युवाहरू सोध्छन् . . .
क्रमविकासमा विश्वास गर्दिनँ भनेर कसरी भन्ने?
“क्लासमा क्रमविकासबारे पढाइँदा त्यो आफूले अहिलेसम्म सिकेको कुराभन्दा एकदमै फरक थियो। क्रमविकास साँच्चै भएजस्तो गरी बताइयो अनि मलाई त्यसमा विश्वास लाग्दैन भनेर बताउन असाध्यै डर लाग्यो।”—रायन, १८ वर्ष।
“म १२ वर्ष जतिको हुँदा मलाई पढाउने मिस क्रमविकासको कट्टर समर्थक हुनुहुन्थ्यो। उहाँले आफ्नो गाडीमा क्रमविकासको स्टिकरसमेत टाँस्नुभएको थियो! त्यसैले म सृष्टिमा विश्वास गर्छु भनेर बताउनै कस्तो-कस्तो लाग्यो।” —टाइलर, १९ वर्ष।
“हामीलाई सामाजिक शिक्षा पढाउने मिसले अब क्रमविकासबारे पढ्ने भन्नुहुँदा म त झसङ्गै भएँ। यस विवादास्पद विषय पढ्दा म कुन कुरामा विश्वास गर्छु भनेर क्लासमा सबैको अगाडि बताउनुपर्नेछ भनेर मलाई थाह थियो।” —राकेल, १४ वर्ष।
रायन, टाइलर र राकेललाई जस्तै क्लासमा क्रमविकासबारे पढाइँदा तपाईंलाई पनि अप्ठ्यारो लाग्छ होला। किनभने ‘सबै कुरा परमेश्वरले सृष्टि गर्नुभएको हो’ भन्ने तपाईं विश्वास गर्नुहुन्छ। (प्रकाश ४:११) आफ्नो वरपर देखिने कुरामा एक जना बुद्धिमान् रचनाकार हुनुपर्छ भन्ने प्रशस्त प्रमाण पाउनुहुन्छ। तर स्कूलको किताबले भने हामी क्रमविकास भएर आयौं भनी सिकाउँछ अनि शिक्षकहरू पनि त्यसै भन्छन्। यस्तो “जान्ने बुझ्ने” व्यक्तिहरूको अगाडि केही बोल्दा अरूले बडो जान्ने भयो भन्लान् जस्तो लाग्न सक्छ। अनि यो उमेरमा भगवानबारे कुरा गऱ्यो भने साथीहरूले के भन्ने होलान्?
यस्ता प्रश्नहरूले तपाईंलाई पिरोलिरहेको छ भने पीर नमान्नुहोस्! सृष्टिमा विश्वास गर्ने व्यक्ति तपाईं मात्र होइन। क्रमविकासमा विश्वास नगर्ने वैज्ञानिकहरू पनि थुप्रै छन्। थुप्रै शिक्षकहरूले पनि यसमा विश्वास गर्दैनन्। अमेरिकाकै कुरा गर्ने हो भने पनि, ५ जना विद्यार्थीमध्ये ४ जनाले क्रमविकासमा विश्वास गर्दैनन् जबकि स्कूलको किताबले भने क्रमविकासबारे नै सिकाउँछ।
तैपनि तपाईंको मनमा प्रश्न उठ्ला: ‘म क्रमविकासमा विश्वास गर्दिनँ तर सृष्टिमा विश्वास गर्छु भनेर कसरी भन्ने?’ तपाईंलाई डर लागिरहेको छ भने नआत्तिनुहोस्। तपाईं निर्धक्क भएर आफ्नो कुरा बताउन सक्नुहुन्छ। तर यसको लागि तपाईंले केही तयारी भने गर्नुपर्छ।
पहिला आफै पक्का हुनुहोस्!
तपाईंका आमाबाबु यहोवाको साक्षी हुनुहुन्छ भने उहाँहरूले सिकाएको भरमा तपाईं सृष्टिमा विश्वास गर्नुहुन्छ होला। तर अब तपाईं हुर्कंदै हुनुहुन्छ र आफ्नो विश्वासको बलियो जग बसाल्दै आफ्नै “तर्कशक्तिले” परमेश्वरको उपासना गर्न चाहनुहुन्छ। (रोमी १२:१, NW) पावलले प्रथम शताब्दीका मसीहीहरूलाई “सबै कुराको जाँच गर” भनी प्रोत्साहन दिए। (१ थिस्सलोनिकी ५:२१) सृष्टिमा आफ्नो विश्वासलाई तपाईं कसरी जाँच्न सक्नुहुन्छ?
पहिला, परमेश्वरबारे पावलले के लेखे, त्यो विचार गर्नुहोस्: “उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह” पाइन्छ। (रोमी १:२०) यसलाई मनमा राख्दै हाम्रो शरीर, पृथ्वी, विशाल ब्रह्माण्ड र समुद्रलाई विचार गर्नुहोस्। कीरा-फट्याङ्ग्रा, बोटबिरुवा, जनावर—यीमध्ये तपाईंलाई कुन चाहिं रोचक लाग्छ, त्यसलाई विचार गर्नुहोस्। अनि आफ्नो “तर्कशक्ति” चलाएर आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘सृष्टिकर्ता हुनुहुन्छ भनेर मैले विश्वास गर्नुको कारण के हो?’
यस प्रश्नको जवाफ दिन १४ वर्षीय साम मानव शरीरलाई नियाल्छन्। उनी यसो भन्छन्: “मानिसको शरीर एकदमै जटिल छ र यसका सबै भागहरू मिलेर काम गर्छ। यस्तो मानव शरीर क्रमविकास भएर बनेको हुन सक्दैन!” यो कुरामा सहमत हुँदै १६ वर्षीया हली भन्छिन्: “मलाई डायबिटिज भएको पत्ता लागेदेखि, शरीरका विभिन्न अङ्गहरूले के-कस्तो काम गर्छन् भनेर मैले धेरै कुरा सिकेकी छु। जस्तै हाम्रो पेटमा हुने प्याङ्क्रियाजजस्तो सानो अङ्गले रगत र अरू अङ्गहरूलाई चालु हालतमा राख्न कति धेरै काम गर्छ, अचम्मै लाग्छ।”
अरू जवानहरूले भने बेग्लै पक्षलाई विचार गर्छन्। उन्नाइस वर्षीय जारेड भन्छन्, “मेरो लागि सबैभन्दा ठूलो प्रमाण, मानिससित हुने आध्यात्मिक झुकाव हो। साथै, मानिससित सिक्ने चाहना हुन्छ र उसले सौन्दर्यको आनन्द उठाउन पनि सक्छ। बाँच्नको लागि यी गुणहरू चाहिंदैन तर क्रमविकासको सिद्धान्तले भने चाहिन्छ भन्छ। मलाई चित्त बुझ्ने एउटै मात्र कुरा छ। त्यो हो, हामीले जीवनको आनन्द उठाओस् भनेर कसैले हामीलाई यस पृथ्वीमा राखेको हुनुपर्छ।” सुरुमा बताइएको टाइलर पनि यस्तै निष्कर्षमा पुगेका छन्। “जीवन धान्न बोटबिरुवाले खेल्ने भूमिका र तिनीहरूको बुझ्नै नसकिने जटिलताबारे विचार गर्दा, सृष्टिकर्ता पक्कै हुनुहुन्छ भनेर मलाई विश्वास लाग्छ।”
तपाईंले राम्रोसित सोचविचार गर्नुभएको छ अनि आफू विश्वस्त हुनुहुन्छ भने सृष्टिबारे बताउन सजिलो हुन्छ। त्यसकारण साम, हली, जारेड र टाइलरले जस्तै परमेश्वरको सृष्टिमा देखिने अद्भुत कुराहरू हेर्न र विचार गर्न समय निकाल्नुहोस्। यसो गर्नुभएपछि तपाईं पक्कै पनि प्रेरित पावलजस्तै निष्कर्षमा पुग्नुहुनेछ—“उहाँको कामद्वारा” परमेश्वरको अस्तित्वबारे मात्र होइन तर उहाँका गुणहरू पनि बुझ्न सकिन्छ।a
बाइबलले वास्तवमा के सिकाउँछ, सो जान्नुहोस्
सृष्टि नै भएको हो भनेर बताउनको लागि परमेश्वरले बनाउनुभएका कुराहरूलाई नियालेर हेर्नुको अलावा यस विषयमा बाइबल के भन्छ भनेर थाह पाउनु पनि जरुरी छ। बाइबलले स्पष्टसित नबताएका कुराहरूमा वादविवाद गरिरहनु पर्दैन। यहाँ दिइएका केही उदाहरण विचार गर्नुहोस्:
◼ मेरो विज्ञान किताबले त सौर्यमण्डल बनेको अरबौं वर्ष भइसक्यो भन्छ। पृथ्वी वा सौर्यमण्डल कति वर्ष पहिले बनेका हुन् भनेर बाइबलले बताएको छैन। सृष्टिको पहिलो “दिन” सुरु हुनुभन्दा अरबौं वर्षअघि नै ब्रह्माण्ड बनेको हुन सक्छ भन्ने कुरा बाइबलसित बाझिंदैन।—उत्पत्ति १:१, २.
◼ मेरो शिक्षक भन्नुहुन्छ, साँच्चैको छ दिनमा पृथ्वी सृष्टि भएको हुनै सक्दैन। बाइबलले सृष्टिको छ “दिन” साँच्चैको २४ घण्टे दिन थियो भनेर बताउँदैन। थप जानकारीको लागि यसै पत्रिकाको पृष्ठ १८-२० हेर्नुहोस्।
◼ समय बित्दै जाँदा जनावर र मानिसमा कस्ता परिवर्तनहरू भए भनेर क्लासमा हामीले थुप्रै उदाहरण छलफल गऱ्यौं। परमेश्वरले “जात जातका” जीवित प्राणीहरू बनाउनुभयो भनेर बाइबल बताउँछ। (उत्पत्ति १:२०, २१) निर्जीव कुराबाट जीवनको सुरुवात भयो वा परमेश्वरले एउटा कोषद्वारा क्रमविकासको प्रक्रिया सुरु गर्नुभयो भनेर बाइबल बताउँदैन। तैपनि प्रत्येक ‘जातभित्र’ विभिन्न प्रजातिहरू हुन सक्छन्। त्यसकारण बाइबलको विवरणअनुसार हेर्ने हो भने प्रत्येक ‘जातमा’ अलि-अलि परिवर्तन हुन सक्छ।
आफूले विश्वास गर्ने कुरामा निर्धक्क हुनुहोस्!
सृष्टिमा विश्वास गर्छु भनेर बताउन अप्ठ्यारो वा लाज मान्नुपर्ने कारण छैन। प्राप्त प्रमाणहरू विचार गर्दा सृष्टिमा विश्वास गर्नु एकदमै व्यावहारिक छ। भनौं भने, एक जना बुद्धिमान् डिजाइनरले हामीलाई बनाउनुभएको हो भनेर विश्वास गर्नु वैज्ञानिक प्रमाणसित मिल्छ। त्यसकारण, सृष्टि होइन तर क्रमविकासलाई मान्न ठूलो विश्वास चाहिन्छ अनि चमत्कार गर्ने व्यक्ति नभए तापनि चमत्कार भयो भनेर पत्याउनुपर्ने हुन्छ। यस पत्रिकाका अरू लेखहरू पढिसक्नुभएपछि भने प्राप्त प्रमाण सृष्टिसित मेल खान्छ भनेर तपाईं विश्वस्त हुनुहुनेछ। अनि आफ्नो तर्कशक्ति चलाएर सोचविचार गर्नुभएपछि क्रमविकासमा होइन तर सृष्टिमा विश्वास गर्छु भनेर साथीहरूको अगाडि निर्धक्क भई बताउन सक्नुहुनेछ।
सुरुमा बताइएकी राकेललाई यस्तै भयो। उनी भन्छिन्: “आफू कुन कुरामा विश्वास गर्छु भनेर अरूलाई नबताई बस्नु हुँदैन भन्ने निष्कर्षमा पुग्न मलाई केही दिन लाग्यो। लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? भन्ने पुस्तक मैले आफ्नो मिसलाई दिएँ अनि यसमा दिइएका मुख्य-मुख्य कुरा नछुटोस् भनेर ठाउँ-ठाउँमा चिह्न पनि लगाइदिएँ। यो पुस्तक पढेपछि क्रमविकासको सिद्धान्तलाई अर्कै पक्षबाट हेर्न सकेको र पछि क्लासमा सिकाउँदा यसमा दिइएको जानकारी पनि समावेश गर्नेछु भनी उहाँले बताउनुभयो!” (g 9/06)
“युवाहरू सोध्छन् . . . ” भन्ने शृङ्खलाका अन्य लेखहरू www.watchtower.org/ype वेबसाइटमा हेर्न सक्नुहुन्छ।
[फुटनोट]
a थुप्रै जवानहरूले यी प्रकाशनहरूमा दिइएको जानकारी राम्ररी केलाउँदा कुरा अझ प्रस्टसित बुझेका छन्: लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? र इज देअर अ क्रिएटर हु क्येर्स अवाउट यू? यी दुवै किताब यहोवाका साक्षीहरूले प्रकाशित गरेका हुन्।
एकछिन सोच्नुहोस्
◼ सृष्टिमा विश्वास गर्छु भनेर कुनै अप्ठ्यारो नमानी स्कूलमा कसरी बताउन सक्नुहुन्छ?
◼ सबै कुरा सृष्टि गर्नुहुने व्यक्तिप्रति तपाईं कसरी कृतज्ञता देखाउन सक्नुहुन्छ?—प्रेरित १७:२६, २७.
[पृष्ठ २७-मा भएको पेटी]
“प्रशस्त प्रमाण छ”
“सृष्टिकर्ता हुनुहुन्छ भनेर सानैदेखि सिकाइएको तर अब स्कूलमा भने क्रमविकासबारे सिक्नु परेको विद्यार्थीलाई तपाईं के भन्नुहुन्छ?” यो प्रश्न एक जना माइक्रोबायोलजिस्टलाई सोधिएको थियो जो यहोवाका साक्षी हुन्। उनी के भन्छिन्? “आमाबाबुले सानैदेखि सिकाएकोले मात्र होइन तर आफैले प्रमाण जाँचेको आधारमा सृष्टिकर्ता साँच्चै हुनुहुन्छ भनेर देखाउने एउटा मौका ठान्नुपर्छ। शिक्षकहरूले क्रमविकासको सिद्धान्त ‘प्रमाणित’ गरेर देखाउनु पर्दा तिनीहरू त्यसो गर्न सक्दैनन् अनि कसैले सिकाएकोले मात्र यो सिद्धान्तलाई विश्वास गरेको भन्छन्। तपाईं सृष्टिमा विश्वास गर्छु भन्नुहोला तर कसैले सिकाएको भरमा मात्र विश्वास गरिरहनुभएको हुन सक्छ। त्यसकारण परमेश्वर साँच्चै हुनुहुन्छ भनेर पक्का हुन तपाईंले गर्नुभएको प्रयास बेकार जानेछैन। प्रशस्त प्रमाण छ। अनि प्रमाण भेट्टाउन गाह्रो छैन।”
[पृष्ठ २८-मा भएको पेटी/चित्र]
कुन कुराले गर्दा तपाईं विश्वस्त हुनुहुन्छ?
सृष्टिकर्ता साँच्चै हुनुहुन्छ भनेर तपाईं विश्वस्त हुन सक्ने तीन वटा कुरा तल लेख्नुहोस्:
१. ․․․․․․․․․․
२. ․․․․․․․․․․
३. ․․․․․․․․․․