प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. १२-१४
  • “इनारमा भेटौं है”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “इनारमा भेटौं है”
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पानीलाई चोखो मान्‍ने चलन
  • प्रदूषित इनार
  • मोल्डोभाको मदिराखानी पत्ता लगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००४
  • बाल्यकालदेखि नै परमेश्‍वरलाई प्रेम गर्न सिकाइएको
    ब्यूँझनुहोस्‌!—२००४
  • आकाशको पानी सङ्‌कलन गर्ने तरिका—पुरानो र नयाँ
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. १२-१४

“इनारमा भेटौं है”

मोल्डोभाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

केही मानिसहरू रमाउँदै इनारको पानी बाटोमा खन्याउँदै छन्‌। त्यत्तिकैमा दुलहाले दुलहीलाई जुरुक्कै उचाल्छन्‌ र भिजेको बाटोमा टेक्दै अगाडि बढ्‌छन्‌। अघिसम्म लाज मानिरहेकी दुलही अब भने खितित्त हाँस्छे। यो देखेर वरपर जम्मा भएका परिवार तथा साथीभाइहरू पनि रमाउँदै थपडी मार्छन्‌। यसरी वर्षौंदेखि चलिआएको विवाह गर्ने अनौठो परम्परा पूरा हुन्छ। ओहो! मोल्डोभाका मानिसहरू इनारमा पानी तान्‍न मात्र आउने होइन रहेछ।

मोल्डोभा, युरोपको दक्षिणपूर्वी भागमा पर्दछ। यसको उत्तर, पूर्व अनि दक्षिणमा युक्रेन पर्छ भने पश्‍चिमतिर रोमानिया पर्छ। मोल्डोभाको क्षेत्रफल लगभग ३४,००० वर्ग किलोमिटर छ।

मोल्डोभामा झन्डै ३,१०० नदी छन्‌। तापनि घरिघरि पर्ने खडेरीले गर्दा यहाँका ४३,००,००० जनतालाई नदीको पानी तिर्खा मेट्‌न पुग्दैन। त्यसैले देशभर चाहिने पानीको २० प्रतिशतभन्दा धेरै माग त इनारको पानीबाटै पूरा गरिन्छ। प्रुट नदी पारि मोल्डोभाको सिमानामा मात्र लगभग एकदेखि दुई लाखसम्म इनारहरू छन्‌!

मोल्डोभाका सडक-सडक अनि गल्ली-गल्लीहरूमा समेत इनारहरू भएकोले तिर्खाले प्याकप्याक परेका यात्रुहरूको घाँटी भिजाउन निकै सजिलो भएको छ। बुट्टा कुँदिएका छतहरूले छोपिएका यी इनारहरू निकै सुन्दर देखिन्छन्‌। मोल्डोभाका गाउँघरतिर मानिसहरू इनारमा तिर्खा मेट्‌न मात्र होइन साथीभाइसित गफ चुट्‌न पनि आउने गर्छन्‌।

पानीलाई चोखो मान्‍ने चलन

मोल्डोभाका जनता इनारको पानीको निकै आदर गर्छन्‌। तिनीहरू इनार नजिकै शौचालय बनाउँदैनन्‌। इनारबाट तानेको पानी उब्रियो भने फेरि इनारमै खन्याउन पाइँदैन। बढी भएको पानीलाई या त जमिनमा पोखाउनुपर्छ वा इनार नजिकै पानी जम्मा गर्ने भाँडोमा खन्याउनुपर्छ। यसो गर्दा इनारको पानी फोहोर हुन पाउँदैन। मोल्डोभाका जनता इनारको पानीलाई यत्ति चोखो मान्छन्‌, इनार वरपर थुक्न त के, बाझ्नसमेत पाइन्‍न!

मोल्डोभामा सबै जना एक जुट भई इनार खन्छन्‌। फलतः तिनीहरूबीच सहयोगी भावना बढ्‌छ। नयाँ इनार खन्‍नु नयाँ घर बनाउनु जत्तिकै महत्त्वपूर्ण ठानिन्छ र इनार खन्‍न टोलका सबै जम्मा हुन्छन्‌। मोल्डोभामा घर नबनाउने, छोरो नजन्माउने, इनार नखन्‍ने र रूख नरोप्ने मान्छे पनि के मान्छे भन्‍ने आहान नै छ। इनार खन्‍न सिद्धिसकेपछि एक किसिमको पर्व नै हुन्छ। टोलछिमेकका सबै मानिसहरू भोज खाएर नयाँ इनारको उद्‌घाटन गर्छन्‌।

प्रदूषित इनार

मोल्डोभामा प्राय १५ देखि ४० फिट खनेर इनारको पानी निकाल्ने गरिन्छ। त्यति खनेर पनि सफा पानी आएन भने ५०० देखि ८०० फिट खनिन्छ। इनारको पानीलाई दूषित हुन नदिने थुप्रै मोल्डोभियाली चलनहरू भए तापनि कलकारखानाबाट निस्कने फोहोरमैला अनि रासायनिक मल तथा विषादीले गर्दा जमिनमुनिको पानी प्रदूषित भएको छ। “मोल्डोभाका झन्डै ६०% इनारहरूको पानी” नाइट्रिक एसिड र किटाणुले गर्दा दूषित भएको छ भनी सन्‌ १९९६ मा प्रकाशित संयुक्‍त राष्ट्र संघको गणतन्त्र मोल्डोभाको मानव विकास प्रतिवेदनमा उल्लेख गरिएको थियो। तर केही वर्ष यता, कलकारखानाको प्रयोगलगायत रासायनिक विषादीको प्रयोग घट्‌नुका साथै तेल चुहावट पनि कम हुन थालेकोले इनारको पानी पिउन सकिने भएको छ।

मोल्डोभा जाँदै हुनुहुन्छ भने गफ हाँक्न बाटोमा पानी खन्याउनु पर्दैन। बस, इनारमा भेट्‌ने निम्तो पाए पुग्छ। त्यसपछि चिसो पानी पिउँदै मजाले मीठो गफ छाँट्‌नुस्‌। (g05 11/8)

[पृष्ठ १३, १४-मा भएको पेटी/चित्र]

परम्परागत कला

अल्येक स्थानीय लोहार हुन्‌। स्कूल छोडेदेखि नै तिनले इनारका कलात्मक छतहरू बनाउन थालेका हुन्‌। “फलामको काम गर्नु हाम्रो पुर्ख्यौली पेसा हो” अल्येक भन्छन्‌। “मेरो हजुरबुबा लिप्कान्या गाउँमा बस्नुहुन्थ्यो। उहाँको गाउँबाहिर यहूदीहरूको ठूलो बस्ती थियो। तिनै यहूदी लोहारहरूसित उहाँले २० औं शताब्दीको सुरुतिर फलामको काम सिक्नुभएको रहेछ। तर दोस्रो विश्‍वयुद्धमा यहूदीहरूको नरसंहारपछि गैर-यहूदीहरूले फलामको काम गर्न थाले। त्यतिखेरै मेरो बुबाले पनि फलामको काम सिक्नुभयो र पछि मलाई पनि सिकाउनु भयो।”

इनारका कलात्मक तर अनौठा छतहरू बनाउन अल्येक साधारण ज्यावल अनि केही साँचोहरू मात्र प्रयोग गर्छन्‌। तिनको कलामा केही परम्परागत त केही काल्पनिक छनक पाइन्छ। स्थानीय बासिन्दालाई तिनले बनाएको छत असाध्यै मन पर्छ। अल्येक भन्छन्‌: “ग्राहकहरू अरूकहाँ सामान बनाउँदा भाउ मिलाउन साह्रै कचकच गर्छन्‌। तर मैले बनाएको इनारका छतहरूलाई मैले जत्ति भनें, त्यति नै दिन्छन्‌।”

[पृष्ठ १३-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

युक्रेन

मोल्डोभा

रोमानिया

कृष्ण सागर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने