प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt chap. १८ pp. १५९-१६६
  • “तिनीहरू पनि संसारका होइनन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनीहरू पनि संसारका होइनन्‌”
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो राज्य यस संसारको होइन”
  • चेलाहरूले येशूको नेतृत्व पछ्याउँछन्‌
  • यी आखिरी दिनमा मसीहीहरू तटस्थ रहन्छन्‌
  • “तिनीहरू संसारका होइनन्‌”
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • आखिरी दिनमा तटस्थ मसीहीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के धर्म राजनीतिमा मुछिनु उचित हो?
    थप लेखहरू
  • किन यहोवाका साक्षीहरू कुनै पनि राजनैतिक गतिविधिमा भाग लिंदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt chap. १८ pp. १५९-१६६

अध्याय अठाह्र

“तिनीहरू पनि संसारका होइनन्‌”

१. (क) येशूले आफ्नो मृत्यु हुनुअघि चेलाहरूको लागि कस्तो प्रार्थना गर्नुभयो? (ख) ‘संसारको भाग नहुनु’ किन यत्तिको महत्त्वपूर्ण छ?

आफू मारिनुअघिको रात येशूले आफ्ना चेलाहरूको लागि प्रार्थना गर्नुभयो। तिनीहरूलाई शैतानले भयंकर दबाब दिनेछ भनेर थाह पाउनुभएको हुँदा येशूले पितालाई यसो भन्‍नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१५, १६) संसारबाट अलग हुनु किन यत्तिको महत्त्वपूर्ण छ? किनभने शैतान यस संसारको शासक हो। मसीहीहरू शैतानको अधीनमा परेको संसारको भाग हुन चाहँदैनन्‌।—लूका ४:५-८; यूहन्‍ना १४:३०; १ यूहन्‍ना ५:१९.

२. कुन अर्थमा येशू संसारको भाग हुनुभएन?

२ संसारको भाग नहुनुको मतलब येशूले अरूलाई प्रेम गर्नु हुँदैनथ्यो भन्‍ने होइन। यसो नभई उहाँले बिरामीलाई निको पार्नुभयो, मरेकालाई बिउँताउनुभयो अनि मानिसहरूलाई परमेश्‍वरको राज्यबारे सिकाउनुभयो। उहाँले मानिसजातिको लागि आफ्नो ज्यानसमेत अर्पण गर्नुभयो। तर उहाँले शैतानको संसारको मनोभाव झल्काउनेहरूको अभक्‍त मनोवृत्ति तथा कार्यहरूलाई प्रेम गर्नुभएन। तसर्थ, उहाँले अनैतिक इच्छा, भौतिकवादी जीवन शैली र मान सम्मान खोज्ने जस्ता कार्यहरू विरुद्ध चेतावनी दिनुभयो। (मत्ती ५:२७, २८; ६:१९-२१; लूका २०:४६, ४७) त्यसकारण, येशू संसारको राजनीतिबाट पनि अलग बस्नु कुनै छक्कलाग्दो कुरा होइन। उहाँ यहूदी हुनुभए तापनि रोम र यहूदीहरूबीचको राजनैतिक विवादमा कसैको पक्ष लिनुभएन।

“मेरो राज्य यस संसारको होइन”

३. (क) यहूदी धार्मिक नेताहरूले येशूबारे पिलातसलाई कस्तो आरोप लगाए? (ख) येशूलाई मानव राजा बन्‍न कुनै चासो थिएन भनेर कुन कुराले देखाउँछ?

३ यहूदी धर्मगुरुहरूले येशूलाई गिरफ्तार गरेर रोमी राज्यपाल, पन्तियस पिलातसकहाँ लैजाँदा भएको घटनालाई विचार गर्नुहोस्‌। वास्तवमा ती धर्मगुरुहरू अप्ठ्यारोमा परेका थिए किनभने येशूले तिनीहरूको कपट पर्दाफास गर्नुभयो। राज्यपालले येशू विरुद्ध कदम चालोस्‌ भन्‍ने मनसाय राखेर तिनीहरूले यस्तो अरोप लगाए: “हाम्रो जातिलाई यसले बहकाउनलागेको, र सिजरलाई कर तिर्न रोकेको र आफैलाई चाहिं ‘म राजा हुँ’ भनेको हामीले फेला पाऱ्‍यौं।” (लूका २३:२) स्पष्टतः यो झूट थियो किनभने एक वर्षअघि मानिसहरूले येशूलाई राजा बनाउने प्रयास गर्दा उहाँले इन्कार गर्नुभएको थियो। (यूहन्‍ना ६:१५) उहाँलाई आफू भविष्यमा स्वर्गीय राजा हुनेछु भनेर थाह थियो। (लूका १९:११, १२) साथै, मानिसहरूले होइन तर यहोवाले उहाँलाई सिंहासनमा बसाल्नुहुने थियो।

४. कर तिर्ने सन्दर्भमा येशूको मनोवृत्ति कस्तो थियो?

४ येशू गिरफ्तार हुनुभन्दा तीन दिनअघि फरिसीहरूले येशूलाई कर तिर्ने सन्दर्भमा केही दोषपूर्ण कुरा बोल्न लगाउन खोजे। तर उहाँले यसो भन्‍नुभयो: “मलाई एउटा दिनार [रोमी सिक्का] देखाओ। यसमा कसको मूर्ति र छाप छ?” तिनीहरूले “सिजरको” भन्‍ने जवाफ दिएपछि उहाँले यसो भन्‍नुभयो: “जे सिजरका हुन्‌ सिजरलाई, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।”—लूका २०:२०-२५.

५. (क) गिरफ्तार हुने समयमा येशूले आफ्ना चेलाहरूलाई कस्तो पाठ सिकाउनुभयो? (ख) येशूले जे गर्नुभयो, त्यसको कारण कसरी बुझाउनुभयो? (ग) त्यो पुर्पक्षको परिणाम के भयो?

५ येशूले संसारका शासकहरूको विद्रोह गर्न सिकाउनुभएन। सिपाही तथा अरू पुरुषहरू येशूलाई गिरफ्तार गर्न आउँदा पत्रुसले तरवार झिकेर एक जना मानिसको कान काटिदिए। तर येशूले यसो भन्‍नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।” (मत्ती २६:५१, ५२) उक्‍त घटनाबारे भोलिपल्ट येशूले पिलातसलाई यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लडाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्‍ना १८:३६) पिलातसले येशूको विरुद्ध ‘केही कसूर नभेटाएको’ मानिलिए। तर भीडको दबाबमा पिलातसले येशूलाई मार्ने आदेश दिए।—लूका २३:१३-१५; यूहन्‍ना १९:१२-१६.

चेलाहरूले येशूको नेतृत्व पछ्याउँछन्‌

६. प्रारम्भिक मसीहीहरूले संसारको मनोभावबाट टाढै बसेको तर मानिसहरूलाई प्रेम गरेको कुरा कसरी देखाए?

६ येशूका चेलाहरूले संसारको भाग नहुनुमा के-के मुछिएको छ भनेर बुझे। यसको मतलब संसारको अभक्‍त मनोभाव तथा काममा नमुछिनु अनि रोमी सर्कस र रंगमञ्चमा देखाइने हिंस्रक तथा अनैतिक मनोरञ्जनको भागिदार नहुनु पनि थियो। चेलाहरू यस्तो मनोरञ्जनबाट अलग्गै बसेको कारण तिनीहरूमाथि मानिसजातिलाई घृणा गर्नेहरू भन्‍ने आरोप लगाइयो। तर आफ्ना सहमानवहरूलाई घृणा गर्नुको साटो मुक्‍तिको लागि परमेश्‍वरको प्रबन्धबाट अरूले लाभ उठाओस्‌ भनेर तिनीहरूले कडा परिश्रम गरे।

७. संसारको भाग नभएको हुँदा प्रारम्भिक मसीहीहरूले कस्तो अनुभव गरे? (ख) तिनीहरूले राजनैतिक शासक र कर तिर्ने विषयप्रति कस्तो दृष्टिकोण राखे र किन?

७ अक्सर गलत जानकारीको आधारमा सरकारी हाकिमहरूले येशूका अनुयायीहरूलाई पनि उहाँलाई जस्तै सताए। यद्यपि, सा.यु. ५६ तिर प्रेरित पावलले रोमका मसीहीहरूलाई ‘उच्च अख्तियारवालाहरूका [राजनैतिक शासकहरूका] अधीनमा रहन’ आग्रह गरे “किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन।” यसको मतलब यहोवाले नै संसारका सरकारहरू स्थापना गर्नुहुने त होइन तर उहाँको राज्यले पृथ्वीमा शासन नगरुञ्जेल ती शासकहरूलाई रहन दिनुहुन्छ। त्यसैकारण पावलले मसीहीहरूलाई संसारका शासकहरूको आदर गर्ने तथा कर तिर्ने सल्लाह दिनु उचित थियो।—रोमी १३:१-७; तीतस ३:१, २.

८. (क) मसीहीहरू कुन हदसम्म उच्च अख्तियारवालाहरूको अधीनमा बस्नुपर्छ? (ख) प्रारम्भिक मसीहीहरूले कसरी येशूको उदाहरण पछ्याए?

८ तथापि, राजनैतिक शासकहरूप्रतिको अधीनता सापेक्षिक हो, पूर्ण होइन। यहोवाको नियम र मानिसको नियम बाझिंदा यहोवाको सेवा गर्नेहरूले उहाँका नियमहरू पालन गर्नुपर्छ। अन द रोड टु सिभिलाइजेशन—अ वर्ल्ड हिस्ट्री नामक पुस्तकले प्रारम्भिक मसीहीहरूबारे के भन्छ, ध्यान दिनुहोस्‌: “रोमी नागरिकहरूले गर्नुपर्ने केही दायित्वहरू पूरा गर्न मसीहीहरूले इन्कार गरे। मसीहीहरूले . . . सैन्य सेवामा भर्ती हुनु भनेको आफ्नो विश्‍वासलाई लत्याउनुसरह ठाने। तिनीहरूले कुनै राजनैतिक ओहदा स्वीकारेनन्‌। तिनीहरूले सम्राट्‌को उपासना गरेनन्‌।” यहूदी महासभाले प्रचार नगर्नू भन्‍ने “कडा आज्ञा” दिंदा तिनीहरूले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२७-२९.

९. (क) यरूशलेमका मसीहीहरूले सा.यु. ६६ मा किन त्यस्तो कदम चाले? (ख) कुन अर्थमा त्यो हाम्रोलागि मूल्यवान्‌ नमुना हो?

९ राजनैतिक र सैनिक विवादहरूमा चेलाहरू पूर्णतया तटस्थ रहे। सा.यु. ६६ मा यहूदियाका यहूदीहरूले सिजरको विद्रोह गरे। रोमी सेनाले तुरुन्तै यरूशलेमलाई घेरा हाले। त्यो शहरका मसीहीहरूले के गरे? तिनीहरूले येशूको सल्लाह सम्झे र शहरबाट भागे। केही समयको लागि रोमीहरू यरूशलेमबाट फर्कंदा मसीहीहरू यर्दन नदी तरेर पेलाको डाँडाहरूतिर भागे। (लूका २१:२०-२४) तिनीहरूको तटस्थता भावी विश्‍वासी मसीहीहरूको लागि नमुना हो।

यी आखिरी दिनमा मसीहीहरू तटस्थ रहन्छन्‌

१०. (क) यहोवाका साक्षीहरू कुन काममा व्यस्त रहन्छन्‌ अनि किन? (ख) कुन कुरामा तिनीहरू तटस्थ छन्‌?

१० यस आखिरी दिनमा के कुनै समूह प्रारम्भिक मसीहीहरूको अनुकरण गर्दै पूर्णतया तटस्थ रहेको ऐतिहासिक विवरण छ? छ, यहोवाका साक्षीहरूले यसो गरेका छन्‌। यस समयको दौडान तिनीहरूले धार्मिकता मन पराउनेहरूलाई चिरकालीन शान्ति, संवृद्धि तथा आनन्द दिने एक मात्र माध्यम परमेश्‍वरको राज्य हो भनेर प्रचार गरेका छन्‌। (मत्ती २४:१४) तर राष्ट्रहरूबीचको विवादमा तिनीहरूले कडा तटस्थता कायम गरेका छन्‌।

११. (क) साक्षीहरूको तटस्थता र पादरी वर्गको व्यवहारबीच कस्तो सुस्पष्ट भिन्‍नता छ? (ख) राजनीतिमा धर्मको सहभागिताबारे यहोवाका साक्षीहरूले कस्तो दृष्टिकोण राख्छन्‌?

११ यस संसारका धर्मगुरुहरू भने राजनैतिक गतिविधिमा मुछिएको कुरा स्पष्ट छ। कुनै-कुनै मुलुकमा तिनीहरूले कोही उम्मेदवारको पक्ष वा विपक्षमा सक्रियतासाथ प्रचारप्रसारमा भाग लिएका छन्‌। कोही-कोही पादरीले त राजनैतिक ओहदासमेत सँभालेका छन्‌। अरूले भने राजनीतिज्ञहरूलाई पादरीले स्वीकृत गर्ने कार्यक्रमको समर्थन गर्न दबाब दिन्छन्‌। तथापि, यहोवाका साक्षीहरू राजनीतिमा भाग लिंदैनन्‌। नता राजनैतिक पार्टीमा भाग लिएर, राजनैतिक ओहदाको लागि उम्मेदवार भएर वा चुनावमा भोट खसालेर राजनैतिक गतिविधिमा हस्तक्षेप गर्छन्‌। येशूले आफ्ना चेलाहरू यस संसारको भाग हुनेछैनन्‌ भन्‍नुभएको हुँदा यहोवाका साक्षीहरूले राजनीतिमा भाग लिंदैनन्‌।

१२. यस संसारका धर्महरू तटस्थ नरहँदा परिणाम के भएको छ?

१२ येशूले भविष्यवाणी गर्नुभएझैं राष्ट्रहरू बारम्बार युद्धमा मुछिएका छन्‌। एउटै राष्ट्रभित्रका समूहहरूले समेत एक अर्कासित लडाईं गरेका छन्‌। (मत्ती २४:३, ६, ७) धार्मिक नेताहरूले सधैं एउटा राष्ट्रलाई विरोध अनि अर्कोलाई समर्थन गरेर आफ्ना अनुयायीहरूलाई पनि त्यसै गर्न आग्रह गरेका छन्‌। परिणाम के भएको छ? एउटै धर्मका सदस्यहरूले युद्धमा बेग्लै राष्ट्रियता वा जाति भएका मानिसहरूको हत्या गर्छन्‌। यो परमेश्‍वरको इच्छा विपरीत हो।—१ यूहन्‍ना ३:१०-१२; ४:८, २०.

१३. यहोवाका साक्षीहरूको तटस्थताबारे तथ्यले के देखाउँछ?

१३ तथापि, यहोवाका साक्षीहरू सबै विवादहरूमा तटस्थ रहेका छन्‌। नोभेम्बर १, १९३९ को द वाचटावर-ले यसो भन्यो: “प्रभुको पक्षमा हुने सबै मानिसहरू राष्ट्रहरूको विवादमा तटस्थ रहनेछन्‌।” सबै राष्ट्र अनि विभिन्‍न परिस्थितिमा रहेका यहोवाका साक्षीहरूले यस्तै अडान लिइरहेका छन्‌। तिनीहरू संसारको विभाजक राजनीति वा युद्धको कारण आफ्नो अन्तरराष्ट्रिय भ्रातृत्व टुक्रिन दिंदैनन्‌। तिनीहरूले “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया” बनाएका छन्‌। तटस्थ रहेर तिनीहरूले युद्ध गर्न सिक्दैनन्‌।—यशैया २:३, ४; २ कोरिन्थी १०:३, ४.

१४. संसारबाट अलग रहँदा यहोवाका साक्षीहरूले कस्तो अनुभव गरेका छन्‌?

१४ तिनीहरूको तटस्थताको एउटा परिणाम के हो? येशूले यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका होइनौ . . . यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूहन्‍ना १५:१९) परमेश्‍वरका सेवकहरू भएकोले यहोवाका थुप्रै साक्षीहरू थुनामा परेका छन्‌। प्रथम शताब्दीका मसीहीहरूजस्तै कसैलाई यातना दिइएको छ भने कोही मारिएका छन्‌। यसो हुनुको कारण के हो भने, “यस संसारको देव” शैतानले संसारका भाग नहुने यहोवाका सेवकहरूको विरोध गर्छ।—२ कोरिन्थी ४:४; प्रकाश १२:१२.

१५. (क) सबै राष्ट्रहरू कतातिर लम्किरहेका छन्‌ र यहोवाका साक्षीहरू कुन कुराबाट अलग रहन होसियार छन्‌? (ख) संसारबाट अलग रहनु किन एकदमै गम्भीर कुरा हो?

१५ यहोवाका सेवकहरू यस संसारको भाग नभएकोमा आनन्दित छन्‌ किनभने सारा राष्ट्रहरू आफ्नो अन्त भोग्न आरमागेडोनतर्फ लम्किरहेका छन्‌। (दानियल २:४४; प्रकाश १६:१४, १६; १९:११-२१) हामीले त्यो विनाश भोग्नुपर्ने छैन किनभने हामी संसारबाट अलग छौं। संसारमा एकताबद्ध मानिसहरूको हैसियतमा हामी परमेश्‍वरको स्वर्गीय राज्यप्रति वफादार छौं। हो, यस संसारको भाग नभएको कारण हामीले गिल्ला अनि सतावट सहनुपर्छ। तर यस्तो गिल्ला र सतावट अब चाँडै अन्त हुनेछ किनभने शैतानको नियन्त्रणमा रहेको यो वर्तमान दुष्ट संसार सदाको लागि विनाश गरिनेछ। अर्कोतर्फ, यहोवाको सेवा गर्नेहरू परमेश्‍वरको राज्य अन्तर्गत धार्मिक नयाँ संसारमा सदा सर्वदाको लागि बसोबास गर्नेछन्‌।—२ पत्रुस ३:१०-१३; १ यूहन्‍ना २:१५-१७.

पुनरावृत्ति छलफल

• “संसारका होइनन्‌” भन्‍नुको अर्थ येशूले कसरी प्रस्ट पार्नुभयो?

• निम्न कुराहरूप्रति प्रारम्भिक मसीहीहरूको कस्तो मनोवृत्ति थियो (क) संसारको मनोभाव (ख) संसारका शासकहरू र (ग) कर तिर्ने?

• यहोवाका साक्षीहरूले वर्तमान समयमा मसीही तटस्थताको प्रमाण कुन-कुन तरिकामा दिएका छन्‌?

[पृष्ठ १६५-मा भएको चित्र]

येशूले आफू र आफ्ना अनुयायीहरू ‘संसारका भाग होइनन्‌’ भनेर बुझाउनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने