सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!
जीवनको कुनै न कुनै मोडमा तपाईंले पक्कै यस्तो प्रश्न सोध्नुभएको होला, ‘किन यतिबिघ्न दुःखकष्ट?’ युद्ध, गरिबी, प्राकृतिक प्रकोप, अपराध, अन्याय, रोगबिमार अनि मृत्युले मानव परिवारलाई पिरोलेको हजारौं वर्ष भइसक्यो। बितेको सय वर्षमा मानिसजातिले पहिला कहिल्यै अनुभव नगरेको दुःखकष्ट भोगेका छन्। के यी सबै दुःखकष्ट कहिल्यै अन्त होला?
यसको सान्त्वनादायी जवाफ छ, अवश्य हुनेछ र त्यो पनि चाँडै! परमेश्वरको वचन बाइबल यसो भन्छ: “दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” तर कतिन्जेल? “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:१०, ११, २९.
परमेश्वरले दुष्टता र दुःखकष्ट हटाउनुभएपछि पृथ्वी एउटा प्रमोदवनमा परिणत हुनेछ। त्यसपछि मानिसहरू सुस्वास्थ्यको आनन्द उठाउँदै हाँसी-खुसीसाथ सधैंभरि बाँच्न सक्नेछन्। परमेश्वरको वचन यस्तो भविष्यवाणी गर्छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।”—प्रकाश २१:४.
यी आशिष्हरूको उपभोग गर्न सकून् भनेर मरिसकेका मानिसहरूलाई समेत नयाँ संसारमा पुनः जीवित पारिनेछ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) त्यसैकारण त आफूमाथि विश्वास जाहेर गर्ने एक जना पश्चात्तापी दुष्ट व्यक्तिलाई येशू ख्रीष्टले यसो भन्न सक्नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:४३, NW.
के कारणले दुःखकष्ट सुरु भयो?
मानिसहरूको भविष्य यस्तो उज्ज्वल होस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो भने, उहाँले किन दुःखकष्ट सुरु हुने अनुमति दिनुभयो त? उहाँले यतिका लामो समयसम्म दुःखकष्ट रहिरहन दिनुको कारण के हो?
परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूलाई सिद्ध शरीर तथा मनसहित बनाउनुभएको थियो। उहाँले तिनीहरूलाई प्रमोदवनरूपी बगैंचामा राख्नुका साथै सन्तोषजनक काम दिनुभएको थियो। बाइबल यसो भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) परमेश्वरको आज्ञा मानेका भए तिनीहरूले सिद्ध छोराछोरी जन्माउन सक्ने थिए र पृथ्वीचाहिं विश्वव्यापी प्रमोदवनमा परिणत हुने थियो जहाँ मानिसहरू सुख-शान्तिमा सधैंभरि बाँच्न सक्ने थिए।
परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूलाई अद्भुत उपहार स्वरूप स्वतन्त्र इच्छा पनि दिनुभएको थियो। तिनीहरू जसो भन्यो त्यसै गर्ने रोबट अर्थात् यन्त्रमानवहरू जस्ता थिएनन्। तथापि, आनन्दित रहिरहनको लागि तिनीहरूले आफ्नो स्वतन्त्र इच्छालाई सही ढङ्गमा अर्थात् परमेश्वरको व्यवस्था पालन गर्न चलाउनुपर्थ्यो। परमेश्वर यसो भन्नुहुन्छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।” (यशैया ४८:१७) स्वतन्त्र इच्छाको दुरुपयोग भएमा परिणाम भयावह हुने थियो किनभने मानिसलाई परमेश्वरबाट स्वतन्त्र भएर सफलतापूर्वक बाँच्ने किसिमले सृष्टि गरिएको थिएन। बाइबल यसो भन्छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.
दुःखको कुरा, हाम्रा प्रथम मातापिताले परमेश्वरबाट स्वतन्त्र भएर पनि सफल हुन सकिन्छ भन्ठाने। तर तिनीहरूले परमेश्वरको शासन व्यवस्थालाई लत्याएपछि उहाँले तिनीहरूलाई सिद्ध अवस्थामा राखिराख्नुभएन। त्यसैकारण बूढो भएर नमरुन्जेल तिनीहरूको अवस्था झन्-झन् खस्कँदै गयो। हामी तिनीहरूकै सन्तान भएको हुँदा हामीले जन्मजात असिद्धता र मृत्यु पाएका छौं।—रोमी ५:१२.
मुख्य विवाद—सार्वभौमिकता
परमेश्वरले आदम र हव्वालाई नाश गरेर अर्को मानव जोडी सृष्टि गर्न सक्नुहुन्थ्यो तर किन त्यसो गर्नुभएन? किनभने परमेश्वरको विश्वव्यापी सार्वभौमिकता अर्थात् शासन गर्ने उहाँको अधिकारमाथि चुनौती दिइएको थियो। प्रश्न थियो—शासन गर्ने अधिकार कसको हो र कसको शासन ठीक छ? यी प्रश्नहरूलाई विचार गर्दा परमेश्वरको शासनको अधीनमा बस्नु नपरेको भए कतै मानिसले पो राम्रो शासन चलाउने थियो कि? भन्ने प्रश्न पनि उठ्छ। परमेश्वरबाट पूर्णतया स्वतन्त्र भई शासन गर्न पर्याप्त समय दिएर आफ्नै शासनको अधीन र परमेश्वरको शासनको अधीनमध्ये कसको अधीनमा मानिसहरू सुखी हुन सक्छन् भन्ने कुरालाई परमेश्वरले सदाको लागि प्रमाणित गर्नुहुने थियो। परमेश्वरको डोऱ्याइबाट विमुख सबै किसिमका राजनैतिक, सामाजिक, आर्थिक तथा धार्मिक प्रणालीहरू अपनाएर हेर्नको लागि मानिसहरूलाई दिइएको त्यो समय पर्याप्त हुनुपर्थ्यो।
परिणाम कस्तो भएको छ त? दुःखकष्ट झनै चुलिएको छ भन्ने कुरा मानव इतिहासको हजारौं वर्षले पुष्टि गर्छ। बितेको सय वर्षमा मानव परिवारले पहिला कहिल्यै अनुभव नगरेको घोर दुःखकष्ट भोग्नुपरेको छ। दोस्रो विश्वयुद्धको दौडान नाजी विध्वंसमा लाखौं मानिसको हत्या गरियो। लडाइँमा दस करोडभन्दा बढी मानिसहरू मूला काटेझैं काटिए। अपराध र हिंसाको जगजगी छ। लागूऔषधको दुर्व्यसन महामारीसरह फैलिएको छ। कैयौं मानिसहरू यौनजन्य रोगको सिकार बनिरहेका छन्। खान नपाएर अनि रोगको कारण वर्षेनी करोडौं मानिसको मृत्यु हुन्छ। जताततै पारिवारिक जीवन टुक्रिरहेको छ र नैतिक मूल्यमान्यतामा ह्रास आएको छ। कुनै पनि मानव सरकारसित यी तमाम समस्याको निकास छैन। कुनै पनि मानव सरकारले बुढ्यौलीपन, रोगबिमार र मृत्यु निर्मूल पार्न सकेको छैन।
हाम्रो समयबारे बाइबलमा जस्तो भविष्यवाणी गरिएको थियो आज मानिसको अवस्था ठीक त्यस्तै छ। परमेश्वरको वचनले हामी बाँचिरहेको युगलाई यस रीतिरिवाजकै “आखिरी दिन” भनी वर्णन गर्छ जतिखेर “डरलाग्दो समय आउनेछ।” अनि बाइबलमा बताइएझैं ‘खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै गएका छन्।’—२ तिमोथी ३:१-५, १३.
दुःखकष्ट चाँडै अन्त हुनेछ
परमेश्वरबाट स्वतन्त्र भई मानिसले जे गर्ने असफल प्रयास गरेका छन् अब त्यो समय सिद्धिनै लागेको छ भन्ने कुरा सबै प्रमाणहरूबाट पुष्टि हुन्छ। परमेश्वरबाट अलग्गिएर शासन गर्दा मानिसहरू कहिल्यै सफल हुन सक्दैनन् भन्ने कुरा दूधको दूध पानीको पानी भइसकेको छ। परमेश्वरको शासनअन्तर्गत मात्र शान्ति, आनन्द, सुस्वास्थ्य अनि अनन्त जीवन पाउन सकिन्छ। त्यसकारण, अब यहोवाले दुष्टता र दुःखकष्ट धेरै बेर सहनुहुनेछैन। असन्तुष्टिले भरिएको यस समस्त रीतिरिवाजलाई नाश गरेर अब चाँडै परमेश्वरले मानव गतिविधिमाथि हस्तक्षेप गर्नुहुनेछ।
बाइबल भविष्यवाणी यसो भन्छ: “ती राजाहरूका [अहिले अस्तित्वमा भएका मानव शासकहरूको] समयमा स्वर्गका परमेश्वरले एउटा राज्य [स्वर्गमा] खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै राज्यहरूलाई [वर्तमान शासनहरूलाई] चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।” (दानियल २:४४) आफ्नो स्वर्गीय राज्यमार्फत शासन गर्ने उहाँको अधिकार अर्थात् यहोवाको सार्वभौमिकतालाई उच्च पार्नु नै बाइबलको प्रमुख शिक्षा हो। “आखिरी दिन[को]” चिह्नको महत्त्वपूर्ण पक्षबारे अगमवाणी गर्दै येशूले यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
अन्त आउँदा को बच्नेछ? बाइबल यसको जवाफ यसरी दिन्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।” (हितोपदेश २:२१, २२) सोझाहरू भनेको यहोवाको इच्छा बुझ्ने र त्यसै इच्छा अनुरूप चल्ने मानिसहरू हुन्। येशू ख्रीष्टले यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून् [“ज्ञान लिऊन्,” NW]।” (यूहन्ना १७:३) हो, “संसार बितिजान्छ . . . तर परमेश्वरको इच्छाबमोजिम गर्नेचाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्सेस्-बाट उद्धृत गरिएका हुन्।