प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ३ pp. २१-२५
  • सबै कुरा बनाउनुहुने व्यक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै कुरा बनाउनुहुने व्यक्‍ति
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर थरीथरीका कुराहरू बनाउन थाल्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशू किन महान्‌ शिक्षक हुनुहुन्थ्यो?
    महान्‌ शिक्षकबाट सिकौं
  • सुन्दर बगैंचा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ३ pp. २१-२५

अध्याय ३

सबै कुरा बनाउनुहुने व्यक्‍ति

सबै जीवित प्राणीहरू कसले बनाउनुभयो?

तिम्रो हात कस्तो अचम्म तरिकाले बनेको छ नि, होइन र? तिम्रो हातले के-के काम गर्न सक्छ, भन्‍न सक्छौ?—औंलाहरू खुम्च्याएर कुनै सामान उठाइ हेर त! तिम्रो हातले कत्ति धेरै काम गर्न सक्छ अनि त्यो पनि राम्रोसँग नि, हगि! तिमीलाई थाह छ तिम्रो हात बनाउनुहुने को हुनुहुन्छ?—

हो, हाम्रो आँखा, नाक अनि मुख बनाउनुहुनेले नै हाम्रो हात पनि बनाउनुभएको हो। उहाँ महान्‌ शिक्षकको बुबा, परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले हामीलाई आँखा दिनुभएकोमा के हामी खुसी छैनौं र?— आँखाले हामी धेरै कुरा देख्न सक्छौं। फूलहरू हेर्न सक्छौं। हरियो घाँस अनि सफा निलो आकाश हेर्न सक्छौं। अनि यो चित्रमा देखाइएझैं भोकाएका बचेराहरू पनि देख्न सक्छौं। यस्ता कुराहरू देख्न सक्नु कत्ति अचम्मको कुरा हो नि, होइन र?—

तर यी सबै कुरा बनाउनुहुने को हुनुहुन्छ? कोही मान्छेले पो बनाएको हो कि? अहँ, होइन। मान्छेले घर बनाउन सक्छ। तर घाँस बनाउन सक्दैन। चराका स-साना बच्चाहरू, फूलहरू वा अरू कुनै जीवित प्राणीहरू मान्छेले बनाउन सक्दैन। के तिमीलाई यो कुरा थाह थियो?—

यी सबै कुरा बनाउनुहुने त परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो। मानिसहरूलाई पनि बनाउनुभयो। उहाँले सुरुको लोग्नेमान्छे र स्वास्नीमान्छेलाई बनाउनुभयो। तिनीहरूलाई बनाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ भनेर महान्‌ शिक्षक येशूले सिकाउनुभयो।—मत्ती १९:४-६.

सुरुको लोग्नेमान्छे अनि स्वास्नीमान्छे बनाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ भनेर येशूलाई कसरी थाह भयो? परमेश्‍वरले तिनीहरूलाई बनाउनुभएको के येशूले देख्नुभएको थियो?— हो, देख्नुभएको थियो। परमेश्‍वरले तिनीहरूलाई बनाउनुहुँदा येशू उहाँसँगै हुनुहुन्थ्यो। परमेश्‍वरले सबैभन्दा सुरुमा बनाउनुभएको व्यक्‍ति येशू हुनुहुन्थ्यो। उहाँ स्वर्गदूत हुनुहुन्थ्यो अनि आफ्नो बुबासँग स्वर्गमा बस्नुहुन्थ्यो।

परमेश्‍वरले ‘मानिसलाई बनाऔं’ भन्‍नुभयो भनेर बाइबल बताउँछ। (उत्पत्ति १:२६) त्यतिबेला परमेश्‍वर कोसित कुरा गर्दै हुनुहुन्थ्यो के तिमीलाई थाह छ?— उहाँ आफ्नो छोरासित कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले कुरा गर्नुभएका यी व्यक्‍ति पछि पृथ्वीमा आउनुभयो र येशू भनेर चिनिनुभयो।

यो कुरा सुनेर तिमीलाई अचम्म लाग्यो होला! अब एकछिन सोच त! हामीले येशूको कुरा सुन्दा कसबाट सिकिरहेका हुन्छौं? हो, पृथ्वी अनि अरू सबै कुरा बनाउनुहुँदा परमेश्‍वरसँगै बस्नुहुने व्यक्‍तिबाट सिकिरहेका हुन्छौं। स्वर्गमा आफ्नो बुबासित मिलेर काम गर्दा येशूले धेरै कुरा सिक्नुभयो। त्यसैले येशू महान्‌ शिक्षक हुनुहुन्छ भन्‍ने कुरामा अचम्म मान्‍नु पर्दैन।

आफ्नो छोरालाई बनाउनुभन्दा अगाडि एक्लै भएकोमा के परमेश्‍वरलाई नरमाइलो लागेको थियो?— अहँ, लागेको थिएन। त्यसोभए उहाँले किन अरू प्राणीहरू बनाउनुभयो त?— किनभने उहाँ प्रेमको परमेश्‍वर हुनुहुन्छ। उहाँ अरू पनि बाँचेको अनि रमाइलो गरेको चाहनुहुन्थ्यो। हामीलाई जीवन दिनुभएकोमा उहाँलाई धन्यवाद भन्‍नुपर्छ।

परमेश्‍वरले जे-जति काम गर्नुभएको छ, ती सबैमा उहाँको प्रेम देखिन्छ। उहाँले सूर्य बनाउनुभयो। सूर्यले हामीलाई उज्यालो दिन्छ अनि न्यानो बनाउँछ। सूर्य नभएको भए सबै कुरा चिसो हुने थियो अनि पृथ्वीमा कुनै पनि प्राणी हुने थिएन। परमेश्‍वरले सूर्य बनाउनुभएकोमा के तिमी खुसी छैनौ?—

परमेश्‍वरले पानी पनि पार्नुहुन्छ। कहिलेकाहीं तिमीलाई पानी परेको मन पर्दैन होला। किनभने तिमी बाहिर खेल्न जान सक्दैनौ नि हगि! तर पानी पऱ्‍यो भने फूलहरू फुल्न सक्छन्‌। त्यसैले राम्रा-राम्रा फूलहरू देख्दा हामीले कसलाई धन्यवाद भन्‍नुपर्छ?— परमेश्‍वरलाई। अनि मीठा-मीठा फलफूल र सागसब्जी खाँदा नि?— हो, परमेश्‍वरलाई नै भन्‍नुपर्छ। किनभने उहाँले सूर्य बनाउनुभएकोले अनि पानी पार्नुभएकोले नै बोटबिरुवाहरू राम्ररी बढ्‌न सकेका हुन्‌।

कसैले तिमीलाई ‘मान्छे अनि जनावरहरू बनाउनुहुने के परमेश्‍वर नै हुनुहुन्छ त?’ भनेर सोध्यो भने तिमी के जवाफ दिन्छौ?— तिमीले त्यतिबेला यसो भन्‍नु ठीक हुन्छ: “हो, मान्छे अनि जनावरहरू बनाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ।” तर कसैले ‘मान्छेलाई परमेश्‍वरले बनाएको होइन’ भन्छ भने के गर्ने? अनि ‘मान्छे त जनावरबाट आएको हो’ भन्छ भने नि? बाइबलले यस्तो कुरा सिकाउँदैन। बाइबलले त सबै जीवित प्राणी बनाउनुहुने परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँछ।—उत्पत्ति १:२६-३१.

घर बनाउने कोही न कोही हुन्छ, त्यसोभए फूल, रूख अनि जनावरहरू बनाउनुहुने को हुनुहुन्छ?

कसैले तिमीलाई ‘म त परमेश्‍वरमा विश्‍वास गर्दिनँ!’ भन्‍न सक्छ। यस्तो बेला तिमी के भन्छौ?— घरको उदाहरण दिएर तिमी यसो भन्‍न सक्छौ: “यो घर कसले बनायो?” सबैलाई थाह भएकै कुरा हो, घर बनाउने कोही न कोही मान्छे त पक्कै हुन्छ। घर आफसे-आफ बन्‍न सक्दै-सक्दैन!—हिब्रू ३:४.

अब त्यसो भन्‍ने साथीलाई बगैंचामा लग र फूलहरू देखाऊ। अनि यसो भनेर सोध: “यी फूलहरू कसले बनाउनुभयो?” मान्छेले यस्तो फूल बनाउन सक्दैन। अनि जसरी घर आफै बन्‍न सक्दैन, त्यसैगरि यी फूलहरू पनि आफै बन्‍न सक्दैनन्‌। यी फूलहरू बनाउनुहुने एक जना हुनुहुन्छ। अनि उहाँ परमेश्‍वर हुनुहुन्छ।

अब त्यो साथीलाई एकछिन शान्त भएर चराले चिरबिर-चिरबिर गर्दै गाएको मीठो गीत सुन भन। अनि सोध: “यी चराहरूलाई कसले बनाउनुभयो अनि यिनीहरूलाई गीत गाउन कसले सिकाउनुभयो?” परमेश्‍वरले। आकाश, पृथ्वी अनि अरू सबै जीवित प्राणी बनाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ! जीवन दिनुहुने उहाँ नै हुनुहुन्छ।

