प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अक्टोबर पृ. २२
  • सकारात्मक हुँदा स्वास्थ्यमा कस्तो असर पर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सकारात्मक हुँदा स्वास्थ्यमा कस्तो असर पर्छ?
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • हामीलाई आशा किन चाहिन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • अहिले आशावादी हुने ठोस आधार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • के पृथ्वीको समय सिद्धिनै लागेको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईं आशावादी हुनुहुन्छ कि निराशावादी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 अक्टोबर पृ. २२

सकारात्मक हुँदा स्वास्थ्यमा कस्तो असर पर्छ?

“प्रसन्‍न हृदय असल औषधी हो” भनी इस्राएलका बुद्धिमान्‌ राजाले लगभग ३,००० वर्षअघि लेखेका थिए। (हितोपदेश १७:२२, NRV) परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका यी शब्दहरूको बुद्धि अहिले डाक्टरहरूले बुझेका छन्‌। तर हामीमध्ये धेरै जनालाई यस्तो “प्रसन्‍न हृदय” स्वतः नआउन सक्छ।

अधिकांश मानिसहरू दैनिक जीवनका दबाबहरूबाट उम्कन सकेका छैनन्‌। यसले निराश बनाउनुका साथै नकारात्मक सोचाइ राख्न लगाउँछ। तैपनि, हालैका अध्ययनहरूले देखाएअनुसार समस्याहरूको बावजुद सकारात्मक हुन कोसिस गऱ्‍यौं भने त्यस्तो प्रयास खेर जाँदैन।

सकारात्मक हुनुलाई “आशावादी दृष्टिकोण वा मनोभाव, कुनै पनि कुराको परिणाम राम्रो हुनेछ भनी आशा गर्ने झुकाव” भनी परिभाषित गरिएको छ। आफू असफल हुँदा सकारात्मक व्यक्‍तिले कस्तो महसुस गर्छ? उसले अबउसो कहिल्यै सफल हुन सक्दिनँ भन्ठान्दैन। यसको अर्थ उसले वास्तविकताप्रति आँखा चिम्लिन्छ भनेको होइन। बरु उसले जे भयो, त्यो स्वीकार्छ अनि कामकुरालाई राम्ररी केलाउँछ। अनि परिस्थितिले दिउन्जेल केही परिवर्तन वा सुधार गर्न आवश्‍यक कदम चाल्छ।

अर्कोतर्फ, नकारात्मक व्यक्‍तिले जुनसुकै समस्याको लागि पनि अक्सर आफैलाई दोष दिन्छ। एक चोटि असफल भएपछि कहिल्यै सफल हुन सकिंदैन र आफ्नै मूर्खता, असक्षमता र आफू आकर्षक नभएकोले गर्दा दुःख पाएको हो भन्‍ने सोचाइ राख्छ। यसो हुँदा उसले लत्तो छोड्‌छ।

के सकारात्मक हुँदा हाम्रो स्वास्थ्य राम्रो हुन्छ? के यसले गर्दा हामी अझ आनन्दित हुन सक्छौं? अवश्‍य! अमेरिकाको मिनेसोटा प्रान्तको रोचेस्टरस्थित मेयो क्लिनिकले ३० वर्ष लगाएर ८०० भन्दा बढी बिरामीको अध्ययन गरेको थियो। यस अध्ययनबाट वैज्ञानिकहरूले सकारात्मक व्यक्‍तिको स्वास्थ्य राम्रो हुनुका साथै तिनीहरू अरूभन्दा धेरै बाँच्छन्‌ भनी पत्ता लगाए। साथै, सकारात्मक व्यक्‍तिहरू तनावपूर्ण अवस्थाको सामना गर्न अझ सक्षम भएका र निराशाको (डिप्रेसन) सिकार हुने सम्भावना कम भएको पाए।

तर समस्याहरू दिन दुगुना, रात चौगुना बढिरहेको संसारमा सकारात्मक हुनु सजिलो कुरा होइन। यसकारण सकारात्मक सोचाइ राख्न धेरैलाई गाह्रो लागेको देख्दा हामी छक्क पर्दैनौं। यो समस्या हामी कसरी सामना गर्न सक्छौं? सँगै दिइएको पेटीमा केही सुझाव छन्‌। यीमध्ये कुनै-कुनै तपाईंलाई पनि काम लाग्ने होलान्‌।

सकारात्मक मनोवृत्ति राख्दैमा सबै कुराको समाधान हुँदैन तर यसले हाम्रो स्वास्थ्य अझ राम्रो बनाउनुका साथै सन्तोषजनक जीवन बिताउन भने ठूलो भूमिका खेल्छ। द जेरूशलेम बाइबल यसो भन्छ: “सधैं निराश हुने दुःखी हुन्छ तर आनन्दित हृदय सधैं सुखी हुन्छ।”—हितोपदेश १५:१५. (g 9/07)

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

अझ सकारात्मक हुन केही सुझावa

◼ मलाई रमाइलो हुँदैन वा म सफल हुन्‍नँ भन्‍ने सोचिरहनुभएको छ भने, त्यस्तो सोचाइ त्यागिहाल्नुहोस्‌। राम्रो पक्षबारे सोच्नुहोस्‌।

◼ आफ्नो काममा रमाउने कोसिस गर्नुहोस्‌। काम जस्तोसुकै भए तापनि तपाईंलाई रमाइलो लाग्ने पक्ष खोज्नुहोस्‌।

◼ जीवनप्रति सकारात्मक दृष्टिकोण राख्ने साथीहरू खोज्नुहोस्‌।

◼ आफ्नो नियन्त्रणमा भएको परिस्थितिको सामना गर्न कदम चाल्नुहोस्‌। आफ्नो नियन्त्रणमा नभएको परिस्थितिलाई स्वीकार्ने प्रयास गर्नुहोस्‌।

◼ दिनभरिमा आफूले के-के राम्रो कुरा अनुभव गर्नुभयो, दिनदिनै तीनवटा बुँदा लेख्नुहोस्‌।

[फुटनोट]

a यहाँ दिइएको सूचीको केही अंश मेयो क्लिनिकले तयार पारेको प्रकाशनमा आधारित छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने