अध्याय १४
स्वर्ग को जान्छन् र किन?
१. स्वर्ग को जान्छन् र किन भन्ने प्रश्नको उत्तर धेरैले कसरी दिन्छन्?
धेरै मानिसहरू भन्छन्: ‘सबै असल मानिसहरू स्वर्ग जान्छन्।’ तथापि, तिनीहरू स्वर्ग किन जान्छन् भनेर सोध्दा, तिनीहरूले भन्न सक्छन्: ‘परमेश्वरसँग हुन’ अथवा ‘असल काम गरेको यो इनाम हो।’ बाइबलले यसवारे के शिक्षा दिन्छ?
२, ३. (क) केही मानिसहरू स्वर्ग जानेछन् भनेर हामीहरू किन निश्चित हुन सक्छौं? (ख) कुन प्रश्नको उत्तर पाउँनु आवश्यक छ?
२ बाइबलले स्पष्ट पारेको छ कि येशूलाई मृतावस्थाबाट बिउँताइयो र अनि उहाँ स्वर्ग जानु भयो। साथै, अरू मानवहरू पनि त्यहाँ लगिनेछन् भनेर बाइबल भन्दछ। आफ्नो मरण भन्दा अघिल्लो रातमा येशूले आफ्ना विश्वासी चेलाहरूलाई भन्नुभयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। त्यसो नभए, म तिमीहरूलाई भन्ने थिएँ, किनकि म तिमीहरूका निम्ति ठाउँ तैयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तैयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।”—यूहन्ना १४:१-३.
३ स्पष्टतया, येशूसँग हुनकालागि उहाँका प्रेरितहरू स्वर्गमा लगिनेछन् भनेर येशूले तिनीहरूलाई भन्नुहुँदै थियो। प्रेरित पावलले त्यो अद्भुत आशावारे प्रारम्भिक मसीहीहरूलाई अक्सर भन्ने गर्द थिए। उदाहरणार्थ, उनले लेखे: “तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट मुक्तिदाता, अर्थात येशू ख्रीष्टको प्रतीक्षा गर्दछौं।” (फिलिप्पी ३:२०, २१; रोमी ६:५; २ कोरिन्थी ५:१, २) यस प्रकारको प्रतिज्ञाहरूका आधारमा, करोड़ौं मानिसहरूले स्वर्गीय जीवनको आशा आफ्नो हृदयमा राखेका छन्। तर के सबैनै असल मानिसहरू स्वर्ग जानेछन् ता?
के सबै असल मानिसहरू स्वर्ग जान्छन्?
४, ५. दाऊद र अय्यूब स्वर्ग गएनन् भन्ने के प्रमाण छ?
४ येशूको पुनरुत्थानको केही समय पछि, प्रेरित पत्रुसले यहूदीहरूको एउटा भीड़लाई भने: “हाम्रा पुर्खा दाऊदका विषयमा . . . उनी ता मरेर पनि गाड़ि सकेका छन् औ आजको दिनसम्म उनको चिहान हामीसितै छ। किनकि दाऊद स्वर्गमा चढ़िगएनन्।” (प्रेरित २:२९, ३४) त्यसकारण ती असल मानिस दाऊद स्वर्ग गएनन्। धर्मी अय्यूबको वारे के भन्न सकिन्छ?
५ कष्ट भोगिरहेको बेलामा परमेश्वरलाई अय्यूबले प्रार्थना गरे: “तपाईंले मलाई पातालमा (शिओल, न्यु.व.) लुकाउनु भएता, औ तपाईंको रीस नमरूञ्जेल मलाई गुप्तमा राख्नुभएता, तपाईंले मेरो समयको सीमा तोकिदिएर मलाई सम्झनुभएता हुनेथियो!” मरे पछि उनी चिहानमा अचेतन अवस्थामा हुनेछन् भनेर अय्यूबलाई थाह थियो। उनी स्वर्ग जाने छैनन् भन्ने कुरा पनि उनलाई थाह थियो। उनले वर्णन गरे अनुसार उनलाई आशा थियो: “कोही तन्दुरूस्त मानिस मऱ्यो भने के त्यो फेरि जीवित हुनसक्छ? मेरो सेवा जतिसुकै लामो भएतापनि [तोकिएको समयसम्म चिहानमा, न्यु.व.] म आशा मार्ने थिइनँ? मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेथिएँ। तपाईंले मलाईं आज्ञा गर्नु हुनेथियो, र म जवाफ दिनेथिएँ।”—अय्यूब १४:१३-१५.
६, ७. (क) ख्रीष्ट भन्दा पहिले मर्नेहरू स्वर्ग गएनन् भनेर के ले देखाउँछ? (ख) ख्रीष्ट भन्दा पहिले मर्ने सबै विश्वासीजनहरूको के हुनेछ?
६ येशूलाई बप्तिस्मा दिने यूहन्ना पनि असल मानिस थिए। तापनि येशूले भन्नुभयो: “स्वर्गको राज्यमा जो सबै भन्दा सानो छ, त्यो यिनी भन्दा ठूलो हो।” (मत्ती ११:११) यो यसो किन हो भने बप्तिस्मा दिने यूहन्ना स्वर्ग जाने होइनन्। आदम र हव्वाले गरेको विद्रोहको लगभग ४,००० वर्ष पछि, येशू पृथ्वीमा हुनुहुँदा, उहाँले भन्नुभयो: “औ स्वर्गबाट ओर्लि आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लिगएको छैन।”—यूहन्ना ३:१३.
७ त्यसकारण, येशूको आफ्नै वचन अनुसार, उहाँको दिन सम्मको ४,००० वर्षको मानव इतिहासमा कुनै पनि व्यक्ति स्वर्ग गएका थिएनन्। दाऊद, अय्यूब, बप्तिस्मा दिने यूहन्ना सबैले पृथ्वीमा पुनरुत्थान प्राप्त गर्नेछन्। यथार्थमा, येशूको मृत्यु हुनु भन्दा पहिले मरेका विश्वासी पुरूष र महिला सबैले स्वर्गमा होइन, फेरि देखिन् पृथ्वीमानै, बाँच्ने आशा लिएकाथिए। परमेश्वरको राज्यका पार्थिव प्रजा हुनकालागि तिनीहरू मध्यका व्यक्तिहरूको पुनरुत्थान हुनेछ।—भजन संग्रह ७२:७, ८; प्रेरित १७:३१.
किन केही विश्वासी जनहरू स्वर्ग जान्छन्
८. कुन प्रश्नहरूको उत्तर महत्वपूर्ण छ, र किन?
८ येशू स्वर्ग किन जानु भयो? उहाँले त्यहाँ के काम गर्नु पर्ने छ? यी प्रश्नहरूका उत्तरहरू महत्वपूर्ण छन्। किनभने, येशूले त्यहाँ गर्नु पर्ने काममा ती स्वर्ग जानेहरू सहभागी हुनेछन्। सोही उद्देश्य पूर्तिकालागि तिनीहरू स्वर्ग जान्छन्।
९, १०. दानियल अनुसार ख्रीष्ट बाहेक अरू कसले पनि परमेश्वरको राज्यमा शासन गर्ने छन्?
९ परमेश्वरको स्वर्गीय सरकारको राजाको हैसियतमा येशूले पार्थिव प्रमोदवनमाथि शासन गर्नु हुनेछ भन्ने कुराको जानकारी हामीहरूले यो भन्दा पहिलेका अध्यायहरूबाट सिकिसकेकाछौं। येशू पृथ्वीमा आउँनु भन्दा धेरैनै पहिले बाइबलको दानियल पुस्तकमा “मानिसका पुत्र” लाई “राज्याधिकार” दिइनेछ भनेर भविष्यवाणी गरिएको थियो। सो “मानिसको पुत्र” येशू ख्रीष्ट हुनुहुन्छ। (मर्कुस १४:४१, ६२) दानियल अझ भन्दछन्: “उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदा सर्बदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।”—दानियल ७:१३, १४.
१० तथापि, दानियलको पुस्तकमा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा के छ भने “मानिसका पुत्र” एकलैले राज्य गर्नु हुनेछैन। बाइबल भन्दछ: “अनि राज्याधिकार र सर्वाधिकार . . . सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूका राज्याधिकार सदा सर्बदैको हुनेछ।” (दानियल ७:२७) “जनहरू” र “तिनीहरूको राज्याधिकार” शव्दहरूको प्रयोगबाट परमेश्वरको राज्यमा ख्रीष्टसँग अरूहरू पनि राज्य गर्ने रहेछन् भन्ने कुराको बोध हामीहरूलाई हुन्छ।
११. ख्रीष्टका प्रारम्भिक अनुयायीहरू उहाँसँग शासन गर्ने छन् भनेर के ले देखाउँछ?
११ येशूले आफ्ना ११ जना विश्वासी प्रेरितहरूसँग आखिरी रात बिताउँदा, तिनीहरू उहाँसँगै परमेश्वरको राज्यका शासक हुनेछन् भनेर भन्नुभयो। उहाँले भन्नुभयो: “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु।” (लूका २२:२८, २९) पछि प्रेरित पावल र तिमोथी पनि राज्यको यो वाचामा सामेल गराइए। त्यसै कारण पावलले तिमोथीलाई लेखे: “हामीले सह्यौं भने उहाँसँग राज्य पनि गर्नेछौं।” (२ तिमोथी २:१२) प्रेरित यूहन्नाले पनि ख्रीष्टसँग “पृथ्वीमाथि राज्यगर्नेहरूको” विषयमा लेखेका थिए।—प्रकाश ५:९, १०; २०:६.
१२. अब्राहामका “सन्तान” वारे कुन चाहिं कुराले यो प्रकट गर्दछ कि ख्रीष्टका सहशासकहरू पनि हुनेछन्?
१२ त्यसकारण, स्वर्ग जानेहरू त्यहाँ येशूसँग परमेश्वरको स्वर्गीय राज्यको सह-शासकहरूको हैसियतमा सेवा गर्न जान्छन्। प्रतिज्ञा गरिएको मुख्य “सन्तान” येशू हनुहुन्छ, र अरूचाहिं परमेश्वरले राज्यमा येशूसँग शासन गर्न मानवजाति बाट छानिएकाहरू हुनेछन्। यसप्रकार तिनीहरू पनि “सन्तानका” भाग हुन्छन्, जस्तो कि बाइबल भन्दछ: “औ तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका वंश हौ, र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ।”—गलाती ३:१६, २९; याकूब २:५
कति जना स्वर्ग जान्छन्?
१३. (क) बच्चाहरू किन स्वर्ग जानेछैनन्? (ख) राज्य प्राप्त गर्नेहरूको सङ्ख्या वारे येशूले कसरी वर्णन गर्नु भयो?
१३ पृथ्वी माथि शासन गर्नु पर्ने हुनाले, स्वर्ग जानेहरू ख्रीष्टका खारिएका र विश्वासी अनुयायीहरू हुनेछन् भन्ने कुरा स्पष्ट छ। यसको अर्थ हो, साना बच्चाहरू वा केटा-केटीहरू जो पूर्ण रूपले मसीही सेवामा जाँचिएका छैनन्, तिनीहरू स्वर्ग लगिने छैनन्। (मत्ती १६:२४) तथापि, मरे पछि यस्ताहरूको आशा, बिउँतिएर पृथ्वीमा जीवन पाउने हुनेछ। (यूहन्ना ५:२८, २९) त्यसकारण, परमेश्वरको राज्य अन्तर्गत पृथ्वीमा जीवन पाउँने धेरै जनाको तुलनामा स्वर्ग जानेहरूको सम्पूर्ण सङ्ख्या थोरैनै हुनेछ। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।”—लूका १२:३२.
१४. स्वर्ग जाने “सानो बगाल” कति जनाले बनिएको छ?
१४ त्यस राज्य को शासक वर्गको सङ्ख्या कति सानो हुनेछ? के त्यसमा प्रेरितहरू र येशूका पहिलेका अनुयायीहरू मात्र सम्मिलित हुने हुन्? होइन, “सानो बगालमा” त्यो भन्दा बढ़ी मानिसहरू हुनेछन् भनेर बाइबलले देखाउँछ। प्रकाश १४:१, ३ मा बाइबल भन्दछ: “अनि मैले देखें, र हेर, सियोन डाँड़ामा थुमा खड़ा हुनुहुन्थ्यो, र उहाँको साथमा एक लाख चवालीस हजार थिए . . . जो पृथ्वीबाट किनिएका थिए।” ध्यान दिनु होस्, सियोनको डाँड़ामा थुमा, येशू ख्रीष्टसँग, १४४,००० जना मात्रै देखिए। (हिब्रू १२:२२) त्यसकारण, सबै असल व्यक्तिहरू जानुको सट्टा, मात्र १४४,००० जना खारिएका र विश्वासीहरू ख्रीष्टसँग शासन गर्न स्वर्ग लगिने रहेछन् भनेर बाइबलले प्रकाश पार्दछ।
पृथ्वीबाट किन छानिएका
१५. परमेश्वरले मानवजातिबाट राज्य शासकहरू किन छान्नु हुन्छ?
१५ मानवजातिबाट परमेश्वरले यी शासकहरू किन छान्नु भएको? ख्रीष्टसँग स्वर्गदूतहरूलाईनै किन राज्य गर्न नदिइएको? यसकारणले कि पृथ्वीमानै यहोवाको शासनाधिकारलाई चुनौती दिइएको थियो। दियाबल द्वारा गराइने विरोधको सामने, परमेश्वर प्रति मानिसहरूको विश्वासीलोपनाको जाँच यहीं पृथ्वीमा हुन सक्थियो। यहीं पृथ्वीमानै परमेश्वर प्रतिको आफ्नो वफादारीको जाँचमा येशू सफल हुनुभयो र मानवजातिको छुटकाराको निम्ति आफ्नो जीवन दिनुभयो। त्यसै कारण, आफ्नो छोरासँग स्वर्गीय राज्यमा सम्मिलित हुन यहोवाले पृथ्वीबाट एउटा “सानो बगाल” लाने व्यवस्था गर्नुभयो। यी तिनीहरूनै हुन् जसले परमेश्वर प्रतिको आफ्नो विश्वासीलोपना द्वारा, मानिसहरू स्वार्थको कारण परमेश्वरको सेवा गर्छन भनेर दियाबलले गरेको आरोपलाई झूटा साबित गरिदिएकाछन्। त्यसकारण, यहोवाले आफ्नो महिमाको खातिर यस्ता मानवहरूलाई प्रयोग गर्नु बिल्कुलै उचित हो।—एफिसी १:९-१२.
१६. राज्य शासकहरू पृथ्वीमा जीवन बिताएकाहरू मध्यबाट हुनेछन् भनेर हामीहरू किन कृतज्ञ हुनसक्छौं?
१६ फेरि यसो सोंच्नु होस्, राज्यको पक्षमा आफ्नो जीवन सम्म पनि बलिदान गरेर, पृथ्वीमा परमेश्वर प्रति विश्वासीलो साबित भएका यी मानिसहरूलाई शासकको रूपमा पाउँनु कत्रो अद्भुत कुरा हुनेछ। (प्रकाश १२:१०, ११; २०:४) स्वर्गदूतहरूले यसप्रकारको जाँचको मुकाविला गर्नु परेको छैन। नता मानवजातिको सामान्य समस्याहरू वारेनै तिनीहरूलाई कुनै अनुभव छ। त्यसकारण, एउटा असिद्ध पापी मानव हुनु भनेको के हो र हामी मानवहरूको के समस्याहरू हुन्छन् भन्ने कुराको पूरा समझ पनि तिनीहरूलाई हुनेछैन। तर १४४,००० मध्य कसै-कसैले ता आफ्नो जीवनमा धेरैनै कु-कर्महरूसँग सङ्घर्ष गर्नु परेको थियो, र यसो गर्न कत्ति कठिन हुनसक्छ भन्ने कुरा तिनीहरूलाईनै थाह हुन्छ। (१ कोरिन्थी ६:९-११) त्यसकारण, आफ्ना पार्थिव प्रजाहरूसँग तिनीहरूले समझदारी पूर्वक व्यवहार गर्नेछन्।—हिब्रू २:१७, १८.
परमेश्वरको मण्डली
१७. “मण्डली” शब्दले कसलाई बोध गराउँछ?
१७ परमेश्वरको मण्डलीको शिर ख्रीष्ट हुनुहुन्छ भनेर बाइबल भन्दछ, र यसका सदस्यहरू येशूको अधीनमा छन्। (एफिसी ५:२३, २४) त्यसकारण, “गिर्जा” वा “परमेश्वरको मण्डली” भनेको कुनै भवन होइन। तर, यसको अर्थ हो मसीहीहरूको समूह। (१ कोरिन्थी १५:९) आज हामीहरू जहाँ सम्मिलित हुन्छौं त्यसलाई मसीहीहरूको मण्डली भन्छौं। यसैप्रकारले हामीहरू “लाओडिसियाका मण्डली” वारे र प्रेरित पावलले फिलेमोनलाई लेखेको पत्रमा “तिम्रो घरको मण्डली” भनेको बाइबलमा हामी पढ़दछौं।—कलस्सी ४:१६; फिलेमोन २.
१८. (क) “जीवित परमेश्वरको मण्डलीमा” को को सम्मिलित छन्? (ख) यस मण्डलीलाई बाइबलमा अरू कुन-कुन संज्ञाहरू दिइएको छ?
१८ तथापि, “जीवित परमेश्वरको मण्डली” भनेर बाइबलले भन्दा, त्यसले ख्रीष्टको अनुयायीहरूको एउटा विशेष जमातलाई सङ्केत गर्दछ। (१ तिमोथी ३:१५) तिनीहरूलाई “स्वर्गमा नाउँ दर्ता भएका पहिला गनिएकाहरूको मण्डली” पनि भनिन्छ। (हिब्रू १२:२३) अत: “परमेश्वरको यो मण्डली” स्वर्गीय जीवनको आशा राख्ने पृथ्वीका सबै मसीहीहरू द्वारा गठन भएको छ। “परमेश्वरको मण्डलीमा” जम्मा १४४,००० जना मात्र सामेल हुनेछन्। ती मध्य थोरै मात्र आज पृथ्वीमा बाँकी छन्। यस पृथ्वीमा सदा जीवित रहने आशा राख्ने मसीहीहरू आत्मिक निर्देशनकालागि त्यही “परमेश्वरको मण्डलीका” सदस्यहरूमाथि भर पर्दछन्। बाइबलमा यो “परमेश्वरको मण्डलीलाई” कहिले “दुलही, अर्थात थुमाकी पत्नी,” “ख्रीष्टको शरीर,” “परमेश्वरको मन्दिर,” “परमेश्वरका इस्राएल,” र “नया यरूशलेम” भनेर सम्बोधन गरिएकोछ।—प्रकाश २१:९; एफिसी ४:१२; १ कोरिन्थी ३:१७; गलाती ६:१६; प्रकाश २१:२.
परमेश्वरको उद्देश्यमा नया कुरा
१९. आफ्नो प्रारम्भिक उद्देश्य पूर्तिकालागि परमेश्वरले के नया कुराको प्रयोग गर्नु भयो?
१९ आदमले पाप र मृत्युको बाटोमा मानवजातिलाई हिड़ाएता पनि यहोवाले पृथ्वी र मनुष्यहरूकालागि आफ्नो उद्देश्य फेर्नु भएको छैन। परमेश्वरले त्यसो गर्नु भएको भए, उहाँले आफ्नो प्रारम्भिक उद्देश्यलाई कार्यान्वित गर्न नसक्नु भएको हुनेथियो। सुखी, र स्वस्थ मानिसहरूले भरिएको एउटा विश्वव्यापी पार्थिव प्रमोदवन बनाउने शुरू देखिनै उहाँको उद्देश्य थियो र सो उद्देश्य अझै पनि छ। उहाँको त्यो उद्देश्य पूर्तिका लागि एउटा नया सरकारको व्यवस्था गरेर परमेश्वरले नया कुरा ल्याउनु भएको छ। येशू ख्रीष्ट यस सरकारको मुख्य शासक हुनुहुन्छ र स्वर्गमा उहाँसँग शासन गर्न १४४,००० जना मानवजातिबाट लिइने छन् भनेर हामीहरूले बुझि सकेका छौं।—प्रकाश ७:४.
२०. (क) “नया स्वर्ग” र “नया पृथ्वीमा” को को सम्मिलित छन्? (ख) “नया पृथ्वीको” एउटा भाग बन्न तपाईंले के गर्नु पर्दछ?
२० स्वर्गमा हुने यी शासकहरू द्वारा परमेश्वरको नया व्यवस्थाको “नया स्वर्ग” गठन गरिनेछ। पृथ्वीमाथि यस्ता धर्मी शासकहरू हुने भए पछि, यी शासकहरूले जसमाथि शासन गर्ने छन्, तिनीहरू पनि ता हुनु पर्दछ। यस्ता मानिसहरूलाई बाइबलले “नया पृथ्वी” भनेर जनाएको छ। (२ पत्रुस ३:१३; प्रकाश २१:१-४) त्यसमा अय्यूब, दाऊद, बप्तिस्मा दिने यूहन्ना समेत सबैनै विश्वासी जनहरू, जो येशू पृथ्वीमा आउनु भन्दा पहिले बसेका थिए, सम्मिलित हुनेछन्। तर तिनीहरूका अतिरिक्त अन्य अरू धेरै मानिसहरूबाट “नया पृथ्वी” बनिनेछ, जसमा यो दुष्ट रीति-रिवाजको अन्त बाट वाँच्नेहरू पनि सम्मिलित हुनेछन्। वाँच्नेहरू मध्य के तपाईं पनि हुनुहुनेछ? के तपाईं परमेश्वरको राज्यको प्रजा हुन चाहनु हुन्छ? चाहनु हुन्छ भने, त्यसका केही आवश्यकताहरू छन् जसलाई तपाईंले पूरा गर्नु पर्ने छ।
[पृष्ठ १२१-मा भएको चित्र]
के यी असल मानिसहरू स्वर्ग गए?
राजा दाऊद
अय्यूब
बप्तिस्मा दिने यूहन्ना
[पृष्ठ १२२-मा भएको चित्र]
प्रेरितहरू सँगको अन्तिम रातमा, येशूले भन्नुभयो उहाँको पिताको राज्यमा तिनीहरू पनि उहाँसँगै शासक हुनेछन्