अध्याय ९०
पुनर्जीवनको आशा
येशू आखिरमा यरूशलेमदेखि करिब ३ किलोमिटर टाढा बेथानीनजिक आइपुग्नुहुन्छ। लाजरस मरेर तिनलाई गाडेको केही दिन मात्र भएको छ। तिनकी दिदी मरियम र मार्था अझै शोक मनाउँदैछन् र तिनीहरूलाई सान्त्वना दिन धेरै मानिसहरू तिनीहरूका घरमा आएका छन्।
तिनीहरू शोक मनाइरहेकै बेलामा येशू आइरहनुभएको छ भनी मार्थालाई कसैले सूचना दिन्छ। अतः तिनी सबै थोक छाडेर सायद आफ्नी बहिनीलाई पनि नभनिकनै येशूलाई भेट्न चाँडचाँडो जान्छिन्। येशूकहाँ आइपुगेपछि मार्थाले येशूलाई त्यही कुरा दोहोऱ्याउँदै भन्छिन् जुन कुरा तिनी र तिनकी बहिनीले बितेका चार दिनदेखि कति पटक भनिसकेकी होलिन्: “तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।”
तथापि अझै पनि येशूले लाजरसका निम्ति केही गर्नुहुन्छ कि भन्ने आशा जाहेर गर्दै मार्था यसो भन्छिन्: “मलाई थाह छ, तपाईंले परमेश्वरसित जेसुकै माग्नुभए तापनि उहाँले तपाईंलाई दिनुहुनेछ।”
“तिम्रो भाइ ब्यूँतनेछ,” येशू प्रतिज्ञा गर्नुहुन्छ।
अब्राहाम र परमेश्वरका अन्य सेवकहरूले राखेको आशा अर्थात् भविष्यमा पृथ्वीमा पुनर्जीवित हुने विषयमा येशू कुरा गर्नुहुँदैछ भनी मार्था ठान्छिन्। यसैकारण तिनले यसप्रकार जवाफ दिन्छिन्: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ।”
तथापि येशूले तुरुन्तै पाइने उद्धारको आशा दिनुहुन्छ र यसो भन्नुहुन्छ: “पुनर्जीवन र जीवन मै हुँ।” परमेश्वरले आफूलाई मृत्युमाथि शक्ति दिनुभएको कुरा मार्थालाई याद दिलाउँदै येशू भन्नुहुन्छ: “जसले ममाथि विश्वास गर्छ, ऊ मऱ्यो भने पनि फेरि जीवित हुनेछ। अनि जो अहिले जीवित छ र ममाथि विश्वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।”
त्यसबेला बाँचेका विश्वासीहरू कहिल्यै मर्नेछैनन् भनी येशूले मार्थालाई भन्नुभएको होइन। उहाँले के भन्न खोज्नुभएको हो भने उहाँमाथिको विश्वासले अनन्त जीवनतर्फ लैजान सक्नेछ। आखिरी दिनमा पुनर्जीवित हुने धेरै मानिसहरूले यसप्रकारको जीवनको आनन्द उठाउन सक्नेछन्। तर अरू विश्वासीहरूचाहिं यस युगको अन्त हुँदा पृथ्वीमै बाँचिरहनेछन्। तिनीहरूका निम्ति येशूका यी शब्दहरू शाब्दिक अर्थमै सत्य साबित हुनेछ। तिनीहरू कहिल्यै मर्नेछैनन्! यो असाधारण बयानपछि येशू मार्थालाई सोध्नुहुन्छ: “के तिमी यो कुरा विश्वास गर्छ्यौ?”
तिनी जवाफ दिन्छिन्: “गर्छु प्रभु। तपाईं नै परमेश्वरका छोरा अनि संसारमा आउनेवाला ख्रीष्ट हुनुहुन्छ भनेर मैले विश्वास गरेकी छु।”
मार्था आफ्नी बहिनीलाई बोलाउन चाँडचाँडो जान्छिन् र खुसुक्क भन्छिन्: “गुरुज्यू उपस्थित हुनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।” मरियम तुरुन्तै जान्छिन्। अरूहरूले तिनलाई गइरहेकी देखेर तिनी चिहानमा गएकी होलिन् भन्ठान्छन् र तिनीहरू पनि तिनको पछि-पछि लाग्छन्।
येशूका नजिक आइपुगेपछि उहाँको पाउ परेर रुँदै तिनी यसो भन्छिन्: “हे प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” मरियम र तिनका पछि-पछि आउने मानिसहरू रोइरहेको देखेर येशूको मन पग्लन्छ। उहाँ सोध्नुहुन्छ: “तिमीहरूले उसलाई कहाँ राखेका छौ?”
तिनीहरूले जवाफ दिन्छन्: “प्रभु, आएर हेर्नुहोस्।”
तब येशू पनि रुनुहुन्छ, जसले गर्दा यहूदीहरू भन्छन्: “हेर त, उहाँले तिनलाई कत्ति माया गर्नुहुँदो रहेछ!”
केही महिनाअघि झुप्रोबासको चाडको समयमा येशूले एउटा अन्धाको आँखा निको पारिदिनुभएको थियो। यस कुराको कसै-कसैलाई सम्झना हुन्छ र तिनीहरू सोध्छन्: “अन्धो मानिसको आँखा खोलिदिने यस मानिसले के उसलाई चाहिं मर्नदेखि रोक्न सकेन?” यूहन्ना ५:२१; ६:४०; ९:१-७; ११:१७-३७.
▪ आखिरमा येशू बेथानीनजिक कहिले आइपुग्नुहुन्छ र त्यहाँ के भइरहेछ?
▪ मार्थाले केको आधारमा पुनर्जीवनमाथि विश्वास गर्छिन्?
▪ लाजरसको मृत्युले येशूमाथि के-कस्तो असर पार्छ?