१२४
शत्रुहरूको हातमा सुम्पिएर लगिनुहुन्छ
पीडित येशूको शान्त गरिमाबाट प्रेरित भएर पिलातसले उहाँलाई छुटाउन फेरि प्रयास गर्दा मुख्य पुजारीहरू झनै क्रोधित हुन्छन्। आफ्नो दुष्ट उद्देश्य पूरा गर्नदेखि कुनै कुराले पनि बाधा नपुऱ्याउन तिनीहरूले दृढ संकल्प गरेका छन्। यसकारण तिनीहरू फेरि यसो भन्दै कराउन सुरु गर्छन्: “त्यसलाई खम्बामा टाँग्नुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!”
पिलातसले जवाफ दिन्छन्: “तिमीहरू आफै लगेर उसलाई खम्बामा टाँग।” (तिनीहरूले अघि गरेका दाबीहरूको विपरीत गम्भीर धार्मिक अपराध गर्नेहरूलाई सजाय दिने अख्तियार सायद यहूदीहरूसित होला।) अनि अब कम-से-कम पाँचौं पटक येशूलाई निर्दोष ठहराउँदै पिलातस भन्छन्: “म उसमा कुनै दोष भेट्टाउँदिनँ।”
तिनीहरूले लगाएको राजनैतिक आरोप निष्फल भएको देखेर ती यहूदीहरू फेरि त्यही ईश्वरनिन्दाको धार्मिक दोष औंल्याउन थाल्छन्। यही दोष तिनीहरूले केही घण्टाअघि यहूदी न्यायपरिषद्को सामुन्ने येशूको पुर्पक्षमा लगाएका थिए। तिनीहरू भन्छन्: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ, किनकि यसले आफू परमेश्वरको छोरा हुँ भन्ने दाबी गऱ्यो।”
पिलातसका निम्ति यो दोष नयाँ हो र यो सुनेर उनी अझै भयभीत हुन्छन्। अब भने येशू कुनै साधारण मानिस हुनुहुँदो रहेनछ भनी पिलातसले बुझिसकेका छन् र उनकी पत्नीको सपना र येशूको उल्लेखनीय व्यक्तित्वबाट पनि उनलाई यसै कुराको बोध हुन्छ। तर “परमेश्वरको छोरा”? येशू त गालीलको हुनुहुन्छ भनी पिलातसलाई थाह छ। तर के योभन्दा पहिले पनि उहाँ हुनुहुन्थ्यो होला र? फेरि उहाँलाई महलभित्र लगेर पिलातस सोध्छन्: “तिमी कहाँका हौ?”
येशू केही जवाफ दिनुहुन्न। उहाँ राजा हुनुहुन्छ तर उहाँको राज्य यस संसारको होइन भनी केही समयअघि नै उहाँले पिलातसलाई भनिसक्नुभएको थियो। योभन्दा बढी व्याख्या गरेर अब केही लाभ हुने होइन। तथापि जवाफ दिन इन्कार गरेर येशूले पिलातसको अपमान गर्नुहुँदैछ भनी पिलातस ठान्छन् र झनक्क रिसाउँदै येशूलाई भन्छन्: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई खम्बामा टाँग्ने अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?”
येशू आदरपूर्वक जवाफ दिनुहुन्छ: “यदि परमेश्वरले तपाईंलाई नदिनुभएको भए, मेरो विरुद्धमा कदम चाल्ने यो अख्तियार तपाईंसित हुनेथिएन।” उहाँ त्यस अधिकारको चर्चा गर्नुहुँदैछ जुन अधिकार परमेश्वरले मानिसहरूलाई पृथ्वीका मामिला सम्हाल्न दिनुभएको छ। येशू अझ भन्नुहुन्छ: “त्यसैले जसले मलाई तपाईंकहाँ सुम्प्यो, त्यसले झन् ठूलो पाप गरेको छ।” येशूसित गरिएको अत्याचारपूर्ण व्यवहारका लागि पिलातसभन्दा प्रधान पुजारी कैयाफा र तिनका मतियारहरू अनि यहूदा इस्करियोत बढी मात्रामा दोषी छन्।
येशूबाट अझै प्रभावित हुँदै र येशू कुनै ईश्वरीय स्रोतबाट नै आउनुभएको होला भनी भयभीत भएर पिलातस फेरि उहाँलाई छाड्ने प्रयास गर्छन्। तर यहूदीहरू पिलातसलाई फट्कार्छन्। आफूहरूले लगाएको राजनैतिक आरोपलाई दोहोऱ्याएर बडो चतुऱ्याइँका साथ धम्काउँदै भन्छन्: “यदि तपाईंले यस मानिसलाई मुक्त गर्नुभयो भने तपाईं सम्राट्को मित्र होइन। आफूलाई राजा तुल्याउने जोसुकै मानिस सम्राट्को विरुद्धमा हुन्छ।”
तिनीहरूले भनेको कुराको जतिसुकै डरलाग्दो परिणाम भए तापनि पिलातसले येशूलाई फेरि एक पटक बाहिर ल्याउँछन् र तिनीहरूसित आग्रह गर्दै अपिल गर्छन्: “हेर, तिमीहरूको राजा!”
“त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!”
पिलातस हैरान भएर सोध्छन्: “के म तिमीहरूको राजालाई खम्बामा टाँगूँ?”
यहूदीहरू रोमीहरूको शासनमुनि पिल्सिएका छन्। वास्तवमा तिनीहरू रोमी आधिपत्यलाई घृणा गर्छन्! तापनि कपटसाथ ती मुख्य पुजारीहरू भन्छन्: “सम्राट्बाहेक हाम्रो अरू कुनै राजा छैन।”
आफ्नो राजनैतिक ओहदा र प्रतिष्ठा गुमाउनुपर्ला भन्ने डरले पिलातस यहूदीहरूको एकोहोरो मागको सामुन्ने दब्छन्। उनले येशूलाई तिनीहरूको हातमा सुम्पिदिन्छन्। सिपाहीहरूले उहाँको बैजनी रङ्गको लुगा फुकालेर उहाँकै बाहिरी लुगा लगाइदिन्छन्। येशूलाई खम्बामा टाँग्न लैजाँदा उहाँलाई आफ्नो यातनाको खम्बा आफै बोक्न लगाउँछन्।
यो नीसान १४ तारिख, शुक्रबार बिहान हो; सायद अपरान्ह हुन लागेको छ। बिहीबार सबेरैदेखि एकपछि अर्को सङ्कष्टमय अनुभव भोग्दै येशू जागा रहनुभएको छ। त्यसैकारण केही समयपछि उहाँमा यातनाको खम्बा थाम्ने तागतसम्म रहँदैन। त्यसैले सिमोन नाम भएको अफ्रिकी साइरेनीवासीलाई बाटोमा फेला पारेर तिनलाई उहाँको खम्बा बोकेर लैजान कर लगाउँछन्। उहाँहरू गइरहनुभएको बेला महिलाहरूलगायत धेरै मानिसहरू पछि-पछि हिंड्दै आउँछन् र येशूका निम्ति विलाप गर्दै छाती पिट्छन्।
ती महिलाहरूतर्फ फर्केर येशू भन्नुहुन्छ: “हे यरूशलेमका छोरीहरू हो, मेरो निम्ति रुन छोड। बरु तिमीहरू आफू र आफ्ना छोराछोरीहरूका निम्ति रोओ। किनकि हेर यस्तो बेला आउँदैछ, जब मानिसहरूले यसो भन्नेछन्: ‘सुखी हुन् ती स्त्रीहरू, जो बाँझी छन् र जसले सन्तान जन्माएनन् अनि दूध चुसाएनन्!’ . . . रूख हरियो भएको बेला त यस्तो हालत छ भने सुकेपछि झन् के होला?”
येशूको भनाइको अर्थ त्यो रूख यहूदी राष्ट्र हो। यस राष्ट्रमा येशूको उपस्थिति र उहाँमाथि विश्वास गर्ने शेष जनहरू भएकोले अझ पनि रूख केही मात्रामा हरियो अथवा जीवित छ। तर यस राष्ट्रबाट ती कुराहरू हटिसकेपछि प्रतीकात्मक रूपमा एउटा मृत रूख अथवा सुकेको एउटा राष्ट्रिय सङ्गठन मात्र रहनेछ। परमेश्वरको न्याय कार्यान्वयन गर्नेहरूको हैसियतमा रोमी फौजले जब यहूदा राष्ट्रलाई ध्वस्त पार्नेछ तब पो रुवाबासी गर्ने ठूलो कारण हुनेछ! यूहन्ना १९:६-१७; १८:३१; लूका २३:२४-३१; मत्ती २७:३१,३२; मर्कूस १५:२०,२१.
▪ धर्म-गुरुहरूले येशूविरुद्ध लगाएका राजनैतिक आरोपहरू बेकाम भएपछि तिनीहरू उहाँमाथि कुन आरोप लगाउँछन्?
▪ पिलातस किन झनै भयभीत हुन्छन्?
▪ येशूलाई जे हुन्छ, त्यसका निम्ति को बढी मात्रामा दोषी छन्?
▪ अखिरमा येशूलाई मार्नका निम्ति सुम्पिदिन पिलातसलाई पुजारीहरूले कसरी बाध्य पार्छन्?
▪ उहाँका निम्ति रुने महिलाहरूलाई येशू के भन्नुहुन्छ र उहाँले चर्चा गर्नुभएको “हरियो” अनि ‘सुकेको’ रूखको अर्थ के हो?