अध्याय २८
उपवासबारे उहाँलाई प्रश्न गरिन्छ
येशूले इस्वी संवत् ३० को निस्तार-चाड मनाएको करिब एक वर्ष भइसक्यो। यस बेलासम्म बप्तिस्मा गराउने यूहन्ना झ्यालखानामा परेको धेरै महिना भइसकेको छ। आफ्ना सबै चेलाहरू ख्रीष्टका अनुयायी बनून् भनी उनले चाहे तापनि सबै हुन सकेका छैनन्।
अब झ्यालखानामा परेका यूहन्नाका केही चेलाहरू येशूकहाँ आएर सोध्छन्: “हामी र फरिसीहरू उपवास बस्ने गर्छौं तर तपाईंका चेलाहरूचाहिं किन उपवास बस्दैनन्?” तिनीहरूको धर्मको विधिविधानअनुसार फरिसीहरू हप्तामा दुई पटक उपवास बस्छन्। सायद यूहन्नाका चेलाहरू पनि त्यस्तै प्रकारको रीति अनुसरण गर्छन्। यूहन्ना झ्यालखानामा परेका हुनाले पनि तिनीहरू शोक मनाउन उपवास बसेका होलान्। तर शोक मनाउन येशूका चेलाहरू तिनीहरूसित किन सम्मिलित नभएका भनी तिनीहरू आश्चर्य मान्छन्।
प्रत्युत्तरमा येशू व्याख्या गर्नुहुन्छ: “दुलहा आफूसँग होउन्जेल के तिनका साथीहरूले शोक मनाउँछन् र? तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्।”
यूहन्ना आफैले येशूलाई दुलहा भनेका थिए। यो कुरा यूहन्नाका चेलाहरूले सम्झनुपर्ने हो। त्यसकारण येशू उपस्थित होउन्जेल उपवास बस्नु उचित हो भनी यूहन्नाले र येशूका चेलाहरूले पनि ठान्ने छैनन्। पछि येशूको मृत्युपश्चात् उहाँका चेलाहरूले जरुर पनि शोक मनाउँछन् र उपवास पनि बस्छन्। तर पुनर्जीवित भएर उहाँ स्वर्ग जानुभएपछि तिनीहरूले शोक मनाउँदै उपवास बस्नुपर्ने कुनै कारण हुनेछैन।
त्यसपछि येशू यी उदाहरणहरू दिनुहुन्छ: “कसैले पनि पुरानो लुगामा नयाँ टालो सिलाउँदैन; नत्रता नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउनेछ। न त मानिसहरूले नयाँ दाखमद्य पुरानो मशकमा नै राख्छन्। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिन्छ र दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन् र ती दुवै जोगिन्छ।” यी दुई उदाहरणहरूको उपवाससित के सम्बन्ध छ?
विधिविधानअनुसारको उपवास बस्ने यहूदी धर्मको पुरानो परम्परामा येशूका चेलाहरू चल्नेछन् भनेर कसैले आशा गर्नु हुँदैन। बप्तिस्मा गराउने यूहन्नाका चेलाहरूलाई येशू यो कुरा बुझ्ने मदत दिंदै हुनुहुन्थ्यो। मक्किएर फ्याँक्न लागेको उपासनाको पुरानो रीतिरिवाजलाई टालटुल गरेर त्यसलाई अझ लम्ब्याउन उहाँ आउनुभएको होइन। ख्रीष्टियन धर्मलाई त्यस समयको यहूदी धर्मको मानव परम्परासँग मिलाउन पाइनेछैन। पुरानो लुगामा नयाँ टालो टालेजस्तो वा पुरानो मशकमा नयाँ दाखमद्य हालेजस्तो ख्रीष्टियन धर्म हुनेछैन। मत्ती ९:१४-१७; मर्कूस २:१८-२२; लूका ५:३३-३९; यूहन्ना ३:२७-२९.
▪ उपवास को बस्छन् र किन?
▪ येशूका चेलाहरू उहाँ तिनीहरूका साथ होउन्जेल किन उपवास बस्दैनन् र उपवास बस्नुपर्ने कारण पछि गएर कसरी चाँडै हराएर जानेछ?
▪ येशू कस्ता उदाहरणहरू दिनुहुन्छ र त्यसको अर्थ के हो?