अध्याय १२
इशारा र अनुहारको हावभाव
कुनै-कुनै संस्कृतिमा मानिसहरू इशारा गर्न लाज मान्दैनन् भने कतै-कतै त्यत्ति इशारा गरिंदैन। तैपनि सबैले नै अनुहारको हावभावबाट वा कुनै न कुनै किसिमको इशारा गरेर बोल्छन्। एक जनासित कुरा गर्दा होस् वा मानिसहरूसामु बोल्दा होस्, हामी कुनै न कुनै किसिमको इशारा गरिरहेका हुन्छौं।
येशू र उहाँका चेलाहरू कुराकानी गर्दा सजिलै इशारा गर्थे। एक पटक येशूलाई उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्न चाहन्छन् भनी बताइयो। त्यतिखेर येशूले यस्तो जवाफ दिनुभयो: “को हुन् मेरी आमा अनि को हुन् मेरा भाइहरू?” त्यसपछि बाइबलमा यस्तो लेखिएको छ: “आफ्नो हात चेलाहरूतिर तेर्स्याउँदै उहाँले भन्नुभयो: ‘हेर, मेरी आमा अनि मेरा भाइहरू!’” (मत्ती १२:४८, ४९) प्रेषित १२:१७ र १३:१६ मा पनि प्रेषित पत्रुस र प्रेषित पावलले कुराकानी गर्दा सजिलै इशारा गरेको विवरण दिइएको छ।
विचार तथा भावनाहरू बोलेर मात्र होइन तर इशाराबाट र अनुहारको हावभावबाट पनि व्यक्त गरिन्छ। इशारा गरिएन र अनुहारको हावभाव देखाइएन भने बोल्ने मानिस भावशून्य छन् भन्ने भान पर्न जान्छ। तर विचार व्यक्त गर्ने यी माध्यम सही तरिकाले प्रयोग गरिएका छन् भने तपाईंले भन्न खोजेको कुरा झनै प्रभावकारी हुनेछ। फोनमार्फत कुरा गर्दा पनि सही तरिकामा इशारा गर्दा र अनुहारको हावभाव देखाउँदा तपाईंको कुराकानी कत्तिको महत्त्वपूर्ण छ र तपाईं त्यसबारे कस्तो महसुस गर्नुहुन्छ, तपाईंको आवाजबाटै स्पष्ट हुन्छ। त्यसैले चाहे तपाईं स्वतःस्फूर्त तरिकाले बोलिरहेको होस् वा पढिरहेको होस्, अथवा श्रोताले तपाईंलाई हेरिरहेका होऊन् वा आफ्नै बाइबलमा हेरिरहेका होऊन्, तपाईंले इशारा गर्नु र अनुहारको हावभाव देखाउनुको महत्त्व बेग्लै छ।
तपाईंको इशारा र अनुहारको हावभाव स्वतः आउनुपर्छ, किताब पढेर सिक्न सकिंदैन। किनभने तपाईंले किताब पढेर कसरी हाँस्ने वा कसरी रुष्ट हुने भनी सिकेको होइन। इशाराले पनि तपाईंभित्र लुकेको भावना व्यक्त गर्नुपर्छ। तपाईंको इशारा जति स्वाभाविक हुन्छ त्यति नै राम्रो हुन्छ।
साधारणतया इशारा दुई किसिमका हुन्छन्: वर्णनात्मक र जोड दिन गरिने इशारा। वर्णनात्मक इशारा कुनै गतिविधिबारे जानकारी दिन वा लम्बाइ, चौडाइ, उँचाइ जस्ता कुरा बताउन वा स्थानबारे वर्णन गर्न प्रयोग गरिन्छ। स्कूलमा इशारा गर्ने बुँदामा काम गर्दै हुनुहुन्छ भने एक-दुइटा मात्र इशारा गर्ने नगर्नुहोस्। भाषणभरि स्वाभाविक रूपमा इशारा गर्ने प्रयास गर्नुहोस्। यसो गर्न गाह्रो भइरहेको छ भने दिशा, दूरी, आकार, स्थान वा तुलना गर्ने जस्ता शब्दहरू खोज्नुहोस्। आफ्नो भाषणमा डुब्दा तपाईंले अरूमा कस्तो छाप पार्दै हुनुहुन्छ भन्ने चिन्ता हुँदैन। सामान्यतया तपाईं जसरी कुराकानी गर्नुहुन्छ वा बोल्नुहुन्छ त्यस्तै गर्नुहोस्। आत्तिनुभएको छैन भने इशारा स्वतः आउँछ।
जोड दिन गरिने इशाराले भावना तथा विश्वस्तता प्रकट गर्छ। यस्तो इशाराले कुनै पनि विचारलाई जोड दिन्छ, जीवन्त पार्छ र सबल बनाउँछ। त्यसैकारण जोड दिन गरिने इशारा देखाउनु महत्त्वपूर्ण छ। तर सावधान! यस्तो इशारा अनौठो बानीमा सजिलै परिणत हुन सक्छ। बारम्बार एउटै इशारा गर्दा तपाईंको भाषण प्रभावकारी हुनु त कता हो कता श्रोताले तपाईंको इशारामा मात्र ध्यान दिन्छन्। तपाईंको पनि यस्तै समस्या छ भनेर स्कूल निरीक्षकले बताए भने केही समयका लागि वर्णनात्मक इशारा मात्र गर्नुहोस्। केही समयपछि जोड दिन गरिने इशारा फेरि प्रयोग गर्नुहोस्।
जोड दिन गरिने इशारा कुन हदसम्म गर्ने र कुन प्रकारको प्रयोग गर्ने भन्ने कुरा निधो गर्न कोसित कुरा गर्दै हुनुहुन्छ, उनीहरूको भावना विचार गर्नुहोस्। श्रोतातर्फ औंला ठड्याएर कुरा गर्दा तिनीहरूलाई अप्ठेरो महसुस हुन्छ। कतै-कतै पुरुषले केही खास किसिमको हावभाव देखाएको राम्रो मानिंदैन। जस्तै, पुरुषले आश्चर्य व्यक्त गर्दा मुखमा हात राखे भने अरूले तिनलाई स्वास्नीमान्छेको जस्तो हावभाव देखाउने मान्छे रहेछ भन्ठान्छन्। अनि कतै-कतै भने महिलाले हात हल्लाइ-हल्लाइ कुरा गर्नुलाई बेसोमति ठानिन्छ। त्यसैले यस्ता ठाउँमा ख्रीष्टियन दिदीबहिनीले अनुहारबाटै विभिन्न भाव व्यक्त गर्नुपर्छ। अनि सानो समूहमा बढाइ-चढाइ इशारा गर्दा प्रायजसो ठाउँमा तपाईंको कुराकानीलाई हाँसोमा उडाइदिन्छन्।
अनुभव बटुल्दै गएपछि र कुराकानी गर्न सजिलो लाग्दै गएपछि जोड दिन गरिने कुनै पनि इशाराबाट तपाईंको भावना स्वतः व्यक्त हुन्छ, तपाईं विश्वस्त र निष्कपट हुनुहुन्छ भनेर स्पष्ट हुन्छ। यस्तो इशाराले तपाईंको बोली अर्थपूर्ण हुन्छ।
तपाईंको अनुहारको हावभाव: वास्तवमा तपाईंलाई कस्तो लागिरहेको छ, त्यो कुरा शरीरका अन्य अङ्गबाट भन्दा अनुहारबाट देखिन्छ। तपाईंले शिर ढल्काएको तरिका, तपाईंका आँखा र मुखबाट पनि भाव व्यक्त भइरहेको हुन्छ। एउटै शब्द नबोली तपाईंले अनुहारबाट भावशून्यता, घृणा, आश्चर्य, दङ्ग परेको अवस्था वा प्रसन्नता व्यक्त गर्न सक्नुहुन्छ। अनुहारको हावभाव बोलिएको कुरासित मेल खाएमा श्रोताले त्यो कल्पना गर्न र महसुस गर्न सक्छन्। सृष्टिकर्ताले हाम्रो अनुहारमा मात्रै ३० भन्दा धेरै किसिमका मांसपेशी राखिदिनुभएको छ। तपाईं मुस्कुराउँदा तीमध्ये आधा जति मांसपेशी सक्रिय हुन्छन्।
मञ्चबाट भाषण दिइरहेको होस् वा प्रचारमा भाग लिइरहेको होस्, तपाईं मानिसहरूको मन आनन्दित पार्ने राम्रो सन्देश बाँड्ने कोसिस गर्न चाहनुहुन्छ। तपाईं मुस्कुराउँदा त्यस्तो चाहना देखिन्छ। अर्कोतर्फ यदि तपाईंको अनुहारमा केही पनि भाव छैन भने तपाईंको निष्कपटतामाथि शङ्का उब्जन्छ।
मुस्कुराउँदा तपाईं अरूबारे सोच्नुहुँदो रहेछ भन्ने देखिन्छ। आज मानिसहरू नचिनेको व्यक्तिदेखि डराउँछन्; त्यसैकारण मुस्कुराउनु महत्त्वपूर्ण छ। तपाईं मुस्कुराउँदा अरूले सजिलो महसुस गर्छन् र तपाईंले भन्ने कुरा तिनीहरूले स्वीकार्ने सम्भावना धेरै हुन्छ।