अध्याय १२५
खम्बामा टाँगिएको बेला पीडा
येशूसँग टाँगिन दुई जना डाँकु लगिंदैछन्। सहरनजिकै, गलगथा अर्थात् खप्पर भन्ने ठाउँमा पुगेर मानिसहरूको यो हुल रोकिन्छ।
कैदीहरूका लुगा फुकालिन्छ। अनि मर्र मिसाएको दाखमद्य तिनीहरूलाई दिइन्छ। यसलाई यरूशलेमकी महिलाहरूले तयार पारेको हुनुपर्छ र खम्बामा टाँगिनेहरूको पीडा कम गर्ने यो तरल पदार्थ तिनीहरूलाई दिन रोमीहरूले कुनै आपत्ति जनाउँदैनन्। तथापि येशूले यसलाई चाखेपछि उहाँ त्यो पिउन इन्कार गर्नुहुन्छ। किन? किनभने आफ्नो विश्वासको ठूलो जाँच हुने बेला उहाँ आफ्नो सारा होस-हवास आफ्नो नियन्त्रणमा भएको चाहनुहुन्छ।
अब येशूलाई उहाँका हातहरू शिरमाथि तानेर खम्बामा तन्काइन्छ। यसपछि सिपाहीहरूले उहाँको हात र खुट्टामा ठूला-ठूला किलाहरू ठोक्छन्। ती किलाहरूले मासु र अस्थि छेड्दा उहाँ पीडाले छट्पटाउनुहुन्छ। खम्बालाई ठाडो पारेर उभ्याउँदा पीडा असह्य हुन्छ किनकि किला ठोक्दा लागेका चोटहरू शरीरको भारले गर्दा च्यातिन्छन्। यस्तो हुँदाहुँदै पनि येशूले ती रोमी सिपाहीहरूलाई धम्काउनुको सट्टा तिनीहरूका लागि यसप्रकार प्रार्थना गर्नुहुन्छ: “हे बुबा, यिनीहरूलाई क्षमा गर्नुहोस्। किनकि तिनीहरू जे गर्दैछन्, त्यो तिनीहरू जान्दैनन्।”
पिलातसले खम्बामा एउटा दोष-पत्र लेखेर टाँसिदिएका छन्, जसमा यस्तो लेखिएको थियो: “नासरी येशू, यहूदीहरूका राजा।” उनले यी शब्दहरू येशूप्रति आदर दर्साउनलाई मात्र टाँगेका होइनन्। यहूदी पुजारीहरूले बलजफत गरेर येशूलाई मृत्युदण्डको सजाय दिन लगाएकोमा पिलातस तिनीहरूप्रति आफ्नो घृणा व्यक्त गर्न चाहन्छन्। सबैले पढ्न सकून् भनेर पिलातसले यी शब्दहरू तीन भाषामा अर्थात् हिब्रू, ल्याटिन र ग्रीकमा लेख्न लगाउँछन्।
कैयाफा र हन्नासलगायत अन्य मुख्य पुजारीहरू खिस्रिक्क हुन्छन्। यो सकारात्मक घोषणाले तिनीहरूको विजयलाई खल्लो पारिदिन्छ। यसकारण तिनीहरू विरोध गर्दै भन्छन्: “ ‘यहूदीहरूका राजा’ भनेर होइन, तर यसले ‘म यहूदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्।” पुजारीहरूको कठपुतली भएर काम गर्न आफू बाध्य भएकोले दिक्क मान्दै पिलातसले पुजारीहरूको खिसी गर्दै दृढतासाथ यस्तो जवाफ दिन्छन्: “मैले जे लेखें, सो लेखें।”
अब यी पुजारीहरू ठूलो भीडका साथ फाँसी दिने ठाउँमा जम्मा हुन्छन् र दोष-पत्रमा लेखेको कुराको खण्डन गर्छन्। यहूदी न्यायपरिषद्मा पुर्पक्ष गर्दा प्रस्तुत गरिएको झूटा प्रमाणलाई तिनीहरू फेरि दोहोऱ्याउँछन्। यसैकारण त बाटोमा आवतजावत गर्नेहरूले दुर्वचन बोल्दै र गिल्ला गर्दै आ-आफ्ना मुन्टो हल्लाएर यसो भन्नुमा कुनै आश्चर्य छैन: “मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस् हैन, लौ आफैलाई बचाएर देखा! तँ परमेश्वरको छोरा होस् भने यातनाको खम्बाबाट ओर्लेर आइज!”
मुख्य पुजारीहरू र धर्म-गुरुहरू त्यसमा तालसुर मिलाउँदै भन्छन्: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि; यो अब यातनाको खम्बाबाट ओर्लेर आओस्, त्यसपछि हामी यसलाई पत्याउँला। यसले परमेश्वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्, किनकि यसले ‘म परमेश्वरको छोरा हुँ’ भन्थ्यो।”
सिपाहीहरूले पनि येशूको गिल्ला गर्न थाल्छन्। येशूका सुकेका ओठहरूदेखि कचौरा टाढै राखेर उहाँलाई अमिलो दाखमद्य दिंदै उहाँको खिसी गर्छन्: “यदि तँ यहूदीहरूको राजा होस् भने आफैलाई बचा।” येशूको दाहिने र देब्रेतर्फ टाँगिएका डाँकुहरूसमेतले उहाँको खिसी गर्छन्। यसो सोच्नुहोस्! सबैभन्दा महान् पुरुष र यहोवा परमेश्वरसित सबै थोकको सृष्टि गर्ने काममा भाग लिनुभएका यी व्यक्ति यति स्थिर रहेर यी सबै गाली सहँदै हुनुहुन्छ!
सिपाहीहरूले येशूका बाहिरी लुगा लिएर त्यसलाई चार भाग पार्छन्। ती कसको भागमा पर्ने हो भनी हेर्न तिनीहरू गोला हाल्छन्। अनि उहाँले त्यसमुनि लगाइराख्नुभएको लुगाचाहिं असल स्तरको कपडाले बनेकोले त्यसमा कतै पनि सिउनी छैन। त्यसकारण सिपाहीहरू एक अर्कालाई भन्छन्: “यसलाई चाहिं नच्यातौं, बरु कसको भागमा पर्छ, गोला हालेर हेरौं।” यसरी तिनीहरू अनजानमै धर्मशास्त्रमा भनिएको यो कुरा पूरा गर्छन्: “तिनीहरूले मेरो बाहिरी लुगा आपसमा भाग लगाए अनि मेरो कपडाचाहिं गोला हालेर लिए।”
केही समयपछि, येशू साँच्चै राजा हुनुपर्छ भनी डाँकुहरूमध्ये एक जनाले स्वीकार्छ। त्यसकारण आफ्नो साथीलाई हकार्दै उसले भन्छ: “तैंले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस्, तैपनि के तँलाई परमेश्वरको अलिकता पनि डर लाग्दैन? हामीले यस्तो सजाय पाउनु न्यायोचित छ। किनकि हामीले जे गऱ्यौं, त्यसकै पूरा फल भोगिरहेका छौं। तर यस मानिसले त यस्तो सजाय पाउन लायकको केही गरेको छैन।” त्यसपछि त्यसले येशूसित बिन्ती गर्छ: “तपाईं राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।”
येशू जवाफ दिनुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।” येशू स्वर्गमा राजा भएपछि र आरमागेडोनमा बाँच्ने मानिसहरू र तिनीहरूका सङ्गीहरूले पार्थिव प्रमोदवनलाई विस्तार गर्दै जाँदा यस पश्चात्तापी कुकर्मीलाई पुनर्जीवित पारेपछि येशूको यो प्रतिज्ञा पूरा हुनेछ। मत्ती २७:३३-४४; मर्कूस १५:२२-३२; लूका २३:२७, ३२-४३; यूहन्ना १९:१७-२४.
▪ मर्र मिसाएको दाखमद्य पिउन येशू किन इन्कार गर्नुहुन्छ?
▪ येशूलाई टाँगिएको खम्बामा किन दोष-पत्र टाँसिन्छ र त्यसबाट पिलातस र मुख्य पुजारीहरूबीच कस्तो भनाभन हुन्छ?
▪ येशू खम्बामा हुँदा उहाँलाई कस्तो दुर्व्यवहार गरिन्छ र त्यसको कारण के हुन सक्छ?
▪ येशूको लुगालाई जे गरिन्छ त्यसबाट भविष्यवाणी कसरी पूरा हुन्छ?
▪ डाँकुहरूमध्ये एक जनामा कस्तो परिवर्तन हुन्छ र येशूले तिनको अनुरोध कसरी पूरा गर्नुहुनेछ?