प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. १५-१७
  • टावर ब्रिज लण्डनको प्रवेशद्वार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टावर ब्रिज लण्डनको प्रवेशद्वार
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विशिष्ट डिजाइन
  • उत्तोलनको शक्‍ति
  • आधुनिक टावर ब्रिजको भ्रमण
  • पुलहरू—नभएका भए?
    ब्यूँझनुहोस्‌!—१९९८
  • भास्को डा गामाको नाउँमा बनाइएको पुल
    ब्यूँझनुहोस्‌!—१९९८
  • “बूढा बा, थेम्स” अतुलनीय बेलाइती सम्पदा
    ब्यूँझनुहोस्‌!—२००६
  • तिम्रो महिमा गर्ने भवन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. १५-१७

टावर ब्रिज लण्डनको प्रवेशद्वार

बेलाइतका ब्यूँझनुहोस्‌! लेखक

टावर ब्रिजलाई नचिन्‍ने मान्छे सायद कमै होलान्‌। बेलाइती हावाले नछोएका विदेशीहरूलाई समेत यो पुलको नाउँ थाह छ। बेलाइततिर बरालिने हजारौं पर्यटकहरू यो पुलमा अवश्‍य पुगेका हुन्छन्‌। आफ्नै धुनमा मस्त लण्डनवासीहरूले यो पुल नतरेको दिनै हुँदैन। हो, टावर ब्रिजलाई लण्डनकै सबैभन्दा लोकप्रिय ऐतिहासिक प्रतीक भन्‍नु अत्युक्‍ति नहोला।

टावर ब्रिज र लण्डन ब्रिज भन्‍ने अर्को पुलबीच मानिसहरू अक्सर झुक्किन्छन्‌। टावर ब्रिजको चाहिं, त्यसको छेवैमा पर्ने टावर अफ लण्डन भन्‍ने धरहरासित नाता पर्छ। यो पुलको कसरी उत्पत्ति भयो त? सन्‌ १८७२ तिर बेलाइती संसद्‌ले थेम्स नदीमा पुल निर्माण गर्ने अख्तियार प्रदान गर्न विधेयक पारित गर्न खोज्दा टावर अफ लण्डनका तत्कालीन गभर्नरले आपत्ति व्यक्‍त गरे भनेर इतिहासमा लेखेको पाइन्छ। तथापि, तिनको विरोधको बावजुद टावर अफ लण्डनको ढाँचासित मेल खाने पुल बनाउनुपर्ने सर्त राखेर थेम्स नदीमा अर्को पुल बनाउन दिने निर्णय संसद्‌ले गऱ्‍यो। यही आधिकारिक प्रस्ताव नै अहिलेको टावर ब्रिजको जननी हो।

अठारौं अनि उन्‍नाइसौं शताब्दीताका थेम्स नदीमाथि दर्जनौं पुलहरू बने। यीमध्ये पुरानो लण्डन ब्रिज सबैभन्दा लोकप्रिय छ। तर सन्‌ १७५० पुग्दा नपुग्दै लण्डन ब्रिजको जग कमजोर हुन थाल्यो। पुल साघुँरो भएकोले आवतजावत गर्न पनि निकै कठिनाइ बेहोर्नुपर्थ्यो। पृथ्वीका चारै कुनाबाट आएका जहाजहरू पुल तल बिसाउने ठाउँ नपाएर धक्कमधक्का गर्न थाले। त्यतिखेर थेम्स नदीमा यति धेरै जहाजहरू बिसाइन्थे कि, एउटा जहाजबाट अर्को जहाज टेक्दै निकै किलोमिटर परसम्म पुग्न सकिन्थ्यो रे।

यी सब समस्यालाई पाखा लगाउन लण्डन सरकारले आर्किटेक्ट होरेस जोन्सलाई पुलको डिजाइन तयार गर्न लगायो। जोन्सले लण्डन ब्रिजभन्दा तल मध्यकालीन ढाँचाको ड्र ब्रिज (उठाउन मिल्ने पुल) बनाउने प्रस्ताव राखे। यो नयाँ ढाँचाअनुसार पुल बनेमा पानी जहाजहरू आरामसित थेम्सको पश्‍चिमतिर पर्ने बन्दरगाहसम्म पुग्न सक्थे। जोन्सले बनाउन खोजेको यस्तो नौलो पुलले त्यतिखेर निकै प्रशंसा सोहोरेको थियो।

विशिष्ट डिजाइन

होरेस जोन्सले विभिन्‍न मुलुकहरूको भ्रमण गरेर थुप्रै अनुभव बटुलिसकेका थिए। यात्राकै सिलसिलामा नेदरल्याण्ड्‌सका नहरहरूमा बनेका साना ड्र ब्रिजहरू देखेपछि पुल बनाउने नयाँ उपाय तिनको दिमागमा फुऱ्‍यो। तिनले पुललाई बीचबाट दुई फ्याक पारेर आधा वारि र आधा पारि हुने गरी उठाउन मिल्ने डिजाइनको कल्पना गरे। अहिलेको विश्‍वविख्यात टावर ब्रिज, तिनको त्यस्तै कल्पनाको उपज हो। तिनी र तिनको टोलीले फलामका फ्रेमहरूमा कलात्मक बुट्टाहरू कुँदेर फेसनदार पुल तयार पारे।

उठाउन मिल्ने पुलबाहेक टावर ब्रिजलाई आड दिने दुई मुख्य धरहराहरूबीच अर्को दुई वटा पुल छन्‌। मान्छे मात्र हिंड्‌न मिल्ने यी दुईवटा पुल मोटरगाडी गुड्‌ने ठाउँभन्दा ३४ मिटर र पानीको औसत सतहभन्दा ४२ मिटरमाथि छन्‌। थेम्स नदीको किनाराबाट सुरु हुने पक्की बाटो नदी बीचको धरहरामा पुगेपछि टुंगिन्छ। त्यसपछि सुरु हुने दुई धरहराबीचको भागलाई चाहिं उत्तोलनको सहयताले आधा वारि र आधा पारि उठाउन सकिन्छ। यसको आधा भागको तौल मात्रै पनि १,२०० टन छ र यसलाई ८६ डिग्रीको कोणसम्म उठाउन सकिन्छ। यसरी पुललाई आधा वारि र आधा पारि गरेर उठाएपछि १०,००० टन वजन भएका पानी जहाजहरू पुलमुनि आरामसित पार गर्न सक्छन्‌।

उत्तोलनको शक्‍ति

पुललाई दुई फ्याक पारेर उठाउन अनि सडकमा हिंडिरहेको पदयात्रीहरूलाई लिफ्टको सहायताले उचालेर माथि अर्को पुलसम्म पुऱ्‍याउन हाइड्रोलिक शक्‍तिको प्रयोग हुन्थ्यो। त्यतिमात्र होइन पुल उठाउने बेला भयो भनेर ट्राफिक संकेत दिने कामसमेत गर्थ्यो। हाइड्रोलिक शक्‍ति उत्पन्‍न गर्न, नदीको पानी प्रयोग हुन्थ्यो। पानीको कुनै कमी नभएको हुनाले पुल उठाउन चाहिनेभन्दा दुई गुना बढी शक्‍ति त्यतिखेर उत्पादन गरिन्थ्यो।

उतिखेर पुलको दक्षिणतिर कोइलाले चल्ने चारवटा बोइलरहरू (पानी उमालेर वाफ निकाल्ने यन्त्र) थिए। यी बोइलरहरूले पाँचदेखि छ किलोग्राम प्रति वर्ग सेन्टिमिटरको दरले चाप दिनसक्ने वाफ उत्पादन गर्थे र त्यही वाफले दुई विशाल पम्प चल्थ्यो। त्यसपछि ती पम्पले ६० किलोग्राम प्रति वर्ग सेन्टिमिटरको दरले चाप दिनसक्ने पानी पम्प गर्थ्यो। पुललाई उचाल्न सक्ने शक्‍ति उत्पन्‍न गर्न छ वटा ठूला अक्युमुलेटरमा पानी पम्प गरिन्थ्यो। अनि अक्युमुलेटरमा पम्प गरिएको पानीको चापले आठवटा इन्जिन चल्थ्यो र त्यसले पुललाई उठाउँथ्यो। स्वीच थिच्नेबित्तिकै ५० सेन्टिमिटर घेरा भएको फलामको डण्डीमा टेकेर पुल माथि उठ्‌न थाल्थ्यो। पुललाई दुई फ्याक पारेर पूरै माथि उठाउन मात्र एक मिनेट लाग्थ्यो।

आधुनिक टावर ब्रिजको भ्रमण

अचेल टावर ब्रिजलाई उठाउन वाफको सट्टा विद्युत्‌ प्रयोग गरिन्छ। तर उहिले-उहिले जस्तै अहिले पनि पुल उठाएपछि गाडीहरूको चहलपहल रोकिन्छ। त्यसपछि पदयात्री अनि देशविदेशबाट आएका पर्यटकहरू मन्त्रमुग्ध भएर पुल उठेको हेर्न थाल्छन्‌।

