अध्याय ११७
बगैंचामा मानसिक वेदना
येशूले प्रार्थना गरेर सिध्याएपछि उहाँ र उहाँका ११ जना विश्वासी प्रेषितहरू यहोवाको स्तुतिगान गाउनुहुन्छ। अनि उहाँहरू माथिल्लो तलाको कोठाबाट तल ओर्लनुहुन्छ, अन्धकारमय चिसो रातमा बाहिर निस्कनुहुन्छ र किद्रोन खोल्सा हुँदै बेथानीतर्फ लाग्नुहुन्छ। तर बाटोमा उहाँहरूको मन परेको ठाउँ, गेत्समनीको बगैंचामा रोकिनुहुन्छ। यो ठाउँ जैतुन डाँडामा वा त्यसैको नजिक छ। जैतुनका रूखहरूका बीचमा येशूले धेरै पटक आफ्ना चेलाहरूसित यहाँ भेट गर्नुभएको छ।
आठ जना प्रेषितहरूलाई सायद बगैंचाको प्रवेशद्वार नजिकै पुगेर उहाँ भन्नुहुन्छ: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीं बसिरहनू।” अनि बाँकी तीन जना प्रेषितहरू पत्रुस, याकूब र यूहन्नालाई लिएर बगैंचाभित्र अलिक परसम्म जानुहुन्छ। येशू दुःखी र असाध्यै विचलित हुनुहुन्छ। उहाँ भन्नुहुन्छ: “मलाई मेरो ज्यानै जाला जस्तो गरी अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीं बस र मसँगै जागा रहो।”
अलिक अगाडि गएर भुइँमा घोप्टो परेर उहाँ प्रार्थना गर्न थाल्नुहुन्छ: “हे बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तर मेरो इच्छाअनुसार त होइन, तपाईंकै इच्छाअनुसार होस्।” उहाँको भनाइको अर्थ के हो? उहाँलाई किन आफ्नो “ज्यानै जाला जस्तो गरी अत्यन्तै दुःख” लागेको छ? के उहाँ आफू मरेर अरूहरूलाई फिरौती प्रदान गर्ने निर्णयबाट हट्न लाग्नुभएको हो?
कदापि होइन! मृत्युबाट छुटकारा पाऊँ भनेर उहाँले निवेदन गरिरहनुभएको होइन। पत्रुसले एक पटक बलिदानरूपी मृत्युलाई टार्ने सुझाव दिंदा सो विचारलाई उहाँले घृणा गर्नुभएको थियो। बरु उहाँ चाँडै नै एक जना घृणित अपराधीको रूपमा मर्नुहुनेछ र यसबाट उहाँको बुबाको नाम कलङ्कित हुन सक्छ भनी उहाँ अति नै चिन्तित हुनुहुन्छ। उहाँलाई अनुभव हुन थालेको छ कि अब केही घण्टामै उहाँलाई सबैभन्दा खराब मानिस अर्थात् ईश्वरनिन्दकको रूपमा खम्बामा झुण्ड्याएर मारिनेछ।
लामो प्रार्थना गरिसकेपछि येशू फर्किनुहुन्छ र तीनै जना प्रेषितलाई निदाइरहेको भेट्टाउनुहुन्छ। उहाँ पत्रुसलाई भन्नुहुन्छ: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ? परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर।” तथापि तिनीहरूले ठूलो मानसिक तनाव अनुभव गरिरहेका छन् र समय पनि धेरै अबेर भइसकेको कुरा उहाँ बुझ्नुहुन्छ। यसकारण उहाँ भन्नुहुन्छ: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”
येशू फेरि दोस्रो पटक गएर “यो कचौरा” अर्थात् उहाँको निम्ति यहोवाले खटाउनुभएको काम अर्थात् इच्छालाई हटाइदिन परमेश्वरसित अनुरोध गर्नुहुन्छ। त्यसपछि फर्केर आउँदा परीक्षामा नपरौं भनी प्रार्थना गर्दै बस्नुको सट्टा ती तीनै जनालाई फेरि निदाइरहेको भेट्टाउनुहुन्छ। येशू तिनीहरूसँग बोल्नुहुँदा उहाँलाई के जवाफ दिने हो, सो तिनीहरू जान्दैनन्।
अन्तमा, तेस्रो पटक येशू अलिकता टाढा गएर घुँडा टेकेर ठूलो स्वरले कराउँदै र आँसुको धारा बगाउँदै प्रार्थना गर्नुहुन्छ: “हे बुबा, यदि तपाईं चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्।” आफू एक अपराधीझैं मर्दा आफ्नो बुबाको नाममा कलङ्क लाग्नेछ भनी येशू अति नै पीडित हुनुहुन्छ। ईश्वरनिन्दक अर्थात् परमेश्वरलाई श्राप दिने मानिस कहलिएर मर्नु असह्य कुरा हो!
त्यसोभए तापनि येशू प्रार्थना गरिरहनुहुन्छ: “म जे चाहन्छु, त्यो होइन तर तपाईं जे चाहनुहुन्छ, त्यही होस्।” येशूले आज्ञाकारी भई आफ्नो इच्छालाई परमेश्वरको इच्छाको वशमा राख्नुहुन्छ। यसै बखत स्वर्गबाट एउटा दूत आएर केही प्रोत्साहनजनक शब्दहरूद्वारा उहाँलाई हौसला दिन्छन्। येशूसित बुबा प्रसन्न हुनुहुन्छ भनेर सम्भवतः स्वर्गदूतले उहाँलाई बताउँछन्।
तथापि येशूको काँधमा ठूलो जिम्मेवारी छ! उहाँको र समस्त मानवजातिको जीवन यसमा निर्भर छ। भावनात्मक पीडा असह्य छ। अतः येशू झन् व्यग्रतासाथ प्रार्थना गरिरहनुहुन्छ र उहाँको पसिना रगतको थोपासरी भुइँमा खस्छ। द जर्नल अफ द अमेरिकन मेडिकल एसोसियेसन भन्ने किताबअनुसार “यस्तो घटना विरलै मात्र हुन्छ तैपनि . . . असह्य भावनात्मक पीडा हुँदा पसिनामा रगत आउन सक्छ।”
त्यसपछि येशू तेस्रो पटक आफ्ना प्रेषितहरूकहाँ फर्कनुहुन्छ र यसबेला पनि तिनीहरू निदाइरहेका भेट्टाउनुहुन्छ। तिनीहरू सुर्ताले क्लान्त भएका छन्। उहाँ भन्नुहुन्छ: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। उठ, हामी जाऔं। हेर, मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”
उहाँ बोलिरहेकै बेलामा यहूदा इस्करियोत राँको, बत्ती अनि हातहतियार बोकेका ठूलो भीडका साथ आइपुग्छ। मत्ती २६:३०, ३६-४७; १६:२१-२३; मर्कूस १४:२६, ३२-४३; लूका २२:३९-४७; यूहन्ना १८:१-३; हिब्रू ५:७.
▪ माथिल्लो तलाको कोठा छाडेर येशूले प्रेषितहरूलाई कहाँ लानुहुन्छ र त्यहाँ उहाँ के गर्नुहुन्छ?
▪ येशूले प्रार्थना गरिरहेको बेलामा प्रेषितहरू के गरिरहन्छन्?
▪ येशू किन पीडित हुनुहुन्छ र परमेश्वरसँग कस्तो आग्रह गर्नुहुन्छ?
▪ येशूका पसिना रगतका थोपाहरू जस्तै भएको घटनाबाट के बुझ्न सकिन्छ?