अध्याय १०५
एउटा निर्णायक दिनको प्रारम्भ
सोमबार बेलुकी येशू यरूशलेम छाडेर जैतुन डाँडाको पूर्वीय भीरमा रहेको बेथानी फर्कनुहुन्छ। यरूशलेममा उहाँको आखिरी सेवाको दुई दिन समाप्त भएको छ। यसबेला पनि येशू आफ्ना साथी लाजरससँग रात बिताउनुहुन्छ। शुक्रबार यरिहोबाट आएदेखि बेथानीमा बिताएको यो चौथो रात हो।
अब मङ्गलबार, नीसान ११ का दिन सबेरै उहाँ आफ्ना चेलाहरूका साथ फेरि बाटो लाग्नुहुन्छ। येशूको सेवाको कामको यो एउटा निर्णायक अर्थात् सबैभन्दा व्यस्त दिन साबित हुन्छ। मन्दिरमा उहाँ आज अन्तिम पटक देखा पर्नुहुन्छ। पुर्पक्ष र मृत्युभन्दा अघि उहाँको आम सेवाको कामको यो अन्तिम दिन हो।
येशू आफ्ना चेलाहरूसित पहिलेकै बाटो जैतुन डाँडा हुँदै यरूशलेमतर्फ जानुहुन्छ। बेथानीबाट हिंड्दा येशूले हिजो सराप दिएको रूख पत्रुसले देख्छन्। पत्रुस कराउँछन्: “रब्बी, हेर्नुहोस्! तपाईंले सराप दिनुभएको अन्जीरको रूख त सुकेछ।”
तर येशूले रूखलाई किन सुकाइदिनुभयो? कारण सङ्केत गर्दै येशू भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूसित विश्वास मात्र हुनुपर्छ अनि तिमीहरूले शङ्का गर्नु हुँदैन, तब मैले अन्जीरको रूखलाई जे गरें, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्’ भन्यौ भने त्यो पनि हुनेछ। तिमीहरूले विश्वाससहित प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाउनेछौ।”
अतः रूखलाई सुकाएर येशू चेलाहरूलाई परमेश्वरमाथि विश्वास राख्नु अत्यावश्यक छ भन्ने कुराको शिक्षा दिंदै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैं गरी विश्वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।” तिनीहरूले सिक्नुपर्ने कत्ति महत्त्वपूर्ण पाठ हो यो, खासगरि आउने डरलाग्दो परीक्षाको घडीलाई ध्यानमा राख्दा! तथापि अन्जीरको बोट सुक्ने कुरा र विश्वासको गुणस्तरबीच अर्को सम्बन्ध पनि छ।
अन्जीरको रूखजस्तै इस्राएल राष्ट्रको पनि एउटा छली रूप छ। त्यो राष्ट्र परमेश्वरसित एउटा करारमा बाँधिएको छ। बाहिरबाट हेर्दा तिनीहरूले त्यस करारका नियमहरूलाई पालन गरेका छन् जस्तो देखिए तापनि तिनीहरू फलविनाको रूखजस्तै अविश्वासी प्रमाणित भइसकेका छन्। विश्वासको कमीको कारण तिनीहरूले परमेश्वरका छोरालाई समेत तिरस्कार गर्न लागेका छन्! त्यसकारण फल नफलाउने त्यस अन्जीरको रूखलाई सुकाएर त्यो फलहीन, अविश्वासी राष्ट्रको अन्तिम अवस्था कस्तो हुनेछ भनी देखाउन येशू एउटा सजीव वर्णन दिंदै हुनुहुन्छ।
केही बेरपछि येशू र उहाँका चेलाहरू यरूशलेम प्रवेश गर्नुहुन्छ र आफ्नो चलनअनुसार उहाँहरू मन्दिरमा जानुहुन्छ अनि येशू शिक्षा दिन थाल्नुहुन्छ। अघिल्लो दिनमा पैसा साट्नेहरूमाथि येशूले गर्नुभएको कारबाही मुख्य पुजारीहरू र जन-साधारणका धर्म-गुरुहरूले बिर्सेका छैनन्। यसकारण तिनीहरू उहाँलाई चुनौती दिंदै सोध्छन्: “तपाईं कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? अथवा तपाईंलाई यसो गर्ने अख्तियार कसले दियो?”
प्रत्युत्तरमा येशू भन्नुहुन्छ: “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ देओ र म कुन अख्तियारले यी सब गर्दैछु, म पनि तिमीहरूलाई भन्छु। यूहन्नाले बप्तिस्मा गराउने अख्तियार परमेश्वरबाट पाए कि मानिसहरूबाट?”
पुजारीहरू र धर्म-गुरुहरू यसको जवाफ कसरी दिने भनी आपसमा छलफल गर्छन्। “ ‘परमेश्वरबाट’ भनौं भने ‘तिमीहरूले किन ऊमाथि विश्वास गरेनौ त’ भनेर उसले सोध्नेछ। तर ‘मानिसहरूबाट’ भनौं भने सबका सब मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन् किनकि तिनीहरू यूहन्नालाई भविष्यवक्ता मान्छन्।”
के जवाफ दिने हो, ती धर्म-गुरुहरू अलमल्लमा पर्छन्। त्यसकारण येशूलाई तिनीहरू भन्छन्: “हामीलाई थाह छैन।”
येशू पनि जवाफमा भन्नुहुन्छ: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।” मत्ती २१:१९-२७; मर्कूस ११:१९-३३; लूका २०:१-८.
▪ मङ्गलबार, नीसान ११ को के महत्त्व छ?
▪ अन्जीरको रूखलाई सुकाएर येशू के पाठ सिकाउनुहुन्छ?
▪ येशूले कुन अख्तियारले यी काम गर्नुहुन्छ भन्ने प्रश्न सोध्नेहरूलाई उहाँ कसरी जवाफ दिनुहुन्छ?