प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १०/०६ पृ. २१-२२
  • सृष्टिकर्तामाथि हामी किन विश्‍वास गर्छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिकर्तामाथि हामी किन विश्‍वास गर्छौं
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • विज्ञान नै मेरो धर्म थियो
    ब्यूँझनुहोस्‌!—२००३
  • ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?
    ब्यूँझनुहोस्‌!—२०१०
  • मैले क्रमविकासमा विश्‍वास गर्नु ठीक हो?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • जीवनको सुरुवात कसरी भयो?
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००६
g १०/०६ पृ. २१-२२

सृष्टिकर्तामाथि हामी किन विश्‍वास गर्छौं

विभिन्‍न वैज्ञानिक विधाका विशेषज्ञहरू प्रकृति बुद्धिमान्‌ रचनाको सुन्दर थुँगा हो भनेर मानि लिन्छन्‌। पृथ्वीमा पाइने जटिल प्राणी तथा बोटबिरुवाहरू कुनै दुर्घटनाको उपज हुन्‌ भनेर पत्याउन उनीहरू गाह्रो मान्छन्‌। तसर्थ, थुप्रै वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सृष्टिकर्तामाथि विश्‍वास गर्छन्‌।

यसरी विश्‍वास गर्नेहरूमध्ये केही यहोवाका साक्षी पनि भइसकेका छन्‌। बाइबलको परमेश्‍वर नै यस भौतिक ब्रह्‍माण्डको रचनाकार तथा निर्माता हुनुहुन्छ भनेर उनीहरू विश्‍वस्त छन्‌। तर उनीहरू कसरी यस्तो निष्कर्षमा पुगे त? ब्यूँझनुहोस्‌!-ले उनीहरूमध्ये कसै-कसैलाई यो प्रश्‍न गर्दा यस्तो चाखलाग्दो जवाफ दिएका थिए।a

‘जीव तथा वनस्पतिको जटिलता’

◼ भोल्फ एकहार्ड लोनिग

परिचय: मैले बोटबिरुवामा हुने जेनेटिक म्युटेसनसित सम्बन्धित विभिन्‍न वैज्ञानिक अनुसन्धान गर्न थालेको २८ वर्ष भइसक्यो। त्यसमध्ये २१ वर्ष त जर्मनीको कलोनस्थित म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रीसर्चमा काम गरेर बिताएँ। मैले यहोवाका साक्षीहरूको मसीही मण्डलीमा प्राचीनको हैसियतले सेवा गरेको पनि झन्डै तीन दशक भइसक्यो।

फिजियोलोजी अनि मर्फोलोजी जस्ता जैवीक विषयको अध्ययन गर्दा अनि जीनसम्बन्धी अनुसन्धान गर्दा जीव तथा वनस्पति वास्तवमा कति जटिल हुँदा रहेछन्‌ भनेर बुझ्ने मौका मैले पाएको छु। त्यसैले म हर जीव तथा वनस्पति, चाहे त्यो एक कोषीय जीव नै किन नहोस्‌, ती सबै कुनै एक जना बुद्धिमान्‌ व्यक्‍तिले बनाएको हुनुपर्छ भनेर विश्‍वस्त छु।

जीव तथा वनस्पतिको रचना अत्यन्तै जटिल हुन्छ भन्‍ने कुरा वैज्ञानिक माहोलमा हुनेहरूको निम्ति नयाँ कुरा होइन। तर प्रायः नयाँ अनि रोमाञ्चकारी तथ्यहरू पत्ता लाग्दा, त्यसको श्रेय क्रमविकासलाई दिने गरिन्छ। मेरो विचारमा बाइबलमा सृष्टिबारे जे-जति लेखिएको छ, त्यसलाई वैज्ञानिक तथ्यहरूसित दाँज्ने हो भने, बाइबलप्रति मानिसहरूको गलत धारणा स्वतः हराउनेछ। मैले त्यस्ता गलत तर्कहरूलाई तौलेर हेर्न थालेको दशकौं भइसक्यो। मैले विभिन्‍न जीवित प्राणी तथा वनस्पतिहरूको गहन अध्ययन गर्नुका साथै ब्रह्‍माण्डका विभिन्‍न नियमहरूको सन्तुलनले गर्दा कसरी पृथ्वीमा जीवनको सुरुआत हुन सम्भव हुनसक्यो, त्यसबारे अध्ययन गरेको छु। अनि मेरो एउटै निष्कर्ष छ, सृष्टिकर्ता हुनै पर्छ, हुनुहुन्छ।

“हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ”

◼ बाइरन लिआँ मिडोज

परिचय: म अमेरिकामा बस्छु अनि नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनमा (नासा) लेजर भौतिक विज्ञानको क्षेत्रमा काम गर्छु। अहिले म, विश्‍वभरिको हावापानी, मौसमलगायत त्यस्तै अन्य भूमण्डलीय घटनाहरूलाई अझ राम्ररी मोनिटर गर्ने प्रविधिको विकास गर्ने योजनामा समावेश छु। म भर्जिनिया, किल्मार्नक इलाकाको मण्डलीमा प्राचीनको हैसियतले सेवा पनि गर्दैछु।

अनुसन्धानको क्रममा म अक्सर भौतिक विज्ञानका सिद्धान्तहरूलाई केलाउने मौका पाउँछु। म सधैं कुनै घटना किन अनि कसरी हुन्छ भनेर म सधैं बुझ्ने प्रयास गरिरहेको हुन्छु। मैले स्पष्ट देख्ने गरेको कुरा के छ भने, हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ। अहिले हामी प्रकृतिमा जे-जति कुरा देखिरहेका छौं, ती सबैको मूल कारण परमेश्‍वर नै हुनुहुन्छ भनेर विश्‍वास गर्ने पर्याप्त वैज्ञानिक आधार छ भनेर म विश्‍वास गर्छु। किनकि प्रकृतिका विभिन्‍न नियमहरू यति स्थिर अनि भरपर्दा छन्‌ कि, कसैले केही नगरीकनै ती नियमहरू आफै उत्पन्‍न भए होलान्‌ भनेर म विश्‍वास गर्न सक्दिनँ। सृष्टिकर्ताले नै ती नियमहरू बनाएको हुनुपर्छ।

तैपनि थुप्रै वैज्ञानिकहरू किन क्रमविकासमा विश्‍वास गर्छन्‌ त? त्यसको एउटा कारण त, क्रमविकासका समर्थकहरू अनुसन्धान अनि ठोस प्रमाणहरूको आधारमा होइन कि आफ्नै पूर्व सोचविचारहरूले प्रेरित भएर क्रमविकासको व्याख्या गर्न खोज्छन्‌। धेरै पढे-लेखेका वैज्ञानिकहरूले समेत प्रमाणको आधारमा नभई आफूलाई लागेको कुरा व्याख्या गर्नु कुनै नौला कुरा होइन। तर देखेकै भरमा आफ्नै निष्कर्ष निकाल्नु ठीक कुरा भने पक्कै पनि होइन। उदाहरणका लागि, लेजर फिजिक्सको अध्ययन गर्ने व्यक्‍तिले प्रकाशको किरणमा तरङ्‌गमा हुने विशेषताहरू देखेर प्रकाश पनि ध्वनि जस्तै तरङ्‌ग हो भनेर जिद्दी गर्ला। तर उसको त्यो निष्कर्ष पक्कै अपूरो हुन्छ, किनकि प्रकाश, फोटोन भन्‍ने कणहरूको समूह पनि हो भनेर प्रमाणले देखाउँछ। त्यस्तै गरी, एक टुक्रो प्रमाणको आधारमा क्रमविकास तथ्य हो भनेर जिद्दी गर्ने व्यक्‍तिहरूले अन्य प्रमाणहरू बेवास्ता गरिरहेका हुन्छन्‌ र आफ्नै पूर्व धारणाले अन्धो भएकोले सम्पूर्ण प्रमाणले वास्तवमा के बताउँछ, देख्न सकिरहेका हुँदैनन्‌।

मलाई ताजुब लागेको कुरा त के हो भने, क्रमविकासका “विशेषज्ञ” भनौंदाहरू नै एउटा ठोस निष्कर्षमा पुग्न नसकिरहेको अवस्थामा मानिसहरू क्रमविकासको सिद्धान्तलाई तथ्य भनेर स्वीकारिरहेका छन्‌। यदि गणितको एक जना विशेषज्ञले २ र २ को जोड ४ हुन्छ र अर्कोले, होइन ३ हुन्छ वा ६ हुन्छ भन्छ भने के तपाईं अंक गणितलाई प्रमाणित तथ्यको रूपमा स्वीकार्न सक्नुहुन्छ? यदि विज्ञानको नैतिक जिम्मेवारी, प्रमाणित गर्न सकिने, परीक्षण गर्न सकिने अनि नतिजा पुनः देखाउन सकिने कुरालाई मात्र स्वीकार्नु हो भने, सम्पूर्ण प्राणी तथा वनस्पति कुनै एउटा प्राणीबाट क्रमशः विकास हुँदै आएको हो भनी स्वीकार्नु सोह्रै आना मिथ्या हो। (g 9/06)

“अस्तित्वमा नभएको कुराबाट कसरी कुनै कुरा अस्तित्वमा आउनसक्छ र?”

◼ केनेथ लोइड टानाका

परिचय: म पेसाले भूगोलशास्त्री हुँ र अहिले म एरिजोनाको फ्ल्यागस्टाफमा अमेरिकी भौगोलिक सर्भेमा काम गर्छु। मैले बितेको तीन दशकदेखि ग्रहहरूको भौगोलिक अध्ययन गर्नुका साथै भूगोल विज्ञानसम्बन्धी विभिन्‍न क्षेत्रका वैज्ञानिक अनुसन्धानहरूमा भाग लिएको छु। मेरा दर्जनौं अनुसन्धानमूलक लेख तथा मंगल ग्रहका भौगोलिक नक्साहरू आधिकारिक वैज्ञानिक पत्रिकाहरूमा प्रकाशित भइसकेका छन्‌। म यहोवाको साक्षी पनि हुँ र अरूलाई बाइबल पढ्‌ने प्रोत्साहन दिन महिनामा ७० घण्टा बिताउने गर्छु।

विद्यार्थी छँदा हामीलाई क्रमविकास तथ्य हो भनेर सिकाइन्थ्यो। तर यति विशाल ब्रह्‍माण्ड तयार पार्न चाहिने उर्जा स्वतः उत्पन्‍न भयो भनेर स्वीकार्न मलाई गाह्रो लाग्थ्यो। एक न एक जना शक्‍तिशाली सृष्टिकर्ता हुनै पर्छ भनेर म विश्‍वास गर्थें। हुन पनि अस्तित्वमा नभएको कुराबाट कसरी कुनै कुरा अस्तित्वमा आउनसक्छ र? सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने सबैभन्दा बलियो आधार म त बाइबलमै भेट्टाउँछु। मैले अध्ययन गरेर दक्षता हासिल गरेको क्षेत्रसित मेल खाने थुप्रै वैज्ञानिक तथ्यहरू म बाइबलमा पाउँछु, जस्तै पृथ्वीको आकार गोलो छ भनेर उल्लेख हुनु अनि त्यसै गरी पृथ्वी “शून्यतामा” अडेको छ भनेर बताउनु। (अय्यूब २६:७, NRV; यशैया ४०:२२) मानिसहरूले वैज्ञानिक अनुसन्धान गरेर पत्ता लगाउनुभन्दा धेरै अघि नै यी कुराहरू बाइबलमा लेखिसकिएका थिए।

हाम्रो आफ्नै बनौटलाई पनि विचार गर्नुहोस्‌। हामीसित इन्द्रियहरूको चेतना छ। हामी चेतनशील छौं, सोच्ने बुद्धि छ, अरूसित आफ्नो विचार पोख्ने अनि भावनाहरू व्यक्‍त गर्ने क्षमता छ। उदाहरणस्वरूप प्रेमलाई लिनुहोस्‌। हामी प्रेम महसुस गर्न सक्छौं, अनि देखाउन पनि सक्छौं। यस्ता अद्‌भुत गुणहरू हामी मानिससित किन छन्‌, क्रमविकासले व्याख्या गर्न सक्दैन।

‘क्रमविकासका प्रमाणहरू कत्तिको भरपर्दा छन्‌?’ आफैलाई सोध्नुहोस्‌। भौगर्भिक रेकर्ड अपूरो, जटिल अनि भ्रामक भएकोले क्रमविकास नै भएको हो भने प्रमाणित गर्न सकिंदैन। अर्कोतर्फ, क्रमविकासमा विश्‍वास गर्ने व्यक्‍तिहरूले क्रमविकास कसरी भयो भनेर प्रयोगशालामा वैज्ञानिक तरिकामा प्रमाणित गरेर देखाउन सकेका पनि छैनन्‌। हुन त वैज्ञानिकहरूले तथ्यांकहरू संकलन गर्न निकै उच्च वैज्ञानिक प्रविधिहरूको सदुपयोग गर्छन्‌। तर प्राप्त भएको त्यस्ता तथ्यांकहरूलाई आफ्नै स्वार्थपूर्ति हुने किसिमले व्याख्या पनि गर्छन्‌। अनुसन्धानबाट कुनै ठोस निष्कर्ष निस्केन वा विरोधाभाषपूर्ण निष्कर्ष निस्क्यो भने वैज्ञानिकहरूले आफ्नै धारणालाई अघि सार्ने गरेको अक्सर पाइन्छ। सत्य-तथ्य प्रस्तुत गर्नुभन्दा पनि कतिपय वैज्ञानिकहरू आफ्नो पेसा अनि नाउँलाई बढी महत्त्वपूर्ण ठान्छन्‌।

एक जना वैज्ञानिक अनि साथै बाइबलको विद्यार्थी भएको नाताले मलाई अधकल्चो सत्य मन पर्दैन। म थाह लागिसकेको तथ्य अनि अनुसन्धानहरूसित पूर्णतया मेल खाने तथ्यहरूलाई मात्र सबैभन्दा सही निष्कर्ष सम्झन्छु। तसर्थ, सृष्टिकर्तामाथि विश्‍वास गर्नु नै मेरो निम्ति सबैभन्दा चित्तबुझ्दो निष्कर्ष हो।

‘सूक्ष्म कोषको रचना नै सृष्टिकर्तामाथि विश्‍वास गर्ने आधार’

◼ पोला किन्चलो

परिचय: मैले कोष तथा मलिक्युलर बायोलोजी अनि माइक्रोबायोलोजीका विभिन्‍न क्षेत्रहरूमा अनुसन्धान गरेर निकै वर्षको अनुभव बटुलेकी छु। अहिले म अमेरिका, जर्जियाको एटलान्टामा एमरी विश्‍वविद्यालयमा काम गर्छु। रूसी भाषाको इलाकामा म बाइबल प्रशिक्षकको रूपमा स्वयंसेवा पनि गर्दैछु।

जीवविज्ञानको अध्ययनको क्रममा मैले चार वर्ष कोष र त्यसका विभिन्‍न तत्त्वहरूको अध्ययनमै मात्र बिताएँ। मैले कोषका विभिन्‍न तत्त्वहरू जस्तै, डि एन ए, आर एन ए अनि प्रोटिनको अध्ययन गर्दा र कोषले कसरी एउटा पदार्थलाई अर्को पदार्थमा परिणत गर्न सक्दो रहेछ भनेर बुझ्न खोज्दा वास्तवमा एउटा सूक्ष्म कोषसमेत कति जटिल अनि व्यवस्थित हुँदो रहेछ, देखेकी छु। मानिसहरूले कोषको अध्ययन गरेर धेरै कुरा सिकिसकेको भए तापनि त्योभन्दा पनि धेरै कुरा सिक्न अझै बाँकी रहेको देख्दा म आफै निकै प्रभावित भएकी छु। भनौं भने, एउटा सूक्ष्म कोषको रचना नै मेरो लागि सृष्टिकर्तामाथि विश्‍वास गर्ने एउटा आधार हो।

बाइबल अध्ययन गरेपछि मैले त्यो सृष्टिकर्ता यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ भनेर चिन्‍ने मौका पाएँ। उहाँ बुद्धिमान्‌ रचनाकार मात्र नभई मायालु बुबा पनि हुनुहुन्छ भनेर म विश्‍वास गर्छु। यसबाहेक बाइबलले जीवनको उद्देश्‍य र सुखी भविष्यबारे पनि बताउँछ।

स्कूलमा क्रमविकास विषय पढ्‌ने विद्यार्थीहरू केमा विश्‍वास गर्ने भनेर अलमलमा परेका हुन सक्छन्‌। कहिलेकाहीं क्रमविकासको कुरा सुन्दा के सत्य, के झूटो छुट्याउन गाह्रो पर्न सक्छ। परमेश्‍वरमाथि विश्‍वास गर्ने विद्यार्थीहरूका लागि यो विषय विश्‍वासको जाँच साबित हुन सक्छ। म त्यस्ता सबै केटाकेटीहरूलाई यो प्रोत्साहन दिन चाहन्छु कि, उनीहरू यो जाँचमा सफल हुन सक्छन्‌। बस्‌, उनीहरूले आफू वरपरका पशुपन्छी, बोटबिरुवा अनि अरू अचम्मलाग्दा प्राकृतिक कुराहरूलाई नियालेर विचार गरे पुग्छ। सृष्टिकर्ताबारे अझ धेरै ज्ञान हासिल गरेर अनि उहाँका गुनहरूबारे सिकेर पनि उनीहरूले आफ्नो विश्‍वासलाई बलियो बनाउन सक्छन्‌। मैले पनि त्यसै गरें र वास्तवमा बाइबलले सृष्टिबारे जे भनेको छ, त्यो सत्य मात्र होइन विशुद्ध विज्ञानसित मेल पनि खान्छ भन्‍ने निष्कर्षमा पुग्न सकें।

“अति साधारण नियमअनुसार चलेको देखेर म अत्यन्तै प्रभावित भएको छु”

◼ एन्रिक हर्नान्डिज लेमुस

परिचय: म यहोवाको साक्षी अनि पूर्ण समय प्रचारक हुँ। म मेक्सिकोको नेसनल युनिभर्सिटीमा काम गर्ने भौतिकशास्त्री तथा गणितज्ञ पनि हुँ। म गणितका विभिन्‍न फर्मूलाहरूको प्रयोग गरेर भौतिकशास्त्रको अध्ययन गर्छु। अहिले म ताप तथा गुरुत्वाकर्षणको शक्‍तिले गर्दा ताराहरूको “मृत्यु र जन्म” हुन्छ भन्‍ने कुरा व्याख्या गर्न अध्ययन गर्दैछु। मैले डि एन ए-को जटिलताको अनुसन्धान पनि गरेको छु।

जीवन यति जटिल छ कि, संयोगले उत्पन्‍न भएको हुनै सक्दैन। उदाहरणका लागि, डि एन ए-भित्र अटाउने अपार जानकारीलाई नै लिनुहोस्‌। एउटा क्रोमोजोम अचानक अस्तित्वमा आउनसक्ने सम्भावना, ९० खरबमा १ भन्दा पनि कम हुन्छ। अर्को शब्दमा भन्‍नुपर्दा सम्भावना यति कम कि असम्भव छ भनेर मानी लिए पनि हुन्छ। तसर्थ, कुनै बुद्धिहीन शक्‍तिले एउटा क्रोमोजोम मात्र होइन, आश्‍चर्यजनक जटिलताले भरिएको प्राणी तथा वनस्पतिको सृष्टि गऱ्‍यो भनेर विश्‍वास गर्नु पूरै मूर्खता सिवाय केही होइन।

मैले सूक्ष्मदर्शक यन्त्रले भौतिक तत्त्वहरूको अति जटिल विशेषतादेखि लिएर विशाल टेलिस्कोपको मदतले ब्रह्‍माण्डका विभिन्‍न नक्षत्रहरूको अध्ययन गरेको छु। चाहे नक्षत्रको गति होस्‌ वा भौतिक तत्त्वहरूको परमाणुको गति, ती सबै अति साधारण नियमअनुसार चलेको देखेर म अत्यन्तै प्रभावित भएको छु। यस्ता नियमहरूलाई म अति बुद्धिमान्‌ गणितज्ञको उपजका साथै महान्‌ कलाकारको हस्तकलाको रूपमा लिन चाहन्छु।

म यहोवाको साक्षी हुँ भनेर परिचय दिंदा मानिसहरू अक्सर अचम्म मान्छन्‌। मैले कसरी ईश्‍वरमा विश्‍वास गर्न सकेको होला, उनीहरू कहिलेकाहीं प्रश्‍न गर्छन्‌। म उनीहरूको यस्तो प्रतिक्रियालाई बुझ्छु। किनकि प्रायजसो धर्मले आफ्ना अनुयायीहरूलाई आफूले सिकेको कुराको प्रमाण माग्न वा त्यसबारे अनुसन्धान गर्न प्रोत्साहित गर्दैन। तर बाइबलले “बुद्धि” चलाउन प्रोत्साहित गर्छ। (हितोपदेश ३:२१, NRV) हामी प्रकृतिमा जे-जस्तो डिजाइन देख्छौं र बाइबलले जे-जति प्रमाण दिन्छ, ती सबैको आधारमा परमेश्‍वरको अस्तित्व छ भनेर मात्र होइन कि उहाँ हाम्रो प्रार्थना सुन्‍न उत्सुक पनि हुनुहुन्छ भनेर म विश्‍वस्त छु।

[फुटनोट]

a यस लेखमा विभिन्‍न विशेषज्ञहरूले व्यक्‍त गरेको धारणालाई उनीहरूले काम गरिरहेको संघ-संस्था वा कार्यालयको धारणाको रूपमा नलिन हामी अनुरोध गर्छौं।

[पृष्ठ २२-मा भएको चित्रको स्रोत]

Mars in background: Courtesy USGS Astrogeology Research Program, http://astrogeology.usgs.gov

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने