अध्याय १३०
गालील समुद्रमा
येशूले केही समयअघि दिएको निर्देशनअनुसार प्रेषितहरू अब गालील फर्किन्छन्। तर त्यहाँ गएर के गर्ने हो तिनीहरूलाई थाह छैन। एकछिन पछि पत्रुसले थोमा, नथनेल, याकूब र तिनका भाइ यूहन्ना र अरू दुई जना प्रेषितहरूलाई भन्छन्: “म माछा मार्न जाँदैछु।”
ती छ जनाले प्रत्युत्तरमा “हामी पनि तिमीसँगै आउँछौं” भन्छन्।
रातभरि तिनीहरूले केही पक्रन सक्दैनन्। तथापि झिसमिसे बिहान हुन लाग्दा येशू समुद्रको किनारमा देखा पर्नुहुन्छ तर उहाँ येशू हुनुहुन्छ भनी प्रेषितहरूले छुट्याउन सक्दैनन्। उहाँ कराउनुहुन्छ: “बाबुहरू हो, तिमीहरूसित खानेकुरा केही छ कि?”
तिनीहरूले पनि कराएर उत्तर दिन्छन्: “अहँ, छैन!”
उहाँ भन्नुहुन्छ: “डुङ्गाको दाहिनेतिर जाल हान अनि तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसो गरेपछि जाल माछैमाछाले भरिन्छ। तिनीहरूले जाल तान्न पनि सक्दैनन्।
यूहन्ना कराउँछन्: “उहाँ प्रभु हुनुहुन्छ!”
यो सुन्नासाथै पत्रुसले आफ्नो बाहिरी लुगा लगाउँछन् किनभने उनले आफ्ना सारा लुगाहरू खोलेका थिए र समुद्रमा हाम फाल्छन्। लगभग ९० मिटरजति पौडी खेलेर उनी किनारमा पुग्छन्। अरू प्रेषितहरूचाहिं सानो डुङ्गामा माछाले भरिएको जाल तान्दै पछि-पछि आउँछन्।
तिनीहरू किनारमा आइपुग्दा त्यहाँ तिनीहरूले कोइलाको भुङ्ग्रोमा माछा राखिएको अनि रोटी देख्छन्। येशूले तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरूले भर्खरै समातेको केही माछा यता ल्याओ।” पत्रुस डुङ्गामा चढ्छन् र जाल तानेर किनारामा ल्याउँछन्। त्यसमा १५३ वटा ठूलठूला माछाहरू छन्!
येशूले तिनीहरूलाई भन्नुहुन्छ: “आओ, नास्ता गर।”
“तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत तिनीहरू कसैमा हुँदैन किनकि उहाँ येशू नै हुनुहुन्छ भनी तिनीहरू सबैलाई थाह छ। पुनर्जीवित भएपछि उहाँ अहिले सातौं पटक देखा पर्नुभएको हो र प्रेषितहरूकहाँ सामूहिक रूपमा देखा पर्नुभएको चाहिं यो तेस्रो पटक हो। अब उहाँले प्रत्येकलाई केही रोटी र केही माछा दिंदै तिनीहरूलाई नास्ता गर्न लगाउनुहुन्छ।
तिनीहरूले खाना खाइसकेपछि समातिएका माछाहरूको थुप्रोतर्फ हेर्दै येशूले पत्रुसलाई सोध्नुहुन्छ: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” निस्सन्देह उहाँको भनाइको अर्थ हो, मैले तिमीलाई जुन कामका लागि तयार पारेको छु, त्यो कामलाई भन्दा के तिमी यो माछा मार्ने व्यापारलाई बढी महत्त्व दिन्छौ?
पत्रुस भन्छन्: “गर्छु प्रभु, म तपाईंलाई माया गर्छु भनेर तपाईंलाई थाहै छ नि।”
येशू जवाफ दिनुहुन्छ: “मेरा पाठाहरूलाई खुवाऊ।”
फेरि दोस्रो पटक उहाँ सोध्नुहुन्छ: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?”
पत्रुस बडो इमानदारीका साथ जवाफ दिन्छन्: “गर्छु प्रभु, म तपाईंलाई माया गर्छु भनेर तपाईंलाई थाहै छ नि।”
येशू आज्ञा दिनुहुन्छ: “गोठालोले झैं मेरा साना भेडाहरूको हेरचाह गर।”
अनि तेस्रो पटक पनि येशू सोध्नुहुन्छ: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?”
अब त पत्रुस दुःखित हुन्छन्। येशू तिनको वफादारीमा शङ्का गर्नुहुन्छ जस्तो सायद तिनलाई लाग्छ। आखिर भर्खरै मात्र येशूको पुर्पक्ष हुँदा पत्रुसले तीन पटक उहाँलाई चिन्दिनँ भनेर तिरस्कार गरेका थिए। यसकारण पत्रुस भन्छन्: “प्रभु, तपाईंलाई सबै कुरा थाह छ; म तपाईंलाई माया गर्छु भनेर पनि तपाईंलाई थाह छँदै छ नि।”
येशूले तेस्रो पटक आज्ञा दिनुहुन्छ: “मेरा साना भेडाहरूलाई खुवाऊ।”
यसप्रकार जुन काम तिनीहरूले गरेको उहाँ चाहनुहुन्छ, उहाँले यहाँ पत्रुसलाई सम्बोधन गर्नुभएको कुराद्वारा त्यस कामलाई जोड दिनुहुन्छ। उहाँले चाँडै पृथ्वी छाड्नुहुनेछ र परमेश्वरको गोठमा आउन चाहने सबैको सेवा गर्न तिनीहरूले अगुवाइ लिएको उहाँ चाहनुहुन्छ।
परमेश्वरले अह्राएको काम गर्दा जसरी आफूलाई बाँधेर मारे, त्यसैगरि पत्रुसले पनि दुःख भोग्नेछन् भनी येशू अब प्रकट गर्नुहुन्छ। येशूले तिनलाई भन्नुहुन्छ: “जब तिमी जवान थियौ, तब आफ्नो पटुका आफैले कसेर आफूलाई मन लागेको ठाउँमा जान्थ्यौ। तर जब तिमी बूढो हुनेछौ, तब तिमीले आफ्नो हात फैलाउनेछौ अनि अर्को मानिसले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई जहाँ जान मन लाग्दैन, उसले तिमीलाई त्यहीं लैजानेछ।” पत्रुस सहीद भएर मर्नेछन्। तैपनि येशू आग्रह गर्नुहुन्छ: “तिमी निरन्तर मेरो पछि लाग।”
फर्केर हेर्दा पत्रुसले यूहन्नालाई देख्छन् र सोध्छन्: “प्रभु, यस मानिसलाई चाहिं के हुनेछ?”
येशू जवाफ दिनुहुन्छ: “म नआउन्जेल ऊ रहिरहोस् भन्ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब? बरु तिमीचाहिं निरन्तर मेरो पछि लाग।” येशूको यस भनाइलाई धेरै चेलाहरूले यूहन्ना कहिल्यै मर्नेछैनन् भन्ने अर्थ लगाउँछन्। तथापि यूहन्नाले पछि व्याख्या गरेअनुसार येशूले उनी मर्नेछैनन् भनी कदापि भन्नुभएको होइन। बरु “म नआउन्जेल ऊ रहिरहोस् भन्ने मेरो इच्छा छ भने पनि तिमीलाई के मतलब?” मात्र भन्नुभएको थियो।
यूहन्नाले पछि यो महत्त्वपूर्ण कुरा पनि भनेका छन्: “वास्तवमा येशूले अरू पनि धेरै कुरा गर्नुभएको थियो। मलाई लाग्छ, ती सबै एक-एक बयान गरेर लेखिएका भए, ती मुठाहरू संसारमा अटाउने थिएनन्।” यूहन्ना २१:१-२५; मत्ती २६:३२; २८:७,१०.
▪ गालीलमा के गर्ने भनेर प्रेषितहरू अनिश्चित छन् भनी कुन कुराले देखाउँछ?
▪ गालील समुद्रमा प्रेषितहरूले येशूलाई कसरी चिन्छन्?
▪ आफू पुनर्जीवित भएपछि येशू कति पटक प्रकट हुनुभएको छ?
▪ प्रेषितहरूले के गरेको येशू चाहनुहुन्छ भन्ने कुरालाई उहाँ कसरी जोड दिनुहुन्छ?
▪ पत्रुसको मृत्यु कुन प्रकारले हुनेछ भनी येशू कसरी सङ्केत गर्नुहुन्छ?
▪ यूहन्नाबारे येशूले गर्नुभएको कुन टिप्पणीले गर्दा धेरै चेलाहरूमा गलतफहमी भयो?