तर कसैले तिमीलाई ‘म त देखेको कुरामा मात्र विश्‍वास गर्छु’ भन्यो भने नि? तिनले यसो भन्लान्‌: ‘नदेखेको कुरामा त म विश्‍वास गर्नै सक्दिनँ।’ त्यसैले कोही-कोही मानिस परमेश्‍वरमा विश्‍वास गर्दैनन्‌ किनभने तिनीहरू उहाँलाई देख्न सक्दैनन्‌।

हो, हामी परमेश्‍वरलाई देख्न सक्दैनौं। बाइबल यसो भन्छ: ‘कसैले पनि परमेश्‍वरको अनुहार हेर्न सक्दैन।’ पृथ्वीमा भएका लोग्नेमान्छे, स्वास्नीमान्छे अनि केटाकेटी कसैले पनि परमेश्‍वरलाई देख्न सक्दैन। त्यसैले कसैले पनि उहाँको चित्र वा मूर्ति बनाउने कोसिस गर्नु हुँदैन। परमेश्‍वरले उहाँको मूर्ति नबनाउनूसमेत भन्‍नुभएको छ। त्यसैले हाम्रो घरमा यस्ता कुराहरू राख्दा उहाँ खुसी हुनुहुन्‍न।—प्रस्थान २०:४, ५; ३३:२०; यूहन्‍ना १:१८.

परमेश्‍वरलाई देख्न सकिंदैन भने उहाँ साँच्चै हुनुहुन्छ भनेर तिमी कसरी थाह पाउन सक्छौ? यो कुरा विचार गर। के तिमी हावा देख्न सक्छौ?— अहँ, सक्दैनौ। कसैले पनि हावा देख्न सक्दैन। तर हावाले गर्दा के-के हुन्छ, त्योचाहिं तिमी देख्न सक्छौ। हावा चल्दा रूखको पात हल्लेको तिमी देख्न सक्छौ। त्यसैले हावा छ भनेर तिमी विश्‍वास गर्छौ नि, हगि!

हावा छ भनेर तिमी कसरी थाह पाउन सक्छौ?

परमेश्‍वरले गरेका कुराहरू पनि तिमी देख्न सक्छौ। तिमी फूल अथवा चराचुरुङ्‌गी देख्छौ होला। ती सबै परमेश्‍वरले नै बनाउनुभएको हो। त्यसैले त तिमी परमेश्‍वर साँच्चै हुनुहुन्छ भनेर विश्‍वास गर्छौ नि, होइन र?

कसैले तिमीलाई यसो भनेर सोध्न सक्छ, ‘सूर्य अनि पृथ्वी कसले बनाउनुभयो?’ बाइबल यसो भन्छ: “परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) हो, सबै अचम्म-अचम्मका कुराहरू बनाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ! यो कुरा थाह पाउँदा तिमीलाई कस्तो लाग्यो?—

जीवन जिउनु के रमाइलो कुरा होइन र? हामी चराचुरुङ्‌गीका मीठा-मीठा आवाज सुन्‍न सक्छौं। परमेश्‍वरले बनाएका सुन्दर फूल र अरू कुराहरू देख्न सक्छौं। अनि हामीले खाने खानेकुरा पनि परमेश्‍वरले नै दिनुभएको हो।

यी सबै कुराका लागि हामीले परमेश्‍वरलाई धन्यवाद भन्‍नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण, हामीलाई जीवन दिनुभएकोमा उहाँलाई मुरी-मुरी धन्यवाद भन्‍नुपर्छ। यदि हामी परमेश्‍वरप्रति साँच्चै नै धन्यवादी छौं भने हामी केही गर्न इच्छुक हुनेछौं। के गर्न?— परमेश्‍वरको कुरा सुन्‍न अनि उहाँले बाइबलमा बताएका कुराहरू गर्न। यसरी हामी सबै कुरा बनाउनुहुने परमेश्‍वरलाई प्रेम गर्छौं भनी देखाउन सक्छौं।

परमेश्‍वरले गरेका सबै कुराका लागि हामी उहाँप्रति धन्यवादी छौं भनेर देखाउनुपर्छ। कसरी? भजन १३९:१४; यूहन्‍ना ४:२३, २४; १ यूहन्‍ना ५:२१ अनि प्रकाश ४:११ मा भएका कुराहरू पढौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने