अध्याय २
यहोवालाई साँचो परमेश्वरको रूपमा महिमित गर्नुहोस्
१. (क) साँचो परमेश्वर को हुनुहुन्छ? (ख) जसै हामी उहाँबारे सिक्छौं, हाम्रो जीवनमा त्यसले कस्तो असर पार्नु पर्दछ?
यहाँ देवता कहलिएकाहरू धेरै भए तापनि “हाम्रा निम्ति ता परमेश्वर एउटै हुनुहुन्छ, अर्थात् पिता . . . औ एउटै प्रभु येशू ख्रीष्ट” भनेर प्रेरित पावलले सङ्गी मसीहीहरूलाई लेखे। (१ कोरि. ८:५, ६) पावलले उल्लेख गरेका “एउटै परमेश्वर”, सारा चीजका सृजनहार, यहोवा हुनुहुन्छ। (व्यव. ६:४; प्रकाश ४:११) उहाँका गुणहरू र मानवजातिका निम्ति उहाँले गर्नुभएका कार्यहरू सिकेर ती कुराहरूको मूल्याङ्कन गर्ने व्यक्तिहरू उहाँतर्फ अति नै आकर्षित हुन्छन्। त्यसको परिणाम के हुन्छ? जुन व्यक्तिका लागि तिनीहरूको हृदयमा यतिको गहिरो श्रद्धा हुन्छ, ती व्यक्तिलाई तिनीहरूले स्वभाविकतः आफ्नो वचन र कर्म, दुवैबाट महिमित पार्दछन्। परमेश्वरका निम्ति जसै तिनीहरूको प्रेम बढ्दै जान्छ, उहाँबारे अरूहरूलाई भन्न तिनीहरू उत्प्रेरित हुन्छन् र सकेसम्म उहाँको अनुकरण गर्न चाहन्छन्। यसो गर्न बाइबलले हामी सबैलाई नै यसप्रकार प्रोत्साहित गर्दछ: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्ने होओ, र प्रेममा चल।” (एफि. ५:१, २) यस सल्लाहलाई प्रयोगमा ल्याउनका निम्ति यहोवा वास्तवमा कुन प्रकारको व्यक्ति हुनुहुन्छ, त्यसबारे हामीले जानकारी लिनु आवश्यक छ।
यहोवा कुन प्रकारको व्यक्ति हुनुहुन्छ
२. परमेश्वरका केही विशिष्ट गुणहरू के हुन् जसले गर्दा हामीहरू उहाँको प्रशंसा गर्न प्रेरित हुन्छौं?
२ यहोवाका विशिष्ट गुणहरूलाई चिनाउने अनेक प्रत्यक्ष बयानहरू बाइबलभरि पाइन्छन्। यी बयानहरू पढ्नु हुँदा ती गुणहरू वास्तवमा के हुन् र तिनीहरू तपाईंका निम्ति कतिको महत्त्वपूर्ण छन् भन्ने विषयमा सोच्न समय लगाउनु होस्। उदाहरणका लागि: “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूह. ४:८) “उहाँका सबै काम न्यायसँगत छन्।” (व्यव. ३२:४) ‘बुद्धि उहाँकै हुन्।’ (अय्यु. १२:१३) उहाँ “सामर्थ्यमा बलियो” हुनुहुन्छ। (यशै. ४०:२६) जसै तपाईं उहाँका यी गुणहरूबारे मनन गर्नुहुन्छ, के तपाईंको हृदयमा परमेश्वरका लागि श्रद्धा जागेर आउँदैन र? के तपाईं उहाँको प्रशंसा गर्न उत्प्रेरित हुनुहुन्न?
३. यहोवाको व्यक्तित्वका अन्य कुन पक्षहरू अति नै मनमोहक छन्?
३ उहाँको मनमोहक व्यक्तित्वबारे अझै हामीहरूलाई परिचित गराउँदै बाइबलले हामीलाई भन्दछ कि यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थ. ३४:६) “हे परमप्रभु, तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ।” (भजन. ८६:५) “जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इति. १६:९) “परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रे. १०:३४, ३५) यहोवाले “उदारचित्तसँग दिनुहुन्छ” र उहाँ “परमधन्य परमेश्वर” हुनुहुन्छ। (याकु. १:५; १ तिमो. १:११) यस्तो अतुलनीय परमेश्वरको सेवा गर्न र उहाँको मायालु देख-रेख अनुभव गर्न पाउनु कति आरामदायी कुरा हो!
४. (क) कुन प्रकारको भक्ति यहोवा चाहनुहुन्छ, र यो कतिको महत्त्वपूर्ण कुरा हो? (ख) कुन कुरामा भाग लिन भजनसंग्रह ३४:३-ले हामीलाई आमन्त्रित गर्दछ?
४ तर उहाँ “डाह गर्ने परमेश्वर” पनि हुनुहुन्छ र यो पनि उहाँका गुणहरूसित मेल खाने एउटा वास्तविकता हो। (प्रस्थ. २०:५) उहाँलाई स्वीकार्य हुने गरी सेवा गर्ने हो भने हामीले उहाँलाई सम्पूर्ण भक्ति दिनु पर्दछ। हामीले यो संसारलाई पनि प्रेम गर्नु हुँदैन जुन संसारको देव शैतान हो। (१ यूह. २:१५-१७; २ कोरि. ४:३, ४) धार्मिकताको अलिकता पनि ढोङँ गरेको यहोवाले देखी हाल्नुहुन्छ। हामी के गर्दैछौं, त्यसबारे हाम्रो सोचाइ के छ र कुन प्रकारको व्यक्ति हुने कोशिश हामी गर्दैछौं, यहोवाले यी सबै कुरा पूर्ण रूपमा जान्नुहुन्छ। हामी साँच्चै नै धार्मिकतालाई प्रेम गर्दछौं भने उहाँले हाम्रो मद्दत गर्नुहुन्छ। (यर्मि. १७:१०; हितो. १५:९) यहोवा यसप्रकारको व्यक्ति हुनु भएको हुनाकारण संसारभरिका लाखौंलाख मानिसहरूले बाइबलका भजन रचयिताले दिएको यो निमन्त्रणालाई सहर्ष स्वीकार गरेका छन्: “मसँगसँगै परमप्रभुको बढ़ाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।” (भजन. ३४:३) के तपाईं ती मध्येका हुनुहुन्छ?
५. यहोवाको व्यक्तित्वबारे गरिएको अध्ययनबाट पूर्ण लाभ उठाउन हामीलाई कुन कुराले मदत दिने छ?
५ तपाईंले परमेश्वरका उच्चतम गुणहरूलाई राम्ररी जाँच गर्नुभयो भने उहाँबारे कुरा गर्ने तपाईंमा एउटा गहिरो इच्छा उत्पन्न हुनेछ, र उहाँको अनुकरण गर्ने तपाईंको प्रयासमा तपाईंले ठूलो मदत पाउनु हुनेछ। (१) उहाँको प्रत्येक गुण यथार्थमा के हो र सम्भवतः त्यो गुण अरू अन्य गुणहरू भन्दा कसरी भिन्न छन्, (२) यहोवाले त्यस गुणलाई कसका निम्ति र कसरी प्रदर्शित गर्नु भएको छ, र (३) तपाईंले त्यसलाई कसरी प्रकट गर्न सक्नुहुन्छ, अथवा तपाईंको दृष्टिकोणमाथि त्यसले के असर पार्नु पर्ने हो, सो पत्ता लगाउनु होस्।
६. प्रेमलाई एउटा उदाहरणको रूपमा प्रयोग गर्दै यहोवाका गुणहरूको जाँच तपाईंले कसरी गर्न सक्नुहुन्छ, सो प्रदर्शित गर्नुहोस्। यस अनुच्छेदको अन्तमा दिइएका प्रश्नहरूको उत्तर दिंदा यहाँ उल्लिखित शास्त्रपदहरूको पनि प्रयोग गर्नुहोस्।
६ यहाँ एउटा मात्र उदाहरणलाई विचार गर्नुहोस्। “परमेश्वर प्रेम हुनुहुन्छ,” भनी बाइबलले भन्नुको अर्थ के हो? (१ यूह. ४:८) वास्तवमा प्रेम अनेक प्रकारका छन्। यस पदमा प्रयोग गरिएको युनानी शब्द अगापे हो, जसले सबैभन्दा उच्च स्तरको प्रेमलाई सङ्केत गर्दछ र जसको आदर्श स्वयं यहोवा परमेश्वर नै हुनुहुन्छ। यस प्रकारको प्रेम, पूर्ण निःस्वार्थताको एउटा अभिव्यक्ति हो। यी कुराहरूलाई ध्यानमा राखेर सङ्केत गरिएका पदहरूलाई प्रयोग गर्दै निम्नलिखित प्रश्नहरूको उत्तर सोचेर दिनुहोस्।
यहोवाको सृष्टिका कार्यहरूमा यो गुण कसरी प्रदर्शित हुन्छ? (प्रे. १४:१६, १७)
मानवजातिका निम्ति यहोवाको प्रेमको सबैभन्दा विशिष्ट उदाहरण के हो? (यूह. ३:१६) के मानिस असल भएको हुनाकारण यहोवाले यसो गर्नु भएको हो? (रोमी ५:८)
यहोवाले आफ्ना पुत्रद्वारा जे गर्नुभयो त्यसले हाम्रो जीवन-शैलीमाथि कसरी प्रभाव पार्नु पर्ने हो? (२ कोरि. ५:१४, १५, १८, १९)
हामी मसीहीहरू भएको हुनाकारण सङ्गी मसीहीहरूप्रति पनि त्यस्तै प्रकारको प्रेमलाई हामी कुन तरिकाहरूद्वारा देखाउन सक्तछौं? (१ कोरि. १३:४-७; १ यूह. ४:१०, ११; ३:१६-१८)
अरू क-कसलाई पनि हामीले प्रेम दर्शाउनु पर्छ र कसरी? (मत्ती ५:४३-४८; २८:१९, २०; गला. ६:१०)
७. व्यक्तिगत अध्ययन गर्नु हुँदा यहोवाका अरू गुणहरू सम्बन्धी जानकारी तपाईंले कसरी लिन सक्नुहुन्छ?
७ यहोवाका अझ अन्य गुणहरूबारे पनि के तपाईं जानकारी लिन चाहनुहुन्छ? आफ्नो व्यक्तिगत अध्ययनको सिलसिलामा प्रथमतः “न्याय” र “बुद्धि,” अनि शायद “प्रेमपूर्ण दया” र “कृपा” जस्ता गुणहरूबारे जानकारी प्राप्त गर्ने प्रयास गर्न सक्नुहुन्छ। वाचटावरका प्रकाशनहरूको विषय-सूची र बाइबल कन्कर्डन्स (Index, Concordance) प्रयोग गर्नुभयो भने ज्ञानोद्वीपक सामग्रीहरूको भण्डार पाउनु हुनेछ।
परमेश्वरबारे सत्य ज्ञान लिन अरूहरूलाई मदत गर्नुहोस्
८. (क) संसारका मानिसहरूले कुन कुन देवताहरूको उपासना गर्दछन्? (ख) यस गोलमालको पछाडि कसको हात छ, र तपाईं यो कसरी भन्न सक्नुहुन्छ?
८ साँचो परमेश्वरको उपासना गर्नुको सट्टा मानिसहरू प्रत्क्षतः अन्य लाखौं देवताहरूको उपासना गरिरहेका छन्। बेबिलोनी, मिस्री, हिन्दू र बौद्धमार्गीहरूले पहिलेदेखि नै सिकाएका “त्रिएक”-को शिक्षालाई मसीही जगतले पनि चौथो शताब्दीमा अपन्यायो। परमेश्वरबारे यस धारणा बाहेक, शक्तिशाली शासकहरू, नाउँ चलेका खेलाडीहरू, र गायकहरू पनि छन् जसलाई देव सरह पुज्ने गर्छन्। पैसा, स्वयं र यौनसमेत देवताहरू भएका छन् र जोडतोडका साथ यी कुराहरूलाई भक्ति चढाइन्छन्। यी सबै कुराको पछाडि को छ? “यस संसारको देव,” शैतान अर्थात् दियाबल। (२ कोरि. ४:४; १ कोरि. १०:२०) सम्भवतः हर प्रकारको धूर्त तरिकाहरूद्वारा त्यसले मानिसहरूलाई यहोवाबाट टाढा लैजाने अथवा केही नभए तिनीहरूको भक्तिलाई विभाजित गराउने प्रयास गर्दछ।
९. कसैलाई परमेश्वरबारे सत्य कुरा सिक्ने मदत दिने सबैभन्दा उत्तम तरिका के हो?
९ मसीही कहलाउनेहरू अथवा अन्य अरू नै यस्ता मानिसहरूलाई परमेश्वरबारे सही ज्ञान लिने मद्दत हामी कसरी दिन सक्तछौं? साँचो परमेश्वरको परिचय र उहाँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ भन्ने विषयमा स्वयं बाइबलमा उल्लिखित कुराहरू हामीले तिनीहरूलाई मद्दतकारी ढङ्गमा देखाउनु एउटा अत्यन्त राम्रो तरीका हुनेछ। र ती कुराहरूलाई अझ बल दिन हामीले आफ्नो जीवनमा ईश्वरीय गुणहरू प्रदर्शित गर्ने किसिमको चालचलन देखाउन सक्छौं।—१ पत्रु. २:१२.
१०. त्रिएकमा विश्वास गर्ने व्यक्तिसङ्ग कुरा गर्दा ऊ के विश्वास गर्दछ भनेर हामी जान्दछौं भनी अनुमान लगाउनु किन बुद्धिमानी होइन?
१० “त्रिएक” शिक्षा शास्त्रमा आधारित छ भन्दै मसीही जगतका गिर्जाहरूका कुनै कुनै सदस्यहरू तपाईंसङ्ग जुध्न आएमा तपाईं के गर्नुहुन्छ? सर्व-प्रथम यो कुरा बुझिराख्नुहोस् कि “त्रिएक” शिक्षाको अन्य औपचारिक परिभाषाहरू भए तापनि यसबारे धेरै मानिसहरूको आफ्नै निजी विचारहरू हुन्छन्। तिनीहरूलाई आफ्नो विचार प्रकट गर्ने मौका दिनुहोस्, र अनि तिनीहरूको विश्वासलाई तिनीहरूकै बाइबलमा भएका कुराहरूसित तुलना गर्ने मद्दत दिनुहोस्। समयमा गिर्जाले दिएका औपचारिक शिक्षालाई पनि परमेश्वरको वचनसित तुलना गर्न तिनीहरूलाई प्रोत्साहित गर्नुहोस्।
११. पाँचवटा मुख्य बुँदाहरू मध्येबाट एउटा-एउटा गरेर यस अनुच्छेदमा दिइएका प्रश्नहरू र शास्त्रपदहरूको प्रयोग गर्दै “त्रिएक” एउटा गैर-शास्त्रीय शिक्षा हो भनेर तर्कानुसार छलफल गर्नुहोस्।
११ निष्कपट मानिसहरूलाई मदत दिने इच्छा मनमा राख्नुहोस्। तल दिएका पदहरूमा उल्लिखित् बुँदाहरूबारे तर्क गर्दा तपाईंले ती पदहरूको प्रयोग कसरी गर्न सक्नुहुन्छ, सो विचार गर्नुहोस्:
(१) त्रिएकमा विश्वास गर्ने कुनै कुनैले तीन जना ईश्वरीय व्यक्तिहरू (पिता, पुत्र र पवित्र आत्मा) छन् तर परमेश्वर चाहिं एउटै हुनुहुन्छ भन्ने विचारमा जोड दिन्छन्।
तर “पवित्र आत्मा” एउटा व्यक्ति हो भनेर के प्रेरित २:४, १७-ले सङ्केत गर्दछ र?
निम्नलिखित शास्त्रका प्रत्येक पदहरूमा कति जना व्यक्तिहरूलाई सङ्केत गरिएको छ भनी बुझ्नु किन लाभदायक हुनेछ? (यूह. १७:२०-२२; प्रे. ७:५६; प्रकाश ७:१०)
(२) “त्रिएक”-का सबै सदस्यहरूको महिमा बराबर छ, र कुनै एकजना पनि अर्कोभन्दा महान वा कम छैनन् भनेर कसै-कसैले विश्वास गर्दछन्। तिनीहरू एक समान हुनाका साथसाथै तीनै जना अनादिदेखि छन्।
के यस कुरासित शास्त्रपदहरूको सहमति छ? (उत्तरका लागि यूहन्ना १४:२८; मत्ती २४:३६; प्रकाश ३:१४ हेर्नुहोस्।)
(३) कसै कसैले “त्रिएक” साबित गर्न यूहन्ना १:१ देखाउँछन्। यो पद युनानी भाषामा लेखिंदा त्यहाँ कुनै इन्डेफनिट आर्टिकल (“ए”) थिएन र त्यसकारण यो शास्त्रपदमा वचन “एउटा देव” हुनुहुन्थ्यो भन्नुको सट्टामा “वचन परमेश्वर हुनुहुन्थ्यो” हुनुपर्ने हो भन्छन्।
तर यूहन्ना १:१-मा कति जना व्यक्तिहरू बारे चर्चा गरिएको छ? तीन? वा दुई? साथै, “त्रिएक”-को शिक्षालाई यूहन्ना १:१८-ले कसरी खण्डन गर्दछ?
यो कुरा साँचो हो कि युनानी भाषामा इन्डेफनिट आर्टिकल पाइन्दैन। तर धेरै भाषाहरूमा भने पाइन्छ र यी भाषाहरूमा कुनै कुरालाई सही भावसाथ व्यक्त गर्नका लागि तिनको प्रयोग गरिन्छ। यूहन्ना १:१-लाई अनुवाद गर्दा इन्डेफनिट आर्टिकलको प्रयोग गर्नु गलत हो भनी कसै कसैलाई लाग्छ भने, के यही आर्टिकल किङ्ग जेम्स भर्सन र अन्य अरू अनुवादहरूले प्रेरित २८:६-मा पनि प्रयोग नगरेको उनीहरू चाहन्छन् कि? (यूहन्ना १:१-लाई एन अमेरिकन ट्रान्सलेशन-ले [An American Translation] यसप्रकार पनि अनुवाद गरेको छ: “वचन दैवी थियो” अर्थात्, उहाँसित पनि परमेश्वरका जस्तै दैवी गुणहरू थिए।)
(४) त्रिएकमा विश्वास गर्नेहरूको एउटा अर्को तर्कानुसार उत्पत्ति १:१, २६-मा “परमेश्वर” भनी अनुवाद गरिएको हिब्रू शब्द ए-लोहिम हो। र हिब्रू भाषामा यहाँ यो शब्दको बहुवचन प्रयोग गरिएको छ र हिब्रू भाषामा त्यसको अर्थ “परमेश्वरहरू” हुनजान्छ।
यसले “एउटा परमेश्वर”-मा तीन जना दैवी व्यक्तिहरू छन् भन्ने शिक्षालाई किन समर्थन गर्दैन?
उत्पत्ति १:१-मा यसबाट “त्रिएक”-को बोध हुन्छ भने, न्यायकर्ताको १६:२३-बाट के बोध हुन्छ? किनभने यहाँ पनि “देव” अथवा ए-लोहिम प्रयोग गरिएको छ तर यो सङ्ग जोडिएको क्रियाचाहिं बहुवचनमा होइन, एकवचनमा छ।
हिब्रू भाषाका यी पदहरूमा परमेश्वरका निम्ति किन बहुवचन प्रयोग गरिएको थियो? किनभने महिमा वा राजप्रभाको भावलाई जनाउने हिब्रू भाषाको यो एउटा शैली हो। एकभन्दा बढी व्यक्तिहरूबारे चर्चा गरिएको भए त्यहाँ प्रयोग गरिएको क्रिया पनि बहुवचनमै हुने थियो। तर उक्त उदाहरणहरूमा यस्तो छैन।
(५) गिर्जाहरूले येशूलाई महत्त्व दिएको कारण (साथै बाइबलका धेरै जसो अनुवादहरूबाट यहोवाको नाउँ समेत झिकी दिएको हुनाले) परमेश्वर भन्ना साथै केही व्यक्तिहरू येशूबारे मात्र सोच्तछन्।
तर येशूले उपासनाको सम्बन्धमा हाम्रा लागि कुनचाहिं अनुकरणीय उदाहरण छाडनु भएको छ? (लूका ४:८)
१२. येशूले आफ्ना पितालाई “एकमात्र सत्य परमेश्वर” भनेर सम्बोधन गर्नु किन उचित थियो?
१२ शास्त्रपदहरूमा येशूलाई “एउटा देव” [न्यु.व.], “पराक्रमी परमेश्वर” समेत भनिए तापनि उहाँले पितालाई “मेरा परमेश्वर र तिमीहरूका परमेश्वर” भनेर सङ्केत गर्नुहुँदै आफ्ना पिताको महिमा गर्नु भएको छ। (यूह. १:१; २०:१७; यशै. ९:६) उहाँले मोशाका यी शब्दहरूसित सहमति जनाउँनु भयो: “परमप्रभुनै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन।” (व्यव. ४:३५) मूर्तिहरू, देवता मानिएका मानवहरू र शैतान अर्थात् दियाबलजस्ता उपासनाका पात्रहरू भन्दा यहोवा सम्पूर्णतया बेग्लै हुनुहुन्छ। यी सबै जनालाई एकातिर पन्छ्याएर येशूले यहोवालाई नै “एकमात्र सत्य परमेश्वर” भन्नुभयो।—यूह. १७:३.
“यहोवाको नाउँमा हिंडौं”
१३, १४. यहोवाको नाउँ “जान्नु” र उहाँको नाउँमा ‘हिंड्नु’-मा कुन-कुन कुराहरू विथोलित छन्?
१३ परमेश्वर को हुनुहुन्छ भन्ने विषयमा वर्षौंदेखि अन्योलमा परेका धेरै मानिसहरू पहिलो पटक परमेश्वरको व्यक्तिगत नाउँ आफ्नो बाइबलमा देख्ता हर्षले गद्गद् हुन्छन्। (प्रस्थ. ६:३) तर तिनीहरू ‘सदा सर्वदै यहोवाको नाउँमा हिंडे’ भने मात्र तिनीहरूले यस कुराको ज्ञानबाट स्थायी लाभ उठाउन सक्नेछन्। (मीका ४:५) तथापि, यसको अर्थ यहोवाको नाउँ जान्नु अथवा आफूलाई यहोवाका एक जना साक्षी कहलाउनु मात्र होइन। यसमा अझ अन्य कुराहरू पनि विथोलित छन्।
१४ परमेश्वरको नाउँको महत्त्वबारे भजनसंग्रह ९:१०-ले भन्दछ: “तपाईंको नाउँ जान्नेहरू जत्ति चाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्, . . . हे परमप्रभु।” यसको अर्थ के हो? यसको अर्थ यहोवाको नाउँ जान्नु मात्र यथेष्ट छैन। किनभने उहाँको नाउँ थाह हुँदैमा उहाँमा भरोसा गरिन्छ भन्न मिल्दैन। यहाँ परमेश्वरको नाउँ “जान्नु”-को अर्थ यहोवा जुन प्रकारको परमेश्वर हुनुहुन्छ त्यसको मूल्याङ्कन गर्नु हो, उहाँको अधिकारलाई मान्यता दिनु हो, र उहाँका आज्ञाहरू पालन गर्नु हो। त्यसैगरी, ‘यहोवाको नाउँमा हिंड्नु’-को अर्थ उहाँप्रति समर्पित हुनु हो, उहाँका एक जना उपासकको रूपमा उहाँको प्रतिनिधित्व गर्नु हो र परमेश्वरको इच्छाअनुसार आफ्नो जीवन सञ्चालन गर्नु हो। (लूका १०:२७) के तपाईं त्यसो गर्दै हुनुहुन्छ?
१५. हामीले सदाका लागि यहोवाको सेवा गर्ने हो भने हामीमा एउटा कर्तव्यको भावना बाहेक अरू के पनि चाहिन्छ?
१५ अनन्तकालसम्म हामीहरू यहोवाको सेवा गर्न चाहन्छौं भने हामी कर्त्तव्यको भावले मात्र प्रेरित हुनुहुँदैन। धेरै वर्षदेखि यहोवाको सेवा गर्दै आएका तिमोथीलाई प्रेरित पावलले यसप्रकार आग्रह गरे: “आफैलाई [इश्वरीय] भक्ति तर्फ साधन गर।” (१ तिमो. ४:७) कुनै व्यक्तिको हामी मूल्याङ्कन गर्दछौं भने त्यस व्यक्तिका लागि हाम्रो हृदयभित्रबाट भक्ति पनि जागेर आउन सक्छ। “ईश्वरीय भक्ति”-को अर्थ व्यक्तिगत रूपमा यहोवाका लागि गहिरो श्रद्धा हो। उहाँ र उहाँका मार्गहरूको मूल्याङ्कन गरेको हुनाकारण हामी उहाँप्रति प्रेमपूर्ण आत्मीयता प्रकट गर्दछौं। हरेकले उहाँको नाउँको सम्मान गरेको हामी चाहन्छौं। सत्य परमेश्वर यहोवाको नाउँमा हामी सदाका लागि हिंड्न चाहन्छौं भने हामीले “ईश्वरीय भक्ति”-लाई नै आफ्नो जीवनको लक्ष्य अथवा मुख्य आकाङ्क्षा बनाउनु पर्दछ।—भजन. ३७:४; २ पत्रु. ३:११.
पुनरावलोकन एवं छलफल
• यहोवा कुन प्रकारको व्यक्ति हुनुहुन्छ? उहाँका प्रत्येक गुणहरू बारे सही जानकारी लिएर हामी कसरी लाभान्वित हुन्छौं?
• परमेश्वरबारे सत्य कुरा सिक्न अरू मानिसहरूलाई हामी कसरी मदत दिन सक्छौं?
• यहोवालाई “जान्न” र ‘उहाँको नाउँमा हिंड्नु’-मा कुन-कुन कुराहरू बिथोलित छन्?