प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ४ pp. २६-३१
  • परमेश्‍वरको नाम छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको नाम छ
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ४ pp. २६-३१

अध्याय ४

परमेश्‍वरको नाम छ

कुनै व्यक्‍तिलाई पहिलो चोटि भेट्‌दा तिमी सुरुमा के सोध्छौ?— हो, उसको नाम सोध्छौ। हामी सबैको आ-आफ्नै नाम छ। परमेश्‍वरले पृथ्वीको पहिलो पुरुषलाई एउटा नाम दिनुभयो। उहाँले तिनको नाम आदम राख्नुभयो। आदमकी श्रीमतीको नाम हव्वा राखियो।

तर मानिसहरूको मात्र नाम राखिंदैन। नाम हुने अरू कुराबारे विचार गर त! कसैले तिमीलाई पुतली अथवा कुनै घरपालुवा जनावर दियो भने तिमीले त्यसको नाम राखिदिन्छौ नि, होइन र?— हो, नाम हुनु एकदमै महत्त्वपूर्ण छ।

राती आकाशमा टिलपिल-टिलपिल गर्ने ताराहरूलाई हेर त! तिनीहरूको नाम छ जस्तो के तिमीलाई लाग्छ?— हो, परमेश्‍वरले आकाशमा भएका सबै ताराको नाम राखिदिनुभएको छ। बाइबल यसो भन्छ: “उहाँले ताराका संख्या गन्‍नसक्नुहुन्छ। र ती सबैलाई नाम दिनुहुन्छ।”—भजन १४७:४.

सबै ताराको नाम छ भनेर के तिमीलाई थाह छ?

सम्पूर्ण ब्रह्‍माण्डमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हुनुहुन्छ, भन्‍न सक्छौ?— हो, उहाँ परमेश्‍वर हुनुहुन्छ। के तिमीलाई उहाँको नाम छ जस्तो लाग्छ?— येशूले उहाँको नाम छ भन्‍नुभयो। येशूले परमेश्‍वरलाई प्रार्थना गर्दा एक पटक यसो भन्‍नुभयो: ‘मैले चेलाहरूलाई तपाईंको नाम प्रकट गरेको छु।’ (यूहन्‍ना १७:२६) के तिमीलाई परमेश्‍वरको नाम थाह छ?— परमेश्‍वर आफैले हामीलाई उहाँको नाम बताउनुभएको छ। उहाँ यसो भन्‍नुहुन्छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” त्यसैले परमेश्‍वरको नाम यहोवा हो।—यशैया ४२:८, NW.

अरूले तिम्रो नाम सम्झँदा तिमीलाई कस्तो लाग्छ?— खुसी लाग्छ नि, होइन र?— यहोवा पनि आफ्नो नाम मानिसहरूले थाह पाएको चाहनुहुन्छ। त्यसैले हामीले परमेश्‍वरबारे कुरा गर्दा उहाँको नाम प्रयोग गर्नुपर्छ। मानिसहरूसित कुरा गर्दा महान्‌ शिक्षकले पनि परमेश्‍वरको नाम प्रयोग गर्नुभयो। एक पटक येशूले यसो भन्‍नुभयो: ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले प्रेम गर्नू।’—मर्कूस १२:३०.

“यहोवा” भन्‍ने नाम एकदमै महत्त्वपूर्ण छ भनेर येशूलाई थाह थियो। त्यसैले उहाँले आफ्ना चेलाहरूलाई परमेश्‍वरको नाम चलाउन सिकाउनुभयो। परमेश्‍वरको नामबारे प्रार्थना गर्नुपर्छ भनेर पनि उहाँले सिकाउनुभयो। सबै मानिसले यहोवा भन्‍ने आफ्नो नाम थाह पाएको परमेश्‍वर चाहनुहुन्छ भनेर येशूले बुझ्नुभएको थियो।

परमेश्‍वरले धेरै पहिला मोशा भन्‍ने व्यक्‍तिलाई आफ्नो नाम कत्तिको महत्त्वपूर्ण छ भनेर देखाउनुभयो। ती मोशा भन्‍ने व्यक्‍ति इस्राएलका सन्तान थिए। इस्राएलका सन्तानलाई इस्राएली भनिन्थ्यो र उनीहरू मिश्र देशमा बस्थे। मिश्रका मानिसहरूलाई चाहिं मिश्री भनिन्थ्यो। तिनीहरूले इस्राएलीहरूलाई दास बनाए र उनीहरूसित एकदमै नराम्रो व्यवहार गरे। ठूलो भएपछि मोशाले आफ्नो जातको एक जना मान्छेलाई मदत गर्न खोजे। यसले गर्दा मिश्रका राजा फारो एकदमै रिसाए। तिनी मोशालाई मार्न चाहन्थे। त्यसैले मोशा मिश्रबाट भागेर गए।

अनि तिनी मिद्यान नाम गरेको अर्कै ठाउँमा पुगे। त्यहाँ मोशाले विवाह गरे र बच्चाहरू हुर्काए-बढाए। तिनले भेडाहरूको हेरचाह गर्ने गोठालोको काम पनि गरे। एक दिनको कुरा हो, मोशा एउटा पर्वत नजिकै आफ्ना भेडाहरू चराउँदैथिए। त्यति नै बेला तिनले एउटा अनौठो कुरा देखे। एउटा पोथ्रा अर्थात्‌ झ्याम्म परेको एउटा होचो, सानो बोटमा आगो लागेको थियो तर त्यो बोट भस्मचाहिं भएको थिएन! के भएको रहेछ भनेर हेर्न मोशा नजिकै गए।

त्यसपछि के भयो, तिमीलाई थाह छ?— मोशाले त्यो जलिरहेको बोटको बीचबाट कसैले बोलाएको सुने। त्यहाँबाट यस्तो आवाज आयो: “मोशा, ए मोशा!” मोशालाई कसले बोलाइरहनुभएको थियो?— परमेश्‍वरले! परमेश्‍वरले मोशालाई थुप्रै काम गर्न लगाउनुहुने थियो। परमेश्‍वरले यसो भन्‍नुभयो: ‘आइज, मेरा प्रजा, अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउनेछु।’ मोशालाई यसो गर्न परमेश्‍वरले मदत गर्नेछु भन्‍नुभयो।

जलिरहेको पोथ्राको घटनाबाट मोशाले कुन महत्त्वपूर्ण कुरा सिके?

तर मोशाले परमेश्‍वरलाई भने: ‘जब म मिश्रमा भएका इस्राएलीहरूकहाँ गएर परमेश्‍वरले मलाई पठाउनुभएको हो भनूँला, तब तिनीहरूले “उहाँको नाम के हो?” भनेर सोधे भने मैले तिनीहरूलाई के भन्‍ने?’ परमेश्‍वरले मोशालाई इस्राएलका सन्तानलाई यसो भन्‍नू भन्‍नुभयो: “यहोवाले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाम सदा यही रहनेछ।” (प्रस्थान ३:१-१५, NW) परमेश्‍वरले आफ्नो यहोवा भन्‍ने नाम पछिसम्म पनि रहिरहन दिनुहुनेथियो भनेर यसबाट देखिन्छ। उहाँले यो नामलाई कहिल्यै परिवर्तन गर्नुहुने थिएन। अरूले आफूलाई यहोवा भन्‍ने नामले सधैंभरि चिनोस्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो।

लाल समुद्रमा परमेश्‍वरले कसरी आफ्नो नाम प्रकट गर्नुभयो?

मोशा मिश्रमा फर्केर जाँदा त्यहाँका मिश्रीहरूले यहोवा इस्राएलीहरूको चानचुने देवता होलान्‌ भन्ठानेका थिए। यहोवा पूरै पृथ्वीको परमेश्‍वर हुनुहुन्छ भनेर तिनीहरूले सोचेकै थिएनन्‌। त्यसैले यहोवाले मिश्रका राजालाई यसो भन्‍नुभयो: ‘सारा संसारमा म मेरो नामको घोषणा गर्नेछु।’ (प्रस्थान ९:१६) यहोवाले साँच्चै त्यसो गर्नुभयो पनि। उहाँले कसरी त्यसो गर्नुभयो, तिमीलाई थाह छ?—

इस्राएलीहरूलाई मिश्रबाट निकाल्ने काममा अगुवाइ लिन यहोवाले मोशालाई प्रयोग गर्नुभयो। जब इस्राएलीहरू लाल समुद्रमा आइपुगे तब यहोवाले त्यसको बीचमा सुख्खा बाटो बनाइदिनुभयो। इस्राएलीहरू त्यो सुख्खा जमिनबाट सुरक्षितसाथ गए। तर फारो र त्यसका सिपाहीहरू त्यो सुख्खा जमिनमा आइपुगेपछिचाहिं दुईतिर पर्खाल भएर बसेको पानीले मिश्रीहरूलाई छोप्यो र तिनीहरू सबै डुबेर मरे।

लाल समुद्रमा परमेश्‍वरले के गर्नुभयो भन्‍ने कुरा चाँडै नै चारैतिर फैलियो। त्यतिबेलाका मानिसहरूले त्यो कुरा थाह पाए भनेर हामी कसरी भन्‍न सक्छौं?— इस्राएलीहरू करिब ४० वर्षपछि कनान देशमा आए। यो कनान भन्‍ने देश, पहिला यहोवाले इस्राएलीहरूलाई लैजान्छु भनेर प्रतिज्ञा गरेको देश थियो। त्यहाँ बस्ने राहाब नामकी एउटी आइमाईले दुई जना इस्राएली पुरुषहरूलाई यसो भनिन्‌: ‘तपाईंहरू मिश्र देशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको हामीहरूले सुनेका छौं।’—यहोशू २:१०.

आज थुप्रै मानिस ती मिश्रीहरूजस्तै छन्‌। पूरै पृथ्वीका परमेश्‍वर यहोवा हुनुहुन्छ भनेर उनीहरू विश्‍वास गर्दैनन्‌। त्यसैले आफ्ना मानिसहरूले उहाँबारे अरूलाई बताएको यहोवा चाहनुहुन्छ। येशूले पनि अरूलाई यहोवाबारे बताउनुभयो। पृथ्वीमा आफ्नो जीवनको अन्ततिर येशूले यहोवालाई यसो भनेर प्रार्थना गर्नुभयो: “मैले तिनीहरूलाई तपाईंको नाम प्रकट गरेको छु।”—यूहन्‍ना १७:२६.

येशूले परमेश्‍वरको नाम प्रकट गर्नुभयो। के तिमी बाइबलबाट परमेश्‍वरको नाम देखाउन सक्छौ?

के तिमी येशूजस्तै हुन चाहन्छौ? त्यसोभए अरूलाई परमेश्‍वरको नाम यहोवा हो भनेर बताऊ है त! धेरै मान्छेलाई यो कुरा थाह छैन भनेर तिमीले बुझ्नेछौ। सायद तिमीले उनीहरूलाई प्रकाश ४:११ देखाउन सक्छौ। लौ अब आ-आफ्नो बाइबल लेऔं अनि सँगै मिलेर यो पद पढौं है! यसमा यस्तो लेखिएको छ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

यो पढेर हामीले के सिक्यौं?— हो, यहोवा भन्‍ने नाम सबैभन्दा महत्त्वपूर्ण नाम हो भनेर सिक्यौं। यो, येशूको बुबा र सबै कुरा बनाउनुहुने सर्वशक्‍तिमान्‌ परमेश्‍वरको नाम हो। यहोवा परमेश्‍वरलाई आफ्नो सारा मनले प्रेम गर्नुपर्छ भनेर येशूले भनेको कुरा सम्झ त! के त्यसोभए तिमी यहोवालाई प्रेम गर्छौ?—

यहोवालाई प्रेम गर्छौं भनी हामी कसरी देखाउन सक्छौं?— एउटा तरिका उहाँलाई साथीको रूपमा राम्रोसँग चिन्‍नु हो। अर्को तरिका, उहाँको नाम अरूलाई बताउनु हो। उहाँको नाम यहोवा हो भनी हामी बाइबलबाटै देखाउन सक्छौं। यहोवाले बनाएका राम्रा-राम्रा कुराहरू र उहाँले गरेका असल कुराहरूबारे पनि बताउन सक्छौं। यसो गऱ्‍यौं भने यहोवा धेरै खुसी हुनुहुनेछ। किनभने अरू मानिसले आफूलाई चिनोस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। के हामी पनि उहाँबारे अरूलाई बताउन सक्दैनौं र?—

हामीले यहोवाबारे कुरा गर्दा सबैले सुन्‍ने छैनन्‌। उहाँबारे महान्‌ शिक्षक येशूले कुरा गर्दा समेत धेरै मानिसले सुनेका थिएनन्‌। तर येशूले यहोवाबारे कुरा गर्न छोड्‌नु भएन।

त्यसैले येशूजस्तै होऔं। यहोवाबारे कुरा गरिरहौं। त्यसो गऱ्‍यौं भने हामीले यहोवाको नामलाई प्रेम गर्छौं भनेर देखाइरहेका हुनेछौं। अनि यहोवा परमेश्‍वर पनि हामीसित खुसी हुनुहुनेछ।

परमेश्‍वरको नाम कत्तिको महत्त्वपूर्ण छ भनी देखाउने अझै अरू केही पद अब बाइबलबाट सँगै पढौं: यशैया १२:४, ५; मत्ती ६:९; यूहन्‍ना १७:६ अनि रोमी १०:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने