अध्याय ५९
येशू वास्तवमा को हुनुहुन्छ?
येशू र उहाँका चेलाहरू चढेको डुङ्गा बेथसेदा आइपुगेपछि मानिसहरूले एउटा अन्धा मानिसलाई उहाँकहाँ ल्याउँछन् र त्यसलाई छोएर निको पारिदिन बिन्ती गर्छन्। येशूले त्यस मानिसलाई हात समातेर गाउँबाट बाहिर लैजानुहुन्छ र उसको आँखामा थुकेर उसलाई सोध्नुहुन्छ: “के तिमी केही देख्छौ?”
त्यस मानिसले जवाफ दिन्छ: “म मानिसहरू देख्छु तर तिनीहरू यताउता हिंडिरहेका रूखहरूजस्तै देखिन्छन्।” त्यस मानिसको आँखामा आफ्नो हात राखेर येशूले उसलाई प्रस्टसित देख्न सक्ने पारिदिनुहुन्छ। सहरमा प्रवेश नगर्नू भन्ने निर्देशन दिएर त्यस मानिसलाई येशूले घर पठाइदिनुहुन्छ।
अब येशू आफ्ना चेलाहरूसहित प्यालेस्टाइनको एकदमै उत्तरमा, सिजरिया फिलिप्पीका गाउँहरूमा जानुहुन्छ। सिजरिया फिलिप्पीको सुन्दर स्थल पुग्न करिब ४८ किलोमिटर उकालो चढ्नुपर्छ। यो ठाउँ समुद्री सतहभन्दा लगभग ३५० मिटर उचाइमा छ। यो यात्राको लागि सम्भवतः केही दिन लाग्छ।
बाटोमा आफू एक्लै प्रार्थना गर्न येशू सुटुक्क जानुहुन्छ। उहाँको मृत्यु हुन अब करिब नौ/दस महिना जति मात्र बाँकी छ र उहाँ आफ्ना चेलाहरूबारे चिन्तित हुनुहुन्छ। धेरै जना उहाँका पछि लाग्न छाडिसकेका छन्। अरूहरू अलमलमा परेका छन्। तिनीहरू निराश भएका छन् किनभने उहाँलाई राजा बनाउने मानिसहरूको प्रयासलाई उहाँले इन्कार गर्नुभयो। उहाँको राज्यसत्तालाई प्रमाणित गर्न स्वर्गबाट एउटा चिन्ह मागेर विरोधीहरूले चुनौती दिंदा पनि उहाँले कुनै प्रमाण दिनु भएन। उहाँका प्रेषितहरूको विचारमा उहाँ को हुनुहुन्छ? उहाँ प्रार्थना गरिरहनुभएको ठाउँमा तिनीहरू आएपछि येशू सोध्नुहुन्छ: “मानिसहरूले म को हुँ भन्दैछन्?”
तिनीहरूले जवाफ दिन्छन्: “कसैले बप्तिस्मा गराउने यूहन्ना, कसैले एलिया अनि कसै-कसैले चाहिं भविष्यवक्ताहरूमध्ये कोही एक।” हो, येशू ती मरेकाहरूमध्येबाट ब्यूँताइएका एक जना हुनुहोला भनी मानिसहरू ठान्छन्!
येशूले तिनीहरूलाई सोध्नुहुन्छ: “त्यसोभए, तिमीहरूचाहिं म को हुँ भन्छौ?”
पत्रुस झट्ट जवाफ दिन्छन्: “तपाईं जीवित परमेश्वरका छोरा, ख्रीष्ट हुनुहुन्छ।”
पत्रुसको जवाफप्रति स्वीकृति व्यक्त गर्दै येशू भन्नुहुन्छ: “म तिमीलाई यो पनि भन्छु, तिमी पत्रुस हौ र म यस चट्टानमाथि आफ्नो मण्डली बनाउनेछु अनि चिहान त्यसमाथि विजयी हुनेछैन।” यहाँ प्रथम पटक उहाँले घोषणा गर्नुहुन्छ कि उहाँले एउटा मण्डली खडा गर्नुहुनेछ र त्यसका सदस्यहरूले पृथ्वीमा वफादार जीवन बिताइसकेपछि तिनीहरूमाथि मृत्युको पनि कुनै अधिकार हुनेछैन। अनि उहाँ पत्रुसलाई भन्नुहुन्छ: “म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु।”
यसप्रकार पत्रुसले विशेषाधिकारहरू पाउनेछन् भनी येशू प्रकट गर्नुहुन्छ। तर यसको अर्थ पत्रुसलाई प्रेषितहरूमध्ये प्रथम स्थान दिइने होइन, नता तिनलाई मण्डलीको जग नै बनाइएको हो। स्वयम् येशू नै चट्टान हुनुहुन्छ जसमाथि उहाँको मण्डली खडा हुनेछ। तर पत्रुसलाई तीन वटा साँचाहरू दिइनेछन् जसद्वारा मानिसहरूका विभिन्न समूहलाई स्वर्गको राज्यमा प्रवेश गर्ने मौका खोलिनेछ।
बाँच्नका लागि के गर्नुपर्नेछ भनी पश्चात्तापी यहूदीहरूलाई देखाउन इस्वी संवत् ३३ को पेन्तिकोसको दिनमा पत्रुसले प्रथम साँचो प्रयोग गर्नेछन्। त्यसपछि विश्वास गर्ने सामरीहरूका लागि परमेश्वरको राज्यमा प्रवेश गर्ने मौका दिन तिनले दोस्रो साँचो प्रयोग गर्नेछन्। अनि खतना नगरिएका अन्यजातिका मानिसहरू अर्थात् कर्नीलियस र तिनका साथीहरूका निम्ति सोही मौका खोल्न पत्रुसले इस्वी संवत् ३६ मा तेस्रो साँचो प्रयोग गर्नेछन्।
येशू आफ्ना प्रेषितहरूसित छलफल जारी राख्नुहुन्छ। उहाँले अब चाँडै नै यरूशलेममा सामना गर्नुपर्ने दुःख र मृत्युबारे बताउनुहुँदा तिनीहरू निराश हुन्छन्। येशू पुनर्जीवित हुनुहुनेछ र उहाँले स्वर्गीय जीवन प्राप्त गर्नुहुनेछ भन्ने कुरा नबुझेर पत्रुसले येशूलाई अलग्गै लगेर भन्छन्: “प्रभु, आफ्नो विषयमा त्यस्तो अनिष्ट कुरा नगर्नुहोस्। तपाईंलाई कुनै हालतमा यस्तो हुनेछैन।” फर्केर येशू जवाफ दिनुहुन्छ: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ, किनकि तिम्रो सोचाइ परमेश्वरको होइन तर मानिसहरूको हो।”
प्रत्यक्षतः प्रेषितहरूबाहेक अरूहरू पनि येशूसित यात्रा गरिरहेका छन्। त्यसकारण उहाँ तिनीहरूलाई आफ्नो नजिक बोलाउनुहुन्छ र उहाँको चेला हुन सजिलो हुनेछैन भनी व्याख्या गर्नुहुन्छ। “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्। किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो र सुसमाचारको खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो बचाउनेछ।”
हो, येशूको स्वीकृति पाउने योग्यका प्रमाणित गर्ने हो भने येशूका अनुयायीहरूमा हिम्मत र आत्म-त्यागको भावना हुनुपर्छ। उहाँ भन्नुहुन्छ: “किनकि परमेश्वरप्रति वफादार नरहने पापी पुस्तामाझ मेरो चेला बन्न र मेरा वचनहरूमा विश्वास गर्न जसले सरम मान्छ, मानिसको छोरा पनि आफ्नो बुबाले दिनुभएको गौरवसहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा उसलाई स्वीकार्न सरम मान्नेछ।” मर्कूस ८:२२-३८; मत्ती १६:१३-२८; लूका ९:१८-२७.
▪ आफ्ना चेलाहरूका निम्ति येशू किन चिन्तित हुनुहुन्छ?
▪ येशू को हुनुहुन्छ भन्ने विषयमा मानिसहरूको विचार के छ?
▪ पत्रुसलाई कुन साँचाहरू दिइन्छन् र त्यसको प्रयोग कसरी गरिन्छ?
▪ पत्रुसलाई कुन कुराका लागि सच्याइन्छ र किन?