पुल माथि उठाउनुअघि घण्टी बजाइन्छ। घण्टी बज्ने बित्तिकै माथिबाट बार तल झर्छ र बाटो बन्द हुन्छ। अनि सबै गाडीले पुल पार गरेपछि पुल खाली भएको संकेत दिइन्छ। त्यसपछि पुलको दुई भागलाई बिचमा जोड्‌ने चुकुलहरू खोलिन्छ अनि पुल बिस्तारै माथि उठ्‌न थाल्छ। यसरी पुल माथि उठ्‌दा कानै खाने गरी चर्को आवाज आउला जस्तो हामीलाई लाग्ला, तर त्यस्तो हुँदैन। पुल माथि उठेपछि, सबैको आँखा पुलको तल नदीतिर जान्छ। पुलमुन्तिर यात्रुवाहक जहाजदेखि लिएर हरप्रकारका पानी जहाजहरू सलल बगेर पर नपुगुन्जेल मान्छेहरू एक टक लगाएर हेरिरहन्छन्‌। पानी जहाजहरू पार भएपछि, फेरि घण्टी बज्छ। त्यसपछि पुलको दुई भाग तल झर्छ र आफ्नो ठाउँमा टक्क अडेपछि, पुलमा लगाइएका बारहरू पनि हट्‌छन्‌। यसरी बाटो खुल्ने बित्तिकै साइकल चालकहरू गाडीहरूको लामो ताँतीलाई पछाडि छोडेर हुँइकिहाल्छन्‌। हरेक दिन घण्टी बज्ने बित्तिकै यही प्रक्रिया दोहोरिन्छ।

टावर ब्रिजमा पर्यटकहरूले आनन्द उठाउन सक्ने अरू आकर्षणहरू पनि छन्‌। जस्तै, उनीहरू लिफ्ट चढेर टावर ब्रिजको उत्तरी धरहरा उक्लन सक्छन्‌। उत्तरी धरहरामा राखेको प्रदर्शनीबाट आगन्तुकहरूले पुलको इतिहास जान्‍नुका साथै पुलको मौलिक नमुना हेर्न सक्छन्‌। पुल बनाउन के-कस्ता इन्जिनियरिङ कामहरू भए अनि पुलको उद्‌घाटन हुँदा के-के भएको थियो, क्यानभासमा कोरिएका विभिन्‍न चित्रहरू अनि पुराना फोटोहरूमा देख्न सकिन्छ।

पदयात्री मात्र हिंड्‌न मिल्ने माथिल्लो पुलबाट आगन्तुकहरूले लण्डन सहरको सौन्दर्यको चुस्की लिन सक्छन्‌। पुलबाट पश्‍चिमतिर हेर्दा सेन्ट पल्स कथिड्रल (गीर्जाघर), आर्थिक कारोबार हुने क्षेत्रका थुप्रै बैंकहरू अनि परतिर हुलाक कार्यालयको धरहरा देखिन्छ। उहिले-उहिले भए, पूर्वतिर बन्दरगाहको दृश्‍यावलोकन गर्न पाइन्थ्यो। तर बन्दरगाहलाई सहरबाट अझ बाहिर अनि नदीको तल्तिर सारिसकेको हुनाले अचेल त्यस क्षेत्रमा पुराना घरहरू भत्काएर बनाइएका अत्याधुनिक अनि मौलिक डिजाइनका घर, अफिस तथा पसलहरू देख्न पाइन्छ। लण्डन सहरको प्रख्यात ऐतिहासिक प्रतीक—टावर ब्रिजबाट देखिने दृश्‍यबाट जो-कोही पनि प्रभावित नभई रहन सक्दैन।

लण्डन घुम्न जाँदै हुनुहुन्छ भने, टावर ब्रिजतिर पनि हावा खान गए कसो होला? बरु मनग्गे समय लिएर जानुहोस्‌। किनकि यस ऐतिहासिक अनि उत्कृष्ट मानव रचनाको प्रतीकको भ्रमणलाई तपाईंले हतपती भुल्नुहुनेछैन।(g 10/06)

[पृष्ठ १६-मा भएका चित्र]

वाफबाट चल्ने दुई पम्पमध्ये यो एउटा हो, उहिले यो पम्पले पुल उठाउने इन्जिनलाई चलाउँथ्यो

[पृष्ठ १७-मा भएका चित्र]

टावर ब्रिजको दुई भागलाई पूरै उठाउन एक मिनेट पनि लाग्दैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने