प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जुलाई पृ. २२-२३
  • मुम्बई बम विस्फोटमा तिनीहरू बचे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मुम्बई बम विस्फोटमा तिनीहरू बचे
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • भारतीय रेल—देशभरि फैलिएको बृहत्‌ जालो
    ब्यूँझनुहोस्‌!—२००२
  • आतङ्‌कवादी आक्रमणको भावनात्मक असर सामना गर्ने
    ब्यूँझनुहोस्‌!—२००४
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जुलाई पृ. २२-२३

मुम्बई बम विस्फोटमा तिनीहरू बचे

भारतका ब्यूँझनुहोस्‌! लेखक

पहिले बम्बई भनिने मुम्बई सहरमा हाल एक करोड ८० लाखभन्दा बढी मानिस बसोबास गर्छन्‌। यी बासिन्दाहरूमध्ये ६० देखि ७० लाख मानिसहरू काममा वा स्कूल कलेज जान, किनमेल गर्न वा घुमघाम गर्न तेज गतिले हुइँकिने अनि छिनछिनमा सहर भित्र-बाहिर ओहोरदोहोर गरिरहने रेलमा यात्रा गर्छन्‌। एकदमै व्यस्त समय अर्थात्‌ अफिस टाइममा भने, नौवटा डिब्बा भएको रेलमा कोचाकोच गरेर ५,००० जनासम्म यात्रा गर्छन्‌ जबकि यसको सामान्य क्षमता १,७१० हो। जुलाई ११, २००६ का दिन यस्तै व्यस्त समयमा आतंककारीहरूले मुम्बईको रेललाई आफ्नो तारो बनाए। पन्ध्र मिनेटभन्दा कम समयमा यस पश्‍चिमी रेलमार्गमा चल्ने बेग्लाबेग्लै रेलमा सातवटा बम विस्फोट भयो। यस घटनामा २०० भन्दा बढीले ज्यान गुमाए र ८०० जनाभन्दा बढी घाइते भए।

मुम्बई र यसको वरपरका इलाकामा यहोवाका साक्षीहरूको २२ वटा मण्डली छन्‌। यिनीहरू पनि यही रेलमा सधैंजसो यात्रा गर्ने गर्छन्‌। खुसीको कुरा, यी यहोवाका साक्षीहरूमध्ये कसैले पनि ज्यान गुमाउनु परेन तर कोही-कोही घाइते भने भए। अनिता कामबाट घर फर्कंदै थिइन्‌। रेल खचाखच भरिएकोले ओर्लन सजिलो होस्‌ भनेर उनी प्रथम श्रेणीको डिब्बाको ढोका छेउमै उभिएकी थिइन्‌। रेलले गति लिन थालेपछि अकस्मात्‌ विस्फोटनको ठूलो आवाज आयो अनि उनी बसेको डिब्बा कालो धूवाँको मुस्लोले भरियो। ढोकाबाट बाहिर दायाँतिर हेर्दा सँगैको डिब्बाको पाता धुजाधुजा भएर ४५ डिग्रीको कोणमा तुर्लुङ्‌ग झुण्डिएको देखिन्‌। बम विस्फोटनले गर्दा ह्वाङ्‌ग परेको ठाउँबाट सिंगै शरीर र शरीरका विभिन्‍न भागहरू लिकमा उछिट्टिएको देखेर अनिता डरले खङ्‌ग्रङ्‌ग भइन्‌। रेल केही सेकेण्डमै रोकिएको भए तापनि उनलाई भने घण्टौं बितेजस्तो लाग्यो। रेल रोकिने बित्तिकै उनी र अरू यात्रुहरू रेलबाट हाम्फालेर पर गए। अनिताले मोबाइलबाट आफ्नो श्रीमान्‌ जोनलाई फोन गरिन्‌। धन्‍न, फोन लाग्यो। त्यसपछि, फोन गर्न खोज्नेहरूको ओइरोले गर्दा केही मिनेटमै पूरै सहरको नेटवर्क व्यस्त भयो। आफ्नो श्रीमान्‌सित कुरा गर्नुअघिसम्म त अनिता त्यति अत्तालिएकी थिइनन्‌। तर श्रीमान्‌को स्वर सुन्‍नेबित्तिकै भने उनको भक्कानो फुट्यो र धुरुधुरु रोइन्‌। अनिताले श्रीमान्‌लाई सबै कुरा सुनाइन्‌ अनि उनलाई लिन आउन भनिन्‌। श्रीमान्‌लाई पर्खंदै गर्दा घनघोर वर्षा भयो अनि अनुसन्धान टोलीलाई छानबिन गर्न जे-जति प्रमाण बाँकी थियो, त्यो सबै पानीले बगाइहाल्यो।

क्लडियस पनि यहोवाका साक्षी हुन्‌। तिनी सदाभन्दा चाँडै कामबाट फर्केका थिए। सहरको पश्‍चिमी भागतिर चल्ने रेलमार्गको चर्चगेट स्टेसनबाट तिनी साँझ ५:१८ मा रेल चढे। तिनी प्रथम श्रेणीको डिब्बामा छिरे। भयन्डर स्टेसनसम्मको एक घण्टा लामो यात्रा गर्न सीट खोज्दै गर्दा तिनले नजिकैको मण्डलीका यहोवाका साक्षी जोसेफलाई देखे। गफ गर्दा गर्दै दुवैलाई समय बितेको पत्तै भएन। पछि, दिनभरिको कामले थकित भइसकेका जोसेफ निदाए। असाध्यै भीड भएको हुँदा आफू ओर्लने स्टेसनभन्दा अघिल्लो स्टेसनमै उठेर क्लडियस ढोकातिर गए। क्लडियस त्यहीं उभिरहेको बेला जोसेफ ब्यूँझिए अनि क्लडियससित बिदावारी गर्न त्यतैतिर फर्के। क्लडियस पनि जोसेफसित कुरा गर्न सीटको ह्‍यान्डल समाउँदै तिनी भएतिर ढल्के। हुनसक्छ, यसो गरेकोले क्लडियसको ज्यान जोगियो। अकस्मात्‌ ठूलो आवाज आयो। डिब्बा बेस्सरी हल्लियो, धूवैंधूवाँले भरियो अनि निस्पट्ट अँध्यारो भयो। क्लडियस हुत्तिएर सीटहरूको बीचतिर भुइँमा पछारिए। तिनले टिन्‍न कान बजेकोबाहेक अरू केही आवाज सुन्‍न सकेनन्‌। तिनी पहिले जहाँ उभिएका थिए, त्यहाँ ठूलो भ्वाङ परेको थियो। पहिला तिनीसँगसँगै उभिरहेका यात्रुहरू कोही लिकमा हुत्तिए त कतिपय मृत अवस्थामा भुइँमा थिए। त्यस त्रासदीपूर्ण मंगलबारको दिन रेलमार्गमा भएको सातवटा विस्फोटमध्ये पाँचौं विस्फोटबाट क्लडियस बचेका थिए।

लुगाभरि रगतै रगत भएका क्लडियसलाई अस्पताल पुऱ्‍याइयो। तर यो रगत तिनको नभई अरू यात्रुहरूको थियो। दुःखको कुरा, ती यात्रुहरू बच्न सकेनन्‌। क्लडियसलाई सामान्य चोट मात्र लागेको थियो। तिनको कानको जाली फुटेको, एउटा हात पोलेको अनि केश डढेको थियो। अस्पतालमा तिनले जोसेफ र तिनकी पत्नी एन्जेलालाई भेटे। एन्जेला पनि त्यही रेलमा महिलाहरूको लागि छुट्याइएको अर्को डिब्बामा थिइन्‌ र तिनलाई कुनै चोटपटक लागेको थिएन। जोसेफको दाहिने आँखामा नीलडाम थियो अनि कान नसुन्‍ने भएका थिए। आफ्नो ज्यान बचेकोमा यी तीनै जना साक्षीले यहोवालाई धन्यवाद दिए। आफू सामान्य अवस्थामा आउने बित्तिकै क्लडियसले यस्तो सम्झे: ‘क्षणभरमै मानिसको ज्यान जान सक्छ। त्यसैले, पैसा र धनसम्पत्तिको लागि दौडधूप गर्नु कति बेकार रहेछ!’ यहोवा परमेश्‍वरसितको सम्बन्धलाई तिनले जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाएकोमा तिनी औधी खुसी थिए!

थोरै समयभित्रै मुम्बई सहरले भीषण बाढी, हूलदङ्‌गा र त्यसपछि बम विस्फोटजस्ता अनेक घटनाहरू भोग्नुपऱ्‍यो। यस्तो अवस्थामा पनि त्यहाँका १,७०० भन्दा बढी साक्षीहरूले राम्रो, जोसिलो मनोभाव देखाउन छोडेका छैनन्‌। कुनै प्रकारको हिंसा नहुने नयाँ संसारको अद्‌भुत आशाबारे तिनीहरूले आफ्ना छिमेकीहरूलाई बताइरहेका छन्‌।—प्रकाश २१:१-४. (g 6/07)

[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सनहरू]

तिनी पहिले जहाँ उभिएका थिए, त्यहाँ ठूलो भ्वाङ परेको थियो

[पृष्ठ २३-मा भएको चित्र]

अनिता

[पृष्ठ २३-मा भएको चित्र]

क्लडियस

[पृष्ठ २३-मा भएको चित्र]

जोसेफ र एन्जेला

[पृष्ठ २२-मा भएको चित्रको स्रोत]

Sebastian D’Souza/AFP/Getty Images

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने