प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ४२ pp. २१७-२२१
  • हामीले किन काम गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले किन काम गर्नुपर्छ?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “सिकर्मी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ४२ pp. २१७-२२१

अध्याय ४२

हामीले किन काम गर्नुपर्छ?

तिमीलाई सबैभन्दा धेरै के गर्न मनपर्छ, काम गर्न कि खेल्न?—खेल्नु नराम्रो कुरा होइन। यरूशलेम ‘शहरका गल्लीहरू खेल्ने केटाकेटीहरूले भरियो’ भनी बाइबल बताउँछ।—जकरिया ८:५.

केटाकेटी खेलेको देख्दा महान्‌ शिक्षकलाई रमाइलो लाग्थ्यो। पृथ्वीमा आउनुअघि उहाँले यसो भन्‍नुभयो: ‘त्यस बेला म परमेश्‍वरको छेउमा [“मुख्य कालिगडको रूपमा,” NW] आनन्दको पात्रझैं उहाँको सामने निरन्तर रहन्थें।’ याद गर त, येशूले स्वर्गमा यहोवाको छेउमा रहेर कालिगडको रूपमा काम गर्नुभयो। त्यहाँ हुँदा उहाँले यसो भन्‍नुभयो: “मेरो आनन्दचाहिं मानव जातिमा थियो।” हो, हामीले पहिला पनि सिकेझैं महान्‌ शिक्षकले हरेक मानिसमा साँचो चासो लिनुभयो। यसको अर्थ उहाँले साना केटाकेटीमा पनि चासो लिनुभयो।—हितोपदेश ८:३०, ३१.

पृथ्वीमा आउनुअघि महान्‌ शिक्षकले कुन कुराबाट आनन्द पाउनुभयो?

बालक छँदा येशू खेल्नुभयो कि?—पक्कै पनि खेल्नुभयो। स्वर्गमा “मुख्य कालिगड” हुनुभएकोले के उहाँले पृथ्वीमा पनि काम गर्नुभयो?—येशूलाई “सिकर्मीको छोरा” भनिन्थ्यो। तर उहाँलाई “सिकर्मी” भनेर पनि बोलाइन्थ्यो। यसले के देखाउँछ?—येशूलाई आफ्नो छोराको रूपमा हुर्काएका यूसुफले उहाँलाई सिकर्मी काम सिकाएको हुनुपर्छ। त्यसैले येशू पनि सिकर्मी बन्‍नुभयो।—मत्ती १३:५५; मर्कूस ६:३.

येशू कस्तो सिकर्मी हुनुहुन्थ्यो?—स्वर्गमा छँदा मुख्य कालिगड हुनुभएकोले के उहाँ पृथ्वीमा मुख्य अथवा सिपालु सिकर्मी बन्‍नुभएन होला र?—त्यतिबेला सिकर्मीको काम कत्तिको गाह्रो हुन्थ्यो, विचार गर! सायद येशूले रूख काट्‌न जानुपर्थ्यो, त्यसलाई टुक्रा पारेर घरमा ल्याउनुपर्थ्यो अनि त्यसबाट टेबुल, मेच र अरू सामान बनाउनुपर्थ्यो।

यो काम गरेर के येशू खुसी हुनुभयो होला?—अरू मानिसले प्रयोग गर्न सकून्‌ भनी टेबुल, मेच र अरू सामान बनाउन सकेको भए के तिमी पनि खुसी हुनेथिएनौ र?—बाइबलले “आफ्नो काममा आनन्द उपभोग गर्नु” असल कुरा हो भन्छ। काम गर्दा तिमी जुन आनन्द पाउन सक्छौ, त्यो खेलेर पाउन सक्दैनौ।—उपदेशक ३:२२.

साँच्चै भन्‍नुपर्दा कामले हाम्रो दिमाग र शरीर दुवैलाई फाइदा गर्छ। थुप्रै केटाकेटी बसी-बसी टिभी हेर्छन्‌ वा भिडियो गेम खेल्छन्‌। तिनीहरू असाध्यै मोटाउँछन्‌ र कमजोर हुन्छन्‌। अनि साँच्चै आनन्दित हुँदैनन्‌। तिनीहरूले अरूलाई पनि आनन्दित बनाउँदैनन्‌। त्यसो भए आनन्दित हुन हामीले के गर्नुपर्छ?—

यो किताबको अध्याय १७ मा सिकेझैं अरूलाई केही दिंदा र उनीहरूको लागि केही गरिदिंदा आनन्द पाइन्छ। (प्रेषित २०:३५) बाइबलले यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ भनी बताउँछ। (१ तिमोथी १:११) हामीले हितोपदेशको पुस्तकमा पढेझैं येशू ‘आनन्दको पात्रझैं उहाँको सामने निरन्तर रहनुहुन्थ्यो।’ येशू किन आनन्दित हुनुहुन्थ्यो?—उहाँ आनन्दित हुनुको एउटा कारण हामी यस पदबाट बुझ्न सक्छौं: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दैछु।”—यूहन्‍ना ५:१७.

पृथ्वीमा छँदा येशूले सिकर्मीको काम गरेरै जीवन बिताउनुभएन। पृथ्वीमा एउटा विशेष काम गर्न यहोवा परमेश्‍वरले उहाँलाई भन्‍नुभएको थियो। त्यो काम के थियो, तिमीलाई थाह छ?—येशूले भन्‍नुभयो: “मैले . . . परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) मानिसहरूलाई प्रचार गर्दा चित्रमा देखाइएकी सामरी आइमाईले जस्तै कोही-कोहीले येशूमाथि विश्‍वास गरे र उहाँको कुरा अरूलाई पनि बताए।—यूहन्‍ना ४:७-१५, २७-३०.

पृथ्वीमा छँदा येशूले कुन दुई किसिमको काम गर्नुभयो?

यस्तो काम गर्दा येशूलाई कस्तो लाग्थ्यो? के उहाँ यो काम गर्न इच्छुक हुनुहुन्थ्यो?—येशूले भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४) आफूलाई असाध्यै मनपर्ने खानेकुरा तिमीलाई एकदमै खाऊँ-खाऊँ जस्तो लाग्छ नि, होइन र?—परमेश्‍वरले दिएको काम येशूलाई कत्तिको मनपर्थ्यो, यसबाट तिमी बुझ्न सक्छौ।

काम गर्न सिक्दा आनन्दित हुने किसिमले परमेश्‍वरले हामीलाई बनाउनुभएको छ। मानिसले “आफ्नो काममा आनन्द उपभोग” गर्नु नै परमेश्‍वरले उनीहरूलाई दिएको उपहार हो भनी उहाँ भन्‍नुहुन्छ। त्यसैले सानै छँदा काम गर्न सिक्यौ भने तिम्रो पूरै जीवन झनै रमाइलो हुनेछ।—उपदेशक ५:१९.

त्यसको अर्थ साना केटाकेटीले ठूलो मान्छेले गर्न सक्ने काम गर्न सक्छन्‌ भनेको होइन। तर हामी सबैले केही न केही काम गर्न सक्छौं। परिवारको गाँस-बासको लागि तिम्रो आमाबाबु दिनदिनै काममा जानुहुन्छ होला। अनि तिमीलाई थाह हुनुपर्ने कुरा के हो भने घरलाई सफा-सुग्घर राख्न धेरै काम गर्नुपर्ने हुन्छ।

पूरै परिवारलाई फाइदा पुऱ्‍याउने कुन काम तिमी गर्न सक्छौ?—पस्केको खाना लगिदिन, भाँडा माझ्न, फोहोर फाल्न, आफ्नो कोठा सफा गर्न र खेलौनाहरू ठीक-ठीक ठाउँमा राख्न मदत गर्न सक्छौ। सायद तिमी यस्तो गर्दै पनि छौ। यस्तो कामले परिवारलाई पक्कै पनि फाइदा पुऱ्‍याउँछ।

खेलिसकेपछि तिमीले किन खेलौनाहरू ठीक-ठीक ठाउँमा राख्नुपर्छ?

त्यस्तो कामले कसरी फाइदा पुऱ्‍याउँछ, अब विचार गरौं है! खेलिसकेपछि खेलौनाहरू ठीक-ठीक ठाउँमा राख्नुपर्छ। त्यसो गर्नु किन महत्त्वपूर्ण छ?—त्यसो गर्दा घर चिटिक्क हुन्छ र दुर्घटना हुनबाट जोगिन सक्छ। तिमीले आफ्ना खेलौनाहरू ठीक ठाउँमा राखेनौ भने तिम्री आमा हातभरि सामान लिएर आउँदा ती खेलौनाहरूमा अल्झेर लड्‌नुहोला र घाइते हुनुहोला। उहाँलाई अस्पतालसमेत लानुपर्ने हुन सक्छ। त्यसो भयो भने कत्ति नरमाइलो हुन्छ, हगि!—त्यसैले खेलिसकेपछि खेलौनाहरू ठीक-ठीक ठाउँमा राख्दा सबैलाई फाइदा पुग्छ।

केटीकेटीले गर्नुपर्ने अर्को काम पनि छ। जस्तै, स्कूलको काम। तिमीले स्कूलमा पढ्‌न सिक्छौ। कसै-कसैलाई पढ्‌न रमाइलो लाग्छ भने अरू कतिलाई गाह्रो। सुरुमा गाह्रो लागे तापनि राम्ररी पढ्‌न सिक्यौ भने तिमीलाई खुसी लाग्नेछ। पढ्‌न जानिसकेपछि तिमीले थुप्रै रमाइला कुराहरू सिक्न सक्नेछौ। परमेश्‍वरको वचन बाइबल पनि आफैले पढ्‌न सक्नेछौ। त्यसैले तिमीले स्कूलको काम राम्ररी गर्दा त्यसले साँच्चै नै फाइदा पुऱ्‍याउँछ नि, होइन र?—

कोही-कोही मानिस काम छल्न खोज्छन्‌। तिमी त्यस्तो कोही मानिसलाई चिन्छौ होला। तर परमेश्‍वरले हामीलाई काम गर्नको लागि बनाउनुभएकोले हामीले त्यसबाट कसरी आनन्द प्राप्त गर्ने भनेर सिक्नै पर्छ। महान्‌ शिक्षक आफ्नो कामप्रति कत्तिको आनन्दित हुनुहुन्थ्यो?—उहाँलाई त्यो काम गर्नु आफूलाई मनपर्ने खाना खानुजस्तै लाग्थ्यो। अनि उहाँले कुन कामको विषयमा कुरा गर्दै हुनुहुन्थ्यो?—अरूलाई यहोवा परमेश्‍वरबारे अनि अनन्त जीवन पाउने तरिकाबारे बताउने विषयमा।

कामबाट आनन्द उठाउन मदत गर्ने कुरा के हो, अब हामी हेरौं है! आफैलाई सोध, ‘यो काम गर्नु किन आवश्‍यक छ?’ कुनै काम कत्तिको महत्त्वपूर्ण छ भनेर बुझेपछि त्यो काम गर्न त्यत्ति नै सजिलो हुन्छ। सानो-ठूलो जस्तोसुकै काम भए तापनि हामीले मेहनत गर्नुपर्छ। मेहनत गऱ्‍यौ भने तिमीले महान्‌ शिक्षकले जस्तै आफ्नो कामबाट आनन्द पाउन सक्नेछौ।

बाइबलले मानिसलाई असल कामदार हुन मदत गर्न सक्छ। हितोपदेश १०:४; २२:२९; उपदेशक ३:१२, १३ अनि कलस्सी ३:२३ मा के लेखिएको छ, पढौं है!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने