अध्याय ३
मार्ग तयार गर्ने जन्मिन्छन्
इलीशिबाले बच्चा जन्माउने बेला भइसकेको छ। बितेका तीन महिनादेखि मरियम तिनीसँगै बसेकी छिन्। तर अब बिदा भएर आफ्नो घर नासरत फर्किने लामो यात्रा गर्ने समय आइसकेको छ। छ महिनापछि त तिनले पनि बच्चा जन्माउनेछिन्।
मरियम फर्किएको केही समयपछि इलीशिबाले बच्चा जन्माउँछिन्। बच्चाको जन्म सन्तोषजनक भएको अनि आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भएकोमा आनन्द मनाइन्छ! इलीशिबाले छिमेकी र नातेदारहरूलाई आफ्नो सानो बच्चा देखाउँदा तिनीहरू सबै रमाउँछन्।
परमेश्वरको नियमअनुसार बच्चा जन्मेको आठ दिनपछि इस्राएलमा छोरो बच्चाको खतना गर्नुपर्छ। यस अवसरमा साथीहरू र नातेदारहरू भेटघाट गर्न आउँछन्। बच्चाको नाम पनि उसको बुबाको नामजस्तै जकरिया नै राख्ने सल्लाह तिनीहरूले दिन्छन्। तर इलीशिबा भन्छिन्, “अहँ, हुँदैन! उसको नाम यूहन्ना राख्नुपर्छ।” तपाईंलाई यादै होला, बच्चाको नाम यूहन्ना राख्नुपर्छ भनेर स्वर्गदूत गब्रिएलले भनेका थिए।
तथापि तिनीहरूका साथीहरूले त्यसको विरोध गर्छन्: “तिम्रो नातागोतामा कसैको पनि यस्तो नाम छैन।” अनि तिनीहरूले तिनका बुबालाई इशारा गर्दै बच्चाको नाम के राख्ने भनेर सोध्छन्। एउटा लेख्ने पाटी मगाएर जकरियाले सबैलाई छक्क पार्ने गरी लेख्छन्: “उसको नाम यूहन्ना हो।”
यसका साथै जकरियाको बोली चमत्कारपूर्ण ढङ्गले खुल्छ। इलीशिबाले बच्चा पाउँछिन् भन्ने स्वर्गदूतको घोषणालाई विश्वास नगर्दा तिनको बोली बन्द भएको कुरा तपाईंलाई सम्झना होला। जकरिया बोलेको देखेर छिमेकमा बस्नेहरू सबै छक्क पर्छन् र मनमनै यसो भन्छन्: “ठूलो भएपछि यो सानो बालक कस्तो हुने होला?”
जकरिया पवित्र शक्तिले भरिएर यसो भन्दै उल्लसित हुन्छन्: “इस्राएलका परमेश्वर यहोवा धन्यका होऊन्, किनकि आफ्ना प्रजादेखि टिठाएर उहाँले तिनीहरूलाई छुटकारा दिनुभएको छ। अनि उहाँले आफ्नो सेवक दाऊदको घरानामा हाम्रो लागि एक जना पराक्रमी उद्धारक खडा गर्नुभएको छ।” यी “पराक्रमी उद्धारक” यथार्थमा येशू ख्रीष्ट हुनुहुन्छ जसको जन्म हुन बाँकी नै छ। जकरिया भन्छन्, उहाँद्वारा परमेश्वरले हामीलाई “हाम्रा शत्रुहरूबाट” बचाउनुहुनेछ र “निर्भयतासाथ उहाँलाई पवित्र सेवा चढाउने सुअवसर दिनुहुनेछ, ताकि वफादार रहेर अनि उहाँको स्तरबमोजिम असल काम गरेर हामी आफ्नो जीवनभर त्यसै गरिरहन सकौं।”
अनि जकरिया आफ्नो छोरोबारे भविष्यवाणी गर्छन्: “हे सानो बालक, तिमीचाहिं सर्वोच्च परमेश्वरका भविष्यवक्ता कहलाइनेछौ, किनकि यहोवाको अघि-अघि गएर तिमीले उहाँको बाटो तयार पार्नेछौ, उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापको क्षमा दिएर उद्धार गर्नुहुनेछ भन्ने ज्ञान दिनेछौ। हाम्रा परमेश्वरको कोमल करुणाको कारण उहाँले त्यसो गर्नुहुनेछ। माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ। जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा सफलतासाथ डोऱ्याउनेछ।”
यसबेलासम्म मरियम, जो अझै अविवाहित नै छिन्, आफ्नो घर नासरत आइपुगेकी छिन्। तिनी गर्भवती छिन् भन्ने कुरा सबैले थाह पाएपछि तिनलाई के हुने होला? लूका १:५६-८०; लेवी १२:२, ३.
▪ येशूभन्दा यूहन्ना कति जेठा हुन्?
▪ यूहन्ना आठ दिनको हुँदा के हुन्छ?
▪ परमेश्वरले आफ्ना जनहरूतर्फ कसरी ध्यान फर्काउनुभएको छ?
▪ यूहन्नाले के गर्नेछन् भनेर भविष्यवाणी गरिन्छ?