अध्याय सोह्र
“आपसमा प्रगाढ प्रेम राख”
१. यहोवाका साक्षीहरूको सभामा पहिलो चोटि आउने नयाँ व्यक्तिहरू अक्सर के देखेर प्रभावित हुन्छन्?
मानिसहरू पहिलो चोटि यहोवाका साक्षीहरूको सभामा आउँदा त्यहाँ देखाइने प्रेमबाट अक्सर प्रभावित हुन्छन्। तिनीहरूलाई गरिएको स्वागत र न्यानो संगतिमा तिनीहरू त्यस्तो प्रेम महसुस गर्छन्। हाम्रा अधिवेशनहरूमा आउने आगन्तुकहरूले पनि यो प्रेम देख्छन्। एक जना समाचार संवाददाताले एउटा अधिवेशनबारे यस्तो टिप्पणी गरे: ‘लागूपदार्थ वा मद्यको नशामा कोही छैनन्। कसैले चिच्याउने कराउने गर्दैनन्। घचेटाघचेट छैन। ठेलमठेल छैन। कसैले किरिया खाने वा शपथ खाने गर्दैनन्। अश्लील ठट्यौली वा फोहोर बोली सुनिंदैन। चुरोटको धूवाँ देखिंदैन। चोरी छैन। कसैले सिसी वा डब्बा जथाभावी फ्याँकिरहेका छैनन्। यो साँच्चै अनौठो थियो।’ यो सबै प्रेमको प्रमाण हो, त्यस्तो प्रेम जो “बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन।”—१ कोरिन्थी १३:४-८.
२. (क) समयको दौडान हाम्रो प्रेमबारे कुन कुरा प्रस्ट हुनुपर्छ? (ख) ख्रीष्टको अनुकरण गर्दै हामीले कस्तो प्रकारको प्रेम विकास गर्नुपर्छ?
२ साँचो मसीहीहरूको चिनारी भ्रातृप्रेम हो। (यूहन्ना १३:३५) हामी आध्यात्मिक तवरमा बढ्दै जाँदा अझ बढी प्रेम प्रकट गर्न सिक्छौं। प्रेरित पावलले आफ्ना सँगी मसीहीहरूको प्रेम “झन् झन् प्रशस्त हुँदै जाओस्” भनेर प्रार्थना गरे। (फिलिप्पी १:९) प्रेरित यूहन्नाले हाम्रो प्रेम आत्मत्यागी हुनुपर्छ भनी देखाए। तिनले यस्तो लेखे: “यसैमा हामीले प्रेम थाह पाउँछौं, किनभने [परमेश्वरको पुत्रले] हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो, र हामीले पनि हाम्रो भाइको निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।” (१ यूहन्ना ३:१६; यूहन्ना १५:१२, १३) के हामी आफ्ना भाइको लागि साँच्चै आफ्नो ज्यान दिनेछौं? प्रायजसो अवस्थामा त्यसो गर्नु नपर्ने हुन्छ तर असुविधा भए तापनि तिनीहरूलाई मदत गर्न अहिले हामी कत्तिको प्रयास गर्छौं?
३. (क) हामी कसरी अरूप्रति अझ बढी प्रेम देखाउन सक्छौं? (ख) अहिले आपसमा प्रगाढ प्रेम राख्नु किन अत्यावश्यक छ?
३ आत्मत्यागी मनोभाव झल्किने कार्यहरू गर्नुका साथै आफ्ना भाइहरूप्रति साँचो न्यानो भाव हुनुपर्छ। परमेश्वरको वचनले यस्तो आग्रह गर्छ: “भ्रातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ।” (रोमी १२:१०) हामी सबै कोही-कोही मानिसहरूप्रति त्यस्तो महसुस गर्छौं। तर के हामी अरूहरूप्रति पनि त्यस्तै स्नेह विकास गर्न सक्छौं? यस पुरानो रीतिरिवाजको अन्त नजिकिंदै जाँदा आफ्ना सँगी मसीहीहरूसित झन् घनिष्ठ हुनु अत्यावश्यक छ। बाइबल यसो भन्छ: “सबै कुराको अन्त नजीकै आएको छ। . . . सबैभन्दा बढ्ता आपसमा प्रगाढ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्तछ।”—१ पत्रुस ४:७, ८.
जब समस्याहरू उत्पन्न हुन्छन्
४. (क) मण्डलीका सदस्यहरूबीच किन समस्या खडा हुन सक्छ? (ख) हाम्रो झुकाव सधैं बाइबलको सल्लाह पालन गर्ने नभए तापनि त्यो लागू गर्दा कस्तो असल परिणाम हुन सक्छ?
४ निस्सन्देह, हामी असिद्ध होउन्जेल हामीले बेला बेलामा अरूलाई रिस उठाउँछौं। हाम्रा भाइहरूले पनि विभिन्न तरिकामा हामी विरुद्ध पाप गर्न सक्छन्। (१ यूहन्ना १:८) तपाईंले आफूलाई यस्तो अवस्थामा पाउनुभयो भने के गर्नुपर्छ? धर्मशास्त्रले आवश्यक निर्देशन दिन्छ। तर धर्मशास्त्रले बताउने कुरा हामी असिद्ध मानिसहरूको झुकावभन्दा बेग्लै हुन सक्छ। (रोमी ७:२१-२३) तैपनि, बाइबलमा दिइएका सल्लाहहरू साँच्चै लागू गर्दा त्यसले यहोवालाई खुसी तुल्याउने हाम्रो निष्कपट इच्छाको प्रमाण दिनेछ। यसो गर्दा अरूप्रति हाम्रो प्रेमको गुणस्तर पनि बढ्नेछ।
५. कसैले चित्त दुखायो भने हामीले किन बदला लिनु हुँदैन?
५ मानिसहरूको चित्त दुख्दा तिनीहरू कहिलेकाहीं आफूलाई चित्त दुखाउने व्यक्तिसित बदला लिने तरिकाहरू खोज्छन्। तर त्यसले परिस्थिति झनै बिगार्छ। बदला लिने काम हामीले परमेश्वरको जिम्मामा छोड्नुपर्छ। (हितोपदेश २४:२९; रोमी १२:१७-२१) अरू कतिपयले चाहिं उक्त चित्त दुखाउने व्यक्तिसित सम्पर्क नै नराख्ने बाटो खोज्लान्। तर हामीले आफ्ना सँगी उपासकहरूलाई त्यसो गर्नु हुँदैन किनभने हाम्रो उपासना स्वीकार्य हुनु, केही हदसम्म आफ्ना भाइहरूलाई प्रेम गर्नुमा निर्भर हुन्छ। (१ यूहन्ना ४:२०) तसर्थ, पावलले यस्तो लेखे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) के तपाईं त्यसो गर्न सक्नुहुन्छ?
६. (क) हामीले आफ्नो भाइलाई कति चोटिसम्म क्षमा गर्नुपर्छ? (ख) कुन कुरा बुझ्दा हामी आफू विरुद्ध गरिएको पापप्रति उचित व्यवहार गर्न मदत पाउनेछौं?
६ कसैले हामी विरुद्ध बारम्बार पाप गर्छ तर तिनले मण्डलीबाट हटाइनुपर्ने घोर पाप गरेका छैनन् भने नि? त्यस्ता स-साना पापहरूको लागि प्रेरित पत्रुसले “सात पल्टसम्म” क्षमा गर्ने सल्लाह दिए। तर येशूले यसो भन्नुभयो: “सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरी पल्टसम्म।” कुनै मानिसले हामीलाई तिर्नुपर्ने कुराभन्दा हामी परमेश्वरप्रति अझ बढी ऋणी छौं भनेर येशूले प्रकाश पार्नुभयो। (मत्ती १८:२१-३५) कहिलेकाहीं स्वार्थी कार्यद्वारा, हाम्रो बोली वा सोचाइ अथवा कतिपय कुरामा चुकेर हामीले चालै नपाई दिनहुँ विभिन्न तरिकामा परमेश्वर विरुद्ध पाप गरिरहेका हुन्छौं। (रोमी ३:२३) यद्यपि, परमेश्वर हामीप्रति कृपालु हुन छोड्नुभएको छैन। (भजन १०३:१०-१४; १३०:३, ४) हामीले एकअर्कासित पनि त्यस्तै व्यवहार गरेको उहाँ चाहनुहुन्छ। (मत्ती ६:१४, १५; एफिसी ४:१-३) तब भने हामीले ‘खराबीको वास्ता नगर्ने’ प्रेम व्यवहारमा उतारिरहेका हुनेछौं।—१ कोरिन्थी १३:४, ५; १ पत्रुस ३:८, ९.
७. कोही भाइले हामी विरुद्ध तीतो भाव राखेमा हामीले के गर्नुपर्छ?
७ कहिलेकाहीं हामीले आफ्नो भाइ विरुद्ध कुनै तीतो भाव नराखे तापनि तिनले भने हामी विरुद्ध त्यस्तो भाव राखिरहेको हुन सक्छ। हामी १ पत्रुस ४:८ ले भनेझैं ‘प्रेमले ढाक्ने’ तरिका अपनाउन सक्छौं। अथवा तिनीसित कुरा गर्न अग्रसर भएर शान्तिपूर्ण सम्बन्ध पुनः कायम गर्ने प्रयास गर्न सक्छौं।—मत्ती ५:२३, २४.
८. सँगी विश्वासीको कुनै कार्यले गर्दा हामी खिन्न भएका छौं भने के गर्न सकिन्छ?
८ कुनै सँगी भाइको व्यवहारले तपाईंलाई मात्र होइन तर अरूलाई पनि खिन्न बनाइरहेको हुन सक्छ। यस्तो अवस्थामा तिनीसित भेटेरै कुरा गर्नु बेस होइन र? शायद हुन सक्छ। तपाईं आफैले तिनलाई मायालु ढंगमा समस्याबारे बताउनुभयो भने परिणाम राम्रो हुन सक्छ। तर पहिला तपाईंले आफैलाई यो प्रश्न सोध्नु बेस हुन्छ: ‘के तिनले साँच्चै गैरशास्त्रीय कुरा गर्दैछन्? अथवा कतै मेरो पृष्ठभूमि र लालनपालन बेग्लै भएकोले मात्र पो समस्या उत्पन्न भएको हो कि?’ आफ्नै स्तर खडा गरेर यसको आधारमा अरूको न्याय गर्नदेखि होसियार रहनुहोस्। (याकूब ४:११, १२) यहोवाले कुनै पक्षपात नगरी सबै पृष्ठभूमिका मानिसहरूलाई स्वीकार्नुहुन्छ अनि तिनीहरूलाई आध्यात्मिक तवरमा बढ्न समय दिनुभएर धीरज देखाउनुहुन्छ।
९. (क) मण्डलीमा कसैले घोर पाप गर्दा को तुरुन्तै अग्रसर हुनुपर्छ? (ख) आफू विरुद्ध कसैले गल्ती गर्दा कस्तो अवस्थामा आफै अग्रसर हुनुपर्छ र यसो गर्नुको उद्देश्य के हुनुपर्छ?
९ मण्डलीका कोही-कोही सदस्य अनैतिकताजस्तो घोर पापमा फसेका छन् भने तुरुन्तै कदम चालिहाल्नुपर्छ। कसले? प्राचीनहरूले। (याकूब ५:१४, १५) तथापि, आफू विरुद्ध कसैले व्यापारिक कारोबारमा वा जिब्रोको दुरुपयोग गरेर पाप गर्न पुगेका छन् भने, आफू नै अग्रसर भएर गल्ती गर्ने व्यक्तिसित व्यक्तिगत तवरमा कुरा गर्ने प्रयास गर्नुपर्छ। (मत्ती १८:१५) त्यसो गर्दा पनि समस्या सुल्झिएन भने मत्ती १८:१६, १७ मा दिइएअनुसार थप कदम चाल्नुपर्ने हुन्छ। यसलाई ध्यानमा राख्दै गल्ती गर्ने भाइप्रतिको प्रेम र तिनलाई ‘आफ्नो गर्ने’ उद्देश्यले तिनको मन छुने प्रयास गर्न मदत मिल्नेछ।—हितोपदेश १६:२३.
१०. समस्या खडा हुँदा सही दृष्टिकोण राख्न हामीलाई कुन कुराले मदत गर्नेछ?
१० कुनै समस्या खडा हुँदा त्यो सानो होस् या ठूलो, यहोवाको दृष्टिकोण बुझ्ने प्रयास गऱ्यौं भने मदत पाउनेछौं। उहाँले कुनै पनि प्रकारको पापलाई अनुमति दिनुहुन्न अनि घोर पाप गरेर पश्चात्ताप नगर्नेहरूलाई उहाँको तोकिएको समयमा संगठनबाट हटाउनुहुन्छ। तथापि, हामी सबैले सानातिना पाप गरिरहन्छौं र हामीलाई उहाँको धीरज अनि कृपा चाहिन्छ भनेर कहिल्यै नबिर्सौं। अरूको पापले हामीलाई पिरोल्दा हामीले अनुकरण गर्नुपर्ने नमुना यहोवाले बसाल्नुभएको छ। कृपालु हुँदा हामीले उहाँको प्रेम झल्काइरहेका हुन्छौं।—एफिसी ५:१, २.
‘ठूलो मनका’ हुने तरिकाहरू खोज्नुहोस्
११. पावलले कोरिन्थका मसीहीहरूलाई किन ‘ठूलो मनका’ हुन प्रोत्साहन दिए?
११ पावलले कोरिन्थ, ग्रीसका मण्डलीलाई बलियो बनाउन महिनौं बिताए। तिनले त्यहाँका भाइहरूलाई मदत गर्न निकै प्रयास गरे अनि तिनीहरूलाई प्रेम गरे। तर उनीहरूमध्ये कसै-कसैले पावलप्रति न्यानो व्यवहार गर्दैनथे। उनीहरू बढ्तै आलोचनात्मक थिए। तिनले उनीहरूलाई स्नेह प्रकट गर्ने सन्दर्भमा ‘ठूलो मनका’ हुने आग्रह गरे। (२ कोरिन्थी ६:११-१३; १२:१५) हामी अरूलाई प्रेम प्रकट गर्न अनि ठूलो मनका हुन के कस्ता तरिकाहरू खोजिरहेका छौं भनेर विचार गर्नु बेस हुनेछ।—१ यूहन्ना ३:१४.
१२. मण्डलीका सबैप्रति हामी कसरी प्रेम विकास गर्न सक्छौं?
१२ के हामीलाई मण्डलीका कोही-कोहीसित नजिक हुन गाह्रो लाग्छ? व्यक्तित्व भिन्नता सुल्झाउन आफै अग्रसर भयौं भने आपसमा न्यानो सम्बन्ध कायम गर्न मदत पाउँछौं र साँच्चै भन्ने हो भने, हामी पनि अरूले यसै गरेको चाहन्छौं। हामीले तिनीहरूको असल गुण पत्ता लगाएर त्यसैमा ध्यान केन्द्रित गऱ्यौं भने, तिनीहरूप्रतिको हाम्रो मनोभाव राम्रो हुन सक्छ। यसो गर्दा तिनीहरूप्रति हाम्रो प्रेम पक्कै बढ्नेछ।—लूका ६:३२, ३३, ३६.
१३. आफ्नो मण्डलीका सदस्यहरूलाई प्रेम देखाउन हामी कसरी ठूलो मनका हुन सक्छौं?
१३ हुन त हो, हामीले अरूलाई गर्न सक्ने कुराहरूको सीमा छ। हामीले हरेक सभामा आउने सबैलाई अभिवादन गर्न नसकौंला। भोजनको लागि निम्तो दिंदा सबैलाई समावेश गर्न सम्भव नहोला। तर के हामी मण्डलीका केही सदस्यसित अझ राम्ररी चिनजान बढाउन दुई चार मिनेट बढी समय बिताउन सक्छौं कि? हामीले मण्डलीमा राम्ररी नचिनेका व्यक्तिहरूलाई क्षेत्र सेवकाईमा सँगै जान कहिलेकाहीं निम्तो दिए कसो होला?
१४. आफूले कहिल्यै नभेटेका मसीहीहरूको बीचमा हामी कसरी एकअर्कालाई प्रगाढ प्रेम देखाउन सक्छौं?
१४ मसीही अधिवेशनहरूमा हामी प्रेममा ठूलो मनका हुने प्रशस्त मौका पाउँछौं। त्यहाँ हजारौं उपस्थित हुन सक्छन्। हामी सबैलाई भेट्न त सक्दैनौं तर आफ्नो व्यवहारद्वारा हामी अरूको सुविधालाई प्राथमिकता दिन्छौं भनेर प्रस्ट देखाउन सक्छौं। कार्यक्रमहरूबीचको समयावधिमा हामी वरपर बसिरहेकाहरूसित कुरा गर्न अग्रसर भएर व्यक्तिगत चासो देखाउन सक्छौं। कुनै दिन यस पृथ्वीमा बाँचिरहेका सबै मानिसहरू हाम्रा भाइबहिनीहरू हुनेछन् र एकताबद्ध भएर हामी सबैका पिता, साँचो परमेश्वरको उपासना गरिरहेका हुनेछौं। त्यतिबेला एकअर्कालाई चिन्न पाउनु कस्तो आनन्दको कुरा हुनेछ! प्रगाढ प्रेमले हामीलाई त्यसो गर्न उत्प्रेरित गर्नेछ। अहिल्यैदेखि त्यसो गर्न सुरु गरे कसो होला?
पुनरावृत्ति छलफल
• मसीहीहरूबीच समस्या उत्पन्न हुँदा त्यसको कसरी समाधान गर्नुपर्छ र किन?
• हामी आध्यात्मिक तवरमा बढ्दै जाँदा कसरी हाम्रो प्रेम पनि बढ्दै जानुपर्छ?
• आफ्ना घनिष्ठ साथीहरूबाहेक अरूलाई पनि कसरी प्रगाढ प्रेम देखाउन सकिन्छ?
[पृष्ठ १४८-मा भएको चित्र]
मसीही प्रेम थुप्रै तरिकामा देखाउन सकिन्छ, जस्तै मण्डलीका सभाहरूमा