अध्याय ७१
फरिसीहरू जानाजानी अविश्वास गर्छन्
पहिले अन्धो रहेको माग्नेका आमाबुबालाई फरिसीहरूले बोलाउँदा तिनीहरू थर्कमान हुन्छन्। येशूमाथि विश्वास गर्ने कुनै पनि व्यक्तिलाई सभाघरबाट निस्कासन गर्ने निर्णय भएको छ भनी तिनीहरूलाई थाह छ। समाजका अरू सदस्यहरूको सङ्गतिबाट यसरी बहिष्कृत हुँदा खासगरि एउटा गरिब परिवारका लागि विशेष कठिनाइ आइपर्न सक्छ। त्यसकारण आमाबुबा सचेत छन्।
फरिसीहरू सोध्छन्: “के यो तिमीहरूको छोरा हो, जो जन्मैदेखि अन्धो थियो भनी तिमीहरू भन्छौ? त्यसोभए, अहिले उसले कसरी देख्न सक्यो त?”
आमाबुबा स्वीकृति जनाउँदै भन्छन्: “यो हाम्रो छोरा हो र ऊ जन्मैदेखि अन्धो थियो भनेर हामीलाई थाह छ। तर ऊ अहिले कसरी देख्ने भयो वा कसले उसको आँखा खोलिदियो, त्योचाहिं हामीलाई थाह छैन।” निश्चय पनि छोराले तिनीहरूलाई जम्मै कुरा भनेको हुनुपर्छ तर आमाबुबाले बडो होसियारीसाथ भन्छन्: “उसैलाई सोध्नुहोस्। उसको उमेर पुगिसक्यो। आफ्नो विषयमा ऊ आफैले बताउनुपर्छ।”
त्यसकारण फरिसीहरूले त्यस मानिसलाई फेरि बोलाउँछन्। येशूका विरुद्धमा दोषपूर्ण प्रमाण तिनीहरूले जम्मा पारेका छन् भन्दै तिनीहरूले उसलाई यस पटक धम्काउने प्रयास गर्छन्। तिनीहरू त्यस मानिसलाई भन्छन्: “परमेश्वरको महिमा गर; यो मानिस पापी हो भनेर हामीलाई थाह छ।”
पहिलेको त्यो अन्धो मानिसले तिनीहरूले लगाएको आरोप तिरस्कार नगरिकनै भन्छ: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाह छैन। मलाई यति मात्र थाह छ, पहिला म अन्धो थिएँ तर अहिले देख्ने भएको छु।”
उसको बयानमा खोट फेला पार्ने प्रयास गर्दै फरिसीहरू फेरि सोध्छन्: “उसले तिमीलाई के गऱ्यो? उसले तिम्रो आँखा कसरी खोलिदियो?”
त्यस मानिसले जवाफ दिन्छ: “मैले तपाईंहरूलाई पहिल्यै भनिसकें नि, तर तपाईंहरूले सुन्नुभएन। तपाईंहरू किन फेरि सुन्न चाहनुहुन्छ?” व्यङ्ग्य गर्दै उसले सोध्छ: “तपाईंहरू पनि उहाँको चेला बन्न चाहनुहुन्छ कि?”
यो जवाफ सुनेर फरिसीहरू क्रोधित हुन्छन्। तिनीहरूले त्यसलाई हप्काउँदै भन्छन्: “तिमी नै हौ, त्यस मानिसको चेला; हामी त मोशाका चेलाहरू हौं। परमेश्वरले मोशासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ; तर यस मानिसको विषयमा भने ऊ कहाँबाट आएको हो, हामीलाई थाह छैन।”
अचम्म मान्दै त्यो नम्र माग्ने भन्छ: “कस्तो अचम्मको कुरा! उहाँ कहाँबाट आउनुभएको हो, तपाईंहरूलाई थाह छैन, तैपनि उहाँले मेरो आँखा खोलिदिनुभयो।” यसबाट हामी कुन निष्कर्ष निकाल्न सक्छौं? सबैले स्वीकार गरेको सिद्धान्ततर्फ सङ्केत गर्दै यो माग्ने भन्छ: “हामीलाई थाह छ, परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न तर यदि कसैले परमेश्वरको डर मान्छ अनि उहाँको इच्छा पूरा गर्छ भने उहाँले उसको कुरा सुन्नुहुन्छ। जन्मजात अन्धो मानिसको आँखा कसैले खोलिदियो भनेर आजसम्म सुनिएको छैन।” यसकारण निष्कर्ष स्पष्ट हुनुपर्छ: “यदि उहाँ परमेश्वरबाट आउनुभएको नहुँदो हो त, उहाँले केही पनि गर्न सक्नुहुने थिएन।”
यसप्रकारको सोझो र स्पष्ट तर्कको सामुन्ने फरिसीहरूसँग कुनै जवाफ छैन। तिनीहरू सत्यको सामना गर्न नसकेर त्यस मानिसको ठट्टा गर्दै भन्छन्: “पापैमा जन्मेको मानिस भएर पनि के तिमी हामीलाई सिकाउँदैछौ?” त्यसपछि तिनीहरूले त्यस मानिसलाई बाहिर घोक्य्राइदिन्छन् अर्थात् सभाघरबाट निकालिदिन्छन्।
तिनीहरूको कर्तुतबारे थाह पाएपछि येशूले त्यस मानिसलाई फेला पार्नुहुन्छ र भन्नुहुन्छ: “के तिमी मानिसको छोरामाथि विश्वास गर्छौ?”
प्रत्युत्तरमा पहिलेको अन्धो माग्ने सोध्छ: “हजुर, उहाँ को हुनुहुन्छ, ताकि मैले उहाँमाथि विश्वास गर्न सकूँ?”
येशू जवाफ दिनुहुन्छ: “तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।”
तुरुन्तै त्यो मानिस येशूका अगाडि दण्डवत् गर्दै भन्छ: “प्रभु, म उहाँमाथि विश्वास गर्छु।”
यसपछि येशू व्याख्या गर्नुहुन्छ: “म यस्तो न्याय गर्न संसारमा आएको हुँ: ज-जसले देख्दैनन्, तिनीहरूले देखून् र ज-जसले देख्छन्, तिनीहरू अन्धा होऊन्।”
त्यसबेला कुरा सुनिरहेका फरिसीहरूले सोध्छन्: “हामी त अन्धा होइनौं नि, हौं र?” तिनीहरूले आफ्नो मानसिक अन्धोपना स्वीकारेका भए तिनीहरूले येशूको विरोध गरेकोमा क्षमा पाउन सक्थे। येशू तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरू अन्धा हुँदा हौ त, तिमीहरूमा पाप हुने थिएन।” तथापि आफूहरू अन्धा छैनौं र आफूहरूलाई परमेश्वरसँग सम्बन्धित ज्ञानको खाँचो छैन भन्दै तिनीहरूले मूर्खतासाथ जिद्दी गरेकोले येशू भन्नुहुन्छ: “तिमीहरू ‘हामी देख्छौं’ भन्छौ। त्यसैले तिमीहरूको पाप रहिरहन्छ।” यूहन्ना ९:१९-४१.
▪ फरिसीहरूले बोलाउँदा पहिलेको अन्धा माग्नेका आमाबुबा किन डराउँछन् र होसियारीसित तिनीहरूले कस्तो जवाफ दिन्छन्?
▪ त्यो पहिलेको अन्धो मानिसलाई फरिसीहरूले कसरी धम्काउने प्रयास गर्छन्?
▪ त्यस मानिसको कुन तर्कपूर्ण बहसले फरिसीहरू क्रोधित हुन्छन्?
▪ येशूको विरोध गरेकोमा फरिसीहरूले किन क्षमा पाउने छैनन्?