहेको थिएँ। मैले तिनीहरू सबै यहोवाका साक्षीहरू होलान्‌ भन्ठानेको थिएँ। तर केही बेरमै ती मानिसहरूले हाम्रो विश्‍वासलाई तल झारेर कुरा गर्न थाले। तिनीहरू धर्मत्यागीहरू पो रहेछन्‌” तेज नाउँका एक युवक भन्छन्‌। च्याट साइटमा यहोवाका साक्षी हौं भनी दाबी गर्ने ती व्यक्‍तिहरू वास्तवमा जानाजानी अरू साक्षीहरूको नैतिक पतन गराउन खोज्ने खराब मानिसहरू थिए।

परमेश्‍वरका पुत्र येशू ख्रीष्टले उहाँको पछि लाग्ने कोही-कोहीले आफ्नै मित्रहरूको विरोध गर्नेछन्‌ भनेर सजग गराउनु भएको थियो। (मत्ती २४:४८-५१; प्रेरित २०:२९, ३०) प्रेरित पावल आफ्नो समयका यस्ता व्यक्‍तिहरूलाई झूटा भाइहरू भन्‍ने नाउँ दिंदै भने, मसीही मण्डलीलाई हानि गर्न तिनीहरू “सुटुक्क भित्र” पस्छन्‌। (गलाती २:४) त्यसै गरी “हाम्रा परमेश्‍वरको अनुग्रहलाई लुच्च्याइँमा” फिराउन यिनीहरू “गुप्त रूपले भित्र घुसेका छन्‌” भनी बाइबलका एक लेखक यहूदाले भने। (यहूदा ४) यिनीहरू “पानीमुनि लुकेका चट्टानहरू हुन्‌” भनेर पनि तिनले बताए।—यहूदा १२, NW.

याद गर्नुहोस्‌, पावल र यहूदा दुवैले धर्मत्यागीहरू कसैले चाल नपाउने गरी सुटुक्क आफ्नो काम पूरा गर्छन्‌ भनी बताए। मसीही मण्डलीको नैतिक पतन गराउन धर्मत्यागीहरू “सुटुक्क भित्र” पसेका छन्‌ वा “गुप्त रूपले भित्र घुसेका छन्‌,” भनी बाइबलका यी लेखकहरूले लेखे। अहिले च्याट गर्ने साइट यस्ता भ्रष्टहरूको लागि सुटुक्क लुकेर अरूको बिगार गर्ने राम्रो थलो भएको छ। पानीमुनि लुकेका चट्टान जस्तै यी झूटा मसीहीहरूले युवा साक्षीहरूको हितैषी भई टोपलेर आफ्नो वास्तविक मनसाय लुकाउँछन्‌। यिनीहरूको मुख्य उद्देश्‍य आध्यात्मिक तवरमा होसियार नहुनेहरूको विश्‍वासको जहाज डुबाउनु हो।—१ तिमोथी १:१९. २०.

यहोवाका साक्षीहरूले प्रकाशित गर्ने ब्यूँझनुहोस्‌! लगायत अन्य साहित्यहरूले बारम्बार यस्तो खतरादेखि सावधान गराएको छ।b त्यसैले यहोवाका साक्षीहरूको लागि भनेर तयार पारिएको च्याट साइटमा भेट्‌नुभएको व्यक्‍तिले जस्तोसुकै दाबी गरे तापनि ऊ बाइबलको सल्लाह सुन्‍ने व्यक्‍ति भने पक्कै हुन सक्दैन। बाइबलको सल्लाह उपेक्षा गर्ने त्यस्तो व्यक्‍तिलाई के तपाईं साथी बनाउन चाहनुहुन्छ?—हितोपदेश ३:५, ६; १५:५.

परिवारदेखि टाढिने खतरा

च्याट गर्दा विचार गर्नुपर्ने अर्को पक्ष च्याट गर्दा लाग्ने समय हो। लेखको सुरुमा उल्लेख गरिएका हरीश भन्छन्‌: “कहिलेकाहीं च्याट गर्न यत्ति मस्त हुन्थें, म खाना खान पनि बिर्सन्थें।”

तपाईं हरीशजस्तै च्याट गर्नमै मस्त त नहुनु होला। तैपनि च्याट गर्न समय निकाल्न अरू कुरालाई पन्छाउनै पर्ने हुन्छ। तर सुरुमै तपाईंले होमवर्क वा घरायसी कामलाई बिसाएर च्याट गर्नुहुन्‍न होला। बरु, परिवारसित बसेर कुरा गर्ने समय चाहिं लगाउनुहुन्छ होला। स्पेनका आड्रियान भन्छन्‌, “खाना खाइसक्ने बित्तिकै म जुरुक्क उठेर च्याट गर्न थालिहाल्थें। च्याट गर्न म यति तल्लीन हुन्थे, मैले परिवारसित कुराकानी गर्नै छोडें।”

च्याट गर्न आफ्नो अनमोल समय लगाइरहनुभएको छ भने तपाईं पक्कै आफ्नो प्रिय व्यक्‍तिहरूसित टाढिंदै गइरहनुभएको हुन सक्छ। परिवारदेखि अलग्ग बस्ने विषयमा बाइबलले यस्तो चेतावनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” (हितोपदेश १८:१) च्याट गर्दा भेटिने अपरिचित मानिसहरूले तपाईंलाई बाइबलमा पाइने व्यावहारिक बुद्धिअनुसार चल्न पटक्कै प्रोत्साहन दिंदैनन्‌। यसको साटो स्वार्थको पछि लाग्न र मसीही नैतिक स्तर नाघ्न तपाईंलाई प्रोत्साहित गर्नेछन्‌।

च्याट गर्न मन लाग्नुको एउटा कारण परिवारसित कुराकानी गर्नुभन्दा च्याट गर्न सजिलो भएर पनि हुन सक्छ। च्याट साइटमा भेटिने साथीहरूले उत्सुक भएर तपाईंको कुरा सुन्‍ने र खुलस्त आफ्नो विचार पोख्ने गर्छन होला। अर्कोतर्फ तपाईंको परिवारका सदस्यहरूसित भने कुरा सुन्‍ने फुर्सत नभएजस्तो र आफ्नो भावना पोख्न डराएजस्तो तपाईंलाई लाग्न सक्छ।

तर एकछिन आफैलाई सोध्नुहोस्‌, ‘च्याट साइटमा भेटिने मानिसहरूले के मलाई वास्तवमा राम्ररी चिनेका छन्‌? के तिनीहरू साँच्चै सधैं मेरो भलो चाहन्छन्‌?’ तपाईंको भावनात्मक अनि आध्यात्मिक स्वास्थ्यको बढी चिन्ता तपाईंको परिवारलाई हुन्छ। तपाईंको आमाबाबु बाइबलका स्तरअनुसार चल्ने प्रयास गर्दै हुनुहुन्छ भने, उहाँहरू तपाईंसित कुराकानी गर्न अति इच्छुक हुनुहुन्छ। (एफिसी ६:४) झर्कीफर्की नगरी आदरपूर्वक खुलस्त कुराकानी गर्नु भयो भने आशा गरेभन्दा राम्रो प्रतिक्रिया पाउनुहुनेछ।—लूका ११:११-१३.

खतराहरू पन्छाउने

स्कूल प्रोजेक्टले गर्दा तपाईंले च्याट नगरी नहुने हुन सक्छ।c त्यतिबेला निम्न लिखित सरल सावधानीहरू अपनाएर च्याट साइटको पासोमा पर्नदेखि जोगिन सक्नुहुन्छ।

पहिलो, आफ्नो कोठाबाट इन्टरनेट नचलाउनुहोस्‌। आफू एक्लै बसेर इन्टरनेट प्रयोग गर्नु भनेको समस्या निम्ताउन अन्जान सहरको अँध्यारो गल्लीमा एक्लै डुल्नु सरह हो। बरु, परिवारका सबैले देख्ने ठाउँमा कम्प्युटर राख्नुहोस्‌।

दोस्रो, तपाईं कुन-कुन साइट प्रयोग गर्नुहुन्छ र किन, आमाबाबुलाई खुलस्त बताउनुहोस्‌। कतिबेर कम्प्युटर प्रयोग गर्ने हो, समय तोक्नुहोस्‌ र त्यसैअनुसार गर्नुहोस्‌।

तेस्रो, इन्टरनेटमा यौन दुराचारीहरूले पठाउने सन्देशहरू रोक्ने प्रोग्रामहरू कम्प्युटरमा राख्नुहोस्‌। इन्टरनेट प्रयोग गर्दा कसैले तपाईंसित यौन प्रस्ताव राख्दैछ भने आमाबाबु वा आफ्नो शिक्षकलाई बताइहाल्नुहोस्‌। तपाईं नाबालिग हुनुहुन्छ भनेर जान्दाजान्दै तपाईंलाई यौन सन्देश वा अश्‍लील चित्रहरू पठाउँछ भने केही मुलुकहरूमा त्यो अपराध हो। यसबारे प्रहरीमा उजुरी गरिहाल्नुपर्छ।

यसबाहेक, आफ्नो नाउँ, ठेगाना, स्कूलको नाउँ अथवा आफ्नो फोन नम्बर नदिनुहोस्‌। अनि व्यक्‍तिगत तवरमा भेट्‌ने प्रस्तावलाई बिर्सेर पनि नस्वीकार्नुहोस्‌।

हजारौं वर्षअघि बुद्धिमान्‌ राजा सुलेमान लेखेका यी शब्दहरू च्याट साइटमा आइपर्ने खतराहरूदेखि जोगिन अझै पनि काम लाग्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३. (g05 10/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b ब्यूँझनुहोस्‌! जनवरी १, २००५, पृष्ठ १८-२१ हेर्नुहोस्‌।

c ब्यूँझनुहोस्‌! फेब्रुअरी ८, २०००, पृष्ठ २० हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको चित्र]

तपाईं कुन साइट प्रयोग गर्दै हुनुहुन्छ, आमाबाबुलाई देखाउनु बुद्धिमानी हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने