प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. १८ pp. १७४-१८३
  • बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्ञान र विश्‍वास
  • बाइबलबाट सिकेको सत्य कुरा अरूलाई बताउनुहोस्‌
  • पश्‍चात्ताप र परिवर्तन
  • समर्पण
  • असफल होला भन्‍ने डर हटाउनुहोस्‌
  • आफ्नो समर्पण प्रकट गर्न बप्तिस्मा गर्नुहोस्‌
  • बप्तिस्माको अर्थ
  • किन बप्तिस्मा लिने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. १८ pp. १७४-१८३

अध्याय अठाह्र

बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ

  • बप्तिस्मा कसरी गरिन्छ?

  • बप्तिस्माको लागि योग्य हुन तपाईंले कस्ता कदमहरू चाल्नुपर्छ?

  • समर्पण कसरी गरिन्छ?

  • बप्तिस्मा गर्नुको मुख्य कारण के हो?

१. इथियोपियाली अफिसरले किन बप्तिस्मा गर्न चाहे?

“हेर्नुहोस्‌, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई रोक्ने कुरा के छ र?” यो प्रश्‍न प्रथम शताब्दीमा इथियोपिया देशका एक जना ठूला अफिसरले सोधेका थिए। फिलिप नाम गरेका ख्रीष्टियनले त्यस इथियोपियालीलाई येशू नै मसीह हुनुहुन्छ भनी बुझाएका थिए। धर्मशास्त्रबाट सिकेको कुराले मन छोएको हुँदा ती इथियोपियालीले कदम चाले। तिनले बप्तिस्मा गर्ने इच्छा व्यक्‍त गरे।—प्रेषित ८:२६-३६.

फिलिप र इथियोपियाली अफिसर बप्तिस्माको बारेमा कुरा गर्दै छन्‌

२. तपाईंले किन बप्तिस्माबारे अब गम्भीरतासाथ सोच्न थाल्नुपर्छ?

२ सायद तपाईं यहोवाका साक्षीहरूसित यो किताब राम्ररी अध्ययन गर्दै हुनुहुन्छ। त्यसैले तपाईंको मनमा पनि यो प्रश्‍न उठ्‌न थालेको हुन सक्छ: ‘अब बप्तिस्मा गर्नदेखि मलाई रोक्ने कुरा के छ र?’ परमेश्‍वरले सबै दुःखकष्ट अनि समस्यालाई हटाएर यस पृथ्वीलाई सुन्दर बगैंचाजस्तै बनाउनुहुनेछ अनि त्यस सुन्दर पृथ्वीमा तपाईंले अनन्त जीवन पाउन सक्नुहुन्छ भनेर तपाईंले सिकिसक्नुभयो। (लूका २३:४३; प्रकाश २१:३, ४) मरिसकेका मानिसहरूको अवस्था अनि पुनर्जीवनको आशाबारे पनि सिकिसक्नुभयो। (उपदेशक ९:५; यूहन्‍ना ५:२८, २९) सायद अहिले तपाईं यहोवाका साक्षीहरूको सभाहरूमा उपस्थित भएर तिनीहरूसित सङ्‌गत गर्दै हुनुहुन्छ होला। तपाईंले तिनीहरू कसरी साँचो धर्मअनुसार जीवन बिताउँछन्‌ भनेर पनि देखिसक्नुभयो होला। (यूहन्‍ना १३:३५) अनि सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले यहोवा परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्न थालिसक्नुभयो होला।

३. (क) येशूले चेलाहरूलाई के आज्ञा दिनुभयो? (ख) बप्तिस्मा कसरी गरिन्छ?

३ यदि तपाईं परमेश्‍वरको सेवा गर्न चाहनुहुन्छ भने के गर्नुपर्छ? येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ . . . बप्तिस्मा गराओ।” (मत्ती २८:१९) पानीमा बप्तिस्मा गरेर येशू आफैले उदाहरण बसाल्नुभयो। पानी छर्केर वा टाउकोमा अलिकति पानी खन्याएर उहाँको बप्तिस्मा गरिएको थिएन। (मत्ती ३:१६) “बप्तिस्मा” ग्रीक भाषाबाट लिइएको शब्द हो र त्यसको अर्थ “डुबाउनु” हो। त्यसैले बप्तिस्मा गर्ने ख्रीष्टियन तरिका बप्तिस्मा गर्ने व्यक्‍तिलाई पानीमा चुर्लुम्मै डुबाएर बाहिर निकाल्नु हो।

४. बप्तिस्माले कुन कुरा प्रकट गर्छ?

४ यहोवा परमेश्‍वरसित सम्बन्ध गाँस्न चाहने सबैले बप्तिस्मा गर्नुपर्छ। बप्तिस्मा गर्नु भनेको तपाईं यहोवाको सेवा गर्न इच्छुक हुनुहुन्छ भनेर मानिसहरूसामु प्रकट गर्नु हो। साथै तपाईं उहाँको इच्छाबमोजिम चल्न चाहनुहुन्छ भनी देखाउनु पनि हो। (भजन ४०:७, ८) तर बप्तिस्माको लागि योग्य हुन तपाईंले पहिला केही खास कदम चाल्नुपर्छ।

ज्ञान र विश्‍वास

५. (क) बप्तिस्माको लागि योग्य हुन चाल्नुपर्ने पहिलो कदम के हो? (ख) हामी सभाहरूमा किन उपस्थित हुनुपर्छ?

५ पहिलो कदम यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको ज्ञान लिनु हो। (यूहन्‍ना १७:३) तपाईंले नियमित बाइबल अध्ययन गरेर यो पहिलो कदम चाल्न थालिसक्नुभयो। तर अझ धेरै कुरा सिक्न बाँकी नै छ। ख्रीष्टियनहरू “[परमेश्‍वरको] इच्छाबारे सही ज्ञानले भरिपूर्ण” हुन चाहन्छन्‌। (कलस्सी १:९) यहोवाका साक्षीहरूको सभाहरूमा उपस्थित भएर तपाईंले धेरै कुरा सिक्न सक्नुहुन्छ। हामी यी सभाहरूमा उपस्थित हुनुपर्छ। (हिब्रू १०:२४, २५) सभाहरूमा नियमित तवरले उपस्थित हुँदा परमेश्‍वरबारे तपाईंको ज्ञान बढ्‌दै जानेछ।

दुई जना यहोवाका साक्षी एक व्यक्‍तिलाई बाइबलको कुरा सिकाउँदै छन्‌

बप्तिस्माको लागि योग्य हुन चाल्नुपर्ने एउटा महत्त्वपूर्ण कदम परमेश्‍वरको वचनको सही ज्ञान लिनु हो

६. बप्तिस्माको लागि योग्य हुन तपाईंसित बाइबलको ज्ञान कति हुनुपर्छ?

६ बप्तिस्माको लागि योग्य हुन बाइबलको सबै कुरा थाह पाउनुपर्छ भन्‍ने छैन। इथियोपियाली अफिसरसित पनि धर्मशास्त्रको केही ज्ञान थियो तर धर्मशास्त्रको कुनै-कुनै कुरा बुझ्न तिनलाई मदत चाहिएको थियो। (प्रेषित ८:३०, ३१) त्यसैगरि तपाईंले पनि अझ धेरै कुरा सिक्न बाँकी छ। भनौं भने परमेश्‍वरको ज्ञान लिने काम कहिल्यै सिद्धिंदैन। (उपदेशक ३:११) तर बप्तिस्मा गर्नुअघि तपाईंले कम से कम बाइबलको आधारभूत शिक्षा सिकेर ती स्वीकारिसकेको हुनुपर्छ। (हिब्रू ५:१२) जस्तै: मरिसकेका मानिसहरूको अवस्था, परमेश्‍वरको नाम र उहाँको राज्यको महत्त्व।

७. बाइबल अध्ययन गर्दै जाँदा के गर्नुपर्छ?

७ तर ज्ञान मात्र भएर पुग्दैन किनभने “विनाविश्‍वास [परमेश्‍वरलाई] खुसी पार्न असम्भव छ।” (हिब्रू ११:६) प्राचीन सहर कोरिन्थका केही मानिसले ख्रीष्टियनहरूको सन्देश सुनेपछि “विश्‍वास गर्न थाले अनि बप्तिस्मा गरे” भनी बाइबल बताउँछ। (प्रेषित १८:८) त्यसैगरि अध्ययन गर्दै जाँदा बाइबल साँच्चै परमेश्‍वरबाट प्रेरणा भएको किताब हो भनेर तपाईंले विश्‍वास गर्न थाल्नुभएको हुनुपर्छ। परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ र येशूको फिरौतीको बलिदानले हाम्रो उद्धार गर्छ भनेर पनि विश्‍वास गरिसकेको हुनुपर्छ।—यहोशू २३:१४; प्रेषित ४:१२; २ तिमोथी ३:१६, १७.

बाइबलबाट सिकेको सत्य कुरा अरूलाई बताउनुहोस्‌

८. सिकेको कुरा अरूलाई बताउन तपाईंलाई केले उत्प्रेरित गर्नेछ?

८ विश्‍वास बढ्‌दै गएपछि तपाईंलाई आफूले सिकेको कुरा अरूलाई सुनाउन मन लाग्छ। अरूलाई नबताई तपाईं बस्नै सक्नुहुन्‍न। (यर्मिया २०:९) परमेश्‍वर अनि उहाँका उद्देश्‍यहरूबारे अरूलाई बताउन तपाईं उत्प्रेरित हुनुहुनेछ।—२ कोरिन्थी ४:१३.

बाइबल विद्यार्थी आफूलाई बाइबलको कुरा सिकाउने व्यक्‍तिसँगै प्रचारमा भाग लिएर एक जना मान्छेलाई सुसमाचार सुनाउँदै छन्‌

आफूलाई पक्का भएका कुराहरूबारे अरूलाई बताउन विश्‍वासले उत्प्रेरित गर्छ

९, १०. (क) तपाईं क-कसलाई आफूले सिकेको कुरा बताउन सक्नुहुन्छ? (ख) घरघर प्रचारमा जान चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ?

९ तपाईं आफ्ना नातेदार, साथीभाइ, छिमेकी र सहकर्मीहरूलाई बाइबलबाट आफूले सिकेको सत्य कुरा मौका मिलाएर बताउन सक्नुहुन्छ। अनि समय बित्दै जाँदा तपाईंलाई यहोवाका साक्षीहरूसित घरघर प्रचारमा जान मन लाग्ला। तपाईं अहिले जोसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ, उहाँलाई आफ्नो यस्तो इच्छाबारे बताउन अप्ठेरो नमान्‍नुहोस्‌। तपाईं घरघर प्रचारमा जान योग्य हुनुहुन्छ भने मण्डलीका दुई जना एल्डरले तपाईं र तपाईंसित बाइबल अध्ययन गर्ने व्यक्‍तिसित भेट्‌नेछन्‌।

१० एल्डरहरूले परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर्ने जिम्मा पाएका छन्‌। (प्रेषित २०:२८; १ पत्रुस ५:२, ३) त्यसैले एल्डरहरू तपाईंलाई भेट्‌न पाउँदा खुसी हुनेछन्‌ अनि तपाईंले पनि तिनीहरूलाई चिन्‍ने मौका पाउनुहुनेछ। ती एल्डरहरूले तपाईंले बाइबलको आधारभूत शिक्षा बुझ्नुभएको छ कि छैन, त्यसमा विश्‍वास गर्नुहुन्छ कि गर्नुहुन्‍न, परमेश्‍वरको सिद्धान्तअनुरूप जीवन बिताउन थाल्नुभएको छ कि छैन अनि तपाईं साँच्चै यहोवाको साक्षी बन्‍न इच्छुक हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पक्का गर्नेछन्‌। यदि तपाईं योग्य हुनुहुन्छ भने यहोवाका साक्षीहरूसित मिलेर तपाईं घरघर प्रचारमा जान सक्नुहुन्छ भनेर तिनीहरूले जानकारी गराउनेछन्‌।

११. घरघर प्रचारमा जान योग्य हुन कसै-कसैले कस्ता परिवर्तन गर्नुपर्ने हुन सक्छ?

११ तर अर्कोतर्फ तपाईंले आफ्नो आनीबानीमा अझै केही परिवर्तन गर्नुपर्ने हुन सक्छ। त्यसैले तपाईं अहिले घरघर प्रचारमा जान योग्य हुनुहुन्‍न भनेर एल्डरहरूले बताउन सक्छन्‌। हुन सक्छ, तपाईंले आफ्नो कुनै नराम्रो बानी अरूबाट लुकाइराख्नुभएको पो छ कि? यदि तपाईं बप्तिस्मा गर्न इच्छुक हुनुहुन्छ अनि त्यसअघि यहोवाका साक्षीहरूसित घरघर प्रचारमा जान चाहनुहुन्छ भने अवैध यौनसम्बन्ध राख्ने, बेसरी पिउने र लागूपदार्थ सेवन गर्नेजस्ता खराब काम तपाईंले पूरै त्यागिसकेको हुनुपर्छ।—१ कोरिन्थी ६:९, १०; गलाती ५:१९-२१.

पश्‍चात्ताप र परिवर्तन

१२. पश्‍चात्ताप गर्नु किन आवश्‍यक छ?

१२ बप्तिस्माको लागि योग्य हुन तपाईंले अरू कदम पनि चाल्नुपर्छ। प्रेषित पत्रुसले यसो भने: “पश्‍चात्ताप गर्नुहोस्‌ अनि फर्केर . . . आउनुहोस्‌, ताकि तपाईंहरूको पाप मेटिओस्‌।” (प्रेषित ३:१९) पश्‍चात्ताप गर्नु भनेको आफूले गरेको कुनै कामको निम्ति मनैदेखि पछुतो मान्‍नु हो। यदि कसैले पहिले छाडा जीवन बिताएको थियो भने उसले पश्‍चात्ताप गर्नै पर्छ। तर त्यस्तो जीवन नबिताउने व्यक्‍तिले पनि पश्‍चात्ताप गर्नै पर्छ। किन? किनभने हामी सबै पापी छौं र हामीलाई परमेश्‍वरको क्षमा चाहिन्छ। (रोमी ३:२३; ५:१२) बाइबल अध्ययन गर्नुअघि तपाईंलाई परमेश्‍वरको इच्छा के हो, थाह थिएन। त्यसैले तपाईंले उहाँको इच्छाबमोजिम जीवन बिताउन सक्नुभएन। त्यसकारण अहिले त्यसको निम्ति पश्‍चात्ताप गर्नु आवश्‍यक छ।

१३. परिवर्तन गर्नु भनेको के हो?

१३ पश्‍चात्ताप गरेपछि ‘फर्कनु’ अर्थात्‌ परिवर्तन गर्नु जरुरी छ। पछुतो मानेर मात्र पुग्दैन, खराब आनीबानी पनि त्याग्नुपर्छ र अबउसो जे सही छ त्यही गर्ने अठोट गर्नुपर्छ। बप्तिस्मा गर्नुअघि तपाईंले पश्‍चात्ताप र परिवर्तन दुवै गरिसकेको हुनै पर्छ।

समर्पण

१४. बप्तिस्मा गर्नुअघि तपाईंले कुन कदम चाल्नै पर्छ?

१४ बप्तिस्मा गर्नुअघि तपाईंले चाल्नुपर्ने अर्को एउटा महत्त्वपूर्ण कदम छ। त्यो हो, समर्पण। तपाईंले आफ्नो जीवन यहोवा परमेश्‍वरलाई समर्पण गर्नै पर्छ।

बाइबल विद्यार्थी प्रार्थनामा आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्दै छन्‌

के तपाईंले प्रार्थना गरेर आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरिसक्नुभयो?

१५, १६. परमेश्‍वरलाई जीवन समर्पण गर्नुको अर्थ के हो? यसो गर्न कुन कुराले उत्प्रेरित गर्छ?

१५ यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नु भनेको अबदेखि उहाँको मात्र सेवा गर्छु भनेर वाचा गर्नु हो। तपाईंले यहोवालाई प्रार्थना गरेर त्यस्तो वाचा गर्नुपर्छ। यो गम्भीर कदम हो। त्यसैले त्यस्तो वाचा गर्नदेखि कोही-कोही आनाकानी गर्छन्‌। तर हामीले किन अप्ठेरो मान्‍नुपर्दैन? त्यसका लागि एउटा उदाहरण विचार गरौं। एक जना केटाले आफूले मन पराएको केटीसित चिनजान बढाउँदै छ। ती केटीलाई चिन्दै गएपछि उनका राम्रा गुणहरू देखेर तिनलाई उनी झनै मन पर्छ। अब ऊ त्यो केटीसित विवाह गर्न चाहन्छ। केही समयपछि उसले केटीसित विवाहको प्रस्ताव राख्छ र ऊसित सँगै जीवन बिताउने वाचा गर्छ। हुन त विवाह गरेपछि जिम्मेवारी बढ्‌छ। तर प्रेमले गर्दा त्यो केटा यस्तो महत्त्वपूर्ण कदम चाल्न पछि हट्‌दैन।

१६ त्यसैगरि यदि तपाईंले यहोवालाई चिन्‍नुभयो अनि उहाँलाई माया गर्न थाल्नुभयो भने पूरा तनमनले अनि कुनै सर्त नराखी उहाँको सेवा गर्न तपाईंलाई गाह्रो लाग्नेछैन। येशू ख्रीष्टले यहोवाको त्यसरी नै सेवा गर्नुभयो। यदि हामी येशू ख्रीष्टको पछि लाग्न चाहन्छौं भने हामीले “आफूलाई इन्कार” गर्नुपर्छ। (मर्कूस ८:३४) आफूलाई इन्कार गर्नु भनेको यहोवा परमेश्‍वरको सबै आज्ञा पालन गर्नु हो अनि आफ्नो इच्छा र लक्ष्यले उहाँको आज्ञा पालन गर्न बाधा पुऱ्‍याउँछ भने त्यसलाई त्याग्नसमेत तयार हुनु हो। बप्तिस्मा गर्नुअघि नै हाम्रो जीवनको मुख्य लक्ष्य यहोवा परमेश्‍वरको इच्छा पूरा गर्ने हुनुपर्छ।—१ पत्रुस ४:२.

असफल होला भन्‍ने डर हटाउनुहोस्‌

१७. आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्न कोही-कोही किन हिचकिचाउँछन्‌?

१७ कोही-कोही यस्तो गम्भीर कदम चाल्न डराउँछन्‌। त्यसैले यहोवालाई आफ्नो जीवन समर्पण गर्न तिनीहरू हिचकिचाउँछन्‌। ख्रीष्टियन भएपछि आफ्नो एक-एक कामको लेखा परमेश्‍वरलाई दिनुपर्छ भनेर तिनीहरूलाई डर लागेको हुन सक्छ। तिनीहरू कुनै गल्ती गरेर यहोवाको चित्त दुखाउनुभन्दा बरु परमेश्‍वरलाई जीवन समर्पण नगर्नु नै बेस ठान्छन्‌।

१८. यहोवालाई आफ्नो जीवन समर्पण गर्न तपाईंलाई केले उत्प्रेरित गर्छ?

१८ यहोवालाई प्रेम गर्न सिक्दै गएपछि उहाँलाई जीवन समर्पण गर्ने अनि यथासक्दो उहाँकै चाहनाअनुसार जीवन बिताउने इच्छा तपाईंमा बढ्‌दै जानेछ। (उपदेशक ५:४) उहाँलाई जीवन समर्पण गरिसकेपछि तपाईं आफै ‘यहोवाको सेवक कहलाइन योग्यको जीवन बिताएर तपाईंले उहाँलाई पूरै प्रसन्‍न बनाउन’ जागरूक हुनुहुनेछ। (कलस्सी १:१०) अनि परमेश्‍वरको प्रेमले गर्दा तपाईंलाई उहाँको इच्छाअनुसार जीवन बिताउन गाह्रो लाग्नेछैन। तपाईं प्रेषित यूहन्‍नाका यी शब्दसित सहमत हुनुहुनेछ: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।”—१ यूहन्‍ना ५:३.

१९. परमेश्‍वरलाई जीवन समर्पण गर्न किन डराउनुपर्दैन?

१९ परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्न हामी त्रुटिरहित हुनुपर्दैन। यहोवालाई हाम्रो सीमितता थाह छ। हामीले गर्न नसक्ने कुरा उहाँ कहिल्यै माग गर्नुहुन्‍न। (भजन १०३:१४) उहाँ हामी सफल भएको चाहनुहुन्छ। उहाँले हामीलाई सम्हाल्नुहुनेछ र मदत गर्नुहुनेछ। (यशैया ४१:१०) त्यसैले यहोवामाथि आफ्नो पूरा भरोसा राख्नुहोस्‌। त्यसो गर्नुभयो भने उहाँले तपाईंका “बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

आफ्नो समर्पण प्रकट गर्न बप्तिस्मा गर्नुहोस्‌

२०. यहोवालाई आफ्नो जीवन समर्पण गर्ने व्यक्‍तिले के गर्नै पर्छ?

२० माथि छलफल गरेका कुराहरूले प्रार्थनामा यहोवालाई आफ्नो जीवन समर्पण गर्न तपाईंलाई मदत गर्न सक्छ। तर परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने सबैले ‘उद्धारको निम्ति जनसमक्ष घोषणा’ गर्नै पर्छ। (रोमी १०:१०) तपाईं कसरी जनसमक्ष यस्तो घोषणा गर्न सक्नुहुन्छ?

ख्रीष्टियनले परमेश्‍वरको नयाँ सेवकलाई बप्तिस्माको लागि पानीमा चुर्लुम्मै डुबाएर बाहिर निकाल्दै छन्‌

बप्तिस्माको अर्थ पुरानो जीवनशैलीको अन्त हुनु र परमेश्‍वरको इच्छाअनुसार चल्न नयाँ जीवन सुरु गर्नु हो

२१, २२. तपाईं कसरी आफ्नो विश्‍वास “जनसमक्ष घोषणा” गर्न सक्नुहुन्छ?

२१ यदि तपाईं बप्तिस्मा गर्न इच्छुक हुनुहुन्छ भने आफ्नो मण्डलीको संयोजकलाई खबर गर्नुहोस्‌। तपाईंसित बाइबलको आधारभूत शिक्षाबारे छलफल गर्न तिनले केही एल्डरलाई खटाउनेछन्‌। यदि तपाईं योग्य हुनुहुन्छ भने आउँदो सम्मेलन अथवा अधिवेशनमा बप्तिस्मा गर्न सक्नुहुन्छ भनी ती एल्डरहरूले तपाईंलाई बताउनेछन्‌।a सम्मेलन तथा अधिवेशनमा बप्तिस्मा गर्न चाहने व्यक्‍तिहरूको निम्ति एउटा भाषण दिइन्छ। त्यस भाषणको वक्‍ताले बप्तिस्माको अर्थ अक्सर दोहोऱ्‍याउने गर्छन्‌। त्यसपछि वक्‍ताले बप्तिस्मा गर्न योग्य ठहरिएका सबैलाई दुइटा सरल प्रश्‍नको मौखिक जवाफ दिन आग्रह गर्छन्‌। आफ्नो विश्‍वास “जनसमक्ष घोषणा” गर्ने यो एउटा तरिका हो।

२२ तपाईंले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसक्नुभएको छ र तपाईं अबदेखि यहोवाको साक्षी हुनुहुन्छ भनी मानिसहरूसामु प्रकट गर्ने मुख्य तरिका बप्तिस्मा नै हो। बप्तिस्मा गर्न चाहने व्यक्‍तिलाई पानीमा चुर्लुम्मै डुबाएर बप्तिस्मा गरिन्छ। किनभने त्यसो गर्दा त्यस व्यक्‍तिले यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्यो भनेर सबैले देख्नेछन्‌।

बप्तिस्माको अर्थ

२३. “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा” बप्तिस्मा गर्नुको अर्थ के हो?

२३ येशूले यसो भन्‍नुभयो: “मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ।” (मत्ती २८:१९) यसको अर्थ बप्तिस्मा गर्ने व्यक्‍तिले यहोवा परमेश्‍वर र येशू ख्रीष्टको अख्तियार स्वीकार्छन्‌। (भजन ८३:१८; मत्ती २८:१८) तिनले परमेश्‍वरको पवित्र शक्‍ति अर्थात्‌ सक्रिय शक्‍तिको भूमिका र कामलाई पनि मानिलिन्छन्‌।—गलाती ५:२२, २३; २ पत्रुस १:२१.

२४, २५. (क) बप्तिस्माको प्रतीकात्मक अर्थ के हो? (ख) कुन प्रश्‍नको जवाफ पाउन बाँकी छ?

२४ बप्तिस्मा गर्नु भनेको पानीमा चुर्लुम्म डुब्नु मात्र होइन। यसको प्रतीकात्मक अर्थ छ। पानीमा डुब्नुको अर्थ पुरानो जीवनशैलीको अन्त हुनु हो। पानीबाट बाहिर निस्कनुको अर्थ परमेश्‍वरको इच्छाअनुसार चल्न नयाँ जीवन सुरु गर्नु हो। नबिर्सनुहोस्‌, तपाईंले कुनै काम, उद्देश्‍य, मानिस वा सङ्‌गठनको लागि होइन तर यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुभएको हो। तपाईंको समर्पण अनि बप्तिस्मा, परमेश्‍वरसित गाँस्ने घनिष्ठ मित्रता अर्थात्‌ गहिरो सम्बन्धको सुरुवात हो।—भजन २५:१४.

२५ बप्तिस्मा उद्धार पाउने ग्यारेन्टी भने होइन। प्रेषित पावलले यस्तो लेखे: “आफ्नो उद्धारको निम्ति पनि त्यसरी नै डर र कम्पसहित प्रयत्न गरिरहो।” (फिलिप्पी २:१२) बप्तिस्मा त सुरुवात मात्र हो। त्यसोभए तपाईं कसरी परमेश्‍वरको प्रेम पाउन लायक बन्‍न सक्नुहुन्छ? अन्तिम अध्यायले यस प्रश्‍नको जवाफ दिनेछ।

a यहोवाका साक्षीहरूको वार्षिक सम्मेलन तथा अधिवेशनहरूको एउटा विशेषता बप्तिस्मा हो।

बाइबलले के सिकाउँछ?

  • बप्तिस्मा भनेको पानी छर्कनु मात्र होइन, पानीमा चुर्लुम्मै डुबाउनु हो।—मत्ती ३:१६.

  • बप्तिस्मा गर्नुअघि ज्ञान लिनुपर्छ, विश्‍वास गर्नुपर्छ, पश्‍चात्ताप गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ अनि परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ।—यूहन्‍ना १७:३; प्रेषित ३:१९; १८:८.

  • यहोवालाई आफ्नो जीवन समर्पण गर्न चाहने व्यक्‍तिले आफूलाई इन्कार गर्नुपर्छ, जसरी येशूको चेला बन्‍न मानिसहरूले आफूलाई इन्कार गरे।—मर्कूस ८:३४.

  • बप्तिस्माले पुरानो जीवनशैलीको अन्त र परमेश्‍वरको इच्छाअनुसार गर्न नयाँ जीवनको सुरुवातलाई बुझाउँछ।—१ पत्रुस ४:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने