अध्याय ३२
विश्राम-दिनमा के गर्दा नियम उल्लङ्घन हुन्छ?
अब अर्को विश्राम-दिनमा येशू गालील समुद्र नजिकको सभाघरमा जानुहुन्छ। त्यहाँ हात सुकेको एक जना मानिस उपस्थित छ। येशूले त्यसलाई निको पार्नुहुन्छ कि हुन्न भनी शास्त्रीहरू र फरिसीहरू दाउ हेरेर बसिरहेका छन्। अन्तमा तिनीहरू सोध्छन्: “विश्राम-दिनमा निको पार्दा नियम उल्लङ्घन हुन्छ कि हुँदैन?”
जीवन खतरामा छ भने मात्र विश्राम-दिनमा निको पार्नु उचित हुन्छ भनी यहूदी धर्म-गुरुहरू विश्वास गर्छन्। उदाहरणका लागि, तिनीहरूको शिक्षाअनुसार विश्राम-दिनमा हाड भाँचिएको वा मर्केको खण्डमा त्यसको उपचार गर्नु व्यवस्थाविपरित हो। त्यसकारण येशूमाथि एउटा दोष लगाउने प्रयासमा शास्त्री र फरिसीहरू उहाँसित प्रश्न गरिरहेका छन्।
तथापि येशू तिनीहरूको तर्क जान्नुहुन्छ। साथै विश्राम-दिनमा काम गर्नु हुँदैन भन्ने नियम कति बेला उल्लङ्घन हुन्छ भन्ने विषयमा तिनीहरूले एउटा अचाक्ली र गैर-शास्त्रीय दृष्टिकोण अपनाएका छन् भनी येशू बुझ्नुहुन्छ। अतः एउटा आश्चर्यजनक मुकाबिलाका लागि परिस्थिति तयार पार्न येशूले त्यस हात सुकेको मानिसलाई भन्नुहुन्छ: “उठ र बीचमा उभ।”
अनि शास्त्री र फरिसीहरूतर्फ फर्केर येशू भन्नुहुन्छ: “तिमीहरूमध्ये कुनचाहिं मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडो विश्राम-दिनमा खाल्डोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?” भेडा किन्न पैसा लगानी गरिएकोले तिनीहरूले त्यसलाई भोलिपल्टसम्म खाल्डोमा छाड्ने थिएनन् किनभने त्यसो गर्नाले भेडा बिरामी पर्न सक्छ र तिनीहरूलाई आर्थिक हानि हुन सक्छ। त्यसबाहेक धर्मशास्त्र भन्छ: “असल मानिसले आफ्नो पशुको वास्ता गर्छ।”
एउटा समानान्तर देखाउँदै येशू भन्दै जानुहुन्छ: “त्यसो हो भने एउटा भेडोभन्दा मानिस झन् कत्ति बहुमूल्य होला! त्यसैले विश्राम-दिनमा असल काम गर्दा नियम उल्लङ्घन हुँदैन।” यसप्रकारको तर्कपूर्ण अनुकम्पासहितको विचारलाई धर्म-गुरुहरू खण्डन गर्न असमर्थ भएकाले तिनीहरू चुपचाप बस्छन्।
तिनीहरूको जिद्दीमा मूर्खता देखेर येशू क्रोधित हुनुका साथै दुःखित पनि हुँदै चारैतिर हेर्नुहुन्छ। अनि त्यस मानिसलाई भन्नुहुन्छ: “तिम्रो हात पसार।” त्यसले हात पसार्छ र त्यसको हात निको हुन्छ।
त्यस मानिसको हात निको भएकोमा खुसी हुनुको सट्टा फरिसीहरू बाहिर जान्छन् र तुरुन्तै हेरोदका दलका अनुयायीहरूसित मिलेर येशूलाई मार्ने षड्यन्त्र रच्छन्। यस राजनीतिक दलमा स्पष्टतः धार्मिक सदुकीहरूका सदस्यहरू पनि सम्मिलित छन्। साधारणतया यो राजनीतिक दल र फरिसीहरूबीच खुल्लमखुल्ला द्वन्द्व छ तर येशूका विरुद्धमा चाहिं तिनीहरू एकताबद्ध छन्। मत्ती १२:९-१४; मर्कूस ३:१-६; लूका ६:६-११; हितोपदेश १२:१०; प्रस्थान २०:८-१०.
▪ येशू र यहूदी धर्म-गुरुहरूबीच हुने आश्चर्यजनक मुकाबिला कस्तो परिस्थितिको माझमा हुन्छ?
▪ विश्राम-दिनमा निको पार्ने कुराको सम्बन्धमा ती यहूदी धर्म-गुरुहरू के विश्वास गर्छन्?
▪ तिनीहरूको गलत दृष्टिकोण खण्डन गर्न येशू कुन उदाहरण प्रयोग गर्नुहुन्छ?