अध्याय १२७
शुक्रबार गाडिनुहुन्छ—आइतबार चिहान रित्तो
अहिले शुक्रबार अपरान्ह भइसक्यो र घाम पनि डुब्नै लागेको छ। सूर्यास्तपछि नीसान १५ को विश्राम-दिन सुरु हुनेछ। येशूको लास खम्बामा लत्रक्क झुन्डिरहेको छ तर उहाँ छेउका डाँकुहरू अझै जिउँदै छन्। शुक्रबार दिउँसोलाई तयारीको दिन भनिन्छ किनभने यसै दिनमा आफ्ना खानाहरू पकाउने अथवा विश्राम-दिनको अघि नगरी नहुने काम मानिसहरू गर्छन्।
अब सुरु हुनै लागेको यो विश्राम-दिन सधैंको जस्तो विश्राम-दिन (हप्ताको सातौं दिन) होइन। यो एउटा विशेष वा “महाविश्राम दिन” हो किनभने नीसान १५ तारिख अथवा अखमिरा रोटीको सात दिने चाडको यो प्रथम दिन (साधारणतया जुनसुकै दिनमा परे तापनि यो दिन विश्राम-दिन हुन्छ) हप्ताको सातौं दिनमै परेको छ।
परमेश्वरको नियमअनुसार लासहरूलाई खम्बामा रातभरि रहन दिनु हुँदैन। यसकारण टाँगिएकाहरू चाँडै मरून् भनेर तिनीहरूका खुट्टाहरू भाँचिदिने अनुमति यहूदीहरूले पिलातससित माग्छन्। अतः सिपाहीहरूले दुई जना डाँकुहरूका खुट्टा भाँच्छन्। तर येशू मरिसक्नुभएको जस्तो देखिएकोले उहाँका खुट्टाहरूचाहिं भाँच्दैनन्। यसप्रकार धर्मशास्त्रको यो वचन पूरा हुन्छ: “उनको एउटै हड्डी भाँचिनेछैन।”
तथापि येशूको मृत्युबारे केही शङ्का नहोस् भनेर एक जना सिपाहीले भाला लिएर येशूको कोखामा घोप्छ। भालाले उहाँको मुटुलाई छेड्छ र तुरुन्तै त्यहाँबाट रगत र पानी निस्कन्छ। प्रत्यक्षदर्शी प्रेषित यूहन्नाको वर्णनअनुसार यस घटनाद्वारा धर्मशास्त्रमा लेखिएको यो कुरा पनि पूरा हुन्छ: “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्।”
अरिमथिया सहरको यूसुफ नाम गरेका एक जना मानिस पनि येशू टाँगिनुभएको ठाउँमै उपस्थित छन्। उनी यहूदी न्यायपरिषद्का एक जना प्रतिष्ठित सदस्य हुन्। येशूका विरुद्धमा उच्च-अदालतले दिएको अन्यायपूर्ण फैसलाको समर्थन गर्न उनले अस्वीकार गरेका थिए। खुल्लमखुल्ला येशूलाई साथ दिन यतिका दिनदेखि डराएको भए तापनि उनी वास्तवमा येशूकै एक जना चेला हुन्। तथापि अबचाहिं उनले साहस गर्दै पिलातसकहाँ गएर येशूको लास माग्छन्। पिलातसले सम्बन्धित सैनिक अफिसरलाई बोलाउँछन् र येशू मरिसक्नुभएको कुरा निश्चित गरेपछि येशूको लास यूसुफलाई जिम्मा लगाइदिन्छन्।
यूसुफले लास ल्याएर राम्रो मलमलको कपडामा बेह्रेर त्यसलाई गाड्ने तयारी गर्छन्। उनलाई यहूदी न्यायपरिषद्का अर्का एक जना सदस्य निकोदेमसले सघाउँछन्। निकोदेमसले पनि आफ्नो ओहदा गुमाउनुपर्ला भन्ने डरले येशूमा विश्वास जाहेर गर्न सकेनन्। तर अहिलेचाहिं उनी ३३ किलो जति मर्र र किम्मती मसलाहरू लिएर आउँछन्। लास गाड्नुअघि, यहूदी चलनअनुसार येशूको लासलाई सुगन्धित मसला दलेर मलमलको कपडाले बेर्छन्।
यसपछि नजिकको एउटा बगैंचामा चट्टान खोपेर बनाइएको यूसुफको नयाँ चिहानमा लास राख्छन्। अन्तमा एउटा ठूलो ढुङ्गा चिहानको ढोकामा गुडाइदिन्छन्। विश्राम-दिनभन्दा पहिले नै गाड्ने काम सिध्याउनुपरेकोले लासलाई हतारपतार तयार गरिन्छ। यसैकारण सायद लासलाई तयार गर्नमा सहयोग गरिरहेका मरियम मग्दलिनी र सानो याकूबकी आमा मरियम, अरू मसलाहरू र सुगन्धित तेलहरू तयार गर्न चाँड-चाँडो घरतर्फ जान्छन्। येशूको लासलाई धेरै दिनसम्म कुहिन नदिनका लागि विश्राम-दिनपछि त्यसलाई अझ राम्रोसँग तयार पार्ने तिनीहरूको योजना छ।
अर्को दिन अर्थात् शनिबार (विश्राम-दिन) मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ जान्छन् र भन्छन्: “हजुर, त्यस ठगाहाले आफू जिउँदो छँदा ‘तीन दिनपछि म ब्यूँतनेछु’ भनेको हामीलाई याद छ। त्यसैले तेस्रो दिनसम्म त्यसको चिहानमा पहरा दिने हुकुम गर्नुहोस्। नत्र त, त्यसका चेलाहरू गएर त्यसको लास चोरेर लैजालान् र ‘उहाँ मृत्युबाट ब्यूँतनुभयो’ भनेर मानिसहरूलाई भन्लान्। त्यसो भयो भने, त्यसको पछिल्लो ठगीले पुऱ्याउने नोक्सानी पहिलोको भन्दा चर्को हुनेछ।”
पिलातसले जवाफ दिन्छन्: “तिमीहरू सिपाहीहरू लिएर जाओ र त्यसको सक्दो सुरक्षा गर।” अतः तिनीहरू जान्छन् र चिहान सुरक्षित पार्न ढुङ्गामा सिल लगाएर रोमी सिपाहीहरूलाई त्यहाँ पहरा बस्न खटाउँछन्।
आइतबार बिहानको झिसमिसे उज्यालोमा मरियम मग्दलिनी र याकूबकी आमा मरियम, सलोमी, योअन्ना र अरू आइमाईहरू येशूको शरीरमा घस्नका लागि सुगन्धित मसलाहरू लिएर चिहानमा आउँछन्। बाटोमा तिनीहरू आपसमा भन्छन्: “हाम्रो निम्ति कसले चिहानको ढोकाको ढुङ्गा गुडाइदिने होला?” तर तिनीहरू त्यहाँ आइपुग्दा त के देख्छन् भने एउटा ठूलो भैंचालो गएछ र यहोवाको दूतले ढुङ्गा गुडाइसकेको रहेछ। चिहानको सुरक्षा दिनेहरू गइसकेका छन् र चिहान रित्तो छ। मत्ती २७:५७–२८:२; मर्कूस १५:४२–१६:४; लूका २३:५०–२४:३,१०; यूहन्ना १९:१४, यूहन्ना १९:३१–२०:१; यूहन्ना १२:४२; लेवी २३:५-७; व्यवस्था २१:२२,२३; भजन ३४:२०; जकरिया १२:१०.
▪ शुक्रबारलाई किन तयारीको दिन भनिन्छ र “महाविश्राम दिन” भनेको के हो?
▪ येशूको शरीरको सम्बन्धमा धर्मशास्त्रमा लेखिएका कुन कुराहरू पूरा हुन्छन्?
▪ येशूको लास गाड्ने सम्बन्धमा यूसुफ र निकोदेमसले के गर्छन् र येशूसित तिनीहरूको सम्बन्ध के हो?
▪ पिलातससित पुजारीहरूले के अनुरोध गर्छन् र उनको प्रतिक्रिया कस्तो हुन्छ?
▪ आइतबार बिहानै के हुन्छ?