अध्याय १९
आर-मागेडोन पश्चात्, एउटा पार्थिव प्रमोदवन
१. (क) आर-मागेडोन वारे सामान्य दृष्टिकोण के छ? (ख) यस वारे बाइबल के भन्दछ?
“आर-मागेडोन” धेरैकालागि डरलाग्दो शब्द हो। अक्सर सम्भावित तेश्रो विश्व-युद्ध सम्बन्धमा सांसारिक नेताहरू यस शब्दको प्रयोग गर्दछन्। तथापि, बाइबलमा आर-मागेडोनले सर्वशक्तिमान परमेश्वरको धार्मिक लड़ाइँ गर्ने ठाउँलाई जनाउँदछ। (प्रकाश १६:१४, १६, किंग जेम्स भर्सन) परमेश्वरको यो लड़ाइँले एउटा नया धार्मिक व्यवस्थाकालागि बाटो खोल्ने छ।
२. (क) आर-मागेडोनमा कस कसको विनाश हुनेछ? (ख) अत: के कुराहरूको अभ्यास गर्नबाट बुद्धिमत्तापूर्वक अलग्ग बस्नु पर्दछ?
२ मनुष्यहरूको लड़ाइँ जस्तो नभएर, जसमा असल र खराब दुवै नष्ट हुन्छन्, आर-मागेडोनमा खराबहरू मात्र नाश हुनेछन्। (भजनसंग्रह ९२:७) यहोवा परमेश्वर न्यायाधीश हुनुहुनेछ, र उहाँको न्याययुक्त नियमहरूको जानाजानी अवहेलना गर्नेहरूलाई उहाँले हटाउनु हुनेछ। आज धेरै मानिसहरू व्यभिचार, मतवालापन, झूट बोल्नु, वा ठग्नु जस्ता कामहरूलाई कुनै गलत ठान्दैनन्। तर परमेश्वरको नजरमा, यी कुराहरू गलत हुन्। अत: आर-मागेडोनमा यी कुराहरू गरिरहनेहरूलाई उहाँले बचाउँनु हुनेछैन। (१ कोरिन्थी ६:९, १०; प्रकाश २१:८) यी कुराहरू वारे परमेश्वरका नियमहरू जाने पछि, यस्ता खराब काम गरिरहनेहरूले आफूमा परिवर्तन ल्याउँनु अत्यन्त जरूरी छ।
३. (क) वर्तमान संसारको अन्तलाई येशूले के सँग तुलना गर्नुभयो? (ख) शैतान र त्यसका पिशाचहरूलाई के हुनेछ? (ग) आउँदा पानाहरूमा दिएका शास्त्र पदहरू अनुसार पार्थिव प्रमोदवनमा कुन प्रकारको स्थितिको आनन्द उठाउन सकिन्छ?
३ आर-मागेडोन पश्चात् यस दुष्ट रीति-रिवाजको कुनै पनि भाग बाँकी रहने छैन। परमेश्वरको सेवा गर्नेहरू मात्र बाँच्ने छन्। (१ यूहन्ना २:१७) येशू ख्रीष्टले त्यस परिस्थितिलाई नूहको समयसँग तुलना गर्नु भएको छ। (मत्ती २४:३७-३९; २ पत्रुस ३:५-७, १३; २:५) आर-मागेडोन पश्चात्, पृथ्वीमा परमेश्वरको राज्यले मात्र शासन गर्ने छ। शैतान र त्यसका दूतहरू कोही रहने छैनन्। (प्रकाश २०:१-३) आज्ञाकारी मानिसहरूले उपभोग गर्न पाउँने बाइबलमा उल्लेखित केही आशिषहरू अगाड़िका पानाहरूमा देखाइएका छन्। अब त्यसमा ध्यान दिनुहोस्।
सबै मानवजातिमा शान्ति
“हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हाथमा हुनेछ। उहाँको नाँउ . . . शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको बृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७.
“उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ। एक समुद्र देखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ र युफ्रेटिस नदी देखि पृथ्वीको पल्लो छेउसम्म रहनेछ।”—भजनसंग्रह ७२:७, ८.
फेरि युद्ध हुनेछैन
“आओ परमप्रभु (यहोवा, न्यु.व.) का काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड़ पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।”—भजनसंग्रह ४६:८, ९.
सबैकालागि राम्रो घर र आनन्ददायक काम
“तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन् . . . तिनीहरूले बनाएर अरूहरू बस्ने, तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन . . . छानिएकोहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्, किनकि तिनीहरू आफ्ना बाल-बच्चाहरू समेत परमप्रभुको (यहोवा, न्यु.व.) आशिष पाएका वंश हुन्।”—यशैया ६५:२१-२३.
अपराध, हिंसा, दुष्टताको समाप्त
“किनकि कुकर्मीहरू नष्ट हुनेछन् . . . किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।”—भजनसंग्रह ३७:९, १०.
“दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।”—हितोपदेश २:२२.
सारा पृथ्वी प्रमोदबन
येशूले भन्नुभयो: “तिमी मसित (न्यु.व.) . . . प्रमोदबनमा हुनेछौ।”—लूका २३:४३.
“धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजनसंग्रह ३७:२९.
सबैले खान पाउने असलकुराहरू प्रशस्त मात्रामा हुनेछन्
“सेनाहरूका परमप्रभुले (यहोवाले, न्यु.व.) यसै पर्वतमा सारा मानिसहरूका निम्ति . . . असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।”—यशैया २५:६.
“पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ।” “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ। परमेश्वर, हाम्रा आफ्नै परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।”—भजनसंग्रह ७२:१६; ६७:६.
४, ५. (क) पार्थिव प्रमोदवनमा कुन प्रकारका स्थितिहरूको अस्तित्व रहनेछैन? (ख) मानिसहरूले धेरै ठाउँहरूमा आज गर्न नसक्ने कुन कुराहरू त्यस बेला गर्नसक्ने छन्?
४ तपाईं निश्चय पनि त्यो बगैंचा जस्तै प्रमोदवनमा बस्न चाहनु हुन्छ जसमा प्रथम मानव आदम सृष्टि गरिएको थियो। (उत्पत्ति २:८; लूका २३:४३) एसो सोंच्नु होस्—न लड़ाइँ, न अपराध, वा न हिंसा। तपाईं दिन वा रात कुनै बेला पनि कुनै कुराको डर बिना जहाँकहीं जान सक्नु हुनेछ। त्यसबेला दुष्टहरू रहने छैनन्।—भजनसंग्रह ३७:३५-३८
५ यसको अर्थ हो त्यसबेला बेइमान राजनीतिज्ञहरू हुने छैनन् र मानिसलाई शोषण गर्ने लोभी व्यापारीवर्ग हुने छैनन्। सैनिक हात-हतियार खरिद गर्न जनता माथि कर्जाको बोझ लादिने छैन। आफ्नो आर्थिक असमर्थताको कारण कसैले पनि फेरि राम्रो भोजन र आरामदायक घर बिना बस्नु पर्ने छैन। बेरोजगारी, मुद्रा-स्फीति र अधिक मूल्य तिर्नु पर्ने अवस्था हुने छैन। परिवारमा आइपर्ने दु:खका कारणहरू त्यसबेला हुनेछैनन्। सबैले आनन्ददायक काम पाउँने छन्, र आफ्नो मेहनतका फलहरू देख्न र तीबाट आनन्द उपभोग गर्न पाउँनेछन्।
६. (क) आर-मागेडोनमा बाँच्नेहरूले के काम गर्नेछन्? (ख) त्यस बेला गरिने काममा परमेश्वरले कसरी आशिष दिनुहुनेछ?
६ आर-मागेडोनमा बाँच्नेहरूले पहिले पृथ्वीलाई सफा गर्नु पर्ने छ र पुरानो व्यवस्थाका भग्नावशेषहरूलाई हटाउनु पर्ने छ। र त्यस पछि, राज्य शासनको निर्देशनमा, पृथ्वीलाई जोतखन गरेर बस्नकालागि एउटा सुन्दर ठाउँ बनाउँनु पर्ने छ। कत्ति आनन्दायक काम त्यो हुनेछ! ती सब काममा परमेश्वरले आशिष दिनु हुनेछ। उहाँले अन्नबाली उपजाउन र गाईवस्तु पालनु उचित प्रकारको हावापानी दिनुहुनेछ, र तिनीहरूलाई बिमारी र नोकसानीबाट बचाउँनु हुनेछ।
७. (क) परमेश्वरको कुन्चाहिं प्रतिज्ञा पूरा हुनेछ? (ख) परमेश्वरको प्रतिज्ञा अनुसार मसीहीहरू कुन कुराको प्रतीक्षा गर्दछन्?
७ बाइबलका भजनसंग्रहका लेखक द्वारा, मायालु सृष्टिकर्ताले गर्नु भएको प्रतिज्ञा पूरा हुनेछ: “तपाईंले आफ्नो मुठी खोल्नु हुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजनसंग्रह १४५:१६) हो, परमेश्वरको भय राख्नेहरू का सबै उचित इच्छाहरू पूर्णतया पूरा हुनेछन्। पार्थिव प्रमोदवनमा जीवन कत्तिको रोमाञ्चकारी हुनेछ, त्यसको आज कल्पना गर्नै सकिन्दैन। आफ्ना जनहरूलाई आशिष दिने परमेश्वरको व्यवस्थावारे यसरी लेखिएको छ: “उहाँको प्रतिज्ञा बमोजिम हामी नया स्वर्ग र नया पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३; यशैया ६५:१७; ६६:२२.
८. (क) नया प्राकृतिक स्वर्गको किन हामीहरूलाई आवश्यकता छैन? (ख) “नया स्वर्गहरू” भनेको के हो?
८ ती “नया स्वर्ग” के हुन्? ती नया प्राकृतिक स्वर्ग होइनन्। परमेश्वरले हाम्रो प्राकृतिक स्वर्ग सिद्ध बनाउँनु भएको छ, र तिनले उहाँको महिमाको वर्णन गर्छन्। (भजनसंग्रह ८:३; १९:१, २) “नया स्वर्गले” पृथ्वीमाथि एउटा नया शासनलाई जनाउँदछ। अहिलेको “स्वर्ग” मानव-सरकारहरूले बनिएका हुन्। आर-मागेडोनमा यिनीहरू बितेर जानेछन्। (२ पत्रुस ३:७) तिनीहरूको ठाउँ लिने “नया स्वर्ग” परमेश्वरको स्वर्गीय सरकार हुनेछ। यस सरकारको राजा येशू ख्रीष्ट हुनुहुनेछ। उहाँका विश्वासी अनुयायीहरू मध्यका १४४,००० जनहरू यो “नया स्वर्गको” भाग भएर उहाँसँग शासन गर्ने छन्।—प्रकाश ५:९, १०; १४:१, ३.
९. (क) “नया पृथ्वी” भनेको के हो? (ख) नष्ट हुने पृथ्वी कुन हो?
