प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pe chap. २० pp. १६६-१७४
  • पुनरुत्थान–कसकालागि र कहाँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुनरुत्थान–कसकालागि र कहाँ?
  • पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कसको पुनरुत्थान हुनेछ?
  • कहिले र कहाँ पुनरुत्थान हुने
  • परमेश्‍वरको चमत्कार
  • फेरि जीवित हुनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
pe chap. २० pp. १६६-१७४

अध्याय २०

पुनरुत्थान–कसकालागि र कहाँ?

१, २. परमेश्‍वरका प्राचीन सेवकहरू पुनरुत्थानमा विश्‍वास गर्दथिए भनेर हामी कसरी बुझ्दछौं?

परमेश्‍वरका सेवकहरूले सँधैनै पुनरुत्थानमा विश्‍वास गरेका छन्‌। येशू मानव रूपमा जन्मनु भन्दा २,००० वर्ष भन्दा अघिका अब्राहाम वारे बाइबल भन्दछ: “मरेकोबाट पनि परमेश्‍वरले [उनको छोरा इसहाकलाई] बिउँताउन सक्नु हुन्छ भन्‍ने विचार गरे।” (हिब्रू ११:१७-१९) पछि परमेश्‍वरका सेवक अय्यूबले सोधे: “कोही मानिस मऱ्‍यो भने के त्यो फेरि जीवित हुनसक्छ?” आफ्नो प्रश्‍नको आफै उत्तर दिंदै अय्यूबले परमेश्‍वरलाई भने: “तपाईंले मलाई आज्ञा गर्नु हुने थियो, र म जवाफ दिने थिएँ।” यसबाट अय्यूब पुनरुत्थानमा विश्‍वास गर्द थिए भनेर देखिन्छ।—अय्यूब १४:१४, १५.

२ येशू ख्रीष्ट पृथ्वीमा हुँदा उहाँले व्याख्या गर्नु भयो: “तर जब तिनले परमप्रभुलाई [यहोवालाई, न्यु.व.] ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर’ भनेर पुकारे, तब मुर्दाहरू बिउँतन्छन्‌ भन्‍ने मोशाले समेत पोथ्राको वर्णनमा देखाएका छन्‌। उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका, किनकि सबै जना उहाँकै निम्ति जीवित छन्‌।” (लूका २०:३७, ३८) युनानी मसीही शास्त्रमा “पुनरुत्थान” शब्द ४० पटक भन्दा बढ़ी प्रयोग गरिएको छ। वास्तवमा, मरेकाहरूको पुनरुत्थान, बाइबलको एउटा मुख्य शिक्षा हो।—हिब्रू ६:१, २.

३. मार्थाले पुनरुत्थानमा के विश्‍वास व्यक्‍त गरिन्‌?

३ आफ्नो भाइ लाजरस मरे पछि, येशूकी मित्र मार्थाले पुनरुत्थानमा विश्‍वास प्रदर्शन गरेकी थिइन्‌। येशू आइरहनु भएको सुनेर मार्था उहाँलाई भेट्‌न गइन्‌। उनले भनिन्‌: “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो ता मेरो भाइ मर्ने थिएन।” उनको दु:ख देखेर, तिनलाई सान्त्वना दिंदै येशूले यी शब्दहरू भन्‍नुभयो: “तिम्रो भाइ फेरि बिउँतनेछ।” मार्थाले उत्तर दिइन्‌: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।”—यूहन्‍ना ११:१७-२४.

४-६. पुनरुत्थानमा विश्‍वास गर्नुपर्ने मार्थासँग के कारणहरू थिए?

४ पुनरुत्थानमा विश्‍वास राख्ने मार्थासँग ठोस कारणहरू थिए। उदाहरणकालागि, उनलाई थाह थियो, धेरै वर्ष पहिले, परमेश्‍वरका अगमवक्‍ताहरू, एलिया र एलीशा प्रत्येकले परमेश्‍वरको शक्‍ति द्वारा एउटा बच्चाको पुनरुत्थान गराएका थिए। (१ राजा १७:१७-२४; २ राजा ४: ३२-३७) र एउटा मृत व्यक्‍तिलाई एउटा खाल्टोमा फालिदिए पछि, त्यहाँ मृत एलीशाका हाड़हरूलाई छुने बित्तिकै उ जीवित भएर आयो भन्‍ने कुरा पनि उनलाई थाह थियो। (२ राजा १३:२०, २१) तर येशूले जुन कुराको शिक्षा दिनुभयो र जुन कुरा गर्नु भयो त्यसले गर्दा पुनरुत्थानमा मार्थाको विश्‍वास अझ दृढ भएको थियो।

५ दुई वर्ष भन्दा केही कम समय अघि, येशू आफूले निभाउनु हुने भूमिका वारे यरूशलेममा कुरा गर्नु हुँदा, मार्था पनि यरूशलेममा थिइन्‌ होलिन्‌। उहाँले भन्‍नुभयो: “किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनु र जीवित पार्नुहुन्छ, त्यसरीनै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसलाई जीवित पार्दछ। यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२१, २८, २९.

६ येशूले यी शब्दहरू भन्‍नुभएको बेलासम्म, उहाँले कसैको पुनरुत्थान गर्नु भएको थिएन। तर केही दिन पछि, उहाँले नाइन शहरमा, एउटा विधवाको नौजवान छोरोलाई पुनर्जीवित पार्नु भयो। यस विषयको खबर दक्षिण यहूदियासम्म फिंजिएको हुनाले, मार्थाले निश्‍चय पनि यसलाई सुनेकी होलिन्‌। (लूका ७:११-१७) पछि, गालीलको समुद्र छेउको शहर नजिक याइरसको घरमा घटेको कुरावारे पनि सुनेकी होलिन्‌। याइरसकी १२ वर्ष पुगेकी छोरी व्यथा लागेर मरेकी थिइ। तर येशू याइरसको घरमा आए पछि, मृत बालिकाको नजिक जानु भयो र भन्‍नुभयो: “ए कन्या, उठ्‌!” अनि त्यो उठी!—लूका ८:४०-५६.

७. मरेकाहरूलाई बिउँताउन सक्नु हुनेछ भनेर येशूले मार्थालाई के प्रमाण दिनुभयो?

७ तापनि, येशूले उनको भाइलाई त्यत्ति बेला पुनरुत्थान गराउँनु हुनेछ भनेर मार्थाले आशा गरिनन्‌। त्यसै कारण उनले भनिन्‌: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” तथापि, मरेकाहरूलाई बिउँताउने काममा उहाँको भूमिका वारे मार्थामाथि प्रभाव पार्न येशूले भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्‍वास गर्ने प्रत्येक कहिले पनि मर्नेछैन।” त्यस पछि लाजरसलाई गाड़िएको चिहान निर तुरुन्तै येशूलाई लगियो। उहाँले ठूलो सोरले कराउनु भयो, “लाजरस, बाहिर निस्की आऊ!” चार दिनसम्म मरिसकेको लाजरस बाहिर निस्की आयो!—यूहन्‍ना ११:२४-२६, ३८-४४.

८. येशूको पुनरुत्थान भएको थियो भन्‍ने के प्रमाण छ?

८ केही हप्ता पछि येशू आफै पनि मारिनु भयो र उहाँलाई चिहानमा गाड़ियो। तर त्यहाँ उहाँ तीन दिनको केही भागसम्म मात्र हुनुहुन्‌थियो। प्रेरित पत्रुसले यसको कारणको व्याख्या गर्दै भने: “यीनै येशूलाई परमेश्‍वरले बिउँताउनु भयो, जुन कुराको हामी सबै गवाही छौं।” परमेश्‍वरका पुत्रलाई चिहानबाट बाहिर निस्की आउन धर्म-गुरूहरूले रोक्न सकेनन्‌। (प्रेरित २:३२; मत्ती २७:६२-६६; २८:१-७) ख्रीष्टलाई मृतावस्थाबाट बिउँताइएको थियो भन्‍ने कुरामा कुनै शङ्‌कानै छैन, किनकि त्यस पछि उहाँ आफ्ना धेरै चेलाहरू, एक पटक ता केही ५०० जनाको सामने देखा पर्नु भयो। (१ कोरिन्थी १५:३-८) पुनरुत्थानमा येशूका चेलाहरूको विश्‍वास यति दृढ़ थियो कि परमेश्‍वरको सेवामा मृत्यु समेतको मुकाविला गर्न तिनीहरू तैयार थिए।

९. कुन नौ जना व्यक्‍तिहरूको पुनरुत्थान भएको थियो भनेर बाइबल भन्दछ?

९ पछि गएर पत्रुस र पावल प्रेरितहरू द्वारा पनि मरेकाहरूलाई बिउँताउन सकिन्छ भन्‍ने कुराको अझ बढ़ी प्रमाणहरू दिइयो। प्रथमत:, पत्रुसले जोप्पा शहरकी तबीतालाई, जसलाई डोर्कास पनि भनिन्छ, पुनरुत्थान गराए। (प्रेरित ९:३६-४२) अनि फेरि, पावल बोलिरहेको बेलामा तेश्रो तल्लाको झ्यालबाट लड़ेर मर्ने नौजवान युटाइकसलाई उनले जीवित पारे। (प्रेरित २०:७-१२) निश्‍चयनै, बाइबलमा वर्णन गरिएका यी नौ पुनरुत्थानहरूले मरेकाहरूलाई फेरि जीवन दिन सकिन्छ भन्‍ने कुराको निश्‍चित प्रमाण दिन्छ!

कसको पुनरुत्थान हुनेछ?

१०, ११. (क) परमेश्‍वरले पुनरुत्थानको व्यवस्था किन गर्नु भयो? (ख) प्रेरित २४:१५ अनुसार, कुन दुई वर्गका मानिसहरूको पुनरुत्थान हुनेछ?

१० शुरूमा कसैलाई पनि पुनरुत्थान गर्नु पर्ने उद्देश्‍य परमेश्‍वरको थिएन, किनकि आदम र हव्वा विश्‍वासी रहिरहेका भए, कसैले मर्नुनै पर्ने थिएन। तर आदमको पापले प्रत्यक माथि असिद्धता र मृत्यु आयो। (रोमी ५:१२) अत: आदमका सन्तान मध्य कसैकालागि अनन्त जीवन पाउँन सम्भव होस्‌ भनेर यहोवा परमेश्‍वरले पुनरुत्थानको व्यवस्था गर्नुभयो। तर कुनै व्यक्‍तिको पुनरुत्थान हुने वा नहुने कुराको निर्णय के ले गर्छ?

११ बाइबलले व्याख्या गर्दछ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) कतिलाई यो पढ़ेर आश्‍चर्य लाग्नेछ। ‘“अधर्मीलाई” किन फेरि जीवन दिने?’ भनेर छक्क पर्न सक्छन्‌। येशूलाई काठमा टाँगिएको समयमा के भयो भन्‍ने कुरा बुझ्यौं भने यस प्रश्‍नको उत्तर पाउँनमा मदद मिल्नेछ।

१२, १३. (क) एउटा अपराधीलाई येशूले के प्रतिज्ञा गर्नु भयो? (ख) येशूले भन्‍नुभएको “प्रमोदवन” कहाँ छ?

१२ येशूको छेउका यी मानिसहरू अपराधीहरू हुन्‌। त्यस मध्य एउटाले भर्खरै उहाँलाई गिल्ला गर्दै यसो भन्छ: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।” तथापि, अर्को अपराधी चाहिं येशूमाथि विश्‍वास गर्दछ। त्यो उहाँ तर्फ फर्केर भन्छ: “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌।” अनि येशूले त्यसलाई वचन दिनुहुन्छ: “आज, म तिमीलाई साँच्चै भन्दछु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:३९-४३, न्यु.व.

१३ तर येशूको त्यस भनाइको के अर्थ हो: “तिमी मसित प्रमोदवनमा हुनेछौ”? प्रमोदवन कहाँ छ? शुरूमा परमेश्‍वरले बनाउनु भएको प्रमोदवन कहाँ थियो? त्यो पृथ्वीमा थियो, होइन र? परमेश्‍वरले प्रथम मानव जोड़ीलाई अदनको सुन्दर बगैंचामा राख्नु भयो। अत: यो पहिलेको अपराधी प्रमोदवनमा हुनेछ भनेर पढ्‌दा, यो पृथ्वीनै बस्ने लायक एउटा सुन्दर ठाउँ हुनेछ भनेर हाम्रो मस्तिष्कमा कल्पना गर्नु पर्छ, किनकि “प्रमोदवन” भन्‍ने शब्दको अर्थ “बगैंचा” वा “उद्यान” हो।—उत्पत्ति २:८, ९.

१४. पहिलेको अपराधीसँग येशू कुन रीतिले प्रमोदवनमा हुनुहुनेछ?

१४ निश्‍चयनै येशू यहाँ पृथ्वीमा त्यो पहिलेको अपराधीसँग बस्नु हुनेछैन। येशू ता स्वर्गमा राजाको हैसियतले पार्थिव प्रमोदवन माथि शासन गरिरहनु भएको हुनेछ। अत: उहाँ त्यस मानिससँग हुनुहुनेछ भन्‍नुको अर्थ उहाँले त्यसलाई मरेकोबाट बिउँताएर त्यसको शारीरिक र आत्मिक दुवै प्रकारका आवश्‍यकताहरूको हेरचाह गर्नु हुनेछ। तर एउटा अपराधी मानिसलाई प्रमोदवनमा बस्ने अनुमति येशूले किन दिनुभयो?

१५. “अधर्मीहरूको” पुनरुत्थान किन हुन्छ?

१५ यो सत्य हो कि यस मानिसले खराब कामहरू गरेको थियो। त्यो “अधर्मी” थियो। साथै, परमेश्‍वरको इच्छावारे अनभिज्ञ थियो। यदि त्यसले परमेश्‍वरको इच्छाहरूवारे जानकारी पाएको भए, के उ एउटा अपराधी हुनेथियो? सो पत्ता लगाउन, येशूले यस अधर्मी मानिसलाई, र साथै अरू हजारौं लाखौं अज्ञानतामा मरेकाहरूको पुनरुत्थान गर्नुहुनेछ। उदाहरणकालागि, बितेका शताब्दीहरूमा धेरै मानिसहरू अनपढ़ भएर र बाइबल कहिले देख्नै नपाएर मरे। तर तिनीहरू शिओल, वा हेडीसबाट बिउँताइने छन्‌। अनि, पार्थिव प्रमोदवनमा, तिनीहरूलाई परमेश्‍वरको इच्छा सिकाइने छ, र उहाँको इच्छा गरेर साँच्चैनै परमेश्‍वरलाई प्रेम गर्दछन्‌ भनेर प्रमाणित गर्ने सुअवसर तिनीहरूले पाउनेछन्‌।

१६. (क) मरेकाहरू मध्य कसको चाहिं पुनरुत्थान हुँदैन? (ख) यस विषयमा हामीले निर्णय दिने प्रयत्न गर्नु किन आवश्‍यक छैन? (ग) हाम्रो मुख्य चिन्ता के हुनु पर्दछ?

१६ यसको अर्थ सबैकोनै पुनरुत्थान हुनेछ भनेको होइन। बाइबलले देखाएको छ कि येशूलाई विश्‍वासघात गर्ने यहूदा इस्करयोतीको पुनरुत्थान हुनेछैन। किनभने उसले जानाजानी दुष्टता गरेको हुनाले, यहूदालाई “विनाशको छोरो” भनिन्छ। (यूहन्‍ना १७:१२) त्यो लाक्षणिक गेहेन्‍नामा परेको हुनाले त्यहाँबाट त्यसको पुनरुत्थान हुँदैन। (मत्ती २३:३३) परमेश्‍वरको ज्ञान पाएपछि पनि जानाजानी खराब काम गर्ने व्यक्‍तिहरू पवित्र आत्माको विरुद्धमा पाप गरिरहेका हुनसक्छन्‌। (मत्ती १२:३२; हिब्रू ६:४-६; १०:२६, २७) तथापि परमेश्‍वर न्यायकर्ता हुनु भएको हुनाले, बितेका समयमा अथवा आधुनिक समयमा कुनै दुष्ट व्यक्‍तिले पुनरुत्थान पाउने हो कि होइन भनेर हामीहरूले पत्ता लगाउन कोशिश गर्ने कुनै कारण छैन। को हेडीसमा छ र को गेहेन्‍नामा छ भन्‍ने कुरा परमेश्‍वरलाई थाह छ। हामीहरूले ता, उहाँको नया रीति-रिवाजमा परमेश्‍वरले चाहनु भए जस्तो व्यक्‍ति हुने हर कोशिश गर्नु पर्छ।—लूका १३:२४, २९.

१७. अनन्त जीवनको आनन्द लिन पुनरुत्थानको आवश्‍यकता नपर्नेहरू को हुन्‌?

१७ वास्तविकता यो हो कि अनन्त जीवन प्राप्त गर्ने सबैलाई पुनरुत्थानको आवश्‍यकता पर्ने छैन। यस रीति-रिवाजको “अन्तिम दिनमा” बाँचिरहने परमेश्‍वरका धेरै सेवकहरू जिउँदै आर-मागेडोन पारगर्नेछन्‌। र अनि, धार्मिक “नया पृथ्वीको” भाग भएर तिनीहरू कहिले मर्नु पर्ने छैन। मार्थालाई येशूले जे भन्‍नुभएको थियो त्यो अक्षरस: सत्य हुनेछ: “औ बाँच्ने र मलाई विश्‍वास गर्ने प्रत्यक कहिले पनि मर्नेछैन”।—यूहन्‍ना ११:२६; २ तिमोथी ३:१.

१८. ती “धर्मीहरू” को हुन्‌ जसको पुनरुत्थान हुनेछ?

१८ पुनरुत्थान हुने “धर्मीहरू” को हुन्‌? येशू ख्रीष्ट पृथ्वीमा आउँनु भन्दा पहिलेका विश्‍वासी सेवकहरू यी धर्मीहरू मध्यका हुनेछन्‌। यिनीहरू मध्य धेरैको नाउँ हिब्रूको ११ वाँ अध्यायमा उल्लेखित छ। यिनीहरूले स्वर्ग जाने आशा गरेनन्‌, तर फेरि जिउँदो भएर पृथ्वीमानै बस्ने आशा गरे। अरू पुनरुत्थान हुने “धर्मीहरू” मध्य हालसालै मरेका विश्‍वासी सेवकहरू पनि हुनेछन्‌। पृथ्वीमा अनन्त जीवन प्राप्तगर्ने तिनीहरूको आशा पूरा होस्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई मृतावस्थाबाट बिउँताउनु हुनेछ।

कहिले र कहाँ पुनरुत्थान हुने

१९. (क) कुन अर्थमा येशू पुनरुत्थान हुनेहरूमा पहिलो हुनुहुन्‌ थियो? (ख) त्यस पछि कसको पुनरुत्थान हुन्छ?

१९ येशू ख्रीष्ट “मरेकोबाट पुनरुत्थान हुने पहिलो” हुनुहुन्छ भनिएको छ। (प्रेरित २६:२३) यसको अर्थ, उहाँ ती पुनरुत्थान हुनेहरू मध्यको पहिलो हुनुहुन्छ जो फेरि कहिले मर्ने छैनन्‌। साथै, एउटा आत्मिक व्यक्‍तिको रूपमा बिउँताइनेहरू मध्य उहाँ पहिलो हुनुहुन्‌थियो। (१ पत्रुस ३:१८) तर अरूहरू पनि हुनेछन्‌ भनेर बाइबल भन्दछ: “हरेक आफ्नो आफ्नै क्रमानुसार—ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँका आगमनमा ख्रीष्टकाहरू जति।” (१ कोरिन्थी १५:२०-२३) अत: पुनरुत्थानमा कुनैचाहिं अरूहरू भन्दा पहिले बिउँताइनेछन्‌।

२०. (क) “ख्रीष्टका हुनेहरू” को हुन्‌? (ख) तिनीहरूको कस्तो पुनरुत्थान हुन्छ?

२० “ख्रीष्टका हुनेहरू” उहाँसँग राज्यमा शासन गर्न छानिएका १४४,००० जना विश्‍वासी चेलाहरू हुन्‌। तिनीहरूको स्वर्गीय पुनरुत्थानवारे बाइबल भन्दछ: “पहिलो पुनरुत्थानमा भाग पाउने धन्य र पवित्र हो! यिनीहरूमाथि दोश्रो मृत्युको शक्‍ति हुँदैन, तर तिनीहरू . . . राजाहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।”—प्रकाश २०:६; १४:१, ३.

२१. (क) “पहिलो पुनरुत्थान” कहिले देखि शुरू हुन्छ? (ख) स्वर्गीय जीवनकालागि कसलाई नि:सन्देह बिउँत्याइ सकिएको छ?

२१ अत: ख्रीष्टको पुनरुत्थान पछि, १४४,००० हरूलाई बिउँताइने छ। “पहिलो पुनरुत्थान”, वा “अघिल्लो पुनरुत्थानमा” तिनीहरूको हिस्सा छ। (फिलिप्पी ३:११) यो कहिले हुन्छ? “उहाँको उपस्थितिमा” भनेर बाइबल भन्दछ। १९१४ सालमा ख्रीष्टको उपस्थिति शुरू भयो भन्‍ने कुरा हामीहरूले अघिल्लो अध्यायहरूबाट जानीसकेका छौं। अत: विश्‍वासी मसीहीहरूको स्वर्ग जाने “पहिलो पुनरुत्थानको दिन” आइ सकेकोछ। प्रेरितहरू तथा अरू प्रारम्भिक मसीहीहरूलाई पहिलेनै स्वर्गीय जीवनकालागि बिउँताइ सकिएको छ भन्‍ने कुरामा कुनै शङ्‌कानै छैन।—२ तिमोथी ४:८.

२२. (क) “पहिलो पुनरुत्थानमा” अरू कसले पनि भाग लिनेछन्‌? (ख) तिनीहरूको पुनरुत्थान कहिले हुनेछ?

२२ तर ख्रीष्टसँग स्वर्गमा शासन गर्ने सोही आशा हुने मसीहीहरू ख्रीष्टको अदृश्‍य उपस्थितिमा अहिले पनि बाँचिरहेका छन्‌। तिनीहरू १४४,००० मध्यका बाँकी रहेकाहरू हुन्‌। तिनीहरूको पुनरुत्थान कहिले हुनेछ? तिनीहरूलाई मृत्युमा निदाउने आवश्‍यकता पर्ने छैन, तर तिनीहरू मर्नासाथ तुरून्तै बिउँताइनेछन्‌। बाइबल व्याख्या गर्दछ: “हामी सबै मरिजाँदैनौ, तर हामी सबैको परिवर्त्तन हुनेछ। एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँतानाइनेछन्‌।”—१ कोरिन्थी १५:५१, ५२; १ थिस्सलोनिकी ४:१५-१७.

२३. आत्मिक जीवनमा परिवर्तन हुनेलाई बाइबलले कसरी वर्णन गर्दछ?

२३ जरूर, स्वर्गीय जीवनको यो “पहिलो पुनरुत्थान” मानवीय आँखाले देख्ने छैन। यो आत्मिक प्राणीको रूपमा जीवन पाउने पुनरुत्थान हो। यो आत्मिक जीवनमा परिवर्तित हुने विषय वारे बाइबलले यसरी वर्णन गरेको छ: “विनाशमा त्यो छरिन्छ, अविनाशमा बिउँताइन्छ। अनादरमा त्यो छरिन्छ, तेजमा बिउँताइन्छ। . . . प्राकृतिक शरीरमा छरिन्छ, आत्मिक शरीरमा बिउँताइन्छ।”—१ कोरिन्थी १५:४२-४४.

२४. (क) “पहिलो पुनरुत्थान” पछि कुन पुनरुत्थान हुन्छ? (ख) यसलाई “उत्तम पुनरुत्थान” किन भनिन्छ?

२४ तथापि, “पहिलो पुनरुत्थान” भन्‍ने वाक्यांशले यस पछि अर्को पुनरुत्थान हुनेछ भनेर जनाउँछ। यो धर्मी र अधर्मी दुवै थरीले पार्थिव प्रमोदवनमा जीवन पाउने पुनरुत्थान हो। यो आर-मागेडोन पछि हुनेछ। एलिया र एलीशाले पुनरुत्थान गरेका केटाहरू र अन्यअरू पृथ्वीमा पुनरुत्थान भएकाहरू भन्दा यो एउटा “उत्तम पुनरुत्थान” हुनेछ। किन? किनभने आर-मागेडोन पछि पुनरुत्थान गरिएकाहरूले परमेश्‍वरको सेवा गर्न रोजे भने, तिनीहरू फेरि कहिले मर्नु पर्ने छैन।—हिब्रू ११:३५.

परमेश्‍वरको चमत्कार

२५. (क) जुन शरीरमा मानिस मरेको थियो, त्यही शरीरमा पुनरुत्थान किन हुँदैन? (ख) के कुराको पुनरुत्थान हुन्छ र पुनरुत्थान गरिएकाहरूलाई के दिइन्छ?

२५ एउटा व्यक्‍ति मरे पछि, के को पुनरुत्थान हुन्छ? त्यो मरेको शरीरको पुनरुत्थान हुँदैन। स्वर्गीय जीवन पाउने पुनरुत्थानको वर्णन गर्दा बाइबलले यो दर्शाउँछ। (१ कोरिन्थी १५:३५-४४) पृथ्वीमा पुनरुत्थान भएर जीवन पाउँनेहरूले पनि पहिलैकै शरीर पाउँदैनन्‌। त्यो शरीर ता कुहेर माटोमा मिसि सक्यो। केही समय पश्‍चात्‌ मृत शरीरका तत्वहरू अन्यजीवहरूका भाग भइसके होलान्‌। अत: परमेश्‍वरले त्यही शरीरको होइन तर त्यही मरेको व्यक्‍तिको पुनरुत्थान गर्नुहुन्छ। स्वर्ग जाने व्यक्‍तिहरूलाई उहाँले एउटा नया आत्मिक शरीर दिनुहुन्छ। पृथ्वीमा बस्न बिउँत्याइएकाहरूलाई उहाँले एउटा नया प्राकृतिक शरीर दिनुहुन्छ। यो नया शरीर उ मर्नु भन्दा अघि जस्तो थियो ठीक त्यस्तै हुनेछ र उसलाई पहिले चिनेकाहरूले उसको पहिचान गर्न सक्नेछन्‌।

२६. (क) पुनरुत्थान एउटा यस्तो अद्‌भुत चमत्कार किन हो? (ख) मनुष्यहरूले गरेको कुन आविष्कार द्वारा मरेकाहरूलाई परमेश्‍वरले सम्झनामा राख्ने महान योग्यतावारे बुझ्न हामीलाई मदद मिल्न सक्छ?

२६ पुनरुत्थान वास्तवमा एउटा अद्‌भुत चमत्कार हो। मरेर गएको व्यक्‍तिसँग आफ्नो जीवन-कालमा संग्रह गरेका धेरैनै अनुभव, ज्ञान र स्मृतिहरू छन्‌ होला। कुनै अन्य जीवित व्यक्‍ति भन्दा भिन्‍न व्यक्‍तित्वको उसले विकाश गरेको थियो। तथापि यहोवा परमेश्‍वरलाई सारा तपसील याद रहन्छ, र उहाँले पुनरुत्थान गर्दा त्यस व्यक्‍तिलाई उसको पूर्ण व्यक्‍तित्वका साथ पुन: स्थापित गर्नु हुनेछ। पुनरुत्थान हुनेवाला मरेकाहरू वारे, बाइबल भन्दछ: “सबै जना उहाँकै निम्ति जीवित छन्‌।” (लूका २०:३८) मानिसहरूले कसैको पनि आवाज र तस्वीरहरूको रेकार्ड गरेर राख्न सक्छन्‌ र तिनीहरू मरेको धेरै समय पछि पनि तिनीहरूको आवाज सुन्‍नसकिन्छ र तिनीहरूको तस्वीर देख्न सकिन्छ। तर यहोवाले उहाँको स्मृतिमा जीवित रहेका सबै व्यक्‍तिहरूलाई पुन:जीवित गर्न सक्नुहुन्छ र वास्तवमा गर्नु हुनेछ!

२७. पुनरुत्थान सम्बन्धी कुन प्रश्‍नहरूको उत्तर हामीले पछि पाउँने छौं?

२७ मरेकाहरूको पुनरुत्थान पछि, प्रमोदवनमा हुने जीवनवारे बाइबलले हामीलाई धेरैनै कुराहरू बताएको छ। उदाहरणकालागि, येशूले भन्‍नुभएको छ: कोही “जीवनको पुनरुत्थान” को निम्ति र कोही चाहिं “इन्साफको पुनरुत्थान” को निम्ति निस्किआउनेछन्‌। (यूहन्‍ना ५:२९) यसको के अर्थ हो? “धर्मीको” पुनरुत्थान र “अधर्मीको” पुनरुत्थानको स्थितिमा कुनै अन्तर हुनेछ? न्यायको दिन वारे छलफल गऱ्‍यौं भने यी सबै प्रश्‍नहरूको उत्तर हामीहरूले पाउनेछौं।

[पृष्ठ १६७-मा भएको चित्र]

“म जान्दछु कि त्यो पुनरुत्थानमा बिउँतनेछ”

एलियाले एउटा विधवाको छोरोलाई पुनरुत्थान गराए

एलीशाले एउटा बच्चोलाई पुनरुत्थान गराए

एलीशाको हाड़ छुँदा एउटा मानिस पुनर्जीवित भयो

[पृष्ठ १६८-मा भएको चित्र]

येशूद्वारा पुनरुत्थान भएका व्यक्‍तिहरू:

नाइन शहरकी विधवाको छोरो

लाजरस

याइरसकी छोरी

[पृष्ठ १६९-मा भएको चित्र]

पुनरुत्थान भएका अन्य व्यक्‍तिहरू

डोरकास

येशू स्वयं

युटाइकस

[पृष्ठ १७०-मा भएको चित्र]

कुकर्मीलाई येशूले प्रतिज्ञा गर्नु भएको प्रमोदवन कहाँ छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने