जीवनमा अझ बढी केही छ!
१. किन धेरैजसो मानिसहरूले यति कम आनन्द पाउँछन्? (उपदेशक १:१४, १५; २:१७, १८)
सफलता, शान्ति र सुखी जीवन! यी कुराहरू कति मनलाग्दा छन्! तर तपाईं आफ्ना दिनहरू के गरी बिताउनु हुन्छ? आफ्ना आफ्ना परिवारका पालन-पोषण गर्ने कति लोग्नेमानिसहरू बेकारीपनदेखि डराउँदै आफूलाई केही आनन्द दिने व्यवसायहरूमा लागेका छन्। धेरै गृहिणीहरूले पनि प्रत्येक दिन एकै किसिमको मन्द काम गर्ने गर्छन् जसबाट न केही छुटकारा न केही सन्तोष पाउँछन्। कतिपय जवान व्यक्तिहरू पनि जीवनमा यस्तै अपेक्षा लिएर हुर्कन्छन्। जीवनमा आनन्द पाए भन्ने व्यक्तिहरूको पनि भविष्य त अनिश्चयको बादलले घेरिएको हुन्छ।
२. मानिसको भविष्य कस्तो देखिन्छ? (यशैया ६०:२)
२ साँच्चै, के जीवन त्यति मात्र हो र? संसारमा जतासुकै हेर्नु भए तापनि यो जमाना नराम्रो गरी बिरामी भएको देखिन्छ। यहाँ इन्धनको सङ्कट, बढ्दो मुद्रास्फीति, अन्न-अभाव र दूषित वातावरण, क्रान्तिहरू, शीत तथा तातो युद्ध, परमाणु हतियारको बढ्दो भण्डार, रंगभेदका समस्याहरू र मानिसहरूमा बढ्दो असन्तोष छ। पृथ्वीको कुनै पनि भाग मानव जीवनको अस्तित्वलाई खतरामा पार्ने समस्याहरूबाट मुक्त छैन।
३. हामीले भविष्यको चिन्ता किन गर्नुपर्छ? (प्रकाश ३:१०)
३ ‘मलाई केही असर नगरेसम्म के वास्ता’ भन्ने मनोवृत्ति कुनै कुनै मानिसहरूमा देखिन्छ। तर यो कति अदूरदर्शी कुरा हो! अकाट्य निष्कर्ष यही हो कि यी समस्याहरूले चाँडै प्रत्येक व्यक्तिको जीवनमा असर पार्नेछ।
४, ५. (क) धेरैजसो मानिसले के धारणा अपनाउँदछन् र किन? (ख) चाहिएको समाधान किन बाइबलमा हुनु सक्छ? (२ तिमोथी ३:१६, १७; रोमी १५:४; १ कोरिन्थी १०:११)
४ मानव नेताहरूले अन्तरराष्ट्रिय स्तरमा आर्थिक, वैज्ञानिक र राजनैतिक क्षेत्रहरूमा सम्भाव समाधानहरू पेश गरेका छन्। तर के यी सबै निरर्थक र असन्तोषजनक साबित भएका छैनन् र? उद्धारका लागि धेरैजस्ता यी प्रस्तावित योजनाहरूको संचालन ‘आरम्भ’ पनि हुँदैन। विश्वका कुनै पनि नेताले लामो अवधिसम्म काम लाग्ने एउटा साँचो समाधान पेश गर्न सक्दैन। जसले गर्दा धेरैजसो मानिसहरूले निरर्थक जीवन बिताइरहेको देखिन्छ। उनीहरूले जीवनप्रति यो साधारण धारणा लिन्छन्, “आज खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”
५ बाइबलले ती शब्दहरू १ कोरिन्थी १५:३२ माa एउटा निश्चित दृष्टिकोणलाई प्रोत्साहन दिने सम्बन्धमा प्रयोग गरेको छ। के मान्छेजातिको समस्याहरूको समाधान बाइबलमा पाउन सकिन्छ र? हुनत हो, धेरैले बाइबललाई अस्वीकार गर्दछन्। तर विश्वघटनाहरूको अनिश्चित अवस्था देख्दा शायद बाइबलतर्फ पुन:दृष्टि उठाउने समय आइसकेको छ। आखिरमा, यो एउटा अति प्राचीन पुस्तक हो जसको कुनै कुनै भाग ३,४०० वर्षभन्दा पहिले लेखिएका हुन्। यसले सबैभन्दा बढी भाषाहरूमा गरिएको छ र मानव इतिहासको अरू कुनै पनि प्रकाशनभन्दा बढी विस्तृत रूपमा फैलिएको छ। तर के यसले हामीलाई जीवनमा अझ बढी केही छ भनि देखाउँछ र?
जीवनका समस्याहरूको समाधानको खोजी
६. मसीहीजगतप्रति बाइबलको के दृष्टिकोण छ? (याकूब १:२७; ५:३-५)
६ मसीहीजगतले गरीबलाई लुटेको र धर्मको नाउँमा लडेको लडाइँ, सरकारी कारवाही र यो बीसौं शताब्दीको अन्य युद्धहरूद्वारा धेरै मात्रामा बहाएको निर्दोष रगतको प्रमाणतर्फ बाइबलका कुनै कुनै आलोचकहरूले सङ्केत गर्दछन्। ‘यदि बाइबलले मान्छेहरूलाई त्यस्तो व्यवहार गराउँछ भने हामीलाई बाइबलबाट केही पनि चाहिंदैन’ भन्छन्। तर वास्तवमा, ती खूनी मसीहीहरूले आफ्ना अमसीही कार्यहरूलाई ढाक्नको लागि मात्र बाइबल लिएका हुन्। बाइबलले त स्वयं उनीहरूको कार्यलाई गलत साबित गर्दै उनीहरूलाई पनि झूटा मसीही हो भनि देखाउँदछ।
७, ८. (क) बाइबलले के कस्ता प्रश्नहरूको जवाफ दिन सक्ला? (मत्ती ७:७) (ख) बाइबलले धेरै मानिसहरूलाई कसरी सहायता गरेको छ? (भजनसंग्रह ११९:१०५, १६५)
७ अन्य आलोचकहरूले चाहिं दृढतापूर्वक बाइबल अवैज्ञानिक, थोत्रो र मिथ्यापूर्ण पुस्तक हो भन्दछन्। तर के यो साँचो हो? हाम्रो जीवनमा असर पार्ने ती अति आवश्यक प्रश्नहरूको सन्तोषजनक उत्तर आज हामीलाई चाहिएको छ, जस्तो कि: मानिस कहाँबाट आयो? वर्तमान अवस्थाको अर्थ के हो? के यस पृथ्वीबाट मनुष्यजाति नाश हुने हो? मान्छेजातिको भविष्य के हो?
८ यस्ता र मानिसहरूले बारम्बार सोध्ने अन्य प्रश्नहरूको जवाफ बाइबलले दिन्छ। बाइबल मिथ्यासँग होइन, यथार्थतासँग सम्बिन्धत छ। वास्तवमा, बाइबलले संसारका हरेक भागमा मानिसलाई सन्तोषजनक जीवन बिताउन डोऱ्याइसकेको छ। तपाईंले पनि बाइबलको जाँच गरी हेर्दा, त्यसमा तपाईंका प्रश्नहरूको जवाफ र जीवनमा साँचो आनन्द प्राप्त गर्ने सहायता पाउनु हुनेछ। त्यसले तपाईंको जीवनलाई अर्थपूर्ण बनाउन मदत गर्नेछ।
जगतको उत्पत्ति कसरी भयो
९, १०. (क) बाइबलअनुसार जगतको मूल स्रोत को हो? (यशैया ४५:१२, १८) (ख) स्वयं जगतले सृष्टिको पुष्टि कसरी गर्दछ? (हिब्रू ३:४)
९ जीवन के हो भनि बुझ्नको निम्ति सर्वप्रथम यो मौलिक प्रश्नको जवाफ पाउन अति आवश्यक छ: जीवनको मूल स्रोत के हो? अथवा हामी कहाँबाट आयौं? के हामी जीवित रहनुमा केही उद्देश्य छ? बाइबलअनुसार “परमेश्वरले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) तर आधुनिक विचार राख्ने व्यक्तिहरूले यसो भनि सोध्छन्: के वास्तवमा एउटा सर्वशक्तिमान परमेश्वर—एउटा सृष्टिकर्त्ता हुनुहुन्छ र? के यो साँचो होइन कि धेरै मानिसहरूले सारा जगत विकाशवादको फल हो भनि मान्छन्?
१० के तपाईं कहिल्यै एउटा वेधशालामा जानु भएको छ? त्यसो भए, त्यो गुम्बजमा आकाशमण्डलको सही प्रतिनिधित्व गर्न रचेको जटिल यन्त्रकला र हाम्रो सूर्यमण्डलको नमूनाको शुद्ध गति देखेर अवश्य पनि चकित हुनुभयो होला। मानिसको यन्त्र-शास्त्र र फोटो उतार्ने कौशलताको यो कति शिष्ट परिणाम हो भनेर विचार गर्नुभयो होला। तर एक छिन सोच्नुहोस्। जगतको यस्तो एउटा नकल बनाउन त बुद्धिमान मानिसहरूको आवश्यकता पऱ्यो भने विशाल जगतकै निर्माण हुँदा अवश्य पनि एउटा अति महान बुद्धिजीवीको आवश्यकता पऱ्यो।
११. संसारका कतिपय विद्वानहरूले के कस्तो कुरो मानि लिनु परेको छ? (रोमी १:२०-२३)
११ उन्नाइसौं शताब्दीमा चार्ल्स डार्विनले सारा जगत विकासवादको परिणाम हो भन्ने सिद्धान्त सुरु गरे। तर के तपाईं पनि यो सबै कुरा कसैले बनाएको होइन भनि सोच्नु हुन्छ? के तपाईंलाई जीवन संयोगले भएको जस्तो लाग्छ? धेरै निपुण व्यक्तिहरूले विकासवादको सिद्धान्तलाई अपूर्ण पाएका छन्। उदाहरणको निम्ति, इतिहासकार आरनल्ड टोइनवीले यसो भन्नुभएको छ:
“जगतको आरम्भ कसरी भयो होला भन्ने विषयमा विकासवादी सिद्धान्तले निश्चित वर्णनसहित एउटा विकल्प दिन सकेको छ भनि मलाई लाग्दैन।”१
स्वयं डार्विनले पनि जीवनको मूल स्रोतबारे विवाद गर्दा यो मानिलिनु भयो:
“परमेश्वरको अस्तित्वमा विश्वास गराउने भावनाले होइन तर्कले मलाई प्रभावित पार्दछ। . . . किनभने यो विशाल र अद्भुत जगतका साथै भूतकाल र दूर भविष्यबारे सोच्न सक्ने मनुष्यजाति अन्धो संयोग अथवा आवश्यकताको परिणाम हो भनि विश्वास गर्न अति कठिन अर्थात् असम्भव नै लाग्छ। यसरी सम्झिंदा, मलाई एउटा प्रथम कारणतर्फ हेर्न करै लाग्छ।”२
१२. हामीले नम्रतापूर्वक कुन कुरो मानि लिनु पर्छ र किन? (प्रेरित १४:१५-१७)
१२ हो, एउटा सृष्टिकर्त्ता अर्थात् परमेश्वर हुनै पर्छ भनि साधारण तर्कले पनि बताउँछ। परमेश्वरको अद्भुत संसारको गहिराइलाई मानिसजातिको सबैभन्दा शक्तिशाली दूरबिनले पनि बुझ्ने सुरु मात्र गरेको कुरालाई विचार गर्दा परमेश्वरको श्रेष्ठ ज्ञान र शक्तिको सामने मानिसको बुद्धि र योग्यताहरू अति नगण्य देखिन्छ। र परमेश्वरलाई अस्वीकार गरेर एउटा सुखी र अर्थपूर्ण जीवनको आनन्द उठाउन सकिंदैन भनि देख्नेछौं।
पृथ्वीमा जीवनको आरम्भ कसरी भयो
१३. परमेश्वरको सृष्टिमा यो पृथ्वी किन विशिष्ट छ? (भजनसंग्रह १०४:२४)
१३ यो सृष्टिको विशालतामा अब एउटा सानो बिन्दु अर्थात् यो पृथ्वीलाई ध्यान दिऔं। यो पृथ्वीको एउटा विशेष सुन्दरता छ। यसलाई रङ्गले ढाकेको छ र अद्भुत प्रकारको जीवित कुराहरूले सुशोभित छ। यसमा जीवन छ। यसको वर्णन चन्द्रमामा पुगेर आएका एक जना एस्ट्रोनटले यी शब्दहरूमा गरे:
“हामीले सारा जगतमा जताततै हेऱ्यौं, तर रङ्गको टुक्रा तल पृथ्वीमा मात्र थियो। त्यहाँ समुद्रको गाढा निलो, माटोको खैरो र बादलका सेता रङ्गहरू देख्यौं . . . सारा आकाशमण्डलमा यो सर्वसुन्दर दृश्य थियो। कस्तो चीज पाएका छन् भनि यहाँ तलका मानिसहरूले चाल पाएकै छैनन्।”३
निस्सन्देह, सारा संसारमा यो पृथ्वी एउटा रत्नझैं विशिष्ट छ। यो वास्तवमा जीवनले परिपूर्ण छ र यी सबै प्रकारका जीवनमा अवश्य पनि एउटा उद्देश्य हुनुपर्छ! यो उद्देश्य के हो भनि थाहा लगाउन सक्छौं कि भनि हामी हेरौं।
१४. जीवन कहाँबाट आयो र कसरी? (भजनसंग्रह १०४:३०, ३१)
१४ जीवन कहाँबाट आयो, यो थाहा लगाउन कुनै कठिन छैन। जीवनको त्यो मूल स्रोततर्फ सङ्केत गर्दै, करीब ३,००० वर्ष पहिले बाइबलका एक जना लेखकले यसप्रकार घोषणा गरे:
“हे परमेश्वर, तपाईंको करूणा कस्तो अनमोलको छ! . . . किनकि जीवनको मूल तपाईंसँग छ। तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं।”—भजनसंग्रह ३६:७, ९.
बाइबलका कतिपय कठोर आलोचकहरूले पनि जीवनको स्रोत परमेश्वर नै हुनुहुन्छ भनि मानि लिनु परेको छ। आरम्भमा “सृष्टिकर्त्ताले जीवनको श्वास एउटा अथवा अनेक रूपहरूमा फुकी दिनुभयो” होला भनेर विकासवादी डार्विनले पनि मानि लिएका छन्।४ तर, परमेश्वरले जीवनको श्वास “अनेक रूपहरूमा” फुकिदिन सक्नुभयो भने सृष्टि गरिएको सयौं “किसिमहरू” मा पनि उहाँले त्यसरी नै पालै-पालो किन जीवनको श्वास फुकिनदिने? अवश्य त्यसरी नै उहाँले जीवन फुकिदिनुभयो भनि बाइबलले भन्छ। उहाँले प्रत्येक जीवित कुरा “आफ्ना आफ्ना किसिमका” सृष्टि गर्नुभयो। (उत्पत्ति १:१२, २१, २४, २५) परमेश्वरद्वारा पहिलो मानव सृष्टिको वर्णन यी शब्दहरूमा गरिएको छ:
“परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो।”—उत्पत्ति २:७.
बाइबलअनुसार त्यसैप्रकार अर्थात् परमेश्वरको प्रत्यक्ष सृष्टिद्वारा नै ६,००० वर्ष पहिले मानव जीवन सुरु भयो। जीवनमा अझ बढी केही छ भनि मूल्याङ्कन गर्नको निम्ति यो वास्तविकतालाई बुझ्न अति आवश्यक छ।
१५. के जीवन संयोगले आएको हुनु सक्छ? (भजनसंग्रह १००:३)
१५ सृष्टिबारे बाइबलको सरल वर्णनको सामने विकासवादीहरूको कुनै कुनै वर्णन अति काल्पनिक देखिन्छ। उदाहरणको निम्ति, एउटा विकासवादी विज्ञानवेताले यसप्रकार लेखेका छन्:
“कुनै समयमा अति प्राचीन कालमा, शायद साढे दुई अरब वर्ष पहिले, एउटा प्राणनाशक सूर्यमुनी, एउटा विशाल वायुमण्डलले ढाकेको अति तिक्ततीयित (ammoniated) सागरमा चेतनायुक्त व्यूहाणहरू (molecules) को माझमा संयोगले एउटा न्यष्टिक अम्लको व्यूहाण (nucleic acid molecule) हुनु आयो जसले स्वयं जस्ता अनेक व्यूहाणलाई कसो कसो गरी उत्पन्न गर्न सक्थ्यो . . . र त्यहाँबाट अरू जम्मै कुरा हुँदै आए!”५
के यस्तो वर्णनले तपाईंको चित्त बुझ्छ? अनुकूल अवस्था र रसायनिक पदार्थहरूको यस पृथ्वी जत्रो सागरमा एउटा प्रोभूजिन (प्रोटीन) को व्यूहाण स्वयं बनिनु कतिको सम्भव छ भन्ने कुराको हिसाब विकासवादी लेकम्ट दु नुई (lecomte du nouy) ले गरे। उनको हिसाबअनुसार यो कुरा १०२४३ (१ पछि २४३ शुन्य जोडिएका) अरब सालहरूमा एक चोटि मात्र हुन सम्भव छ।६ तर एउटा जीवित कोष बन्नुको लागि एउटा होइन, सयौं प्रोभूजिनको व्यूहाण र अन्य मिस्रित वस्तुहरू मिल्नुपर्छ! अवश्य पनि जीवन संयोगले बनिएको होइन!
१६. विकासवादलाई किन “मिथ्या” भन्नु सकिन्छ? (१ तिमोथी १:३, ४)
१६ विकासवादी सिद्धान्तका कतिपय कुराहरू वास्तविकतासँग मेल खाँदैनन्। उदाहरणको लागि, जननविज्ञान (जैनटिक्स) को अपरिवर्तनीय नियमअनुसार सबै जीवित कुराहरू अर्थात् पौधा, जनावर र मानवले आफ्ना आफ्ना किसिमअनुसार मात्र प्रजनन् सक्छ। एउटा किसिम अन्तर्गत परिवर्तनहरू हुन सक्छ जस्तो गरी अनेक प्रकारका कुकुरहरू देखिन्छन्। तर कुकुरले कुकुरमात्र उत्पन्न गर्छ। त्यसलाई बिरालो या अरू कुनै “किसिम” सित मिस्रित गराउन सकिंदैन। जीवश्म (फोसिल) का अवशेषहरूले पनि यो “किसिमहरूलाई” सम्बन्धित पार्न सक्ने केही प्रमाण दिन सकेको छैन जसले गर्दा विकासवादीहरू निकै निराश भएका छन्। साथै, विकासवादले उत्परिवर्तन (म्यूटेषण) अथवा कोषीय परिवर्तनहरू लाभदायक हुन्छ भनेर सिकाए तापनि यी परिवर्तनहरू धेरैजसो हानिकारक साबित भएका छन्। उदाहरणको लागि, यस्ता परिवर्तनहरूले केवल मौद्गल्याम (मंगोलोईड) र अपूर्ण किसिमका मानिसहरू मात्र उत्पन्न गर्न सक्छ। यस्ता कतिपय कुराहरूले गर्दा, आज कुनै कुनै प्रसिद्ध विकासवादी विज्ञानवेताहरूले “मिथ्या”७ “न्याययुक्त अनुमान”८ र “विज्ञानको नकाब ओडी हिंड्ने सबैभन्दा ठूलो असत्य कथा”९ जस्ता शब्दहरू प्रयोग गर्दै विकाशवादको वर्णन गरिरहेका छन्।
१७. कुन कुन कुरामा मानिस जनावरभन्दा अद्भुत रीतिले बनिएको छ? (उत्पत्ति १:२७, २८)
१७ तर मनुष्य स्वयं त “मिथ्या” होइन। ऊ जीवित छ। “परमेश्वरको स्वपरूपमा” बनिएको, विवेकले निर्देशित, एउटा निपुण र नैतिक प्राणी हो। उसको अस्तित्वले उसलाई निम्नस्तरको जीवहरूबाट अलग गराउँदछ। तसर्थ, जनावरले जस्तो जीवन निर्वाह गर्न बाहेक जीवनमा अझ बढी केही हुनुपर्छ। मानिसलाई जनावरहरूबाट एउटा प्रशस्त फांकले अलग गराउँदछ। कुन जनावरले आफ्नो प्रत्येक बच्चालाई स्याहार्न र प्रशिक्षण दिन बीस वर्ष व्यतित गर्छ? मानिसले मात्र प्रेम, करूणा, दूरदर्शिता, सौन्दर्य, कला र सङ्गीतको मूल्यांकन गर्न सक्ने अद्भुत गुणहरूको प्रयोग गर्न सक्छ। यति पूर्ण रूपले सम्पन्न भएको लागि धन्यवाद चढ़ाउन जीवनलाई प्रेम गर्ने सबै मानिसहरूले प्राचीनकालको दाऊद राजासित के यसो भन्नु नपर्ने “हे परमप्रभु . . . म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु”?—भजनसंग्रह १३९:४, १४.
“विकाशवादले” धेरैको जीवनलाई के गरेको छ?
१८, १९. विकाशवादले (क) नैतिकता (भजनसंग्रह १०:३, ४) (ख) शासकहरूको आचरणमाथि के असर पारेको छ? (१ यूहन्ना ३:१५)
१८ आज यति धेरै मानिसहरूले विकाशवादलाई यति सजिलो गरी किन स्वीकार गरेका छन्? एक त, विकाशवादमा विश्वास गर्नु लोकप्रिय र व्यवहारिक मानिएको हुनाले हो। साथै, यसले स्वतन्त्र अथवा अनैतिक व्यक्तिहरूलाई आफ्नो सृष्टिकर्ता अथवा उहाँको नैतिक सिद्धान्तहरूप्रति जवाफदेही महसुस नगरी ‘मनमानी’ गर्ने निहुँ दिएको छ। द आउटलाइन अफ हिस्ट्री नामक पुस्तकमा एच. जी. वेल्सले विकाशवादी सिद्धान्तको वृद्धिबारे वर्णन गर्दै यसो भन्छन् हुन्छ: “यसले पुरानो नैतिक नियमहरूको बदलामा कुनै ठोस कुरो दिन सकेन। तसर्थ नैतिकहीनता सुरु भयो।”१० यसले जीवनलाई योग्य बनाउन केही मदत गर्न सकेन।
१९ विकाशवादी शिक्षाको अझ अर्को नतिजाबारे इतिहासकार वेल्स यसो भन्छन्: “प्रबल मानिसहरूले . . . जीवन सङ्घर्ष (स्ट्रगल फर एग्जिस्टेन्स) द्वारा नै उनीहरू प्रबल हुन सक्छ भन्ने कुरामा विश्वास गर्न लागे . . . जसमा पराक्रमी र चतुरले कमजोर र विश्वस्तलाई दबाउँछन्। तसर्थ, मानविय समाजका ठूलाहरूले अरूलाई कष्ट दिन र अधीनमा राख्न उनीहरूको आँखामा ठीकै देखिन थाल्यो।”११ तसर्थ, “मसीहीजगतले” पनि क्रूर युद्धहरूमा भाग लिने औचित्य पायो। इभोलुशन एण्ड क्रिएशन पुस्तकअनुसार १९१४ मा भएको पहिलो विश्व-युद्धको दुर्घटना र त्यसपछि नाजी जमानाका निन्दित कार्यहरूको कारण डारविनी शिक्षा हो।१२ त्यसैगरि साम्यवादको विस्तारका लागि विकाशवादीहरू पनि जिम्मेवार छन्। डारविनको अरिजीन अफ स्पिसिज पढेर कार्ल मार्क्स अति प्रसन्न भए भनिन्छ। उनको वर्णनअनुसार त्यसमा लेखिएका कुराहरूले परमेश्वरलाई “मृत्युको आघात” दियो।१३ उनले यसो पनि भने:
“डारविनको यो पुस्तक मेरो निम्ति अति महत्त्वपूर्ण छ। यसले इतिहासमा श्रेणीहरूको सङ्घर्षको लागि मलाई एउटा आधार दिन्छ।”१४
आजसम्म “बरिष्ठ-अतिजीविता” (सरभाईभल अफ द फिटेस्ट) भन्ने विकाशवादी शिक्षाको आधारमा साम्यवादी राष्ट्रहरूले विश्वमा प्रभुत्व जमाउने लक्ष्य राखेका छन्। आफ्नो बचावको लागि अरू राष्ट्रहरू पनि यो सङ्घर्षमा सामेल हुन्छन् र यसको नतिजा यो अणु युगको अत्यधिक शस्त्रीकरण हो। सारा मानवजातिको जीवन खतरामा छ।
२०. विकाशवादमा विश्वास गर्नाले तपाईंको जीवनमा के कस्तो असर पर्न सक्छ? (कलस्सी २:८)
२० यसले तपाईंको जीवनलाई कसरी असर गर्दछ? विकाशवादी सिद्धान्तमा लाग्नु तपाईंको निम्ति व्यक्तिगतरूपमा निकै हानिकारक हुन सक्छ। विकाशवाद साँचो हुँदो हो त जीवन निरर्थक र उद्देश्यहीन हुनेथियो। जीवन जीवित रहन र मृत्युसम्म पुऱ्याउने एउटा सङ्घर्ष मात्र हुने थियो। “वरिष्ठ-अतिजीविता” (सरभाईभल अफ द फिटेस्ट) मा विश्वास गर्ने विकाशवादीसित छिमेकीलाई प्रेम गर्ने, एउटा सभ्य नैतिक जीवन बिताउने अथवा जनावरहरूभन्दा भिन्नै व्यवहार गर्ने केही आधार र कारण नै हुँदैन। मानवजातिमाथि विकाशवादको पूरै नकारात्मक असर छ। यसले जीवन सम्बन्धी कुनै पनि प्रश्नको सन्तोषजनक जवाफ दिन सक्दैन। तर बाइबलले सक्दछ।
जीवन समस्याले किन भरिपूर्ण छ?
२१, २२. (क) मनुष्यको वर्तमान परिस्थितिलाई केसँग तुलना गर्न सकिन्छ? (ख) आदमले कुन “चिह्न” लाई मान्न सकेन र त्यसको नतिजा के भयो? (उत्पत्ति २:१५-१७; ३:१७-१९)
२१ यो कुरा एउटा सुन्दर राजमार्गमा एउटा परिवार यात्रा गरिरहे जस्तो हो। त्यो भित्र एउटा उत्तम बगैंचा भएर जाँदछ। राम्रो यात्राको लागि सबै कुरा मिलेको छ। तथापि, उनीहरूले एक छेउमा एउटा फराकिलो बाटो देख्छन् जहाँ “खतरा—प्रवेश निषेध” भनि चिह्न लगाइएको छ। उनीहरू आफ्नै कौतूहलमा र स्वतन्त्र व्यवहारको बहकाउमा परेर यो बाटोमा प्रवेश गर्दछन् र त्यो राजमार्गबाट झन् झन् टाढा यात्रा गर्दै जान्छन्। अन्तमा, एउटा ठाडो ओरालो छ। अब उनीहरूको यात्रा आफ्नो वशमा छैन। घुमेर राजमार्ग जान अब असम्भव भयो। ब्रेकहरूले पनि काम दिन सकेन। रोक्नेको त कुरै रहेन। बढ्दो तीव्रतासित उनीहरू झन् झन् ओरालो लाग्छन्। अन्तमा, एउटा डाँडाबाट खसेर तिनीहरू नाश हुन्छन्।
२२ मानिस पनि ठीक त्यस्तै हो भनि बाइबलले देखाउँदछ। अदनको बगैंचामा पहिलो मानिसको लागि ‘त्यस रूखको फल चाँहि नखानू’ भनि परमेश्वरले एउटा चिह्न खडा गरिदिनु भयो। यो आज्ञा पालन गरेर त्यो लोग्नेमानिस र उसकी स्वास्नीले परमेश्वरप्रति आफ्नो प्रेम जाहेर गर्नु परेको थियो। तर उनीहरूले त्यसो गरेनन्। जानी बुझिकन उनीहरूले राजमार्गलाई छाडी मृत्यु र परमेश्वरको न्यायअनुसारको नाशतर्फ लैजाने पापको बाटोमा प्रवेश गरे। यसबारे रोमी ५:१२ मा यसो भनिएको पाउँछौं: “यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” तसर्थ, हामी सबै अनाज्ञाकारी आदमको सन्तान हुनाले प्याराडाइजमा मानव परिवारका पहिलो पुर्खाहरूले अनुभव गरेको सिद्धताबाट अति टाढा भएका छौं र यो मन नपर्दो बाटोबाट हामीले यात्रा गर्नु परिरहेको छ। हालसालैमा यो बाटो कति अप्रिय र अप्ठ्यारो भएको छ। यो त एउटा एकतर्फी बाटो हो जसबाट फर्किने उपाय यो संसारका राजनीतिज्ञ र विद्वानले मानव परिवारलाई देखाउन सकेका छैनन्। यसमा भएका प्रत्येक व्यक्तिको निम्ति मृत्यु नै बाटोको अन्त हो र सम्पूर्ण मानव संसारको नाश निश्चित प्राय भइसकेको छ।
२३, २४. (क) यूहन्ना १४:६ को अर्थ के हो र त्यो कुरो येशूमा कसरी प्रयोग हुन्छ? (ख) त्यो राजमार्गमा फर्केर तपाईं लाई के लाभ हुनेछ? (यूहन्ना ३:१६)
२३ तर हेर्नोस्! त्यो फराकिलो बाटोबाट राजमार्गतर्फ फर्काउने एउटा साँघुरो बाटोमा ज्योतिको किरण छ। झट्टै हेर्दा त, त्यो अति नै साँघुरो देखिन्छ। त्यता फर्कन गाह्रो हुन सक्छ। लापरवाहीसित फराकिलो बाटोमा ओरालो यात्रा गरिरहेका त्यो ठूलो परिवारले यो सानो बाटोलाई केही मान्यता नदिने निर्णय गर्छन्। उनीहरू भीडसितै हिंड्न रूचाउँछन्। फराकिलो मार्गमा पाउने सुविधा र क्षणिक रोमाञ्चको लागि धेरैजसो मानिस त्यही मार्गमा रहन्छन्। आउने खतराबारे चेतावनीहरूलाई पनि केही ध्यान दिंदैनन्। तर कुनै कुनै सावधान व्यक्तिहरू त्यो साँघुरो बाटोतिर फर्कन्छन् यसो गर्दा उनीहरूले केही मात्रामा कठिनाइहरूको सामना गर्नेछन् अथवा चङ्खो बस्नु पर्नेछ। तर समयमा उनीहरूको यात्रा फेरि आनन्दमय हुन्छ। र अन्तमा, त्यो बाटोले उनीहरूलाई पुनःस्थापित भरिपूर्ण प्याराडाइजमा पुऱ्याउँदछ। त्यो रमणीय र शान्तिमय वाटिका हेर्न पाउनु उनीहरूको निम्ति कति आनन्दको कुरा हो।
२४ मानव परिवारको अवस्था पनि ठीक यस्तै हो भनि बाइबलले देखाउँदछ। बहुसङ्ख्यक मानिसहरूले आफ्नो स्वतन्त्रता रूचाउँदै नाशतर्फ लैजाने फराकिलो बाटोमा भीडसित यात्रा गरे तापनि फर्कने एउटा बाटो खुलिएको छ। यही कुराप्रति ध्यान आकर्षित गर्दै परमेश्वरको पुत्र येशू मसीहले उहाँ पृथ्वीमा हुनुहुँदा यसो भन्नुभयो, “बाटो, सत्य र जीवन मै हुँ।” (यूहन्ना १४:६) मनुष्यजातिको निम्ति आफ्नो प्राण दिने हदसम्मै येशूले पृथ्वीमा परमेश्वरको इच्छा विश्वासी भएर गर्नु भएको कारण परमेश्वरले उहाँलाई “जीवनको प्रधान कार्यकर्ता” नियुक्त गर्नु भयो। उहाँ यस संसारमा “सत्यको गवाही दिन” र परमेश्वरको उद्देश्यहरूको घोषणा गर्न पनि आउनु भएको थियो। (प्रेरित ३:१५; यूहन्ना १८:३७) परमेश्वरको पार्थिव प्याराडाइजमा सुखी जीवनको पूर्ण आनन्द उठाउन त्यो सुन्दर राजमार्गमा फर्कने बाटो उहाँले मानव परिवारका सदस्यहरूलाई देखाउन सक्नु हुन्छ।
२५. प्याराडाइज जस्तो पृथ्वीमा जीवन बिताउन किन मनलाग्दो कुरो हो? (प्रकाश २१:३, ४)
२५ के तपाईं पनि त्यसप्रकारको राजमार्गमा यात्रा गरेर पूर्ण स्वास्थ्य र सुःखसहित सधैं बाँच्ने आशा दिने एउटा यशस्वी पृथ्वीमा पुग्न चाहनु हुन्न? अवश्य पनि त्यस किसिमको जीवनमा अझ केही बढी नै हुनेछ!
२६. सच्चाइ सिक्नु कति महत्त्वपूर्ण छ? (यूहन्ना ८:३१, ३२)
२६ हामीले त्यसप्रकारको जीवनको “बाटो” पाउनको लागि परमेश्वरले खटाउनु भएको जीवनको मुख्य कर्ता मा विश्वास गर्नु पर्छ। जीवनमा एउटा उद्देश्य र टाढा भविष्यसम्म सन्तोषजनक र उपयोगी जीवन बिताउने दृढ़ आशा हुँदा बाँच्नमा ठूलो फरक पर्दछ। त्यसप्रकारको आशालाई हामीले कसरी पूरा गर्न सक्छौं? येशूले यसको उत्तर आफ्नो पितासँग प्रार्थना गर्नु हुँदा यसो भनि दिनुभयो: “औ अनन्त जीवन यही [हो] कि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनु भयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) हामीले परिश्रम गरेर पवित्र शास्त्रको गौर अध्ययन गऱ्यौं भने हामीले सत्य सिक्न सक्नेछौं र यसलाई आफ्नो दैनिक जीवनमा प्रयोग गरेर हामीले आज पनि वास्तवमा बाँच्न सुरु गर्न सक्छौं!
तपाईंको जीवनमा असर पार्ने विश्व अवस्थाहरू
२७. आज हामीले आफूलाई कुन परिस्थितिमा पाउँछौं? (२ तिमोथी ३:१)
२७ विश्व अवस्थाहरू बिग्रिरहेका छन् भनि मानिलिनै पर्छ। ठूला ठूला शहरमा गरीबी र अपराध बढ्दो छ। जहाँ बस्नु भए तापनि रोटी, मासुको दाम बढी रहेको छ र सिर्फ जीवन निर्वाह गर्ने खर्च पनि शीघ्र उँभो गइरहेको छ। धेरै ठाउँहरूमा अधर्मीहरू बाटोबाटैमा पाइन्छ। अझ बढ्दो हिंसा र युद्ध अचानक कुनै पनि समयमा फुट्ला जस्तो देखिन्छ। मान्छेजातिले नाशको ओरालो बाटोमा अन्तिम फाल हाने जस्तो छ।
२८. यी दुःखहरूको पछाडि को छ, र उसको लक्ष्य के हो? (२ कोरिन्थी ४:४)
२८ यी सबै कुराको पछाडि कुन शक्ति छ? एउटा दुष्ट आत्मिक व्यक्ति छ अर्थात् त्यो “अजीङ्गर . . . त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने सारा संसारलाई ठग्ने।” उसले राष्ट्रहरूको राजनीतिक व्यवहारको डोरीलाई पछाडिबाट तान्दछ। तथापि, अब शैतानको अधिकारलाई हटाएर त्यसको बदलामा येशूको स्वर्गीय राज्यद्वारा मानिसको निम्ति एउटा मिलनसार र प्रेमपूर्ण शासन ल्याउने परमेश्वरको समय आइपुगेको छ। जीवनलाई प्रेम गर्ने व्यक्तिहरूको लागि सुःखको साथ अनन्त जीवनको आनन्द उठाउन फेरि त्यही राजमार्गमा फर्काइ ल्याउने यो समय परमेश्वरको हो। तर शैतानले आफ्नो ठाउँ छाड्न मान्दैन। यसैकारण, आज “पृथ्वीलाई . . . धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरू कहाँ तल गएको छ।” (प्रकाश १२:९, १२) मानिसलाई नाशतर्फ ढकेल्नु नै लक्ष्य हो।
२९. यो समयमा परमेश्वरको के उद्देश्य छ? (भजनसंग्रह ३७:९-११)
२९ निश्चय “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भन्ने प्रमाण यस पृथ्वीमा जताततै देखिन्छ। (१ यूहन्ना ५:१९) तर परमेश्वरले शैतानलाई आफ्नो दुष्ट इच्छा सफल पार्न दिनु हुने छैन। हो, यो विश्व समाजको नाश वास्तवमा नजीक आइपुगेको छ। तर परमेश्वरले जीवनको उद्धार गर्ने उद्देश्य रच्नु भएको छ। यो काम कसरी गरिनेछ भनि उहाँले बाइबलका भविष्यवाणीहरूद्वारा बताउनु भएको छ।
बाइबलको भविष्यवाणीले कसरी जीवनको बचावमा मदत गर्दछ
३०. हाम्रो जमानाबारे बाइबलको भविष्यवाणी पूरा हुनेछ भनि तपाईं किन निर्धक्क भइ बस्न सक्नु हुन्छ? (२ पत्रुस १:१९-२१; दानिएल ९:२४-२७)
३० बाइबलका धेरै भविष्यवाणीहरू अद्भुत रीतिले पूरा भएका छन्। उदाहरणको लागि, येशू यस पृथ्वीमा आउनुभन्दा सयौं वर्ष पहिला नै यी भविष्यवाणीहरूद्वारा उहाँको प्रचार कार्यको ठीक ठीक साल अर्थात् सा. यु. २९ देखि ३३ र उहाँको जीवन र मरणबारे अनेक विवरणको अगमवाणी गरिएको थियो। यी सबै कुरा पूरा भए। साथसाथै, स्वयं येशूले पनि कुनै कुनै विशिष्ट भविष्यवाणीहरू गर्नु भयो। तीमध्ये एउटा त “जगतको अन्त” बारे थियो। यो भविष्यवाणी पहिलो शताब्दीको यहूदी जमानामा उल्लेखनीय ढङ्गले पूरा भयो।
३१, ३२. सा.यु. ७०मा भविष्यवाणीले कसरी ज्यान बचाउने काममा मदत गऱ्यो? (लूका २१:२०-२४)
३१ मत्ती २४:३, १५-२२ अनुसार, त्यो “घृणित वस्तु” अर्थात् रोमी साम्राज्यको शाही सेनाहरूले यरूशलेममा घेरा हाल्नेछ भनेर येशूले अगमवाणी गर्नु भएको थियो। यो कुरा पूरा भएको देख्दा मसीहीहरू “पहाड़हरूतिर भाग्न” सुरु गर्नु पर्छ भनि उहाँले आफ्नो अगमवाणीमा भन्नुभयो। चौंतीस वर्षपछि, ती सेनाहरू वास्तवमा आउँदा उनीहरूले “मोर्चा बाँधेर” शहरलाई घेरी “पवित्र स्थान” अर्थात् यरूशलेमको पश्चिमी पर्खालसम्मै प्रवेश गरी येशूको भविष्यवाणीका धेरै कुराहरू पूरा गरे। (लूका १९:४३; मत्ती २४:१५) तर यस्तो परिस्थितिमा मसीहीहरूले कसरी शहर छाडी भाग्न सक्थे?
३२ अचानक कुनै प्रत्यक्ष कारणै विना ती रोमी सेनाहरू फर्के। अब येशूको आज्ञाको पालना गर्दै मसीहीहरू आफ्नो प्राण बचाउन यर्दन नदी पार गरी पहाडतिर भाग्न सके। पछि, जर्नल टाइटसको अगुवाइमा रोमी सेनाहरू फर्के अनि सा. यु. ७० मा यरूशलेम र यसको मन्दिरको सर्वनाश भयो। इतिहासकार जोसेफसअनुसार घेराव, अनिकाल र तरवारले ११,००,००० राष्ट्रवादी यहूदीहरूको ज्यान लियो र ९७,००० कैदी भएर गए। तर जीवनलाई वास्तवमा प्रेम गर्नेहरू बाइबलको भविष्यवाणीप्रति आज्ञाकारी हुँदै भागेर ज्यान बचाए!
३३. यहूदी जमानाको अन्तिम दिनसँग आज के कस्तो परिस्थिति छ? (लूका २१:२५, २६)
३३ येशू मसीहअनुसार पहिलो शताब्दीका अगमवाणी गरिएका घटनाहरू सा. यु. १९१४ देखिको पुस्तामा हुने विश्व थर्काउने घटनाहरूको एउटा नमूना थियो। आज पनि ज्यानहरू बचाउनु परेको छ। किनभने आज “जगतको अन्त” अर्थात् शैतानको वशमा चलेको सारा विश्व जमानाको अन्तमा हामी आइपुगेका छौं। यस कुरालाई १९१४ देखि हुँदै आएको घटनाहरूले प्रत्यक्ष रूपमा प्रमाणित गर्दछ। येशूको भविष्यवाणी आखिरी चोटि पूरा हुँदै त्यो सालमा ‘पीड़ाहरूको आरम्भ’ भयो र पहिलो विश्व युद्धको रक्तपातमा “जातिको विरूद्ध जाति” उठे। अगमवाणी गरेअनुसार, त्यसपछि “भैंचालो, . . . रूढ़ी र अनिकाल” हुन थाले। यसपछि पहिलेभन्दा झन् भयानक दोश्रो विश्व-युद्ध भयो र आज पृथ्वीलाई “अधर्म बढ्ने हुनाले” सताइरहेको छ। (मत्ती २४:७-१३; लूका २१:१०, ११) राष्ट्रहरू कष्टमा छन्। कुनैलाई पनि उम्कने उपाय थाहा छैन।
३४. मानिसहरूको ज्यान बचाउन परमेश्वरले के कसो गर्नु हुन्छ? (दानिएल २:४४)
३४ तर परमेश्वरलाई थाहा छ! परमेश्वरले यो स्वार्थी राज्य या राष्ट्रहरूलाई न्याय गर्ने सम्बन्धमा ‘कहिले नाश नहुने राज्य खडा’ गर्नु हुनेछ र त्यसले “यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ” भनि उहाँ घोषणा गर्नु हुन्छ। (दानिएल २:४४) तब येशूको राज्यलाई स्वीकार गरेका सबै व्यक्तिहरूलाई त्यो राज्यले शान्त वातावरणमा जीवनको दान दिनेछ। जीवनको खोजी गर्ने यस्ता व्यक्तिहरूलाई सहायता दिन, आज साँचो मसीहीहरूले एउटा ज्यान बचाउने काममा भाग लिएर येशूको यो महान भविष्यवाणीको अर्को भाग पनि पूरा गर्दैछन्: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
३५. (क) कहिले र कसरी अन्त आउनेछ? (ख) भविष्यवाणीलाई ध्यान दिन तपाईंको निम्ति कसरी लाभदायक हुन सक्दछ? (लूका २१:३४-३६)
३५ अवश्य ठीक कुन समयमा “अन्त हुनेछ” भनि जान्न हामीलाई ठूलो चाख छ। हाम्रो जीवन वास्तवमा विथोलित छ। अय्यूब २४:१ मा यसरी लेखिएको छ: “लेखाको दिनको तारीख कसैलाई थाह नभए पनि सर्वशक्तिमानको निम्ति लेखाको दिन गोप्य छैन।” (द न्यु इङ्गलिश बाइबल) तर त्यो दिन अवश्य पनि नजीक आइसकेको हुनु पर्छ! किनभने सा. यु. १९१४ देखि ‘पिड़ाहरूको आरम्भ’ हेर्दै आएका व्यक्तिहरूबारे येशूले यसो भन्नु हुन्छ “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइ जानेछ।” (मत्ती २४:३४) “यी सब कुराहरू” मा यो भ्रष्ट समाजको नाश पनि सम्मिलित छ जसको वर्णन येशूले यसरी गर्नु भएको थियो “किनकि त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।” (मत्ती २४:२१, २२) “महा सङ्कष्ट” का दिनहरू छोटो नपारिने भए त मानवजाति स्वयं यस पृथ्वीबाट मर्ने थिए! तर आनन्दको कुरा यो हो कि परमेश्वरलाई प्रेम गर्ने जति आफ्नो प्राणसहित भाग्न सक्ने रहेछन्। “उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ। तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।” (भजनसंग्रह १४५:२०) तपाईंले पनि बाइबलको भविष्यवाणीहरूलाई ध्यान दिनु भयो भने, तपाईं पनि भागेर बाँच्न सक्नु हुन्छ।
अनन्त जीवनको लागि बाँच्ने उपाय
३६. पहिलो यूहन्ना २:१५-१७ को कुरो तपाईंले आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्न सक्नु हुन्छ? (मर्कूस १२:२८-३१)
३६ के तपाईं बाँच्नेहरूमध्ये हुनु हुनेछ? नाशतर्फ लैजाने फराकिलो बाटोतर्फ तपाईं फर्कनु हुन्छ या हुँदैन र जीवनतर्फ जाने बाटोका चिह्नहरूप्रति आज्ञाकारी हुनु हुन्छ या हुनु हुँदैन भन्ने कुराहरूमा भर पर्छ। तपाईं साँच्चै बाँच्न चाहनु हुन्छ भने यसो गर्न अति गाह्रो छैन। यसको अर्थ परमेश्वर र आफ्नो पडोसीलाई प्रेम गर्नु हो। जसरी १ यूहन्ना ५:३ मा भनिएको छ: “उहाँका आज्ञा पालन गर्नु नै परमेश्वरप्रति प्रेम हो।” हामीले गर्नु पर्ने केही कुराहरू मध्येका केही कुराहरू उहाँले पहिले नै यूहन्नाको यो पत्रमा भनि सक्नु भएको छ (१यू २:१५-१७):
“संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि, संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”
“महा सङ्कष्ट” र त्यसपछि आउने पुनःस्थापित यो सुन्दर वाटिका (Paradise) सम्मै परमेश्वरको रक्षा र अनुग्रह पाएर सधैंभरी बाँच्नको लागि परमेश्वरले मननपराउने कुराहरू अर्थात् अनैतिकता, लोभ, बेइमानी, ढाँट्ने र चोर्ने चलन र सांसारिक झगडाहरूबाट हामी अलग भएर फर्कनु पर्दछ। यसो गर्दा हामीले जीवनलाई आज पनि बाँच्ने लायक बनाउन सक्नेछौं।
३७. (क) हामी कुन प्रकारले ‘संसारका’ हुनु भएन? (यूहन्ना १५:१७-१९) (ख) हामीले परमेश्वरको राज्यलाई कसरी समर्थन गर्न सक्छौं? (मत्ती ६:३३)
३७ येशूले स्वयं आफ्ना चेलाहरूबारे भन्नुभयो: “जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन्।” (यूहन्ना १७:१६) यस कुरालाई हामीले आफ्नो जीवनमा कसरी प्रयोग गर्न सक्छौं? आफ्नो देवता र शासक अर्थात् ‘त्यो दुष्ट’ को अगुवाईमा नाशतर्फ बढिरहेको यो संसारको कार्यक्रम र अभिलाषाहरूबाट हामीले आफैलाई अलग पार्नु पर्दछ। हामीले आफ्नो दैनिक जीवनमा परमेश्वरको शासनसँग अमिल्दो कामकुरोमा भाग लिनु भएन। मत्ती २४:३ र मत्ती २५:३१ अनुसार “जगत्को अन्तको” चिह्न, स्वर्गमा राजकीय अधिकारसहित येशूको “आगमन” को चिह्न पनि हो। तसर्थ, १९१४ देखि यो भविष्यवाणी पनि पूरा भयो अर्थात् “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” (प्रकाश ११:१५) त्यो राज्यलाई समर्थन गर्ने बेला अहिले हो! हाम्रो भविष्य त्यही राज्यमा निर्भर गर्दछ। त के हामी अब आजको युद्ध, क्रान्ति र राजनैतिक चाल अथवा सांसारिक योजनाहरूलाई एउटा शुद्ध अन्तःकरणसहित समर्थन गर्न सक्छौं? यिनीहरू जम्मै आफ्नो उद्देश्य पूरा गर्नमा निश्चय सफल हुनेछन्। किनभने परमेश्वरको राज्यले मात्र गर्न सक्ने काम यिनीहरूले गर्न खोजेका छन्। यो सम्पूर्ण जमानाको नष्ट अब निश्चित छ। यसकारण यसलाई टालटुल गर्ने कोशिशमा किन भाग लिने? बरु सम्पूर्ण हृदयले त्यो निश्चित उपाय अर्थात् परमेश्वरको राज्यलाई समर्थन गरौं!
३८. आजको शासकहरूप्रति हाम्रो के कस्तो व्यवहार हुनु पर्दछ? (लूका २०:२५)
३८ यसको मतलब के हामी आतङ्ककारी हुने? पटक्कै होइन। किनभने “परमेश्वर गोलमालको परमेश्वर होइन, तर शान्तिका परमेश्वर हुनुहुन्छ।” (१ कोरिन्थी १४:३३) परमेश्वर चाहनु हुन्छ कि चलि आएको वर्तमान सरकारहरू रहुन्जेल हामीले उनीहरूको नियमहरू पालन गर्दै ती शासकहरूको पनि आदर गरौं। रोमी १३:१ ले यसो भन्दछ: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्।” यसको अर्थ हामीले “सिजर” (सरकार) लाई तिर्नु पर्ने करहरू तिर्ने र ईश्वरीय कानूनको अवहेलना नहोउन्जेल सबै सरकारी नियमहरूको पालन गर्न आवश्यक छ।—मर्कूस १२:१७.
३९. तपाईंले छिमेकीप्रति प्रेम कसरी देखाउन सक्नु हुन्छ? (१ कोरिन्थी १३:४-७)
३९ हामीले परमेश्वर तथा आफ्ना छिमेकी दुवैप्रति प्रेम देखाउनु पर्दछ। र यसको सुरुआत आफ्नो परिवारबाटै गर्नुभन्दा राम्रो अरू कुनै ठाउँ छैन। तर यो कसरी गर्न सकिन्छ? बाइबलले कलस्सी ३:१८-२१ मा यो सरल उत्तर दिंदछ:
“ए पत्नी हो, प्रभुमा खुल्ने जस्तैगरी पतिका अधीनमा बस। ए पति हो, पत्नीहरूलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ। ए बालक हो, सबै कुरामा आमाबाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउने हुन्छ। ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।”
एउटा एकत्रित परिवार बनाउन यो वास्तवमा कति राम्रो आधार हो! आफ्नो परिवारमा मात्र होइन तर अरूसँग व्यवहार गर्दा पनि “करूणा, दया, नम्रता, धीरज र सहनशीलता” जस्ता गुणहरूको प्रयोग गर्न सक्छौं। तर यी गुणहरूमध्ये सबैभन्दा श्रेष्ठ कुन हो? “यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१२, १४.
४०. यहोवाका गवाहीहरू कुन प्रकारका मानिसहरू हुन्? (यूहन्ना १३:३४, ३५)
४० तपाईंले सोध्नु होला के यसरी आफ्नो जीवनमा परमेश्वर र छिमेकीलाई वास्तवमा प्रेम गर्ने मानिसहरूको यस पृथ्वीमा आज कुनै सङ्गठन छ र? छ। तपाईं बस्ने शहर वा गाउँमा एउटा किङ्गडम हल छ भने त्यहीं नै त्यसप्रकारका मानिसहरूलाई पाउनु हुनेछ। उनीहरू एउटा अन्तरराष्ट्रिय संस्था हुन् जसको सङ्ख्या लाखौंमा छ। साधारणतया उनीहरू आफ्ना अरू छिमेकी जस्तै साधारण व्यक्तिहरू हुन् र जीवन निर्वाहको लागि समाजका अरू व्यक्तिहरूले जस्तै दैनिक व्यवसायहरू गर्दछन्। तर उनीहरूको प्रेम प्रथम उनीहरूको परमेश्वरको लागि हो। उनीहरूले परमेश्वरको इच्छा यस पृथ्वीमा पूरा हुने दिनको आशा गर्दै यसैअनुसार आफ्नो जीवन पनि व्यतीत गर्छन्। तसर्थ, बाइबल अध्ययन गर्न, त्यसको सिद्धान्तहरूलाई आफ्नो जीवनमा प्रयोग गर्न र त्यसमा भएको समाचारबारे आफ्नो छिमेकीलाई भन्न उनीहरू उत्साही रहन्छन्। उनीहरू हुन् यहोवाका मसीही गवाही। उनीहरूसँग तपाईंको नजिकको किङ्गडम हलमा किन भेट्नु हुन्न? त्यहाँ न केही काजक्रिया, न चन्दाको माँग न कुनै औपचारिकता पाउनु हुनेछ। बरु त्यहाँ तपाईंले अति मायालु मानिसहरू पाउनु हुनेछ जसले आज पनि जीवनबाट ठूलो सन्तोष अनुभव गर्दै एउटा पार्थिव प्याराडाइजमा अर्थात् सुन्दर वाटिकामा सिद्धतासहित अनन्त जीवनको आशा गर्दछन्।
४१. गवाहीहरूले मुख्य मुख्य समस्याहरूको समाधान कसरी गरेका छन्? (प्रेरित १०:३४, ३५)
४१ यसप्रकारको आशाअनुसार जीवन बिताउने मानिसहरूसँग के तपाईं सङ्गत गर्न चाहनु हुन्न? बाइबलको सिद्धान्तअनुसार जीवन बिताउनाले उनीहरूसँग एउटा विश्वव्यापी एकता छ। धेरै शताब्दीहरूदेखि विभिन्न जातिहरूले समाधान गर्न नसकेका युद्ध, जातपातका झगडा र राष्ट्रियता जस्ता समस्याहरूलाई उनीहरूले आपसमा समाधान गरिसकेका छन्। बाइबलअनुसार जीवन बिताउनाले उनीहरू आपसमा हिंसा, अपराध, बेइमानी र अनैतिकता सम्बन्धी समस्याहरूबाट मुक्त छन्। सामाजिक बिमारीहरूबाट उनीहरू पिडित छैनन्। उनीहरूमध्ये कसैबाट कहिलेकाही गम्भीर गल्ती भए तापनि उसले पश्चाताप गर्दा प्रेमसहित उसलाई पुनः अपन्याइन्छ। “पृथ्वीको सतहमाथि बास गर्नलाई परमेश्वरले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनि थाह हुनाले उनीहरूले अरूलाई सामाजिक मान, विद्या अथवा विद्याको कमी, राष्ट्रियता अथवा छालाको रङ्गको आधारमा हेर्दैनन्।—प्रेरित १७:२६.
किन जीवनमा अझ बढी केही छ!
४२. जीवनलाई प्रेम गर्नेहरूको निम्ति कस्तो भविष्य हुनेछ? (भजनसंग्रह ७२:१-८)
४२ जीवनलाई प्रेम गर्ने र अहिलेदेखि नै त्यसको बचावको तयारी गर्नेहरूको निम्ति एउटा यशस्वी भविष्य छ। त्यो भविष्य कस्तो हुनेछ? त्यो भविष्य आज धेरै जस्तो मानिसहरूको मन्द जीवन जस्तो पटक्कै हुनेछैन। “पहिलेका कुराहरू” अर्थात् यो वर्तमान जमानाको शोक, मृत्यु र पीडा “बितिसकेका” हुनेछन् र त्यसपछि के हुनेछ? परमेश्वरले स्वयं यो घोषणा गर्नुहुन्छ: “हेर म सब कुरा नयाँ तुल्याउँछु।” (प्रकाश २१:४, ५) त्यो नयाँ रीतिरिवाजमा, स्वर्गमा हुनु हुने राजा येशू मसीहले एक “सनातनका पिता” लेझैं सारा मानव परिवारलाई प्रेमसँग शासन गर्नु हुनेछ। “‘उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” (यशैया ९:६, ७) त्यसप्रकारका परिस्थितिहरूमा जीवन कति सन्तोषजनक र आनन्ददायक हुनेछ! यस पृथ्वीमा आफ्ना छिमेकीलाई प्रेम गर्दै परमेश्वरको इच्छा गर्नाले जीवनमा एउटा उद्देश्य हुनेछ। त्यो प्याराडाइज जस्तो पृथ्वीको आनन्द उठाउन चिहानका मानिसहरू समेत ‘उहाँको स्वर सुनेर’ बाहिर आउँनेछन् भनि येशूले हामीलाई विश्वास दिलाउनु हुन्छ।—यूहन्ना ५:२८, २९.
४३. तपाईंले आफ्नो प्राण कसरी बचाउन सक्नु हुन्छ? (सपन्याह २:२, ३)
४३ यो ‘वर्तमान दुष्ट रीतिरिवाज’ फराकिलो बाटोबाट नाशतर्फ डुब्नै लागेको छ। तर यो सँगसँगै तपाईं पनि डुब्नु पर्दैन। परमेश्वर यी खूनी राष्ट्रहरूलाई नाश गर्न आउनु हुँदा परमेश्वरका निजी मानिसहरू अर्थात् जीवनलाई प्रेम गर्नेहरूको सङ्गतमा तपाईंको प्राण बाँच्न सक्ला:
“हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अधर्मका निम्ति सजाय दिन परमप्रभु आफ्नो ठाउँबाट निस्की आउनुहुन्छ। पृथ्वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्त पृथ्वीले छिपाउनेछैन।”—यशैया २६:२०, २१.
४४. तपाईंको सामु के महान मौका छ? (व्यवस्था ३०:१९, २०)
४४ तसर्थ बाइबलको सिद्धान्तअनुसार अहिलेदेखि नै त्यो असली जीवन बिताउन सुरु गर्नाले परमेश्वरका मानिसहरूको उत्साही र अगाडि बढ्ने समाजसँग तपाईंले पनि जीउँदै त्यो “महासङ्कष्टलाई” पार गरेर यस पृथ्वीबाट कहिल्यै मर्न नपर्ला। साँच्चै, आज बाँचिरहेका एउटा “ठूलो भीड” कहिले पनि मर्न नपर्ला भनि विश्वाससित भन्न सकिन्छ।
४५. (क) आज र भविष्यमा पनि कामयाब हुने कुरो कुन हो?(१ तिमोथी ६:११, १२) (ख) जीवनमा अझ बढी केही छ भनि तपाईं कसरी मूल्यांकन गर्न सक्नु हुन्छ? (१ तिमोथी ६:१७-१९)
४५ यहोवाले सारा संसारमा उहाँका गवाहीहरूको जीवित समाजमा आज पनि कामयाब हुने कुरा उत्पन्न गर्नु भएको छ त्यो कुरा तपाईंको जीवनमा पनि कामयाब हुन सक्छ! र विशिष्ट रीतिले त्यो कुरा आउने प्याराडाइजमा पनि पूरा हुनेछ, जहाँ “सास हुने जति सबैले” त्यो महान जीवनदाता, यहोवा परमेश्वरको प्रशंसा गर्नेछ। (भजनसंग्रह १५०:६) अवश्य पनि जीवनमा अझ बढी केही छ!
सन्दर्भ सामग्रीहरू
१. इन्टेलेक्चुएल डाइजेस्ट, डिसेम्बर १९७१, पृष्ठ ५९.
२. चार्ल्स डारविन: हिज लाइफ, अध्याय ३, पृष्ठ ६६.
३. द योमियुरी, टोकियो, जनवरी १७, १९६९.
४. चार्ल्स डारविन, अरिजिन अफ स्पिसिज्, अन्तिम वाक्य
५. आइजक एसीमोभ, द वेलस्प्रिङ्ग अफ लाइफ, १९६०, पृष्ठहरू २२४, २२५.
६. लेकम्ट दु नुई, ह्युमन डेस्टिनी, १९४७, पृष्ठ ३४.
७. प्रो. जोन एन. मूर, मिचिगान स्टेट युनिभर्सिटि, डिसेम्बर २७, १९७१ को खबरपत्र, पृष्ठ ५.
८. आयजक एसीमोभ, द वेलस्प्रिङ्ग अफ लाइफ, १९६०, पृष्ठ ८५
९. एम.एस केरिगथान, द ग्लोब एण्ड मेल, टोरोन्टो, नोभेम्बर २६, १९७०, पृष्ठ ४६.
१०. एच.जी वेल्स, द आउटलाइन अफ हिस्ट्री, तेस्रो संस्करण, १९२१, पृष्ठ ९५६
११. त्यसैको, पृष्ठ ९५७
१२. फिलिप जी. फोथरजील, इभोलुशन एण्ड क्रिश्चन्स, १९६१, पृष्ठ १७.
१३. हिमलफार्ब, डारविन एण्ड द डार्विनियन रेभोलुशन, पृष्ठ ३९८.
१४. जे.डी.बेरनाल, मार्कस एण्ड सायन्स, १९५२, पृष्ठ १७.
[फुटनोट]
[पृष्ठ ६-मा भएको चित्र]
निपुण विज्ञानवेताहरूले हाम्रो सूर्यमण्डलको नकल बनाएका छन्। स्वयं जगत नै बनाउँदा, के एउटा महान बुद्धिजीवीको आवश्यकता नपर्ला?
[पृष्ठ ८-मा भएको चित्र]
पृथ्वीको वर्णन गर्दै, एउटा एस्ट्रनटले यसो भने: “सारा आकाशभरि पृथ्वी हेर्नमा सबैभन्दा सुन्दर चीज हो।” किनभने यहाँ परमेश्वरले सृष्टि गर्नु भएको जीवन छ
[पृष्ठ १०-मा भएका चित्रहरू]
आपसमा मिलेर बच्चा जन्माउन सक्ने धेरै किसिमका कुकुरहरू छन्। तर उनीहरू कहिल्यै पनि अर्कै वर्ग अर्थात् “बिरालोसँग” मिलेर बच्चा जन्माउन सक्दैनन्
[पृष्ठ ११-मा भएको चित्र]
The Seattle Times, November 21, 1971
The Washington Daily News, December 27, 1971
The Express, Easton, Pa., May 3, 1973
[पृष्ठ १२ र १३-मा भएका चित्रहरू]
मानवजाति र जनावरहरू बीच जुन भिन्नता छ, त्यसलाई मेटाउन असम्भव छ
[पृष्ठ १५-मा भएको चित्र]
एउटा महिमायुक्त वाटिकामा जीवन बिताउन मानिसको सृष्टि भयो। तर उसको अनन्त आनन्द आज्ञाकारितामा निर्भर थियो
[पृष्ठ २०-मा भएको चित्र]
सा.यु. ७० मा यरूशलेम नाश भएको घटनालाई इतिहास मान्दै, (रोमका) आर्च अफ टाइटस मा खोपिएको यस तस्वीरले अभिलेख गर्दछ
[पृष्ठ २२-मा भएको चित्र]
बाइबलका भविष्यवाणीहरू सुन्नाले पहिलो शताब्दीका मसीहीहरूको ज्यान बच्यो। त्यसैगरि, तपाईंको पनि आज ज्यान बच्न सक्छ
[पृष्ठ २३-मा भएको चित्र]
‘पहिलो विश्व-युद्धले सम्पूर्ण युद्धको शताब्दी सुरु गऱ्यो। . . .पहिला कहिल्यै पनि यति धेरै जातिहरू ग्रस्त भएका थिएनन्। पहिला कहिले पनि यस्तो विस्तृत र अविवेकी हत्या भएको थिएन।’—“वर्ल्ड वर वान” बाई एच.डब्ल्यू. बल्डवीन
[पृष्ठ २४-मा भएको चित्र]
करीब ४,००,०००,००० मानिसहरूले पुग्दो खाना समेत पाएका छैनन् भनि अनुमान लगाएको छ
[पृष्ठ ३०-मा भएको चित्र]
ईश्वरभक्त मानिसहरूका नयाँ समाजले असली जीवनको आनन्द उठाउने छन् र अनन्तकालसम्म परमेश्वरको प्रशंसा गर्नेछन्