प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr अध्या. ४५ पृ. २३२-२३७
  • परमेश्‍वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको शान्तिपूर्ण सरकार
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • हामीले येशूलाई किन प्रेम गर्नुपर्छ?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr अध्या. ४५ पृ. २३२-२३७

अध्याय ४५

परमेश्‍वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?

येशूले आफ्ना चेलाहरूलाई सिकाएको प्रार्थना तिमीलाई थाह छ कि?—थाह छैन भने बाइबल खोलेर मत्ती ६:९-१३ सँगै पढौं है! धेरैले प्रभुको प्रार्थना भन्‍ने त्यस प्रार्थनामा यी शब्दहरू पाइन्छन्‌: “तपाईंको राज्य आओस्‌।” परमेश्‍वरको राज्य के हो, तिमीलाई थाह छ?—

राजा भनेको कुनै देश वा साम्राज्यमा शासन गर्ने मानिस हुन्‌। अनि तिनको सरकारलाई राज्य भनिन्छ। कुनै-कुनै देशमा सरकारको मुख्य व्यक्‍तिलाई राष्ट्रपति भनिन्छ। परमेश्‍वरको सरकारको शासकलाई के भनिन्छ?—राजा। त्यसैले त परमेश्‍वरको सरकारलाई राज्य भनिन्छ।

यहोवा परमेश्‍वरले आफ्नो सरकारको राजाको रूपमा कसलाई छान्‍नुभएको छ, तिमीलाई थाह छ?—उहाँको छोरा येशू ख्रीष्टलाई। मानिसहरूले छानेको अरू कुनै पनि शासकभन्दा उहाँ किन असल हुनुहुन्छ?—किनभने येशू आफ्नो बुबा यहोवालाई साँचो प्रेम गर्नुहुन्छ। त्यसैले उहाँ सधैं सही काम गर्नुहुन्छ।

बेतलेहेममा येशू जन्मनुभन्दा धेरैअघि नै बाइबलमा उहाँको जन्मबारे र उहाँ परमेश्‍वरले छान्‍नुहुने शासक बन्‍नुहुनेछ भन्‍नेबारे बताइएको थियो। हामी किङ जेम्स भर्सन (अङ्‌ग्रेजी) भन्‍ने बाइबलको यशैया ९:६, ७ मा यस्तो लेखिएको पाउँछौं: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। सरकार उहाँको हातमा हुनेछ। उहाँको नाम . . . शान्तिका राजकुमार कहलाइनेछ। उहाँको सरकार र शान्तिको वृद्धिको अन्तचाहिं कहिल्यै हुनेछैन।”—धर्सो तानेको अक्षर हाम्रो।

परमेश्‍वरको राज्यको शासकलाई यहाँ किन “राजकुमार” भनिएको हो?—यी राजकुमार राजाका छोरा हुन्‌। अनि येशू महान्‌ राजा यहोवाको छोरा हुनुहुन्छ। तर यहोवाले येशूलाई आफ्नो सरकारको राजा पनि बनाउनुभएको छ। त्यो सरकारले पृथ्वीलाई एक हजार वर्षसम्म शासन गर्नेछ। (प्रकाश २०:६) बप्तिस्मा गरिसकेपछि येशूले “यसो भन्दै प्रचार गर्न थाल्नुभयो: ‘हे मानिसहरू हो, पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।’ ”—मत्ती ४:१७.

येशूले किन त्यो राज्य नजिकै आएको छ भन्‍नुभयो?—किनभने त्यो राज्यको राजा जसले पछि स्वर्गबाट शासन गर्नुहुने थियो, उहाँ तिनीहरूकै बीचमा हुनुहुन्थ्यो! त्यसैकारण येशूले मानिसहरूलाई यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।” (लूका १७:२१) यहोवाले छान्‍नुभएको राजा तिमीले छुन सक्ने गरी तिम्रै छेउमा भएको के तिमी चाहँदैनौं र?—

त्यसोभए मलाई भन त, येशू पृथ्वीमा कुन महत्त्वपूर्ण काम गर्न आउनुभयो?—येशूले यसो भनेर जवाफ दिनुभयो: “मैले अरू सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) आफू एक्लैले सबै ठाउँमा प्रचार गर्न सक्दिनँ भन्‍ने कुरा येशूलाई थाह थियो। त्यसोभए उहाँले के गर्नुभयो?—

येशू पृथ्वीमा कुन काम गर्न आउनुभयो?

येशूले आफूसित अरूलाई लानुभयो र तिनीहरूलाई कसरी प्रचार गर्ने भनेर सिकाउनुभयो। उहाँले सबैभन्दा पहिला आफूले प्रेषित छानेका १२ जना चेलालाई प्रचार गर्न सिकाउनुभयो। (मत्ती १०:५, ७) उहाँले तिनीहरूलाई मात्र सिकाउनुभएको हो कि? होइन, बाइबलअनुसार येशूले अरू थुप्रै मानिसलाई प्रचार गर्न सिकाउनुभयो। पछि गएर उहाँले आफ्ना ७० जना चेलालाई दुई-दुई जना गरी आफूभन्दा अघि प्रचार गर्न पठाउनुभयो। अनि उनीहरूले अरूलाई के सिकाए?—येशूले भन्‍नुभयो: “अनि ‘परमेश्‍वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ’ भनेर तिनीहरूलाई सुनाओ।” (लूका १०:९) यसरी मानिसहरूले परमेश्‍वरको सरकारबारे थाह पाए।

धेरैअघि इस्राएलमा एउटा चलन थियो। नयाँ राजाहरू आफूलाई चिनाउन सहरमा गधाको बच्चा चढेर आउने गर्थे। यरूशलेममा अन्तिम चोटि आउँदा येशूले पनि त्यसै गर्नुहुन्छ। येशू परमेश्‍वरको राज्यको राजा हुन लाग्नुभएको छ। के मानिसहरू उहाँ राजा भएको चाहन्छन्‌?—

उहाँ अगाडि बढ्‌दै गर्दा भीडमा भएकाहरूमध्ये धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याउन थाल्छन्‌। अरू कतिले चाहिं रूखका हाँगाहरू काटेर बाटोमा फिंजाउन थाल्छन्‌। यसो गरेर तिनीहरूले येशू आफ्नो राजा भएको चाहन्छन्‌ भनी देखाउँछन्‌। तिनीहरू चर्को सोरले यसो भन्छन्‌: “यहोवाको नाममा आउने राजा धन्यका होऊन्‌!” तर सबै खुसी हुँदैनन्‌। वास्तवमा केही धर्मगुरुहरू येशूलाई यसोसमेत भन्छन्‌: ‘आफ्ना चेलाहरूलाई चुप लाग्न भन्‍नुहोस्‌।’—लूका १९:२८-४०.

येशूलाई राजा बनाउने विषयमा मानिसहरूले किन आफ्नो मन बदले?

पाँच दिनपछि येशू पक्राउ पर्नुहुन्छ र राज्यपाल पन्तियस पिलातससामु हाजिर गराउन उहाँलाई महलभित्र लगिन्छ। येशूका शत्रुहरूले उहाँले आफू राजा हुँ भन्‍ने दाबी गरेको कुरा बताउँछन्‌ र उहाँ रोमी सरकारविरुद्ध लाग्नुभएको छ भन्छन्‌। त्यसैले पिलातसले येशूलाई यसबारे प्रश्‍न गर्छन्‌। आफूले त्यहाँको सरकार कब्जा गर्न खोजेको होइन भनी येशू बताउनुहुन्छ। उहाँ पिलातसलाई यसो भन्‍नुहुन्छ: “मेरो राज्य यस संसारको होइन।”—यूहन्‍ना १८:३६.

त्यसपछि पिलातस बाहिर निस्कन्छन्‌ र आफूले येशूमा कुनै दोष नभेट्टाएको कुरा मानिसहरूलाई बताउँछन्‌। तर अब भने मानिसहरू येशू राजा भएको चाहँदैनन्‌। उहाँलाई छोडिएको तिनीहरू चाहँदैनन्‌। (यूहन्‍ना १८:३७-४०) येशूसित फेरि कुरा गरिसकेपछि उहाँले कुनै खराब काम गर्नुभएको छैन भन्‍ने कुरामा पिलातस पक्का हुन्छन्‌। त्यसैले येशूलाई अन्तिम चोटि बाहिर ल्याएर पिलातस यसो भन्छन्‌: “हेर, तिमीहरूको राजा!” तर मानिसहरू यसो भन्दै चिच्याउँछन्‌: “त्यसलाई लैजानुहोस्‌! त्यसलाई लैजानुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”

पिलातस सोध्छन्‌: “के म तिमीहरूको राजालाई खम्बामा टाँगूँ?” मुख्य पुजारीहरूले जवाफ दिन्छन्‌: “सम्राट्‌बाहेक हाम्रो अरू कुनै राजा छैन।” कत्ति निर्दयी पुजारीहरू, हगि! मानिसहरूलाई येशूको विरोध गर्न लगाउन ती दुष्ट पुजारीहरू सफल हुन्छन्‌!—यूहन्‍ना १९:१-१६.

आज पनि अवस्था त्यस्तै छ। धेरैजसो मानिस येशू आफ्नो राजा भएको चाहँदैनन्‌। तिनीहरूले ‘म परमेश्‍वरमा विश्‍वास गर्छु’ त भन्लान्‌ तर परमेश्‍वर वा ख्रीष्टले ‘यसो गर, उसो गर’ भनेको चाहिं चाहँदैनन्‌। पृथ्वीमा तिनीहरू आफ्नै सरकार चाहन्छन्‌।

हामी नि? परमेश्‍वरको राज्य र त्यसले गर्ने सबै राम्रा कार्यहरूबारे सिक्दा हामी परमेश्‍वरप्रति कस्तो महसुस गर्छौं?—हामी उहाँलाई प्रेम गर्छौं नि, गर्दैनौं र?—त्यसो भए उहाँलाई प्रेम गर्छौं र उहाँको राज्यले हामीमाथि शासन गरेको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?—

त्यसको लागि हामी येशूको उदाहरण पछ्याउन सक्छौं। येशूले परमेश्‍वरलाई प्रेम गरेको कसरी देखाउनुभयो?—“म सधैं उहाँलाई मनपर्ने कामहरू गर्छु” भनी येशूले भन्‍नुभयो। (यूहन्‍ना ८:२९) हो, येशू पृथ्वीमा ‘परमेश्‍वरको इच्छा पूरा गर्न’ र ‘उहाँले दिनुभएको काम पूरा गर्न’ आउनुभयो। (हिब्रू १०:७; यूहन्‍ना ४:३४) प्रचारकार्य सुरु गर्नुभन्दा अघि उहाँले के गर्नुभयो, हामी विचार गरौं है!

येशूले किन बप्तिस्मा गर्नुभयो? परमेश्‍वरले येशूको बप्तिस्मा स्वीकारेको कसरी देखाउनुभयो?

येशू यर्दन नदीमा बप्तिस्मा गराउने यूहन्‍नाकहाँ जानुभयो। अलि गहिरो पानी भएको ठाउँमा पुगेपछि यूहन्‍नाले येशूलाई पानीमा चुर्लुम्मै डुबाए अनि बाहिर निकाले। यूहन्‍नाले येशूलाई किन बप्तिस्मा गराए, थाह छ?—

हामी परमेश्‍वरको राज्यबारे अरूसित कहाँ-कहाँ कुरा गर्न सक्छौं?

किनभने येशू आफैले यूहन्‍नालाई त्यसो गर्न भन्‍नुभएको थियो। तर येशूले बप्तिस्मा गरेको परमेश्‍वर चाहनुहुन्थ्यो भनी हामी कसरी थाह पाउन सक्छौं?—येशू पानीमाथि निस्कनेबित्तिकै परमेश्‍वरले आकाशबाट येशूलाई भनेको यो कुराबाट थाह पाउन सक्छौं: “तिमी मेरो प्यारो छोरा हौ। तिमीसित म अति प्रसन्‍न छु।” परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति ढुकुरको रूपमा येशूमाथि पठाउनुभयो। त्यसैले जीवित छउन्जेल अर्थात्‌ सधैंभरि यहोवाको सेवा गर्न चाहन्छु भनी येशूले बप्तिस्मा गरेर देखाउनुभयो।—मर्कूस १:९-११.

तिमी अहिले सानै छौ। तर ठूलो भएपछि तिमी के गर्छौ?—के तिमी येशूले जस्तै बप्तिस्मा गर्नेछौ?—तिमीले त्यसो गर्नुपर्छ किनभने ‘हामीले राम्ररी उहाँको पदचिन्ह पछ्याओस्‌ भनेर उहाँले एउटा उदाहरण छोड्‌नुभयो’ भनी बाइबल बताउँछ। (१ पत्रुस २:२१) बप्तिस्मा गर्दा परमेश्‍वरको राज्यले आफूमाथि शासन गरेको चाहन्छौ भनी तिमीले देखाइरहेका हुनेछौ। तर बप्तिस्मा गरेर मात्र पुग्दैन।

येशूले सिकाएका सबै कुरा हामीले पालन गर्नुपर्छ। हामी ‘यस संसारको हुनु हुँदैन’ भनी येशूले भन्‍नुभयो। संसारको कुरामा अल्झियौं भने के हामीले उहाँको आज्ञा मानिरहेका हुन्छौं र? येशू र उहाँका प्रेषितहरू यस्ता कुराबाट अलग बसे। (यूहन्‍ना १७:१४) तर तिनीहरूले के गरे?—अरूसित परमेश्‍वरको राज्यबारे कुरा गरे। यो तिनीहरूको जीवनको एउटा महत्त्वपूर्ण भाग थियो। के हामी पनि त्यसै गर्न सक्छौं?—हो, सक्छौं। परमेश्‍वरको राज्य आओस्‌ भनी प्रार्थना गरेअनुरूप काम गर्छौं भने हामीले त्यसै गरिरहेका हुनेछौं।

परमेश्‍वरको राज्य आएको चाहन्छौं भनी हामी कसरी देखाउन सक्छौं भन्‍नेबारे यी शास्त्रपदहरू पढेर थाह लगाऔं: मत्ती ६:२४-३३; २४:१४; १ यूहन्‍ना २:१५-१७ अनि ५:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने