सिकाउने क्षमता विकास गर्ने तरिका
शिक्षक भएकोले तपाईंको लक्ष्य के हो? भर्खरै मात्र प्रकाशक बन्नुभएको हो भने तपाईं पक्कै पनि गृह बाइबल अध्ययन सञ्चालन गर्ने तरिका सिक्न चाहनुहुन्छ। किनकि येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउने आदेश दिनुभएको थियो। (मत्ती २८:१९, २०) चेला बनाउने काममा अनुभव बटुलिसक्नुभएको छ भने पनि तपाईं अरूको मन छुनेगरि झनै प्रभावकारी तरिकामा सिकाउन चाहनुहुन्छ होला। तपाईं आमाबाबु हुनुहुन्छ भने छोराछोरीलाई तिनीहरूको जीवन परमेश्वरमा समर्पण गर्न उत्प्रेरित गर्न सक्ने किसिमको शिक्षक पक्कै बन्न चाहनुहुन्छ। (३ यूह. ४) तपाईं एल्डर हुनुहुन्छ वा एल्डर बन्न अघि बढ्दै हुनुहुन्छ भने श्रोताको मनमा यहोवा र उहाँका तौरतरिकाबारे गहिरो कदर विकास गर्न सक्ने जनवक्ता बन्न चाहनुहुन्छ होला। तपाईं यी लक्ष्यसम्म कसरी पुग्न सक्नुहुन्छ?
निपुण शिक्षक येशू ख्रीष्टबाट सिक्नुहोस्। (लूका ६:४०) डाँडामा भीडसित कुरा गर्दा होस् वा एक-दुई जना बटुवासित कुरा गर्दा, येशूले भनेका कुराले र भन्ने तरिकाले तिनीहरूमा अमेट छाप पाऱ्यो। येशूले श्रोतालाई सोच्न लगाउनुभयो र सिकेको कुरा तिनीहरूले बुझ्न सक्नेगरि कसरी व्यवहारमा उतार्न सक्छन्, त्यो सिकाउनुभयो। के तपाईं पनि त्यस्तै गर्न सक्नुहुन्छ?
यहोवामा भर पर्नुहोस्
स्वर्गमा बस्ने बुबासितको नजिकको सम्बन्ध र परमेश्वरको पवित्र शक्तिले गर्दा येशूको सिकाउने क्षमता तिखारियो। के तपाईं गृह बाइबल अध्ययन प्रभावकारी ढङ्गमा सञ्चालन गर्नको लागि निष्कपट भएर प्रार्थना गर्नुहुन्छ? आमाबाबु हुनुहुन्छ भने छोराछोरीलाई सिकाउन नियमित प्रार्थना गरेर के तपाईं परमेश्वरको डोऱ्याइ माग्नुहुन्छ? भाषण दिन तयारी गर्दा वा सभा सञ्चालन गर्न तयारी गर्दा के तपाईं हृदयदेखि नै प्रार्थना गर्नुहुन्छ? यसरी प्रार्थना गरी यहोवामा भर पर्दा प्रभावकारी शिक्षक बन्न मदत पाउनुहुनेछ।
यहोवाको वचन बाइबलमा भरोसा गरेर पनि उहाँमा भर परेको देखाउन सक्छौं। त्रुटिरहित मानवको रूपमा आफ्नो जीवनको अन्तिम रात येशूले आफ्ना बुबालाई प्रार्थनामा यसो भन्नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु।” (यूह. १७:१४) येशूसँग अनुभवको खानी नै भए तापनि उहाँले कहिल्यै आफ्नोतर्फबाट बोल्नुभएन। उहाँ सधैं बुबाले सिकाएको कुरा बोल्नुहुन्थ्यो। (यूह. १२:४९, ५०) यसरी उहाँले हाम्रो निम्ति उदाहरण बसाल्नुभयो। परमेश्वरको वचन बाइबलमा मानिसहरूलाई प्रभाव पार्ने शक्ति छ; यसले मानिसहरूको काम, सोचविचार र भावनालाई समेत असर गर्छ। (हिब्रू ४:१२) परमेश्वरको वचनमा अझ बढ्दै जाँदा र प्रचारमा यसलाई राम्ररी प्रयोग गर्न सिक्दै जाँदा मानिसहरूलाई परमेश्वरतर्फ खिच्न सक्नेगरि सिकाउन तपाईं सिपालु हुन सक्नुहुनेछ।—२ तिमो. ३:१६, १७.
यहोवाको आदर गर्नुहोस्
येशूको अनुकरण गर्दै शिक्षक हुनु भनेको रोचक भाषण दिनु मात्रै होइन। येशूको “मनमोहक वचन” सुनेर मानिसहरू छक्क परे। (लूका ४:२२) उहाँले त्यति राम्रोसँग सिकाउनुको उद्देश्य के थियो? उहाँ आफूतर्फ ध्यान खिच्न होइन, यहोवाको आदर गर्न चाहनुहुन्थ्यो। (यूह. ७:१६-१८) त्यसैले येशूले आफ्ना अनुयायीलाई यस्तो आग्रह गर्नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस् र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।” (मत्ती ५:१६) सिकाउँदा हामीले पनि यही सल्लाह लागू गर्नुपर्छ। यहोवाको महिमा नहुने किसिमका कुनै पनि कामकुरादेखि अलग्गै रहने हाम्रो लक्ष्य हुनुपर्छ। त्यसैले के भन्ने वा कसरी भन्ने भनेर योजना बनाउँदा आफैलाई यस्तो सोध्नु बेस हो: “के यसले यहोवाको अझै कदर हुन्छ? वा यसले मतर्फ पो ध्यान खिच्छ कि?”
प्रभावकारी ढङ्गमा सिकाउन दृष्टान्त/उदाहरण अनि वास्तविक घटनालाई प्रयोग गर्न सक्छौं। तर लामो दृष्टान्त दिइयो अथवा अनुभव बताउँदा स-सानो विवरण पनि दिइयो भने सिकाउनुको उद्देश्य नै ओझेलमा पर्छ। त्यसैगरि रमाइलोको लागि मात्र कथा बताउँदा प्रचार गर्नुको उद्देश्य पूरा गर्न सकिंदैन। बरु शिक्षकले परमेश्वरको शिक्षाले पूरा गर्ने कुराप्रति नभई आफैतर्फ ध्यान खिचिरहेका हुन्छन्।
“तिमीहरूले भेद राख्नू”
कुनै पनि व्यक्ति येशूको साँचो चेला बन्ने हो भने सिकाइएको कुरा तिनले स्पष्टसित बुझ्नुपर्छ। तिनले बाइबल सत्य सुन्नुपर्छ र बाइबल सत्य अन्य आस्थाभन्दा कसरी फरक छ, त्यो बुझ्नुपर्छ। दुईबीचको भिन्नता छुट्ट्याउँदा कुरा प्रस्टसित बुझिन्छ।
यहोवाले आफ्ना मानिसहरूलाई शुद्ध र अशुद्ध कुराबीच “भेद राख्नू” भनेर बारम्बार आग्रह गर्नुभयो। (लेवी १०:९-११) उहाँको आध्यात्मिक मन्दिरमा सेवा गर्नेहरूले अरूलाई “पवित्र र अपवित्र कुरा छुट्ट्याउन सिकाउनेछन्” भनी उहाँले भन्नुभयो। (इज. ४४:२३) हितोपदेशको पुस्तकमा धार्मिकता र दुष्टताबीच अनि ज्ञान र मूर्खताबीच थुप्रै भिन्नता दिइएका छन्। साथै विपरीत कुराको मात्रै होइन उस्तै-उस्तै कुराबीचसमेत भिन्नता छुट्ट्याउन सकिन्छ। रोमी ५:७ मा प्रेषित पावलले भला मानिस र कर्तव्यपरायण मानिसबीचको भिन्नता छुट्ट्याए। प्रधान पुजारीको रूपमा हारूनले गर्ने सेवाको तुलनामा ख्रीष्टले गर्ने सेवा उच्च स्तरको छ भनी तिनले हिब्रूको पुस्तकमा देखाए। यो कुरासित सहमत हुँदै १७औं शताब्दीका शिक्षाविद्ले (यान आमोस कोमेन्सकी) यस्तो लेखे: “सिकाउनु भनेको कुनै पनि कुराको उद्देश्य, स्वरूप र सुरुवात कसरी अर्कोभन्दा भिन्न छ भनेर बताउनु मात्र हो। . . . त्यसकारण जसले दुई कुराबीचको भिन्नता राम्ररी व्याख्या गर्न सक्छ, उसले नै राम्ररी सिकाउन सक्छ।”
मानिलिनुहोस्, तपाईं कसैलाई परमेश्वरको राज्यबारे सिकाउँदै हुनुहुन्छ। परमेश्वरको राज्य के हो भनेर तिनले बुझेनन् भने तपाईं बाइबलबाटै परमेश्वरको राज्य एउटा वास्तविक सरकार हो भनेर देखाउन सक्नुहुन्छ। अथवा परमेश्वरको राज्य मानव सरकारहरूभन्दा कसरी भिन्न छ, त्यो बताउन सक्नुहुन्छ। तर यी आधारभूत सत्य थाह पाएकाहरूलाई त अझ धेरै जानकारी बताउन सक्नुहोला। तिनीहरूसित कुरा गर्दा भजन १०३:१९ मा बताइएको ब्रह्माण्डभरि यहोवाले गर्ने शासन, अथवा कलस्सी १:१३ मा उल्लिखित परमेश्वरको “प्यारो छोराको राज्य,” अथवा एफिसी १:१० मा बताइएको “प्रबन्ध” आदिबाट मसीही राज्य कसरी भिन्न छ, व्याख्या गर्नुहुन्छ होला। यसरी दुईबीचको भिन्नता छुट्ट्याउँदा श्रोतालाई बाइबल शिक्षा स्पष्टसित सिक्न मदत गरिरहनुभएको हुनेछ।
येशूले बारम्बार यस्तै तरिकाले सिकाउनुभयो। उहाँले मोशाको व्यवस्थाबारे मानिसबीच व्याप्त धारणा वास्तवमा व्यवस्था दिइनुको खास कारणभन्दा भिन्न छ भनी प्रस्ट्याउनुभयो। (मत्ती ५:२१-४८) उहाँले साँचो ईश्वरीय भक्ति फरिसीहरूको कपटपूर्ण धर्मकर्मभन्दा एकदमै भिन्न छ भनेर देखाउनुभयो। (मत्ती ६:१-१८) अरूमाथि ‘हैकम चलाउनेहरू’ र आत्मत्यागी मनोभाव देखाउने उहाँका चेलाहरूबीचको भिन्नता येशूले देखाउनुभयो। (मत्ती २०:२५-२८) अर्को पटक भने येशूले श्रोतालाई आत्मधर्मी भावना र साँचो पश्चातापबीचको भिन्नता छुट्ट्याउन भन्नुभयो जुन कुरा मत्ती २१:२८-३२ मा लिपिबद्ध छ। यसले राम्रो शिक्षणकलाको अर्को पाटोतर्फ हाम्रो ध्यान खिच्छ।
श्रोतालाई सोच्न प्रोत्साहन दिनुहोस्
दुई कुराबीचको भिन्नता छुट्ट्याउनुअघि येशूले “तिमीहरूलाई कस्तो लाग्छ” भनेर सोध्नुभएको कुरा मत्ती २१:२८ मा पाउँछौं। दक्ष शिक्षकले तथ्य प्रस्तुत गर्ने वा जवाफ दिने मात्र गर्दैनन्। बरु तिनले श्रोतालाई सोचविचार गर्ने क्षमता विकास गर्न लगाउँछन्। (हितो. ३:२१; रोमी १२:१) यो केही हदसम्म प्रश्न सोधेर गरिन्छ। मत्ती १७:२५ मा दिइएको विवरणअनुसार येशूले यसरी सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ, सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि पराईबाट?” यसरी सोच्न लगाउने प्रश्न गरेर येशूले पत्रुसलाई मन्दिरको कर तिर्ने सन्दर्भमा सही निष्कर्षमा पुग्न मदत गर्नुभयो। त्यसरी नै “वास्तवमा मेरो छिमेकी को हो?” भनी सोध्ने मानिसलाई जवाफ दिंदा पनि येशूले पुजारी अनि लेवीको व्यवहार र सामरीको व्यवहारबीच अकास-जमिनको भिन्नता थियो भनेर देखाउनुभयो। त्यसपछि उहाँले यस्तो प्रश्न सोध्नुभयो: “यी तीन जनामध्ये कोचाहिं डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?” (लूका १०:२९-३६) फेरि पनि सीधै जवाफ दिनुको साटो श्रोतालाई आफ्नो प्रश्नको जवाफ आफै पत्ता लगाउन येशूले प्रोत्साहन दिनुभयो।—लूका ७:४१-४३.
श्रोताको मन छुने प्रयास गर्नुहोस्
केही खास तथ्य कण्ठ गर्दैमा र केही खास नियम पालन गर्दैमा साँचो उपासना गरेको ठहरिंदैन भनी परमेश्वरको वचनको सही अर्थ थाह पाएका शिक्षकले बुझेका हुन्छन्। साँचो उपासना यहोवासितको असल सम्बन्ध गाँस्नु र उहाँको तौरतरिकाको कदर गर्नुमा आधारित छ। यस्तो उपासना मनदेखि गरिएको हुनुपर्छ। (व्यव. १०:१२, १३; लूका १०:२५-२७) किनकि बाइबलमा प्रयोग गरिएको “मन” शब्दले अक्सर सम्पूर्ण व्यक्तिलगायत इच्छा-आकाङ्क्षा, भावना र मनोवृत्तिलाई बुझाउँछ।
मानिस बाहिरी रूपलाई हेर्छन् तर परमेश्वर मनभित्र हेर्नुहुन्छ भनेर येशूलाई थाह थियो। (१ शमू. १६:७) परमेश्वरप्रतिको प्रेमले गर्दा नै हामी उहाँको सेवा गर्छौं; मानिसहरूको मन जित्न होइन। (मत्ती ६:५-८) फरिसीहरू भने देखावटी रूपमा मात्र परमेश्वरको सेवा गर्थे। तिनीहरू व्यवस्थाको एक-एक नियम र आफैले बनाएको नियम पालन गर्नुपर्छ भनेर जोड दिन्थे। तर तिनीहरूले जुन परमेश्वरको उपासना गरिरहेको दाबी गरेका थिए, उहाँका सेवकहरूले प्रकट गर्नुपर्ने गुण पटक्कै देखाएनन्। (मत्ती ९:१३; लूका ११:४२) परमेश्वरको नियम पालन गर्नु महत्त्वपूर्ण भए तापनि यस्तो आज्ञाकारी मनोभाव मनबाटै उब्जनुपर्छ भनेर येशूले सिकाउनुभयो। (मत्ती १५:७-९; मर्कू. ७:२०-२३; यूह. ३:३६) अरूलाई सिकाउने सन्दर्भमा येशूको उदाहरण अनुकरण गऱ्यौं भने राम्रो नतिजा प्राप्त गर्न सक्छौं। मानिसहरूलाई परमेश्वरले तिनीहरूबाट चाहेको कुरा सिक्न मदत गर्नु जरुरी छ। तर तिनीहरूले यहोवालाई चिन्नु र माया गर्नु पनि उत्तिकै जरुरी छ। किनकि यसरी तिनीहरू परमेश्वरसित सम्बन्ध गाँस्न इच्छुक छन् भनेर आफ्नो आचरणबाट देखाइरहेका हुन्छन्।
यस्तो शिक्षाबाट फाइदा उठाउने हो भने मनभित्रको कुरा बाहिर निकाल्न करै लाग्छ। येशूले मानिसहरूलाई तिनीहरूको मनसाय र भित्री भावना जाँच्न प्रोत्साहन दिनुभयो। गलत धारणा सुधार्दा येशूले आफ्ना श्रोतालाई तिनीहरूले त्यसरी विचार गर्नु, भन्नु वा गर्नुको खास कारण पनि सोध्ने गर्नुहुन्थ्यो। तर येशू सोध्ने मात्र गर्नुहुन्न थियो, प्रश्न सँगसँगै श्रोतालाई तिनीहरूको गलत धारणा सच्याउन के गर्नुपर्छ, त्यो बताउनुहुन्थ्यो, दृष्टान्त/उदाहरण दिनुहुन्थ्यो वा कामबाट देखाउनुहुन्थ्यो। (मर्कू. २:८; ४:४०; ८:१७; लूका ६:४१, ४६) त्यसैगरि हामीले पनि श्रोता आफैलाई यस्तो प्रश्न सोध्ने सुझाव दिन सक्छौं: ‘यस्तो कदम चाल्नु मलाई किन उचित लाग्छ? म किन यस्तो प्रतिक्रिया व्यक्त गर्दैछु?’ त्यसपछि सम्बन्धित विषयमा यहोवाको दृष्टिकोण कस्तो छ, पत्ता लगाउने प्रोत्साहन दिनुहोस्।
व्यवहारमा प्रयोग गर्ने तरिका सिकाउनुहोस्
“बुद्धि प्राप्त गर्नु” महत्त्वपूर्ण छ भनेर असल शिक्षकले बुझेको हुन्छ। (हितो. ४:७) समस्या समाधान गर्न, खतराबाट जोगिन, लक्ष्य हासिल गर्न र अरूलाई मदत गर्न सफलतासाथ प्रयोग गरिने ज्ञान नै बुद्धि हो। विद्यार्थीको लागि शिक्षकले निर्णय गरिदिनुहुँदैन। शिक्षकको जिम्मेवारी भनेको विद्यार्थीलाई प्राप्त ज्ञान प्रयोग गर्न मदत दिनु हो। विभिन्न बाइबल सिद्धान्त छलफल गर्दा विद्यार्थीलाई तर्क गर्न मदत गर्नुहोस्। पहिला दिनहुँ जीवनमा आइपर्ने कुनै घटना उल्लेख गर्नुहोस्। त्यसपछि त्यस्तै परिस्थिति आइपऱ्यो भने विद्यार्थीले भर्खरै पढेको बाइबल सिद्धान्त कसरी प्रयोग गर्छन्, सोध्नुहोस्।—हिब्रू ५:१४.
सिकेको कुरा व्यवहारमा प्रयोग गर्ने तरिकाबारे प्रेषित पत्रुसले इस्वी संवत् ३३ पेन्तिकोसमा दिएको भाषणमा सिकाए। त्यस भाषणले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्यायो। (प्रेषि. २:१४-३६) भीडले विश्वास गर्छौं भनी दाबी गरेको धर्मशास्त्रमा आधारित तीनवटा विवरण छलफल गरेपछि पत्रुसले तिनीहरू सबैले देखेको घटनाको आधारमा ती पद कसरी लागू हुन्छन् भनेर बताए। परिणामस्वरूप तिनीहरूले सिकेको कुराअनुसार कदम चाल्नुपर्ने आवश्यकता महसुस गरे। के तपाईंले सिकाउने तरिकाले पनि मानिसहरूमा यस्तै प्रभाव पार्छ? कुनै पनि कुरा दोहोऱ्याउने मात्र नगरी त्यसको कारण बुझ्न पनि मदत गर्नुहुन्छ? सिकिरहेको कुराले जीवनमा कस्तो प्रभाव पार्नुपर्छ भनेर तिनीहरूलाई सोच्न प्रोत्साहन दिनुहुन्छ कि? तपाईंका श्रोताले पेन्तिकोसको दिन पत्रुसको भाषण सुन्ने श्रोताले जस्तै विचलित हुँदै “त्यसोभए हामी के गरौं?” भनेर त नसोध्लान्। तर शास्त्रपद व्यवहारमा प्रयोग गर्ने तरिका राम्ररी बुझाउनुभएको छ भने तपाईंका श्रोता उपयुक्त कदम चाल्न उत्प्रेरित हुनेछन्।—प्रेषि. २:३७.
छोराछोरीसित बाइबल पढ्दा त्यसमा भएका सिद्धान्त कसरी व्यवहारमा प्रयोग गर्न सकिन्छ त्यसबारे सिकाउने राम्रो मौका तपाईंले पाउनुहुनेछ। (एफि. ६:४) उदाहरणका लागि साप्ताहिक बाइबल पढाइका केही अंश छानेर तिनको अर्थ छोराछोरीसित छलफल गर्न सक्नुहुन्छ र त्यसपछि यस्ता प्रश्न सोध्न सक्नुहुन्छ: ‘यी पदबाट हामी कस्तो निर्देशन पाउँछौं? यी पदलाई प्रचारमा कसरी प्रयोग गर्न सक्छौं? यी पदले यहोवा र उहाँको तौरतरिकाबारे के प्रकट गर्छन् र उहाँको अझै कदर गर्न कसरी मदत गर्छन्?’ यी बुँदाबारे ईश्वरतान्त्रिक सेवा स्कूलको बाइबल पढाइको विशेषतामा टिप्पणी गर्न परिवारलाई प्रोत्साहन दिनुहोस्। तिनीहरू जुन पदबारे टिप्पणी गर्छन्, त्यो हतपती बिर्सिंदैनन्।
असल उदाहरण बसाल्नुहोस्
तपाईं आफ्नो बोलीद्वारा मात्र होइन कामद्वारा पनि अरूलाई सिकाउन सक्नुहुन्छ। बोलेअनुसार काम गरेर उदाहरण बसाल्नुहोस्। किनकि छोराछोरीले हेरेर सिक्छन्। आमाबाबुको नक्कल गरेर छोराछोरीले आमाबाबुजस्तै हुन चाहेको कुरा देखाउँछन्। आमाबाबुले गरेको काम गर्दा कस्तो हुन्छ, तिनीहरू थाह पाउन चाहन्छन्। तपाईंले सिकाएका व्यक्तिहरूले पनि त्यसै गर्न चाहन्छन्। तपाईंले “ख्रीष्टको देखासिकी गरेजस्तै” तपाईंको “देखासिकी” गर्न थाल्दा तिनीहरूले यहोवाको मार्गमा हिंड्दा पाइने आशिष् अनुभव गर्न सक्नेछन्। (१ कोरि. ११:१) यहोवाले कसरी मदत गर्नुहुन्छ र कसरी ख्याल राख्नुहुन्छ, त्यो तिनीहरू आफैले बुझ्न सक्नेछन्।
यसले अरूको निम्ति राम्रो उदाहरण बसाल्नु महत्त्वपूर्ण छ भन्ने गम्भीर कुरा सम्झाउँछ। बाइबल सिद्धान्त प्रयोग गर्नेबारे विद्यार्थीको लागि साक्षात् उदाहरण भइदिन “पवित्र आचरण . . . र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्ने” सन्दर्भमा हामी “कस्तो किसिमको मानिस” हौं, त्यो देखाएर धेरै मदत गर्न सक्छौं। (२ पत्रु. ३:११) बाइबल विद्यार्थीलाई नियमित तवरमा बाइबल पढ्न प्रोत्साहन दिनुहुन्छ भने पहिला आफै बाइबल पढ्ने सन्दर्भमा लगनशील हुनुपर्छ। छोराछोरीले बाइबल सिद्धान्तअनुसार जीवन बिताउन सिकेको चाहनुहुन्छ भने उनीहरूले देख्नेगरि तपाईंले परमेश्वरको स्तरअनुसार जीवन बिताएको हुनुपर्छ। प्रचारमा जोसिलो हुनुहोस् भनेर मण्डलीमा सिकाउँदै हुनुहुन्छ भने तपाईं आफै प्रचारमा जोसिलो हुनुपर्छ। जे सिकाउनुहुन्छ, त्यसैअनुसार गर्नुहुन्छ भने मात्रै तपाईं अरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ।—रोमी २:२१-२३.
सिकाउने तरिकामा प्रगति गर्न आफैलाई सोध्नुहोस्: ‘मैले सिकाउँदा के त्यसले श्रोताको मनोवृत्ति, बोली वा काममा असर गर्छ? प्रस्टसित बुझाउन दुई विचारबीचको भिन्नता स्पष्टसित बताउँछु? भनेका कुरा विद्यार्थीले, छोराछोरीले र श्रोताले सम्झन सकून् भनेर म के गर्छु? श्रोतालाई तिनीहरूले सिकिरहेको कुरा व्यवहारमा प्रयोग गर्ने तरिकाबारे स्पष्टैसित बुझाइदिएको छु? के मैले बसालेको उदाहरणबाट श्रोताले त्यही सिकेका छन्? छलफल गरिएको विषयप्रति तिनीहरूले देखाउने प्रतिक्रियाले यहोवासितको सम्बन्धलाई कसरी असर गर्छ भन्ने कुरा के श्रोताले बुझेका छन्?’ (हितो. ९:१०) शिक्षकको रूपमा आफ्नो क्षमता विकास गर्न खोज्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिइरहनुहोस्। “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैं होसियार होऊ। ती कुराहरूलाई पक्रिराख, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।”—१ तिमो. ४:१६.