अध्याय सत्र
घरैमा ईश्वरीय भक्ति व्यवहारमा उतार्नुहोस्
१. परमेश्वरको वचनमा दिइएको निर्देशन लागू गर्दा विवाहमा कस्तो प्रभाव परेको छ?
यहोवा, विवाहको सुरवातकर्ता हुनुहुन्छ अनि उहाँको वचनले परिवारहरूको लागि सर्वोत्तम निर्देशन दिन्छ। त्यो निर्देशन पालन गर्दा थुप्रै मानिसहरूको विवाह सफल भएको छ। विवाह नगरी सँगै बसिरहेका कोही-कोही जोडी आफ्नो विवाह कानुनी रूपमा दर्ता गर्न उत्प्रेरित हुनु पनि सराहनीय कुरा हो। अरू कतिपयले भने विवाहित जोडीबाहेक अरूसित यौन सम्बन्ध राख्न छोडेका छन्। आफ्नी पत्नी र छोराछोरीप्रति दुर्व्यवहार गर्ने हिंस्रक पुरुषहरूले दया र कोमलता देखाउन सिकेका छन्।
२. मसीही पारिवारिक जीवनमा के-के बिथोलित छ?
२ मसीही पारिवारिक जीवनमा थुप्रै कुराहरू बिथोलित छन्, जस्तै हामी विवाहको स्थायित्वप्रति कस्तो दृष्टिकोण राख्छौं, परिवारमा आफ्नो जिम्मेवारी पूरा गर्न के गर्छौं अनि परिवारका सदस्यहरूसित कस्तो व्यवहार गर्छौं। (एफिसी ५:३३–६:४) पारिवारिक जीवनबारे बाइबलले बताउने कुरा हामीलाई थाह होला तर बाइबलको सल्लाह लागू गर्नु भनेको अर्कै कुरा हो। परमेश्वरका आज्ञा उल्लंघन गर्नेहरू भनी येशूले भत्सर्ना गर्नुभएका मानिसहरूजस्तो हामी कोही पनि हुन चाहँदैनौं। तिनीहरूले धार्मिक भक्ति मात्र पर्याप्त छ भन्ने गलत तर्क गरेका थिए। (मत्ती १५:४-९) हामी ईश्वरीय भक्तिको भेष लिने तर त्यसलाई आफ्नै घरपरिवारमा लागू गर्नदेखि चुक्न चाहँदैनौं। बरु, हामी साँचो ईश्वरीय भक्ति देखाउन चाहन्छौं र त्यसबाट “ठूलो लाभ” हुन्छ।—१ तिमोथी ५:४; ६:६; २ तिमोथी ३:५.
विवाह कहिलेसम्म रहिरहनेछ?
३. (क) थुप्रै वैवाहिक बन्धनहरू के हुँदैछन् तर हाम्रो संकल्प कस्तो हुनुपर्छ? (ख) आफ्नो बाइबल प्रयोग गर्नुभएर यस अनुच्छेदको तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्।
३ अचेल वैवाहिक बन्धनहरू झन् झनै नाजुक हुँदै गइरहेका छन्। वर्षौं सँगै जीवन बिताइसकेका दम्पतीहरू सम्बन्ध विच्छेद गरेर अर्कैसित विवाह गर्ने निर्णय गर्छन्। साथै, भर्खरै मात्र विवाह भएका जवान दम्पतीहरू छुट्टिएको कुरा सुन्नु पनि सामान्य भइसक्यो। अरूले जे सुकै गरून्, हाम्रो इच्छा यहोवालाई प्रसन्न तुल्याउने हुनुपर्छ। त्यसकारण निम्न प्रश्न तथा शास्त्रपदमा विचार गरेर परमेश्वरको वचनले विवाहको स्थायित्वबारे के भन्छ, केलाऔं।
पुरुष र स्त्रीले विवाह गरेपछि तिनीहरू कतिन्जेल सँगै बस्नुपर्छ? (मर्कूस १०:६-९; रोमी ७:२, ३)
पुनर्विवाहको सम्भाव्यतासहित सम्बन्ध विच्छेद गर्न सकिने एक मात्र आधार के हो जुन परमेश्वरको सामु पनि वैध छ? (मत्ती ५:३१, ३२; १९:३-९)
आफ्नो वचनले अनुमति नदिने सम्बन्ध विच्छेदबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? (मलाकी २:१३-१६)
के बाइबलले पति पत्नी छुट्टिनु, वैवाहिक समस्याको समाधान हो भनेर सिकाउँछ? (१ कोरिन्थी ७:१०-१३)
कस्तो अवस्थामा छुट्टिएर बस्न सकिन्छ? (भजन ११:५; लूका ४:८; १ तिमोथी ५:८)
४. कुनै-कुनै विवाहहरू किन स्थायी हुन्छन्?
४ कुनै-कुनै विवाहहरू सफल र स्थायी हुन्छन्। किन? एउटा कारण, दुवै पक्ष परिपक्व भएपछि मात्र विवाह गर्नु हो। तर आफ्ना चासोहरूमा रुचि देखाएर सुन्ने तथा खुलेआम छलफल गर्न सक्ने जोडी भेट्टाउनु पनि महत्त्वपूर्ण छ। योभन्दा अझ महत्त्वपूर्ण कुरा, यहोवालाई प्रेम गर्ने अनि उहाँको वचनलाई समस्याहरू सुल्झाउने आधारको रूपमा आदर गर्ने जोडी भेट्टाउनु हो। (भजन ११९:९७, १०४; २ तिमोथी ३:१६, १७) त्यस्तो व्यक्तिले कतै काम कुरा बिग्रिएको खण्डमा छुट्टिएर बस्न वा सम्बन्ध विच्छेद गर्न सकिहालिन्छ नि, भन्ने सोचाइ राख्नेछैन। तिनले आफ्नो जोडीका कमीकमजोरीहरूलाई निहुँ बनाउँदै जिम्मेवारीबाट पन्छिने विचार गर्नेछैनन्। बरु, तिनले समस्याहरूको सामना गर्दै समाधान खोज्नेछन्।
५. (क) विवाहमा यहोवाप्रति वफादारी कसरी मुछिएको छ? (ख) विरोध सहनुपरे तापनि यहोवाका स्तरहरू पालन गर्दा कस्ता लाभहरू पाउन सकिन्छ?
५ हामीले दुःख भोग्दा यहोवाका मार्गहरू त्याग्नेछौं भनी शैतानले दाबी गर्छ। (अय्यूब २:४, ५; हितोपदेश २७:११) तर बेग्लै विश्वास राख्ने पति वा पत्नी भएका अधिकांश यहोवाका साक्षीहरूले दुःख भोग्नुपरे तापनि आफ्नो विवाह बाचा तोडेका छैनन्। तिनीहरू यहोवा र उहाँका आज्ञाहरूप्रति वफादार रहिरहेका छन्। (मत्ती ५:३७) कतिपय जोडीले वर्षौं विरोध सहेर धैर्य धारण गरेको हुँदा तिनीहरूका पति वा पत्नीले यहोवाको उपासनामा साथ दिन थालेका छन्! (१ पत्रुस ३:१, २) आफ्नो पति वा पत्नीले परिवर्तन हुने कुनै संकेत नदेखाउने वा यहोवाको सेवा गरेको कारण आफ्नो जीवनसाथीले त्याग्ने मसीहीहरूलाई आफूले घरमा ईश्वरीय भक्तिको प्रमाण देखाएको कारण यहोवाबाट आशिष् पाउनेछन् भनी थाह छ।—भजन ५५:२२; १४५:१६.
प्रत्येकले आ-आफ्नो भूमिका पूरा गर्ने
६. विवाह सफल बनाउन कुन प्रबन्धलाई आदर गर्नुपर्छ?
६ निस्सन्देह, विवाह सफल हुनको लागि सँगै बस्नु मात्र पर्याप्त छैन। शिरत्वसम्बन्धी यहोवाको प्रबन्धप्रति आदर देखाउनु विवाहित जोडी दुवैले गर्नुपर्ने आधारभूत कुरा हो। यसले घरमा सुव्यवस्था र सुरक्षा कायम राख्न योगदान पुऱ्याउँछ। हामी १ कोरिन्थी ११:३ मा यसो लेखिएको पाउँछौं: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ।”
७. परिवारमा शिरत्व कसरी प्रयोग गर्नुपर्छ?
७ यो पदको सुरुमै के भनिएको छ, तपाईंले याद गर्नुभयो? हो, सबै पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ र उहाँको अधीनमा बस्नुपर्छ। यसको मतलब पतिले येशूका गुणहरू झल्किने ढंगमा शिरत्वको प्रयोग गर्नुपर्छ। ख्रीष्ट, यहोवाको अधीनमा बस्नुहुन्छ, मण्डलीलाई असाध्यै माया गर्नुहुन्छ अनि त्यसको निम्ति प्रबन्ध गर्नुहुन्छ। (१ तिमोथी ३:१५) उहाँले “त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” येशू घमण्डी र स्वार्थी नभई “विनयी र नम्र हृदयको” हुनुहुन्छ। उहाँको शिरत्वको अधीनमा बस्नेहरूले “स्फूर्ति” पाउँछन्। पतिले परिवारसित यसरी व्यवहार गर्दा ख्रीष्टको अधीनमा बसेको प्रकट गरिरहेको हुनेछ। अनि मसीही पत्नीले आफ्नो पतिलाई सहयोग गरेर तिनको शिरत्वको अधीनमा बस्नु लाभदायी तथा स्फूर्तिदायी भएको महसुस गर्नेछिन्।—एफिसी ५:२५-३३; मत्ती ११:२८, २९, NW; हितोपदेश ३१:१०, २८.
८. (क) कुनै-कुनै घरमा मसीही तरिका अपनाउँदा राम्रो परिणाम नआएको जस्तो किन लाग्न सक्छ? (ख) त्यस्तो परिस्थिति सामना गर्नुपर्दा हामीले के गर्नुपर्छ?
८ तथापि, समस्याहरू उत्पन्न हुन्छन्। परिवारमा कसैले बाइबल सिद्धान्त लागू गर्न थाल्नुअघि नै अरूले आफ्नो कामकुरामा निर्देशन दिंदा रिस उठ्ने गरेको हुन सक्छ। विनम्र आग्रह र दयालु व्यवहार गर्दा पनि खासै कुनै नतिजा ननिस्कन सक्छ। बाइबलले हामीलाई “क्रोध, रीस, हो-हल्ला, निन्दा, सारा वैर-भाव” त्याग भन्ने सल्लाह दिन्छ भनेर हामीलाई थाह छ। (एफिसी ४:३१) तर कसैले यस्तै व्यवहार मात्र गरिरहन्छ भने के गर्ने? येशूले धम्क्याउने तथा गाली गर्ने मानिसहरूको अनुकरण गर्नुभएन तर पितामा भरोसा राख्नुभयो। (१ पत्रुस २:२२, २३) त्यसैले घरमा तनावपूर्ण परिस्थिति उत्पन्न हुँदा संसारको तौरतरिका अपनाउनुभन्दा मदतको लागि यहोवालाई प्रार्थनामा पुकारेर ईश्वरीय भक्ति देखाउनुहोस्।—हितोपदेश ३:५-७.
९. दोष कोट्याउनुभन्दा थुप्रै मसीही पतिहरूले के गर्न सिकेका छन्?
९ तुरुन्तै परिवर्तनहरू भइहाल्दैनन् तर धीरजी अनि लगनशील भई बाइबलको सल्लाह लागू गरेको खण्डमा साँच्चै प्रभावकारी हुन्छ। मण्डलीसित ख्रीष्टले कस्तो व्यवहार गर्नुहुन्छ भनी बुझेपछि थुप्रै पतिहरूले आफ्नो वैवाहिक सम्बन्धमा सुधार भएको पाए। मण्डली भनेको सिद्ध मानिसहरूको समूह होइन। यद्यपि, येशूले मण्डलीलाई प्रेम गर्नुहुन्छ, राम्रो उदाहरण बसाल्नुहुन्छ अनि यसलाई सुधार्न धर्मशास्त्र चलाउनुहुन्छ। उहाँले मण्डलीको खातिर आफ्नो जीवन अर्पण गर्नुभयो। (१ पत्रुस २:२१) उहाँको उदाहरणले थुप्रै मसीही पतिहरूलाई परिवारको असल शिर हुन तथा सुधारको लागि मायालु मदत दिन प्रोत्साहित गरेको छ। गल्ती कोट्याउनु वा ठुस्किएर बस्नुभन्दा मायालु मदत दिंदा राम्रो परिणाम पाउन सकिन्छ।
१०. (क) मसीही हुँ भन्ने पति वा पत्नीले समेत घरमा कुन-कुन तरिकामा अरूको लागि जीवन कठिन बनाउन सक्छ? (ख) परिस्थिति सुधार्न के गर्न सकिन्छ?
१० पति आफ्नो परिवारका भावनात्मक आवश्यकताहरूप्रति संवेदनशील छैनन् वा पारिवारिक बाइबल छलफल अनि अन्य गतिविधिहरूका लागि अग्रसर हुँदैनन् भने के गर्ने? अथवा पत्नीले सहयोग गर्दिनन् र ईश्वरीय अधीनता देखाउँदिनन् भने के गर्ने? कतिपयले आफ्ना समस्याहरूबारे आदरणीय ढंगमा पारिवारिक छलफल गरेर असल परिणाम पाएका छन्। (उत्पत्ति २१:१०-१२; हितोपदेश १५:२२) सधैं आफूले आशा गरेजस्तो परिणाम प्राप्त नभए तापनि हामी प्रत्येकले आफ्नो जीवनमा परमेश्वरको आत्माको फल फलाउने अनि परिवारका अन्य सदस्यहरूलाई मायालु हेरचाह देखाउने प्रयास गरेर घरको वातावरण राम्रो बनाउन योगदान दिन सक्छौं। (गलाती ५:२२, २३) अर्को व्यक्तिले केही गरोस् भनी पर्खेर होइन तर हामी ईश्वरीय भक्ति व्यवहारमा उतार्छौं भनी देखाउन आफै अग्रसर हुँदा परिस्थितिमा सुधार आउनेछ।—कलस्सी ३:१८-२१.
जवाफ कहाँ पाउने
११, १२. (क) पारिवारिक जीवन सफल बनाउन यहोवाले हामीलाई कस्तो मदत दिनुभएको छ?
११ पारिवारिक मामिलाको सन्दर्भमा मानिसहरू विभिन्न स्रोतबाट सल्लाह खोज्छन्। तर हामीलाई थाह छ, परमेश्वरको वचनमा सर्वोत्तम सल्लाह छ र त्यो सल्लाह लागू गर्न परमेश्वरले हामीलाई उहाँको दृश्य संगठनमार्फत मदत दिनुभएकोमा हामी कृतज्ञ छौं। के तपाईंले त्यस मदतबाट पूरा लाभ उठाइरहनुभएको छ?—भजन ११९:१२९, १३०; मीका ४:२.
१२ मण्डलीका सभाहरूमा उपस्थित हुनुको अलावा के तपाईं पारिवारिक बाइबल अध्ययनको लागि नियमित तवरमा समय छुट्याउनुहुन्छ? यसो गर्ने परिवारहरूले उपासनामा एकताबद्ध हुन योगदान पुऱ्याइरहेका हुन्छन्। तिनीहरूले आफ्नो परिस्थितिमा परमेश्वरको वचन लागू गर्दा तिनीहरूको पारिवारिक जीवन अर्थपूर्ण हुन्छ।—व्यवस्था ११:१८-२१.
१३. (क) पारिवारिक मामिलामा प्रश्न खडा हुँदा हामी आवश्यक मदत कहाँ पाउन सक्छौं? (ख) हामीले गर्ने सबै निर्णयहरूमा कुन कुरा झल्कनुपर्छ?
१३ पारिवारिक मामिलाको सन्दर्भमा तपाईंका प्रश्नहरू होलान्। उदाहरणका लागि, जन्म निरोधको लागि के गर्ने? के कुनै कुनै खास अवस्थामा गर्भपात गर्नु उचित हो? बच्चाले आध्यात्मिक कामकुरामा त्यति चासो देखाउँदैन भने तिनले पारिवारिक उपासनामा कुन हदसम्म भाग लिएको आशा गर्न सकिन्छ? यस्ता थुप्रै प्रश्नहरूबारे यहोवाका साक्षीहरूद्वारा प्रकाशित साहित्यहरूमा छलफल भइसकेको छ। जवाफको लागि अनुक्रमणिकालगायत बाइबल अध्ययन सहायकहरू प्रयोग गर्न सिक्नुहोस्। अनुक्रमणिकामा दिइएका प्रकाशनहरू तपाईंसित छैन भने राज्यभवनको पुस्तकालयमा हेर्नुहोस्। अथवा तपाईंको कम्प्युटरमा यी प्रकाशनहरू हुन सक्छन्। तपाईंले यी प्रश्नहरू कुनै पाको मसीही पुरुष र स्त्रीसित छलफल गर्न सक्नुहुन्छ। तर सधैं, हरेक प्रश्नको हो वा होइन भन्ने जवाफ पाउने आशा नगर्नुहोस्। प्रायजसो व्यक्तिगत तवरमा वा विवाहित दम्पतीको हैसियतमा तपाईंले नै निर्णय गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईं सार्वजनिक ठाउँमा मात्र होइन तर घरमा पनि ईश्वरीय भक्ति व्यवहारमा उतारेको झल्किने निर्णयहरू गर्नुहोस्।—रोमी १४:१९; एफिसी ५:१०.
पुनरावृत्ति छलफल
• आफ्नो विवाहित जोडीप्रति विश्वासी हुनुमा यहोवाप्रतिको वफादारी कसरी बिथोलित छ?
• पारिवारिक समस्याको कारण दबाब उत्पन्न हुँदा परमेश्वरलाई प्रसन्न तुल्याउने कुरा गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?
• परिवारका कोही सदस्यको केही कमजोरी भए तापनि परिस्थिति सुधार्न हामी के गर्न सक्छौं?
[पृष्ठ १५५-मा भएको चित्र]
पतिको शिरत्वले येशूका गुणहरू झल्काउनुपर्छ
[पृष्ठ १५७-मा भएको चित्र]
परिवारसितको नियमित बाइबल अध्ययनले एकताबद्ध हुन मदत गर्छ