अध्याय १०
येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्तिशाली हुनुहुन्छ
परमेश्वरका स्वर्गदूतहरूमध्ये एक जना किन सैतान अर्थात् दियाबल बन्यो, तिमीलाई याद छ?— आफूलाई उपासना गरियोस् भन्ने स्वार्थी चाहनाले गर्दा त्यो परमेश्वरको विरुद्धमा खडा भयो। के अरू स्वर्गदूतहरू पनि सैतानको पछि लागे?— हो, लागे। बाइबलले तिनीहरूलाई ‘सैतानका स्वर्गदूतहरू’ अर्थात् दुष्ट स्वर्गदूतहरू भन्छ।—प्रकाश १२:९.
के यी दुष्ट स्वर्गदूतहरू परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्छन्?— ‘परमेश्वर हुनुहुन्छ भनेर दुष्ट स्वर्गदूतहरू पनि विश्वास गर्छन्’ भनी बाइबल बताउँछ। (याकूब २:१९) तर अहिले तिनीहरू परमेश्वरदेखि डराउँछन्। खराब काम गरेकोले परमेश्वरले तिनीहरूलाई सजाय दिनुहुनेछ भनी तिनीहरूलाई थाह छ। तिनीहरूले के खराब काम गरेका छन्?—
बाइबलले बताएअनुसार ती स्वर्गदूतहरूले स्वर्गमा भएको आफ्नो उचित बासस्थान त्यागे र पृथ्वीमा मानिस भएर बस्न आए। किनभने तिनीहरू पृथ्वीमा भएका सुन्दर-सुन्दर स्त्रीसित यौनसम्बन्ध राख्न चाहन्थे। (उत्पत्ति ६:१, २; यहूदा ६) यौनसम्बन्धबारे तिमीलाई के-के थाह छ?—
यौनसम्बन्ध राख्दा लोग्नेमान्छे अनि स्वास्नीमान्छे एउटा खास तरिकामा नजिकिन्छन्। उनीहरू त्यसरी शारीरिक रूपमा नजिकिएपछि स्वास्नीमान्छेको पेटमा बच्चा बढ्न सक्छ। तर स्वर्गदूतहरूले यौनसम्बन्ध राख्नु गलत हो। श्रीमान्-श्रीमतीबीच मात्र यौनसम्बन्ध भएको परमेश्वर चाहनुहुन्छ। यसरी बच्चा जन्म्यो भने श्रीमान् अनि श्रीमतीले त्यो बच्चाको ख्याल राख्न सक्छन्।
यी स्वर्गदूतहरूले के खराब काम गरे?
खराब स्वर्गदूतहरूले मान्छेको रूप लिएर पृथ्वीमा भएका स्वास्नीमान्छेहरूसित यौनसम्बन्ध राख्दा तिनीहरूको बच्चा जन्म्यो र ती बच्चाहरू अरू बच्चाभन्दा फरक थिए। कसरी? उनीहरू बढ्दै गएपछि एकदमै ठूला अर्थात् बडेमाका भए। अनि बाइबलले उनीहरूलाई नपीलहरू भन्छ। उनीहरू एकदमै कठोर थिए र मान्छेहरूलाई दुःख दिन्थे। त्यसैले परमेश्वरले ती नपीलहरू अनि अरू सबै खराब मानिसलाई नाश गर्न पूरै पृथ्वी पानी नै पानीले भरिने गरी जलप्रलय ल्याउनुभयो। तर राम्रो काम गर्ने केही मानिसलाई बचाउन सकियोस् भनेर परमेश्वरले नूहलाई बाकसजस्तो आकारको एउटा ठूलो जहाज बनाउनू भन्नुभयो। महान् शिक्षकले जलप्रलय हुँदा जे-जति भयो, त्यो सम्झनु महत्त्वपूर्ण छ भनी बताउनुभयो।—उत्पत्ति ६:३, ४, १३, १४; लूका १७:२६, २७.
जलप्रलयपछि ती खराब स्वर्गदूतहरूलाई के भयो, थाह छ?— तिनीहरू मान्छेबाट फेरि स्वर्गदूत भए र स्वर्गतिरै फर्के। तर तिनीहरू फेरि परमेश्वरका स्वर्गदूत बन्न पाएनन्। त्यसैले तिनीहरू सैतानका स्वर्गदूत अर्थात् दुष्ट स्वर्गदूतहरू बने। अनि ती खराब स्वर्गदूतका बच्चाहरू अर्थात् नपीलहरूलाई चाहिं के भयो?— उनीहरू जलप्रलयमा मरे। अनि परमेश्वरको आज्ञा नमान्ने अरू पनि सबै मरे।
पहिलाभन्दा अहिले पृथ्वीमा झन्धेरै समस्या हुनुको कारण के हो?
जलप्रलयपछि परमेश्वरले दुष्ट स्वर्गदूतहरूलाई मान्छेको रूप लिन दिनुभएको छैन। हामीले तिनीहरूलाई देख्न नसके तापनि तिनीहरूले मानिसहरूलाई अझै पनि एकदमै खराब काम गर्न लगाउन खोज्छन्। तिनीहरूले पहिलेभन्दा अहिले झन् धेरै दुःख दिइरहेका छन्। किनभने तिनीहरूलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिएको छ।
हामी दुष्ट स्वर्गदूतहरूलाई किन देख्न सक्दैनौं, तिमीलाई थाह छ?— किनभने तिनीहरू अदृश्य व्यक्ति हुन्। तर तिनीहरू छन् भनेर चाहिं हामी पक्का हुन सक्छौं। सैतानले ‘सारा संसारलाई ठगिरहेको छ’ र त्यसका दुष्ट स्वर्गदूतहरूले त्यसलाई मदत गरिरहेका छन् भनी बाइबल बताउँछ।—प्रकाश १२:९, १२.
के दियाबलले हामीलाई पनि ठग्न अथवा मूर्ख बनाउन सक्छ?— हो, होसियार भएनौं भने सक्छ। तर हामी डराउनुपर्दैन। महान् शिक्षकले भन्नुभयो: ‘दियाबलले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।’ परमेश्वरको नजिक भइरह्यौं भने उहाँले हामीलाई दियाबल र त्यसका स्वर्गदूतहरूबाट जोगाउनुहुनेछ।—यूहन्ना १४:३०.
दुष्ट स्वर्गदूतहरूले हामीलाई कस्ता खराब काम गर्न लगाउन खोज्छन्, त्यो हामीले बुझ्नु महत्त्वपूर्ण छ। त्यसैले एकछिन सोच त: दुष्ट स्वर्गदूतहरूले पृथ्वीमा आएको बेला के-के खराब काम गरेका थिए?— जलप्रलयअघि ती दुष्ट स्वर्गदूतहरूले पृथ्वीका स्वास्नीमान्छेहरूसित यौनसम्बन्ध राखेका थिए, जुन तिनीहरूले गर्नै नहुने कुरा थियो। अहिले मानिसहरूले यौनसम्बन्धबारे परमेश्वरको आज्ञा नमान्दा दुष्ट स्वर्गदूतहरू खुसी हुन्छन्। म तिमीलाई एउटा प्रश्न सोध्छु है, यौनसम्बन्ध कोबीच मात्र हुनुपर्छ?— हो, ठीक भन्यौ, श्रीमान् र श्रीमतीबीच मात्र।
आजकाल कोही-कोही जवान केटाकेटी यौनसम्बन्ध राख्छन् तर तिनीहरूले त्यसो गर्नु गलत हो। बाइबलले केटा मान्छेहरूको यौन अङ्ग अर्थात् “लिङ्ग”-बारे बताउँछ। (व्यवस्था २३:१) अनि केटी मान्छेहरूको यौन अङ्गलाई चाहिं योनि भनिन्छ। यहोवाले यी अङ्गहरू खास उद्देश्यको लागि बनाउनुभएको हो। श्रीमान्-श्रीमतीले मात्र यसको आनन्द उठाउनुपर्छ। यहोवाले नगर्नू भनेको कुरा मानिसहरूले गर्दा दुष्ट स्वर्गदूतहरू खुसी हुन्छन्। उदाहरणको लागि, कुनै केटा वा केटीले एकअर्काको लिङ्ग वा योनि खेलाउँदा दुष्ट स्वर्गदूतहरू खुसी हुन्छन्। हामी दुष्ट स्वर्गदूतहरूलाई खुसी बनाउन चाहँदैनौं नि, चाहन्छौं र?—
दुष्ट स्वर्गदूतहरूलाई मनपर्ने तर यहोवाले घृणा गर्नुहुने अर्को एउटा कुरा पनि छ। त्यो के हो, तिमीलाई थाह छ?— त्यो हो, हिंसा। (भजन ११:५, NRV) मानिसहरूले कठोर भएर अरूलाई दुःख दिनु हिंसा हो। दुष्ट स्वर्गदूतहरूका छोरा नपीलहरूले पनि त्यस्तै गरेका थिए भन्ने कुरा बिर्सेका छैनौ नि, हगि!
मानिसहरूलाई तर्साउन पनि दुष्ट स्वर्गदूतहरूलाई मनपर्छ। कहिलेकाहीं तिनीहरू मरेको मान्छेको नक्कल गर्छन्, तिनीहरूले मरेको मान्छेको आवाजसमेत निकाल्न सक्छन्। यसरी, मरेका मान्छेहरू जीवित छन् अनि मरेका मान्छेहरूले जिउँदाहरूसित कुरा गर्न सक्छन् भनेर तिनीहरू थुप्रैलाई मूर्ख बनाउँछन्। हो, दुष्ट स्वर्गदूतहरूले थुप्रै मान्छेलाई भूत-प्रेतमा विश्वास गर्न लगाउँछन्।
सैतान अनि त्यसका दुष्ट स्वर्गदूतहरूले हामीलाई मूर्ख नबनाऊन् भनेर हामी होसियार हुनै पर्छ। बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: ‘सैतानले आफूलाई असल स्वर्गदूत जस्तो गरी देखाउँछ। त्यसका सेवकहरूले पनि त्यसै गर्छन्।’ (२ कोरिन्थी ११:१४, १५) तर साँच्चै, दुष्ट स्वर्गदूतहरू खराब छन्। तिनीहरूले हामीलाई कसरी तिनीहरूजस्तै बनाउन खोज्छन्, अब हामी हेरौं है त!
हिंसा, गलत किसिमको यौनसम्बन्ध अनि भूत-प्रेतबारे मानिसहरूले कहाँबाट सिक्छन्?— टिभी कार्यक्रम, फिल्म, कम्प्युटर गेम, भिडियो गेम, इन्टरनेट अनि कमिकहरूबाट, होइन र? यस्तो कुराले हामीलाई परमेश्वरसित नजिक बनाउँछ कि सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूसित? तिमीलाई कस्तो लाग्छ?—
हिंसाले भरिएको कुरा हेऱ्यौं भने के हुन सक्छ?
हामीले खराब कुरा सुनोस् अनि हेरोस् भन्ने को चाहन्छ?— हो, सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू। त्यसोभए तिमीले अनि मैले के गर्नुपर्छ?— हामीलाई फाइदा गर्ने अनि यहोवाको सेवा गर्न मदत गर्ने असल कुराहरू पढ्नुपर्छ, सुन्नुपर्छ अनि हेर्नुपर्छ। हामी कस्ता असल कामहरू गर्न सक्छौं, भन त?—
हामीले के गर्नु राम्रो हो?
हामी असल काम गर्छौं भने दुष्ट स्वर्गदूतहरूसित डराउनुपर्ने कुनै कारण छैन। दुष्ट स्वर्गदूतहरूभन्दा येशू शक्तिशाली हुनुहुन्छ र तिनीहरू उहाँदेखि डराउँछन्। एक दिन दुष्ट स्वर्गदूतहरूले येशूलाई यसो भनेका थिए: “के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो?” (मर्कूस १:२४) सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई येशूले नाश गर्ने समय आउँदा के हामी खुसी हुनेछैनौं र?— येशू अनि स्वर्गमा बस्नुहुने उहाँको बुबासित नजिक भइरह्यौं भने येशूले दुष्ट स्वर्गदूतहरूबाट हामीलाई बचाउनुहुनेछ भनेर पक्का हुन सक्छौं।
हामीले के गर्नुपर्छ भनेर बुझ्न १ पत्रुस ५:८, ९ अनि याकूब ४:७, ८ पढौं।