अध्याय १०८
येशूलाई फसाउन तिनीहरू असफल हुन्छन्
येशू मन्दिरमा शिक्षा दिइरहनुभएको छ। भर्खरै तीन वटा दृष्टान्त दिएर आफ्ना धार्मिक दुस्मनहरूको दुष्टतालाई उदाङ्ग पारिदिनुभएकोले फरिसीहरू उहाँसित क्रोधित हुन्छन्। उहाँलाई गिरफ्तार गर्नका लागि कुनै आपत्तिजनक कुरा उहाँको मुखबाट निकालेर उहाँलाई फसाउने सल्लाह तिनीहरू गर्छन्। तिनीहरू एउटा षड्यन्त्र रच्छन् र उहाँलाई फसाउने कोसिस गर्न हेरोदवादीहरूसित आफ्ना चेलाहरू पठाउँछन्।
यिनीहरू भन्छन्: “गुरुज्यू, हामीलाई थाह छ, तपाईं सत्यवादी हुनुहुन्छ र परमेश्वरको मार्ग ठीकसित सिकाउनुहुन्छ अनि तपाईं कसैको बहकाउमा पर्नुहुन्न, किनकि तपाईं मानिसहरूको मुख हेरेर व्यवहार गर्नुहुन्न। त्यसकारण तपाईंलाई कस्तो लाग्छ, हामीलाई भन्नुहोस्: सम्राट्लाई कर तिर्नु उचित हो कि होइन?”
येशू तिनीहरूको चापलुसी कुरामा लाग्नु हुन्न। उहाँले ‘होइन, कर तिर्नु मनासिब वा उचित होइन’ भन्नुभयो भने तिनीहरूले उहाँमाथि रोमको विरुद्धमा राजद्रोह गरेको दोष लगाउनेछन् भनी उहाँलाई थाह छ। अनि ‘कर तिर्नुपर्छ’ भन्नुभयो भने रोमी दमनलाई मन नपराउने यहूदीहरूले उहाँलाई घृणा गर्नेछन्। त्यसकारण उहाँ जवाफ दिनुहुन्छ: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा गर्छौ? कर तिर्ने सिक्का मलाई देखाओ।”
तिनीहरूले उहाँकहाँ एक दिनारको सिक्का ल्याएपछि येशू सोध्नुहुन्छ: “यसमा कसको चित्र र नाम छ?”
“सम्राट्को” भनी तिनीहरू जवाफ दिन्छन्।
“जे-जे सम्राट्का हुन्, सम्राट्लाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।” येशूको यो गजबको जवाफ सुनेर तिनीहरू जिल्ल पर्छन् र उहाँलाई छाडेर आफ्नो बाटो लाग्छन्।
येशूका खिलाफमा फरिसीहरूले केही गर्न नसकेको देखेर पुनर्जीवनमा विश्वास नगर्ने सदुकीहरू उहाँकहाँ आएर सोध्छन्: “गुरुज्यू, ‘यदि कुनै मानिस निःसन्तान मऱ्यो भने उसको भाइले आफ्नो दाइकी पत्नीसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोशाले भनेका छन्। हामीसँग सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र कुनै सन्तान नजन्माई मऱ्यो। त्यसैले भाइले दाइकी पत्नीसित विवाह गऱ्यो। यही क्रम माइलो, साइँलो हुँदै सातौं भाइसम्म चल्यो। अन्तमा त्यो स्त्री पनि मरी। त्यसोभए, तिनीहरू पुनर्जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि त्यो सबैकी पत्नी भइसकेकी थिई।”
प्रत्युत्तरमा येशू जवाफ दिनुहुन्छ: “तिमीहरूले गलत बुझिरहेका छौ, किनकि तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिलाई नै बुझेका छौ। किनकि मृत्युबाट ब्यूँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन् तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्। मरेकाहरू ब्यूँतने विषयमा के तिमीहरूले पोथ्रासम्बन्धी मोशाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूको होइन, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।”
भीड फेरि येशूको जवाफ सुनेर छक्क पर्छ। कुनै-कुनै शास्त्रीहरूसमेत भन्छन्: “गुरुज्यू, तपाईंले सत्य कुरा भन्नुभयो।”
येशूले सदुकीहरूलाई चुप पार्नुभएको देखेपछि फरिसीहरू उहाँकहाँ एक जुट भएर आउँछन्। फेरि उहाँको परीक्षा गर्न तिनीहरूमध्येका एक जनाले सोध्छन्: “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?”
येशू जवाफ दिनुहुन्छ: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ। त्यसैले तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’ दोस्रोचाहिं यो हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ यीभन्दा ठूलो आज्ञा अर्को छैन।” वास्तवमा येशू थप्नुहुन्छ: “यिनै दुई आज्ञामा सारा व्यवस्था र भविष्यवक्ताहरूको शिक्षा अडिएको छ।”
शास्त्री समर्थन गर्दै भन्छन्: “गुरुज्यू, तपाईंले सत्य कुरा भन्नुभयो, ‘उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन।’ उहाँलाई आफ्नो सारा मनले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु, सबै अग्निभेटी र बलिदानभन्दा धेरै उत्तम हो।”
शास्त्रीले बुद्धिमानीसाथ दिएको जवाफ सुनेर येशू उनलाई भन्नुहुन्छ: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।”
तीन दिनसम्म—आइतबार, सोमबार र मङ्गलबार—येशू मन्दिरमा शिक्षा दिनुहुन्छ। मानिसहरू खुसीसाथ उहाँको कुरा सुन्छन् तर धर्म-गुरुहरूचाहिं उहाँको हत्या गर्न चाहन्छन्। तर अहिलेसम्मको तिनीहरूका प्रयासहरू विफल भएका छन्। मत्ती २२:१५-४०; मर्कूस १२:१३-३४; लूका २०:२०-४०.
▪ येशूलाई फसाउन फरिसीहरू कस्तो षड्यन्त्र रच्छन् र यदि उहाँले हो अथवा होइन भनी जवाफ दिएमा परिणाम के हुने थियो?
▪ येशूलाई फसाउने सदुकीहरूको चाललाई उहाँले कसरी बेकाम पारिदिनुहुन्छ?
▪ येशूलाई परीक्षामा पार्न अर्को कस्तो प्रयास फरिसीहरू गर्छन् र परिणाम कस्तो हुन्छ?
▪ यरूशलेममा आफ्नो आखिरी सेवाको बेला येशूले मन्दिरमा कति दिन शिक्षा दिनुहुन्छ र त्यसले के-कस्तो प्रभाव पार्छ?