अध्याय ५४
“स्वर्गबाट साँचो रोटी”
अघिल्लो दिन थुप्रै घटना घटे। येशूले चमत्कारपूर्वक हजारौंलाई खुवाउनुभयो र आफूलाई राजा बनाउन चाहने मानिसहरूको प्रयासबाट उहाँ उम्कनुभयो। सोही रात आँधी चलिरहेको गालील समुद्रमा उहाँ हिंड्नुभयो; आँधीले अशान्त पारेको पानीमा हिंड्दा डुब्न लागेका पत्रुसलाई बचाउनुभयो; र छालहरूलाई शान्त पारेर आफ्ना चेलाहरूको डुङ्गालाई डुब्नदेखि बचाउनुभयो।
अब येशूले गालील समुद्रको उत्तरपूर्वपट्टि चमत्कारपूर्वक खुवाउनुभएका मानिसहरूले उहाँलाई कफर्नहुमनजिक भेट्टाउँछन् र सोध्छन्: “तपाईं यहाँ कहिले आउनुभयो?” सित्तैंमा फेरि एक छाक खान पाउने आशामा तिनीहरूले येशूको खोजी गरिरहेका छन्। यसकारण येशूले तिनीहरूलाई हप्काउनुहुन्छ। नाश भएर जाने भोजनको निम्ति होइन तर अनन्त जीवन दिने खानेकुराका लागि मेहनत गर्न उहाँ तिनीहरूलाई प्रोत्साहन दिनुहुन्छ। यसकारण मानिसहरू प्रश्न गर्छन्: “परमेश्वरले स्वीकार्नुहुने कामहरू गर्न हामीले के गर्नुपर्छ?”
सर्वोत्तम मोल भएको एक मात्र काम येशू बताउनुहुन्छ। “परमेश्वरले स्वीकार्नुहुने काम यही हो, उहाँले जसलाई पठाउनुभएको छ, ऊमाथि तिमीहरूले विश्वास गर।”
तथापि येशूले गर्नुभएका सबै चमत्कारहरू देखेर पनि मानिसहरू उहाँमा विश्वास गर्दैनन्। उहाँले त्यत्तिका अद्भुत कार्यहरू गरिसके तापनि तिनीहरू अविश्वासका साथ यो प्रश्न सोध्छन्: “त्यसोभए, चमत्कार देखाउन तपाईं के गर्दै हुनुहुन्छ र त्यो देखेर हामी तपाईंमाथि विश्वास गरौं? तपाईं के काम गर्दै हुनुहुन्छ? हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्न खाए; यस्तो लेखिएको छ, ‘खानको लागि उहाँले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो।’ ”
एउटा चिन्ह हेर्ने तिनीहरूको अनुरोधको प्रत्युत्तरमा आफूले चमत्कारपूर्ण ढङ्गमा प्रबन्ध गरेको खानेकुराको स्रोत प्रस्टसँग बताउँदै येशू भन्नुहुन्छ: “मोशाले तिमीहरूलाई स्वर्गबाट रोटी दिएनन्, तर मेरो बुबाले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। किनकि जो स्वर्गबाट ओर्लेर आउँछ अनि जसले संसारलाई जीवन दिन्छ, ऊ नै परमेश्वरको रोटी हो।”
यो सुनेर मानिसहरू भन्छन्: “प्रभु, यो रोटी हामीलाई सधैं दिनुहोस्।”
येशू भन्नुहुन्छ: “जीवन दिने रोटी मै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन अनि जसले ममाथि विश्वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनेको छु, तिमीहरूले मलाई देखेका पनि छौ, तैपनि विश्वास गर्दैनौ। बुबाले मलाई जो-जो दिनुभएको छ, ऊ मकहाँ आउँछ र जो मकहाँ आउँछ, उसलाई म कुनै हालतमा धपाउनेछैन; अनि मलाई पठाउनुहुनेको इच्छा यो हो कि उहाँले जो-जो मलाई दिनुभएको छ, तिनीहरूमध्ये एक जना पनि नगुमाऊँ तर उसलाई आखिरी समयमा पुनर्जीवित पारूँ। किनकि मेरो बुबाको इच्छा यही छ कि ज-जसले छोरालाई हेर्छ र ऊमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस्।”
यो सुनेपछि यहूदीहरू येशूका विषयमा गनगनाउन थाल्छन् किनभने उहाँले भन्नुभयो: “म स्वर्गबाट ओर्लेर आएको रोटी हुँ।” तिनीहरूले येशूलाई साधारण मानव आमाबाबुको छोराबाहेक अरू केही देख्दैनन् र नासरतका मानिसहरूले झैं प्रतिवाद गर्दै भन्छन्: “के यो यूसुफको छोरा येशू होइन र? यसको बुबा र आमालाई के हामी चिन्दैनौं र? त्यसोभए अहिले आएर यसले कसरी ‘म स्वर्गबाट ओर्लेर आएको हुँ’ भन्न सक्यो?”
तर येशू तिनीहरूलाई प्रत्युत्तरमा भन्नुहुन्छ: “तिमीहरू आपसमा गनगनाउन छोड। मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन र म उसलाई आखिरी समयमा पुनर्जीवित पार्नेछु। भविष्यवक्ताहरूको लेखोटमा लेखिएको छ, ‘अनि तिनीहरू सबै यहोवाबाट सिकाइएका हुनेछन्।’ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ। मबाहेक अरू कसैले बुबालाई कहिल्यै देखेको छैन। म, जो परमेश्वरबाट आएको हुँ, मैले मात्र उहाँलाई देखेको छु। तिमीहरूलाई म साँच्चै भन्छु, जसले विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ।”
कुरा अघि बढाउँदै येशू दोहोऱ्याएर भन्नुहुन्छ: “म जीवन दिने रोटी हुँ। तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए; तैपनि तिनीहरू मरे। स्वर्गबाट ओर्लेर आउने रोटी यही हो र जसले यो खान्छ, ऊ मर्दैन। स्वर्गबाट ओर्लेर आएको म, जीवन दिने रोटी हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैंभरि बाँच्नेछ।” हो, परमेश्वरले पठाउनुभएका येशूमाथि विश्वास गरेर मानिसहरूले अनन्त जीवन पाउन सक्छन्। मन्न अथवा अरू कुनै प्रकारको रोटीले मानिसलाई यसप्रकारको जीवन दिन सक्दैन!
मानिसहरूले येशूलाई कफर्नहुमनजिक भेट्टाएको केही समयपछि नै स्वर्गबाट ओर्लेर आएको रोटीको छलफल सुरु भएजस्तो छ। तर यो छलफल चलिरहन्छ र पछि कफर्नहुमको सभाघरमा येशूले शिक्षा दिंदा मात्र यसको टुङ्गो लाग्छ। यूहन्ना ६:२५-५१,५९; भजन ७८:२४; यशैया ५४:१३; मत्ती १३:५५-५७.
▪ स्वर्गबाट ओर्लेर आएको रोटीबारे छलफल सुरु हुनुभन्दा केही समयअघि मात्र के-कस्ता घटनाहरू घटेका थिए?
▪ येशूले भर्खरै गर्नुभएका कुराहरूलाई ध्यानमा राख्दै मानिसहरूले चिन्हको माग गर्नु किन अत्यन्त अनुचित छ?
▪ स्वर्गबाट ओर्लेर आएको साँचो रोटी आफू नै हो भनी येशूले दाबी गर्नुभयो भनेर यहूदीहरू किन गनगन गर्छन्?
▪ स्वर्गबाट ओर्लेर आएको रोटीबारे कुन ठाउँमा छलफल गरिएको थियो?