अध्याय ९५
सम्बन्धविच्छेद र केटाकेटीलाई प्रेम गर्ने विषयमा शिक्षा
येशू आफ्ना चेलाहरूका साथ इस्वी संवत् ३३ को निस्तार-चाड मनाउन यरूशलेमतर्फ जाँदै हुनुहुन्छ। यर्दन नदी पार गरेर उहाँहरू पेरिया जिल्लाको बाटो हुँदै जानुहुन्छ। केही हप्ताअघि येशू पेरियामा हुनुहुन्थ्यो तर उहाँका मित्र लाजरस बिरामी भएकोले उहाँलाई यहूदियामा बोलाइएको थियो। पेरियामा हुँदा येशूले फरिसीहरूसित सम्बन्धविच्छेदबारे कुरा गर्नुभएको थियो र अब तिनीहरूले फेरि त्यही विषय उठाउँछन्।
सम्बन्धविच्छेदबारे फरिसीहरूबीच विभिन्न विचारधारा छन्। एक जना स्त्रीमा केही “खोट” पाइएमा उसलाई सम्बन्धविच्छेद गर्न सकिन्छ भनेर मोशाले भनेका थिए। कसै-कसैको विचारमा यो “खोट” भनेको चरित्रहीन हुनु हो। तर अरूहरूको विचारमा “खोट” भन्नाले सानोतिनो गल्ती पनि हुन सक्छ। अतः येशूलाई परीक्षा गर्न फरिसीहरूले सोध्छन्: “एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु के ठीक हो?” येशूले जे जवाफ दिए तापनि उहाँ फरिसीहरूसित विवादमा पर्नुहुनेछ भनी तिनीहरू विश्वस्त छन् किनकि फरिसीहरूको दृष्टिकोण बेग्लै छ।
कुनै मानवीय विचारधारालाई आधार बनाएर होइन तर विवाहको सुरुको उद्देश्यतर्फ सङ्केत गर्दै येशूले कौशलतापूर्वक यस प्रश्नको जवाफ दिनुहुन्छ। उहाँ सोध्नुहुन्छ: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो र भन्नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्’? त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण, जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”
पति-पत्नीहरू एक अर्कासँग मिलेर बस्नुपर्छ र सम्बन्धविच्छेद नगर्नु नै परमेश्वरको सुरुको उद्देश्य हो भनेर येशू देखाउनुहुन्छ। त्यसैले फरिसीहरू प्रश्न गर्छन्: “त्यसोभए मोशाले किन छोडपत्र दिएर तिनीसित सम्बन्धविच्छेद गर्ने आज्ञा दिए त?”
येशू जवाफ दिनुहुन्छ: “तिमीहरूको मन कठोर भएकोले मोशाले तिमीहरूलाई आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन् तर सुरुदेखि त यस्तो थिएन।” हो, अदनको बगैंचामा परमेश्वरले विवाहको वास्तविक स्तर स्थापित गर्दा उहाँले सम्बन्धविच्छेद गर्ने कुनै आधार दिनुभएन।
फरिसीहरूलाई येशू अझै भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, जसले अवैध यौनसम्बन्धबाहेक [ग्रीकमा पोर्निया] अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले परस्त्रीसित यौन सम्बन्ध राखेको ठहरिन्छ।” यसबाट उहाँले देखाउनु हुन्छ कि पोर्निया अर्थात् घोर यौन अनैतिकता भएको खण्डमा सम्बन्धविच्छेद गर्दा मात्र परमेश्वरको सामुन्ने ग्रहणयोग्य हुनेछ।
सम्बन्धविच्छेद गर्ने यो कारणबाहेक विवाह सदाको बन्धन हो भनी बुझेपछि चेलाहरू भन्छन्: “पति-पत्नीको सम्बन्ध यस्तै हुने हो भने त विवाह नगर्नु नै बेस रहेछ।” विवाह गर्ने विचार गरिरहेको व्यक्तिले वैवाहिक बन्धनको स्थायित्वबारे निश्चय नै गम्भीरतापूर्वक सोच्नु आवश्यक छ!
येशू अब अविवाहित रहने सम्बन्धमा कुरा गर्नुहुन्छ। केही केटाहरू आमाको गर्भदेखि नै नपुंसक हुन्छन् अर्थात् तिनीहरूको यौन विकास नभएकोले तिनीहरू विवाह गर्न सक्दैनन् भनेर येशू भन्नुहुन्छ। कति जनालाई चाहिं मानिसहरूले नपुंसक बनाइदिएका हुन्छन् अर्थात् क्रूरतासाथ तिनीहरूलाई यौन क्रियाका लागि असमर्थ तुल्याइदिएका हुन्छन्। अन्तमा कतिले चाहिं स्वर्गीय राज्यको लागि पूर्ण समय बिताउने उद्देश्यले विवाह गर्ने र यौन आनन्द उठाउने इच्छालाई दबाएका हुन्छन्। “जो अविवाहित रहन सक्छ, त्यो अविवाहित नै रहोस्” भनेर येशू कुरा टुङ्ग्याउनुहुन्छ।
अब मानिसहरूले आफ्ना साना केटाकेटीलाई येशूकहाँ ल्याउँछन्। तर चेलाहरूले तिनीहरूलाई हप्काएर पठाइदिन खोज्छन्। चेलाहरूले येशूलाई नचाहिंदो झन्झटबाट बचाउन चाहन्छन् होला। तर येशू भन्नुहुन्छ: “साना केटाकेटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज, किनकि स्वर्गको राज्य यिनीहरूजस्ताकै हो। म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले एउटा सानो बालकले जस्तै गरी परमेश्वरको राज्यलाई स्वीकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”
येशूले यहाँ कत्ति असल शिक्षाहरू प्रस्तुत गर्नुहुन्छ! साना केटाकेटी नम्र हुन्छन् र तिनीहरूलाई सिकाउन सजिलो हुन्छ। त्यसैले परमेश्वरको राज्यमा पस्न हामी ती केटाकेटीजस्तै हुनुपर्छ। साथै, आफ्ना छोराछोरीसित आमाबुबाले समय बिताउनु पनि कत्ति महत्त्वपूर्ण छ भनेर येशूको उदाहरणले प्रस्ट पार्छ। येशूले अब केटाकेटीलाई आफ्नो अँगालोमा लिनुहुन्छ र तिनीहरूलाई आशिष् दिंदै तिनीहरूप्रति प्रेम देखाउनुहुन्छ। मत्ती १९:१-१५; व्यवस्था २४:१; लूका १६:१८; मर्कूस १०:१-१६; लूका १८:१५-१७.
▪ सम्बन्धविच्छेदबारे फरिसीहरूका बीचमा कस्ता विचारधारा छन् र तिनीहरूले कसरी येशूको परीक्षा गर्छन्?
▪ फरिसीहरूले येशूको परीक्षा गर्ने प्रयास गर्दा उहाँले त्यसको सामना कसरी गर्नुहुन्छ र सम्बन्धविच्छेद गर्नका निम्ति उहाँले कुन एउटा आधार मात्र प्रस्तुत गर्नुहुन्छ?
▪ विवाह गर्नु उचित छैन भनी येशूका चेलाहरूले किन भन्छन् र येशूले के गर्ने सल्लाह दिनुहुन्छ?
▪ साना केटाकेटीसित येशूले गर्नुभएको व्यवहारद्वारा उहाँ हामीलाई के शिक्षा दिनुहुन्छ?