अध्याय १०२
यरूशलेममा ख्रीष्ट जयजयकारका साथ प्रवेश गर्नुहुन्छ
भोलिपल्ट बिहान, आइतबार नीसान ९ का दिन येशू आफ्ना चेलाहरूसित बेथानीबाट हिंड्नुहुन्छ र जैतुन डाँडा पार गर्दै यरूशलेमतर्फ जानुहुन्छ। केही समयमै उहाँहरू जैतुन डाँडास्थित बेथफागेको नजिक आइपुग्नुहुन्छ। येशूले दुई जना चेलाहरूलाई यसरी अह्राउनुहुन्छ:
“तिमीहरूले देखिरहेको त्यो गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधा र त्यसको पाजीलाई बाँधेर राखेको भेट्टाउनेछौ। ती फुकाएर यहाँ मकहाँ ल्याओ। यदि कसैले केही सोध्यो भने, तिमीहरूले यसो भन्नू, ‘प्रभुलाई यी चाहिएको छ।’ अनि उसले तुरुन्तै ती तिमीहरूसित पठाउनेछ।”
यी आदेशहरू बाइबल भविष्यवाणीको पूर्तिसँग सम्बन्धित छन्। तर यो कुरा चेलाहरूले सुरुमा बुझ्न नसके तापनि ती सम्बन्धित रहेछन् भनी तिनीहरूले पछि बुझ्छन्। परमेश्वरले प्रतिज्ञा गर्नुभएका राजा यरूशलेममा एउटा गधामाथि, “अर्थात् गधैनीको बछेडामाथि” सवार भएर आउनुहुनेछ भनी भविष्यवक्ता जकरियाले भविष्यवाणी गरेका थिए। राजा सुलेमान पनि त्यसैगरि गधाको पाजीमाथि सवार भएर अभिषिक्त हुन गएका थिए।
चेलाहरू बेथफागेमा प्रवेश गरेर गधा र त्यसको पाजीलाई ल्याउन लाग्दा त्यहाँ उभिएकाहरूमध्ये कसै-कसैले तिनीहरूलाई भन्छन्: “तिमीहरू यो के गर्दैछौ?” तर यी जनावरहरू प्रभुका निम्ति हुन् भनेपछि तिनीहरूले लैजान दिन्छन्। चेलाहरूले आफ्ना लुगाहरू गधा र त्यसको पाजीमाथि राखिदिन्छन् तर येशू पाजीमाथि सवार हुनुहुन्छ।
येशू यरूशलेमतर्फ जाँदा भीड बढ्दै जान्छ। धेरै जनाले आ-आफ्ना लुगाहरू र अरूहरूले रूखका स्याउलाहरू काटेर बाटोमा ओछ्याउँछन्। अनि तिनीहरू कराउँछन्: “यहोवाको नाममा आउने राजा धन्यका होऊन्! स्वर्गमा शान्ति अनि सबैभन्दा उच्चस्थानमा विराजमान हुनुहुनेको महिमा होस्!”
भीडमा हुने कुनै-कुनै फरिसीहरू यो घोषणा सुनेर विचलित हुन्छन् र येशूसँग गुनासो गर्छन्: “गुरुज्यू, आफ्ना चेलाहरूलाई हप्काउनुहोस्।” तर येशू जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई भन्छु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू कराउनेछन्।”
येशू जसै यरूशलेम नजिक पुग्नुहुन्छ, सहरलाई देखेर यसो भन्दै रुनुहुन्छ: “यदि आजको दिन तैंले, हो तैंले कुन कुराले शान्ति दिन्छ भनेर बुझेको भए— तर ती अब तेरो नजरबाट लुकाइएका छन्।” जानाजानी अनाज्ञाकारी भएको परिणाम यरूशलेमले भोग्नै पर्छ। येशू भविष्यवाणी गर्नुहुन्छ:
“तेरा शत्रुहरूले [जर्नेल टाइटसको मातहतका रोमीहरूले] तेरो चारैतिर तीखा-तीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन् र चारैतिरबाट तँलाई पेल्नेछन्। तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने केटाकेटीहरूलाई भुइँमा पछार्नेछन् र एउटा ढुङ्गा माथि अर्को ढुङ्गा छोड्नेछैनन्।” येशूले भविष्यवाणी गर्नुभएको त्यो नाश यरूशलेममाथि वास्तवमा ३७ वर्षपछि इस्वी संवत् ७० मा आइपर्छ।
केही हप्ताअघि मात्र येशूले लाजरसलाई पुनर्जीवित गराएको देख्नेहरू पनि त्यस भीडमा उपस्थित छन्। अब तिनीहरू त्यस चमत्कारबारे अरूहरूलाई भनिरहन्छन्। अतः येशू यरूशलेममा प्रवेश गर्दा सारा सहरमा खैलाबैला मच्चिन्छ। मानिसहरू जान्न चाहन्छन्: “यिनी को हुन्?” र भीड भनिरहन्छ: “यिनी गालीलको नासरतका येशू हुन्। प्रतिज्ञा गरिएको भविष्यवक्ता यिनी नै हुन्।” त्यहाँ भइरहेका कुराहरू देखेर फरिसीहरू छटपट गर्दै भन्छन्: “सारा संसार उसको पछि लागिसक्यो!”
यरूशलेममा हुँदा आफ्नो रीतिअनुसार येशू मन्दिरमा शिक्षा दिन जानुहुन्छ। त्यहाँ अन्धा र लङ्गडाहरू उहाँकहाँ आउँछन् र उहाँले तिनीहरूलाई निको पारिदिनुहुन्छ! येशूले गरिरहनुभएका चमत्कारपूर्ण कामहरू देख्दा र ठिटाहरू मन्दिरमा “दाऊदका छोराको जय होस्!” भन्दै कराएको सुन्दा मुख्य पुजारीहरू र शास्त्रीहरू क्रोधित हुन्छन्। “यिनीहरू के भन्दैछन्, के तपाईं सुन्दै हुनुहुन्छ” भनी तिनीहरू विरोध गर्छन्।
येशू जवाफ दिनुहुन्छ: “सुन्दैछु। के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: ‘शिशुहरू अनि दूधे बालकहरूलाई तपाईंले आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?”
येशू शिक्षा दिने काम जारी नै राख्नुहुन्छ र मन्दिरभित्र वरिपरिका सबै कुरा हेर्दाहेर्दै अबेर हुन्छ। अतः आफ्ना बाह्रै जना चेलाहरूका साथ उहाँ तीन किलोमिटर जति हिंड्दै बेथानी जानुहुन्छ। त्यहाँ सायद आफ्ना मित्र लाजरसका घरमा आइतबारको रात बिताउनुहुन्छ। मत्ती २१:१-११, १४-१७; मर्कूस ११:१-११; लूका १९:२९-४४; यूहन्ना १२:१२-१९; जकरिया ९:९.
▪ कहिले र कुन प्रकारले येशू राजाको रूपमा यरूशलेम प्रवेश गर्नुहुन्छ?
▪ भीडले उहाँको प्रशंसा गर्नु कत्तिको महत्त्वपूर्ण छ?
▪ यरूशलेमलाई देखेर येशू कस्तो महसुस गर्नुहुन्छ र उहाँ के भविष्यवाणी गर्नुहुन्छ?
▪ येशू मन्दिरमा जाँदा के हुन्छ?