९ अब यो “नया पृथ्वी” के हो? यो कुनै एउटा नया ग्रह होइन। परमेश्वरले यो पृथ्वी ग्रह मानिसहरू बस्नकालागि ठीक उपयुक्त बनाउँनु भएको छ र यो सदा रहिरहोस् भन्ने उहाँको इच्छा छ। (भजनसंग्रह १०४:५) “नया पृथ्वीले” एउटा नया समूह वा समाजका मानिसहरूलाई जनाउँदछ। बाइबलमा “पृथ्वी” भन्ने शब्दको प्रयोग अक्सर यस अर्थमा गरिएको छ। उदाहरणकालागि, त्यहाँ यसो भनिएको छ: “त्यसबेला जम्मै पृथ्वीमा [अर्थात, मानिसहरूमा] एउटै भाषा थियो।” (उत्पत्ति ११:१) नाश हुने पृथ्वीको अर्थ, आफूलाई यस दुष्ट रीति-रिवाजको भाग बनाउने मानिसहरू हुन्। (२ पत्रुस ३:७) त्यसको ठाउँ लिने “नया पृथ्वी,” परमेश्वरका सच्चा सेवकहरू हुन्, जसले आफूलाई दुष्ट जनहरूको यस संसारबाट अलग पारेका छन्।—यूहन्ना १७:१४; १ यूहन्ना २:१७.
१०. कसलाई एकत्रित गरिंदै छ र के मा? (ख) आउँदा पानाहरूमा दिएका शास्त्र पद अनुसार, मानव सरकारहरूले गर्न नसकेका कुन कुराहरू पार्थिव प्रमोदवनमा गरिनेछन्?
१० अहिले, त्यो “नया पृथ्वीको” भाग हुने मानिसहरू, सारा जातिहरू र राष्ट्रहरूबाट मसीही मण्डलीमा जम्मा गरिंदैछन्। अहिले तिनीहरूका बीच देख्न सकिने एकता र शान्ति, आर-मागेडोन पश्चात् पार्थिव प्रमोदवनमा उठाइने आनन्दमय जीवनको एउटा अग्रिम दृश्य मात्र हो। निश्चयनै, मानव सरकारले कहिले आशै गर्न नसकेका कुराहरू परमेश्वरको राज्यमा पूरा हुनेछ। अगाड़िका पानाहरूमा वर्णन गरिएका त्यस्ता केही आशिषहरूमाथि ध्यान दिनुहोस्।
सारा मानवजातिमा एउटा स्नेहपूर्ण भ्रातृत्व
“परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
“हेर, कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको एक ठूलो भीड़ . . . तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्।”—प्रकाश ७:९, १६.
मानिसहरू र पशुहरू बीच शान्ति
“ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउने छ।”—यशैया ११:६; यशैया ६५:२५.
रोग, वृद्धावस्था, अथवा मृत्यु हुनेछैन
“तब अन्धाहरूको आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गड़ा मृगझैं उफ्रनेछ, र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३५:५, ६.
“परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
मरेकाहरूले फेरि जीवन पाउने छन्
“बेला आउँछ, जब चिहानमाहुनेहरू सबैले उसको सोर सुन्नेछन् औ निस्किआउनेछन्।”—यहुन्ना ५:२८, २९.
“समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।”—प्रकाश २०:१३.
११. मानिसहरूले अहिले बनाएका प्रमोदवनलाई अक्सर के ले बरबाद गरी दिन्छ?
११ यो पुरानो रीति-रिवाजले ल्याउन सक्ने कुनै पनि कुरा भन्दा परमेश्वरको राज्यको अधीनमा हुने प्रमोदवन कति उत्तम हुनेछ! यो साँचो हो, कसै-कसैले आफू बस्ने ठाउँलाई प्रमोदबन जस्तो देखिने बनाएका छन्। तर त्यहाँ बस्ने मानिसहरू क्षुद्र र स्वार्थी हुन सक्छन् र एक अर्कालाई घृणा पनि गर्न सक्छन्। र समयमा, तिनीहरू बिरामी पर्छन्, बूढ़ा हुन्छन्, र मर्छन्। तर, आर-मागेडोन पश्चात्, पार्थिव प्रमोदवनमा सुन्दर घर, बगैंचा र उद्यान मात्र हुने छैनन्।
१२, १३. (क) आर-मागेडोन पश्चात् कुन शान्तिपूर्ण परिस्थितिहरू हुनेछन्? (ख) यी परिस्थितिहरू ल्याउन के कुराको आवश्यकता हुनेछ?
१२ यसो सोंच्नु होस्। सबै जातिहरू र राष्ट्रहरूका मानिसहरू भाइ-बहिनी भएर एकै परिवार सरह मिलेर बस्नेछन्। तिनीहरूले एक अर्कालाई साँचो प्रेम गर्नेछन्। कोही पनि स्वार्थी वा निर्दयी हुनेछैनन्। जाति, रङ्ग, वा को कुन ठाउँबाट आएको भन्ने कुराको आधारमा एकले अर्कालाई घृणा गर्ने छैनन्। दुराग्रहको अन्त हुनेछ। पृथ्वीमा रहने प्रत्यक जना एक अर्काको सत्य मित्र र छिमेकी हुनेछन्। निश्चयनै, आत्मिक रूपमा यो एउटा प्रमोदवन हुनेछ। के तपाईं “नया स्वर्गको” अधीनमा यस प्रमोदवनमा बस्न चाहनु हुनेछ?
१३ आज मानिसहरू एकसाथ शान्तिसँग बस्ने विषयमा कुरा धेरैनै गर्दछन्, र त्यसकालागि एउटा “संयुक्त राष्ट्र सङ्घको” गठन पनि गरेका छन्। तथापि, पहिले कहिले पनि मानिसहरू र राष्ट्रहरू आज जत्ति विभाजित थिएनन्। के कुराको आवश्यकता छ? मानिसहरूको हृदय परिवर्तित हुन आवश्यक छ। तर यस प्रकारको चमत्कार गर्न यस संसारका मानव सरकारहरूकालागि असम्भव छ। तथापि, बाइबलमा उल्लेखित परमेश्वरको प्रेमको सन्देशले यसो गरिरहेकोछ।
१४. प्रमोदवनमा हुने यी स्थितिहरू अवश्य पूरा हुनेछन् भनेर अहिलेका कुन घटनाहरूले प्रमाणित गर्दछ?
१४ न्याययुक्त नया रीति-रिवाजवारे ज्ञान पाएर धेरै मानिसहरूको मनमा परमेश्वरलाई प्रेम गर्ने प्रेरणा जागेको छ। अनि परमेश्वरले व्यवहार गरे जस्तै, तिनीहरू पनि अरूहरू प्रति प्रेमपूर्ण ढङ्गमा व्यवहार गर्न थाल्दछन्। (१ यूहन्ना ४:९-११, २०) यसको अर्थ तिनीहरूको जीवनमा ठूलो परिवर्तन हुनु हो। धेरै जो पहिले क्षुद्र र घृणास्पद थिए, अब नम्र र शान्त प्रवृत्तिका भएका छन्। आज्ञाकारी भेड़ाझैं, तिनीहरू मसीही झुण्डमा एकत्रित भएकाछन्।
१५. (क) कुन दुई समूहका मसीहीहरू छन्? (ख) “नया पृथ्वीमा” सर्वप्रथम कुन व्यक्तिहरू सम्मिलित हुनेछन्?
१५ १,९०० वर्षहरू भन्दा केही बढ़ी समय देखिन्, ख्रीष्टसँग शासन गर्ने १४४,००० मसीहीहरूको “सानो बगाल” एकत्रित पारिन्दै थियो। तिनीहरू मध्यका केही मात्र अहिले पृथ्वीमा बाँकी छन्; धेरै जसोले ख्रीष्टसँग स्वर्गमा शासन गरिरहेकाछन्। (लूका १२:३२; प्रकाश २०:६) अरू मसीहीवारे येशूले भन्नुभयो: “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, तिनीहरूले मेरो सोर सुन्नेछन्, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्।” (यूहन्ना १०:१६) यी “अरू भेड़ाको” एउटा “ठूलो भीड़” अहिले एकत्रित गरिंदै छन्। तिनीहरूनै “नया पृथ्वी” का प्रथम व्यक्तिहरू हुनेछन्। यो दुष्ट रीति-रिवाजको अन्त हुने बेलामा तिनीहरूलाई “महा सङ्कष्ट” बाट यहोवाले सुरक्षित राखेर पार्थिव प्रमोदवनमा बस्न दिनु हुनेछ।—प्रकाश ७:९, १०, १३-१५.
१६. कुन आश्चर्यजनक काम द्वारा पशुहरूसँग बस्नु सुखमय हुनेछ?
१६ आर-मागेडोन पश्चात् प्रमोदवनमा अर्को चमत्कार थपिने छ। सिंह, बाघ, चितुवा, भालु जस्ता खतरनाक जनावरहरूका बीच एक अर्कासँग शान्ति हुनेछ। जङ्गलमा घुमफिर गर्दा, कुनै बेला सिंह र केही समय पछि भालु तपाईंको साथमा हुँदा कस्तो राम्रो हुनेछ! फेरि कहिले कसैले कुनै अरू जीवसँग डराउनु पर्ने छैन।
१७, १८. (क) दुखित् हुने कुन कारणहरू पार्थिव प्रमोदवनमा रहनेछैनन्? (ख) पूर्ण स्वास्थ्यको आनन्द सबैले उठाउँन पाउनेछन् भनेर हामीहरू किन निश्चित हुन सक्छौं?
१७ कतिकै राम्रो घर र बगैंचा, कतिकै दयालु र मायालु मानिसहरू, कतिकै मित्रैलो जनावरहरू भएता पनि, बिरामी पर्ने, बूढ़ा हुने, र मर्नेनै हो भने, फेरि पनि दु:ख ता रहनेनै भयो। तर पूर्ण स्वास्थ्य कसले ल्याउन सक्छ? क्यान्सर, हृदय रोगहरू तथा अन्य बिमारीहरू खत्तम पार्न मानव सरकारहरू असफल भएका छन्। यसो गर्न सफल भएता पनि, बृद्धावस्थालाई रोक्न सकिंदैन भनेर डाक्टरहरूले स्वीकार गरी सकेकाछन्। अझै पनि हामी बूढ़ो हुनेनै छौं। समय आए पछि हाम्रा आँखाहरूको ज्योति कम हुँदै जानेछ, हाम्रा मांसपेशीहरू कमजोर हुँदै जानेछन्, हाम्रा छालाहरू चाउरी पर्ने छन्, र शरीर भित्रका अङ्गहरू काम गर्न छाड़ने छन्। अन्तमा मृत्यु हुनेछ। कस्तो दु:खद कुरो!
१८ आर-मागेडोन पश्चात्, पार्थिव प्रमोदवनमा, यी सबै कुराहरू परमेश्वरको चमत्कार द्वारा बदलिइने छ, किनभने बाइबलको प्रतिज्ञा यस्तो छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’” (यशैया ३३:२४) आदमको पापले गर्दा हामीहरूले वंशानुगत पाएको सबै प्रकारका रोग र अस्वस्थताहरूलाई निको पार्ने शक्ति उहाँमा छ भन्ने कुरालाई येशू ख्रीष्टले पृथ्वीमा हुँदा प्रमाणित गर्नु भयो। (मर्कूस २:१-१२; मत्ती १५:३०, ३१) परमेश्वरको राज्यको अधीनमा बूढ़ो हुने क्रम पनि रोकिने छ। बूढ़ाहरू फेरि जवान हुनेछन्। हो, ‘मानिस आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।’ (अय्यूब ३३:२५) प्रत्येक बिहान उठ्दा, बितेको दिन भन्दा राम्रो स्वास्थ्य अनुभव गर्न पाउनु, कस्तो रोमाञ्चपूर्ण अनुभव हुनेछ!
१९. कुन् आखिरी शत्रुलाई नष्ट गरिने छ र कसरी?
१९ पूर्ण रूपमा स्वस्थ र जवान भएर पार्थिव प्रमोदवनमा बस्न पाउने व्यक्तिहरू, कोही पनि निश्चयनै कहिले मर्न चाँहने छैनन्। र कोही मर्नु पर्ने पनि छैन। तिनीहरूले छुटकाराको बलिदानबाट लाभ उठाउनुको अर्थ, अन्तत्वगत्वा परमेश्वरको महान वरदान, अर्थात “येशू ख्रीष्टमा अनन्त जीवन” पाउनु हो। (रोमी ६:२३) बाइबलले भने अनुसार, ख्रीष्टले “सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।”—१ कोरिन्थी १५:२५, २६; यशैया २५:८.
२०. अहिले बाँचेकाहरू बाहेक अरू कसले पनि पार्थिव प्रमोदवनको आनन्द उठाउँन पाउने छन्, र त्यो कसरी सम्भव हुनसक्ने छ?
२० मृत् व्यक्तिहरूले पनि पार्थिव प्रमोदवनको आनन्द उठाउँन पाउँनेछन्। तिनीहरू फेरि जीवित हुनेछन्! अत: त्यसबेला, मर्नेहरूको सूचना दिनुको सट्टा, पुनर्जीवित भएकाहरू वारे सुखद् समाचारहरू दिइनेछन्। मरेका पिताहरू, आमाहरू, छोरा-छोरीहरू र अन्य प्रियजनहरू चिहानबाट फर्केर आउँदा तिनीहरूलाई स्वागत गर्न पाउनु कस्तो अद्भुत् कुरा हुनेछ! यस पार्थिव प्रमोदवनको सुन्दरतालाई नष्ट गर्नकालागि अन्त्येष्टि बैठकखाना, चिहान, वा चिहानशिलाहरू रहने छैनन्।
२१. (क) “नया स्वर्गहरूको” नियमहरू र निर्देशनहरू पालन होस् भनेर देखरेख गर्न कसले मदद दिनेछ? (ख) “नया स्वर्गहरू” र “नया पृथ्वी” वास्तवमा चाहन्छौं भनेर हामीहरूले कसरी प्रदर्शन गर्न सक्छौं?
२१ पार्थिव प्रमोदवनमा हुने गतिविधिलाई कसले संचालन गर्ने छ? सबै नियम र निर्देशनहरू माथि “नया स्वर्ग” बाट आउने छ। तर पृथ्वीमा ती नियम र निर्देशनहरू कार्यान्वयन होस् भनेर देख-रेख गर्न विश्वासी जनहरू नियुक्त हुनेछन्। ती मानिसहरूले विशेष रूपले स्वर्गीय राज्यको प्रतिनिधित्व गर्ने हुनाले तिनीहरूलाई बाइबलले “राजकुमार” भनेको छ। (यशैया ३२:१, २; भजनसंग्रह ४५:१६) आज पनि मसीही मण्डलीमा त्यहाँको क्रियाकलापलाई निर्देशन दिने र हेरचाह गर्ने व्यक्तिहरू परमेश्वरको पवित्र आत्मा द्वारा नियुक्त हुन्छन्। (प्रेरित २०:२८) आर-मागेडोन पश्चात् पनि, परमेश्वरको राज्यलाई प्रतिनिधित्व गर्न ठीक व्यक्तिहरूको नियुक्त होस् भनेर ख्रीष्टले ध्यान दिनु हुनेछ भन्ने कुरामा हामीहरू विश्वस्त हुन सक्छौं, किनभने त्यसबेला पृथ्वी सम्बन्धी कुराहरूमा उहाँको प्रत्यक्ष हात हुनेछ। परमेश्वरको “नया स्वर्ग” र “नया पृथ्वीलाई” तपाईं उत्साहपूर्वक पर्खी रहनु भएको छ भनेर कसरी प्रदर्शित गर्न सक्नु हुनेछ? त्यस न्याययुक्त नया रीति-रिवाजमा बस्नकालागि चाहिंने सबै आवश्यकताहरूको पूर्ति गर्ने तपाईंले हर प्रयास गरेर।—२ पत्रुस ३:१४.