प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ४७ pp. २४४-२४९
  • आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • “संसारको अन्त” नजिक छ!
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ४७ pp. २४४-२४९

अध्याय ४७

आरमागेडोन नजिकै छ भनी हामी कसरी थाह पाउन सक्छौं?

चिन्ह भनेको के हो तिमीलाई थाह छ नि, होइन र?—यस संसारलाई फेरि कहिल्यै जलप्रलयद्वारा नाश गर्नेछैन भनेर परमेश्‍वरले एउटा चिन्ह दिनुभएको कुरा हामीले अध्याय ४६ मा पढेका थियौं। येशू फर्कनुभएको थाह पाउन र यस संसारको अर्थात्‌ यस युगको अन्त नजिकै आइपुगेको छ भनी थाह पाउन प्रेषितहरूले पनि उहाँसित एउटा चिन्ह मागेका थिए।—मत्ती २४:३.

येशू स्वर्गमा अदृश्‍य रूपमा रहनुहुने थियो। त्यसकारण उहाँले शासन गर्न थाल्नुभयो भनेर थाह पाउन मानिसहरूलाई एउटा देखिने चिन्हको आवश्‍यकता थियो। त्यसैले येशूले आफ्ना चेलाहरूलाई यस पृथ्वीमा हुने कुराहरूमा ध्यान दिन भन्‍नुभयो। यी कुराहरू हुनुको मतलब उहाँ फर्कनुभयो अनि उहाँले स्वर्गबाट राजाको रूपमा शासन गर्दै हुनुहुन्छ भन्‍ने हो।

चेलाहरूलाई जागा रहिरहनुपर्ने महत्त्वबारे सिकाउन येशूले यसो भन्‍नुभयो: “अन्जीरको रूख र अरू सबै रूखहरूलाई हेर: तिनीहरूमा पालुवा लागिसकेको देखेपछि ग्रीष्म ऋतु नजिकै रहेछ भनेर तिमीहरूले थाह पाउँछौ।” ग्रीष्म ऋतु अर्थात्‌ गर्मी महिना नजिकै छ भनी कसरी थाह पाउने, तिमी भन्‍न सक्छौ नि, हगि! त्यसैगरि येशूले भनेका विभिन्‍न कुराहरू भएको देखेपछि तिमीले आरमागेडोन नजिकै छ भनी भन्‍न सक्छौ।—लुका २१:२९, ३०.

अञ्जीरको रूखबारे कुरा गर्दा येशू के पाठ सिकाउँदै हुनुहुन्थ्यो?

अब हामी यो र यसपछिको पृष्ठमा भएका चित्रहरूमा ध्यान दिनेछौं। येशूले यी कुराहरू परमेश्‍वरको राज्य नजिकै छ भनी देखाउने चिन्हका पक्षहरू हुनेछन्‌ भन्‍नुभयो। यी सबै कुराहरू भएपछि ख्रीष्टले शासन गर्ने परमेश्‍वरको राज्यले अरू सबै सरकारलाई नाश गर्नेछ। यो कुरा हामीलेअध्याय ४६ मा पनि पढेका थियौं।

यसअघिका दुई पृष्ठमा ध्यान दिएर हेर त! अब हामी यसबारे कुरा गरौं है! मत्ती २४:६-१४ अनि लूका २१:९-११ मा यी चित्रमा देखाइएका कुराहरूबारे पढ्‌न सक्छौं। यी प्रत्येक चित्रमा अङ्‌कहरू पनि छन्‌, हेर त! अनि यी चित्रबारे वर्णन गरिएका अनुच्छेदहरूको सुरुमा त्यही अङ्‌कहरू दिइएका छन्‌। येशूले दिएको चिन्हका विभिन्‍न पक्ष अहिले हाम्रो समयमा पूरा भइरहेका छन्‌ कि छैनन्‌, अब हामी हेरौं।

(१) येशूले भन्‍नुभयो: “तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्‍नेछौ, . . . जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” के तिमीले युद्धको खबर सुनेका छौ?—प्रथम विश्‍वयुद्ध सन्‌ १९१४ देखि १९१८ सम्म लडियो र त्यसपछि दोस्रो विश्‍वयुद्ध सन्‌ १९३९ देखि १९४५ सम्म लडियो। यसअघि कहिल्यै पनि विश्‍वयुद्ध लडिएको थिएन! अहिले संसारभरि युद्धै-युद्ध मच्चिरहेको छ। हरेक दिन टिभी हेर्दा, रेडियो सुन्दा र पत्रिकाहरू पढ्‌दा युद्धकै कुरा गरेको पाउँछौं।

(२) येशूले यसो पनि भन्‍नुभयो: “ठाउँ-ठाउँमा अनिकाल . . . हुनेछ।” तिमीलाई थाहै होला, सबै जनाले पेटभरि खान पाएका छैनन्‌। त्यसैले हरेक दिन हजारौं मानिस मर्छन्‌।

(३) येशूले थप यसो भन्‍नुभयो: “ठाउँ-ठाउँमा महामारी हुनेछ।” महामारी भनेको के हो, तिमीलाई थाह छ?—थुप्रै मानिसको ज्यान लिने बिमारी अर्थात्‌ रोगलाई महामारी भनिन्छ। स्पेनिश फ्लु भनिने ठूलो महामारीले झन्डै एक वर्षभित्रमा करिब दुई करोड मानिसको ज्यान लियो। हाम्रो समयमा एड्‌स भन्‍ने रोगले गर्दा सायद त्योभन्दा धेरै मानिस मर्दैछन्‌। अनि क्यान्सर, मुटुसम्बन्धी रोग जस्ता बिमारीले गर्दा हरेक वर्ष हजारौं मानिसको ज्यान जान्छ।

(४) येशूले चिन्हको अर्को पक्षबारे पनि बताउनुभयो: “ठाउँ-ठाउँमा . . . भूकम्प हुनेछ।” भूकम्प भनेको के हो, तिमीलाई थाह छ?—भूकम्पले जमिन हल्लाउँछ। घरहरू भत्किन्छन्‌ र अक्सर मानिसहरूको ज्यान जान्छ। सन्‌ १९१४ देखि यता हरेक वर्ष थुप्रै भूकम्प गएका छन्‌। के तिमीले भूकम्पबारे सुनेका छौ?—

(५) येशूले चिन्हको अर्को एउटा पक्ष ‘झन्‌-झनै दुष्टता बढ्‌नु’ हो भन्‍नुभयो। त्यसैले त यत्ति धेरै चोरी अनि हिंसा भइरहेको छ। कसैले आफ्नो घर फोर्ला कि भनेर सबै ठाउँका मानिसहरू डराउँछन्‌। संसारको विभिन्‍न भागमा अहिले जत्तिको चोरी अनि हिंसा पहिला कहिल्यै भएको थिएन।

(६) येशूले चिन्हको एउटा एकदमै महत्त्वपूर्ण पक्षबारे यसरी बताउनुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) यदि तिमीलाई ‘यो सुसमाचारमा’ विश्‍वास लाग्छ भने यसबारे अरूलाई पनि बताउनुपर्छ। यसरी तिमी चिन्हको यो पक्ष पूरा गर्ने काममा भाग लिन सक्छौं।

‘येशूले अगमवाणीमा भन्‍नुभएका कुराहरू पहिला-पहिला पनि हुने गर्थे नि’ भनेर कोही-कोहीले भन्लान्‌। तर योभन्दा पहिले यी सबै कुरा संसारका विभिन्‍न भागमा एकै समयमा भएका थिएनन्‌। तिमीले यो चिन्हको मतलब बुझ्यौ?—जब यी सबै कुराहरू भएका देख्नेछौं तब चाँडै नै यो दुष्ट संसारको ठाउँमा परमेश्‍वरको नयाँ संसारको स्थापना हुनेछ भनेर हामीले बुझ्नुपर्छ।

येशूले चिन्ह दिनुहुँदा वर्षको एउटा खास समयबारे पनि बताउनुभयो। उहाँले भन्‍नुभयो: ‘तिमीहरू हिउँदको बेला भाग्नु नपरोस्‌ भनेर प्रार्थना गरिरहो।’ (मत्ती २४:२०) उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो?—

हिउँदको बेला यात्रा गर्नु एकदमै गाह्रो वा खतरनाकसमेत हुन सक्छ। तर त्यति नै बेला कुनै व्यक्‍ति विपत्तिबाट भाग्नुपऱ्‍यो भने के हुन्छ?—ऊ मुस्किलले जोगिन सक्छ। अरू काममा व्यस्त भएर ढिलो यात्रा सुरु गरेको कारण कोही मानिसले आँधीबेह्रीमा आफ्नो ज्यान गुमाउनुपऱ्‍यो भने कत्ति दुःखको कुरा हुनेछ नि, होइन र?—

[पृष्ठ २४९-मा भएको चित्र]

हिउँदको बेला भाग्ने विषयमा कुरा गर्दा येशू के पाठ सिकाउँदै हुनुहुन्थ्यो?

येशूले भाग्नको लागि हिउँदको बेलासम्म पर्खेर नबस्नू किन भन्‍नुभयो, अब तिमीले बुझ्यौ?—आरमागेडोन नजिकै छ भनी थाह पाएपछि परमेश्‍वरको सेवा गरेर उहाँप्रति प्रेम देखाउन हामी ढिलासुस्ती गर्न चाहनेछैनौं भनी येशू भन्दै हुनुहुन्थ्यो। हामी ढिलासुस्ती गर्छौं भने यहोवाको सेवा गर्न निकै ढिलो भइसकेको हुनेछ। नूहको समयमा जलप्रलय हुँदा तिनको कुरा सुनेका तर जहाजभित्र नगएका मानिसहरूजस्तै हामी हुनेछौं।

अब हामी आरमागेडोनको ठूलो लडाइँपछि अवस्था कस्तो हुनेछ भनी कुरा गरौं है! परमेश्‍वरलाई प्रेम गर्ने र अहिले उहाँको सेवा गर्नेहरूका लागि उहाँले कस्तो प्रबन्ध गर्नुभएको छ, यो पछिको अध्यायबाट सिक्नेछौं।

आरमागेडोन नजिकै छ भनी देखाउने अरू पद यसप्रकार छन्‌: २ तिमोथी ३:१-५ अनि २ पत्रुस ३:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने