अध्याय १२
“उत्थान गर्ने असल वचन” बोल्नुहोस्
“तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्, बरु . . . अरूको उत्थान गर्ने असल वचन निस्कोस्।”—एफिसी ४:२९.
१-३. (क) यहोवाले दिएको एउटा उपहार के हो? अनि यसको कसरी दुरुपयोग हुन सक्छ? (ख) परमेश्वरको प्रेम पाउन लायक भइरहन उहाँले उपहारको रूपमा दिएको बोलीलाई हामीले कसरी प्रयोग गर्नै पर्छ?
आफूले माया गरेको व्यक्तिलाई तपाईंले उपहार दिनुभयो तर तिनले जानाजानी त्यसको दुरुपयोग गरेमा तपाईंलाई कस्तो लाग्छ? मानिलिनुहोस्, तपाईंले तिनलाई मोटरसाइकल दिनुभयो। तर तिनले त्यो लापरबाही तरिकामा चलाएर अरूलाई घाइते बनाएको कुरा तपाईंले पछि थाह पाउनुभयो। के तपाईं त्यतिबेला निराश हुनुहुन्न र?
२ अरूले बुझ्नेगरि बोल्न सक्नु यहोवाबाट पाएको उपहार हो। उहाँ “हरेक असल वरदान र हरेक उत्तम उपहार” दिने परमेश्वर हुनुहुन्छ। (याकूब १:१७) यस उपहारले मानिसजातिलाई अन्य पशुपक्षीबाट अलग्गै छुट्याएको छ। यसले गर्दा हामी अरूलाई आफ्नो विचार मात्र नभई भावना पनि व्यक्त गर्न सक्छौं। तर मोटरसाइकलको दुरुपयोग भएजस्तै यो उपहार अर्थात् बोलीको पनि दुरुपयोग हुन सक्छ। लापरबाही तरिकामा बोल्दा अरूलाई चोट लाग्न सक्छ र पीडा हुन सक्छ। यसले यहोवालाई कत्ति निराश बनाउँछ!
३ परमेश्वरको प्रेम पाउन लायक भइरहन उहाँले जस्तो चाहनुहुन्छ हामीले त्यस्तै तरिकामा बोलीको प्रयोग गर्नै पर्छ। उहाँलाई कस्तो बोली मन पर्छ त्यसबारे उहाँले स्पष्टसित बताउनुभएको छ। उहाँको वचन बाइबल भन्छ: “तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्, बरु आवश्यकताअनुसार अरूको उत्थान गर्ने असल वचन निस्कोस्, ताकि सुन्नेहरूलाई त्यसबाट फाइदा होस्।” (एफिसी ४:२९) हामीले बोल्दाखेरि किन सधैं होस पुऱ्याउनै पर्छ, कस्तो बोली बोल्नु हुँदैन अनि “अरूको उत्थान गर्ने असल वचन” हामी कसरी बोल्न सक्छौं, आउनुहोस् छलफल गरौं।
हामीले बोल्दाखेरि किन होस पुऱ्याउनै पर्छ?
४, ५. हामीले बोल्दा चलाउने शब्द-शब्दमा शक्ति हुन्छ भन्ने कुरालाई हितोपदेशका केही पदहरूमा कसरी बताइएको छ?
४ बोल्दाखेरि होस पुऱ्याउनुपर्ने एउटा महत्त्वपूर्ण कारण हामीले बोल्दा चलाउने शब्द-शब्दमा शक्ति हुने भएकोले हो। हितोपदेश १५:४, NRV भन्छ: “निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुऱ्याउँछ।” a पानी नपाएर सुक्न लागेको रूखले पानी पाएपछि फेरि नयाँ जीवन पाएजस्तै निको पार्ने जिब्रो अर्थात् शान्त बोलीले सुन्नेहरूको मनमा स्फूर्ति जगाइदिन सक्छ। त्यसको उल्टा, टेढो शब्द अर्थात् भ्रष्ट बोलीले अरूको हृदय छिन्नभिन्न पार्न सक्छ। हो, हामीले बोल्दा चलाउने शब्दमा अरूलाई घायल पार्ने वा निको गर्ने शक्ति छ।—हितोपदेश १८:२१.
५ हामीले बोल्दा चलाउने शब्द-शब्दमा शक्ति हुन्छ भन्ने कुरालाई हितोपदेशको अर्को पदले स्पष्टसित यसरी बताएको छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमान्को बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) हतारमा बोल्दा चलाइने व्यर्थका शब्दहरूले अर्थात् विचारै नपुऱ्याई बोलेको बोलीले गहिरो भावनात्मक चोट पुऱ्याउनुका साथै सम्बन्ध तहसनहस पार्न सक्छ। तरवारझैं तीखो बोलीले के तपाईंको मन छिया-छिया भएको छ? अर्कोतर्फ त्यही पदले यस्तो प्रोत्साहनदायी कुरा पनि भन्छ: “बुद्धिमान्को बोलीले मानिसलाई निको पार्छ।” ईश्वरीय बुद्धि प्रदर्शित गर्ने व्यक्तिले विचार पुऱ्याएर बोल्छ र तिनका शब्दहरूले चोट पुगेको हृदयलाई निको पार्न र सम्बन्ध सुधार्न सक्छ। दयालु शब्दहरूले तपाईंलाई निको पार्न सकेको के कुनै घटना सम्झन सक्नुहुन्छ? (हितोपदेश १६:२४) हामीले बोल्ने शब्द-शब्दमा शक्ति हुन्छ भनेर बुझेपछि हामी अवश्य पनि अरूलाई चोट पुऱ्याउने बोली होइन तर निको पार्ने बोली बोल्न चाहन्छौं।
शान्त बोलीले स्फूर्ति दिन्छ
६. जिब्रोलाई काबूमा राख्नु किन साँच्चै गाह्रो छ?
६ जति नै प्रयास गरे तापनि हामी आफ्नो जिब्रोलाई पूर्णतया काबूमा राख्न सक्दैनौं। त्यसैले बोल्दा होस पुऱ्याउनै पर्ने दोस्रो कारण के हो भनेर हामी बुझ्न सक्छौं: हो, पापी अनि त्रुटिपूर्ण भएकोले हामी आफ्नो जिब्रोको दुरुपयोग गर्न पुग्छौं। हृदयमा जे हुन्छ त्यही हामी बोल्छौं। अनि “मानिसको हृदयका विचार . . . खराब हुन्छ।” (उत्पत्ति ८:२१; लूका ६:४५) त्यसैले आफ्नो जिब्रोलाई लगाम कस्नु साँच्चै गाह्रो छ। (याकूब ३:२-४) हामीले आफ्नो जिब्रोलाई पूर्णतया काबूमा राख्न नसके तापनि त्यसलाई प्रयोग गर्ने सन्दर्भमा उन्नति गर्न प्रयास गरिराख्न सक्छौं। पौडी खेल्ने मान्छेले पानीको धार विपरीत पौडी खेल्दा सङ्घर्ष गर्नुपरेजस्तै हामीले पनि जिब्रोको दुरुपयोग गर्ने पापी झुकावविरुद्ध सङ्घर्ष गरिराख्नुपर्छ।
७, ८. हामीले बोल्दा चलाउने शब्दहरूको कारण यहोवा हाम्रो कुन हदसम्म लेखा लिनुहुन्छ?
७ बोल्दा होस पुऱ्याउनुपर्ने तेस्रो कारण हो: हामीले बोल्दा चलाउने शब्दहरूको कारण यहोवा हाम्रो लेखा लिनुहुन्छ। हामीले आफ्नो जिब्रोलाई जुन तरिकामा चलाउँछौं त्यसले सँगी मानवसितको हाम्रो सम्बन्धलाई मात्र होइन तर यहोवासामु हामीले कमाएको असल नामलाई पनि असर गर्छ। याकूब १:२६ भन्छ: “यदि कुनै मानिसले आफूलाई परमेश्वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा लगाम लगाउँदैन र आफूलाई धोका दिन्छ भने त्यस मानिसको उपासना व्यर्थ हो।”b अघिल्लो अध्यायमा छलफल गरेअनुसार हाम्रो बोली हामीले गर्ने उपासनाको अभिन्न भाग हो। यदि हामी आफ्नो जिब्रोलाई लगाम कस्दैनौं अर्थात् अरूलाई चोट पुऱ्याउने विषालु बोली बोल्छौं भने हाम्रो सम्पूर्ण ख्रीष्टियन सेवा परमेश्वरको नजरमा व्यर्थको हुन सक्छ। के यस कुरालाई गम्भीर भई विचार गर्नुपर्दैन र?—याकूब ३:८-१०.
८ परमेश्वरले उपहारको रूपमा दिएको बोलीलाई दुरुपयोग नगर्नको लागि होस पुऱ्याउनुपर्छ भनेर हामीले सशक्त कारणहरू पायौं। अब आउनुहोस्, अरूको उत्थान गर्ने हितकर बोलीबारे विचार गर्नुअघि साँचो ख्रीष्टियनहरूले फिटिक्कै बोल्न नहुने बोलीबारे छलफल गरौं।
विनाशकारी बोली
९, १०. (क) अहिलेको संसारमा कस्तो भाषा बोल्नु दैनिकी नै बनेको छ? (ख) किन हामीले अश्लील भाषा बोल्नु हुँदै-हुँदैन? (पादटिप्पणी पनि हेर्नुहोस्।)
९ अश्लील भाषा। अहिलेको संसारमा सराप्नु, कुवाक्य निकाल्नु अथवा अन्य प्रकारका अश्लील भाषाहरू बोल्नु दैनिकी नै बनेको छ। धेरैजसो मानिस आफ्नो बोलीलाई सशक्त बनाउनको लागि वा बोल्नुपर्ने उचित शब्द थाह नभएर आपत्तिजनक शब्दहरू चलाउँछन्। हास्य कलाकारहरूले मान्छेलाई हँसाउनको लागि अक्सर छाडा, यौनसित सम्बन्धित बोलीहरू बोल्ने गर्छन्। तर अश्लील भाषा बोल्नु ठट्टाको विषय होइन। करिब २,००० वर्षअघि परमेश्वरको प्रेरणा पाएका प्रेषित पावलले कलस्सीका मण्डलीलाई “अश्लील बोली” नबोल्न सल्लाह दिए। (कलस्सी ३:८) “अश्लील ठट्टा” गर्नु भनेको साँचो ख्रीष्टियनहरूले ‘नामसमेत लिन नमिल्ने’ कुराहरू अन्तर्गत पर्छ भनेर पावलले एफिससको मण्डलीलाई बताए।—एफिसी ५:३, ४.
१० अश्लील बोली बोल्दा यहोवा अप्रसन्न हुनुहुन्छ। उहाँलाई प्रेम गर्नेहरू पनि यस्तो बोलीदेखि अप्रसन्न हुन्छन्। वास्तवमा भन्नुपर्दा यहोवाप्रतिको प्रेमले हामीलाई अश्लील भाषा नबोल्न उत्प्रेरित गर्छ। पावलले “शरीरका कामहरू”-को सूची बनाउँदा “अशुद्धपन”-बारे पनि उल्लेख गरे जसमा अशुद्ध बोली पनि पर्न सक्छ। (गलाती ५:१९-२१) यो गम्भीर मामिला हो। कुनै व्यक्तिले बारम्बार सल्लाह दिंदा पनि पश्चात्ताप नगरीकन घोर अनैतिक, नीच अनि भ्रष्ट कुरालाई इसारा गर्ने अथवा त्यसलाई बढवा दिने बोली बोल्छ भने ऊ मण्डलीबाट बहिष्कार हुन सक्छ। c
११, १२. (क) गफ भनेको के हो? गफ कसरी हानिकारक हुन पुग्छ? (ख) यहोवाका उपासकहरूले किन अरूको निन्दा गर्ने बोली बोल्नै हुँदैन?
११ हानिकारक गफ, निन्दा। गफ, अरू मानिस र तिनीहरूबारे गरिने व्यर्थको कुराकानी हो। के सबै गफ खराब हुन्छन्? यदि सकारात्मक वा मदतकारी हालखबरबारे गरिने अहानिकारक गफ हो भने त्यो खराब होइन। जस्तै: कस-कसले बप्तिस्मा गरे वा कसलाई प्रोत्साहन चाहिएको छ भन्नेबारे गफ गर्नु हानिकारक होइन। प्रथम शताब्दीका ख्रीष्टियनहरू एकअर्काको हितमा गहिरो चासो लिन्थे र सँगी विश्वासीहरूबारे उचित हालखबर साटासाट गर्थे। (एफिसी ६:२१, २२; कलस्सी ४:८, ९) तर गफले तथ्य कुरालाई बङ्ग्याउँछ वा गोप्य कुरालाई प्रकट गरिदिन्छ भने त्यो हानिकारक हुन सक्छ। अझ गम्भीर कुरा यसले निन्दा गर्नतर्फ समेत धकेल्न सक्छ। निन्दा गर्नु सधैं हानिकारक हुन्छ। निन्दाले “अर्कालाई दोष लगाउँछ . . . जसले गर्दा अरूको बदनाम हुन्छ र उनीहरूको इज्जतमा धक्का पुग्छ।” उदाहरणको लागि येशूको बदनाम गर्न खोज्दै फरिसीहरूले द्वेष राखेर उहाँको निन्दा गरे। (मत्ती ९:३२-३४; १२:२२-२४) कुरा काट्नाले अर्थात् निन्दा गर्नाले अक्सर झगडा उत्पन्न हुन्छ।—हितोपदेश २६:२०.
१२ यहोवाले उपहारस्वरूप दिएको बोलीलाई अरूको बदनाम गर्न अथवा फूट उत्पन्न गर्न प्रयोग गर्छौं भने उहाँ त्यसलाई हल्कासित लिनुहुन्न। “दाजुभाइहरूका बीचमा झगडा उठाउने मानिस”-लाई उहाँ घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) “निन्दा” भनी अनुवाद गरिएको ग्रीक शब्द दियाबोलस् हो। यो सैतानलाई दिइएको एउटा नाम पनि हो। सैतान “दियाबल” अर्थात् निन्दक हो। त्यसले दुष्ट भई परमेश्वरको निन्दा गर्छ। (प्रकाश १२:९, १०) पक्कै पनि हामी दियाबलजस्तै हुने खालका बोलीहरू बोल्न चाहँदैनौं। “झगडा” र “फूट” जस्ता शरीरका कामहरूलाई बढवा दिने निन्दाको मण्डलीमा कुनै ठाउँ छैन। (गलाती ५:१९-२१) त्यसैले कसैबारे सुनेको हालखबर अरूलाई बताउँदा आफैलाई सोध्नुहोस्: ‘के यो सत्य हो? यो अरूलाई बताउनु हुन्छ कि हुँदैन? के यो जानकारी बाँड्नु आवश्यक अथवा उचित छ?’—१ थिस्सलोनिकी ४:११.
१३, १४. (क) दुर्वचनको सिकार हुनेहरूमा कस्तो असर पर्न सक्छ? (ख) गाली गर्नु भनेको के हो? गाली गर्नेले किन आफैलाई खाल्टोमा पार्छ?
१३ दुर्वचन। अघि उल्लेख गरेझैं शब्दहरूमा चोट पुऱ्याउने शक्ति हुन्छ। हो, त्रुटिपूर्ण भएको कारण कहिलेकाहीं हामी सबै नै पछुतो गर्नुपर्ने बोली बोल्न पुग्छौं। तर ख्रीष्टियन परिवारमा अथवा मण्डलीमा कस्तो बोली पटक्कै बोल्नुहुँदैन भनेर बाइबलले चेतावनी दिएको छ। पावलले ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “हरकिसिमको कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग।” (एफिसी ४:३१) अरू अनुवादमा “दुर्वचन”-लाई “दुष्ट शब्दहरू,” “हानिकारक भाषा,” अनि “अपमानजनक भाषा” भनेर पनि अनुवाद गरिएको छ। दुर्वचनमा अरूलाई नीच देखाउने तरिकामा नाम काढ्नु, कठोर वचन बोल्नु अनि बारम्बार आलोचना गर्नु समावेश छ। यसले अरूको मर्यादामा धक्का पुऱ्याउन सक्छ र तिनीहरूलाई नालायक महसुस गराउन सक्छ। बच्चाहरू कोमल हुन्छन् अनि अरूलाई सजिलै भरोसा गर्छन्। त्यसैले विशेषगरि तिनीहरूलाई दुर्वचनले सजिलै असर पार्छ।—कलस्सी ३:२१.
१४ गाली गर्नुलाई बाइबलले कडा शब्दमा भर्त्सना गरेको छ। गाली गर्नु भनेको अपमान गरेर, नीच तुल्याएर वा दुर्वचन बोलेर अरूलाई होच्याउने बानी हो। यस्तो बोली बोल्ने मानिस आफै खाल्टोमा पर्छ। किनभने बारम्बार मदत दिने प्रयास गर्दा पनि तिनले त्यो सुनेनन् भने तिनलाई मण्डलीबाट हटाउनुपर्ने हुन सक्छ। तिनले आफ्नो तौरतरिका सुधारेनन् भने अनन्त जीवन पनि गुमाउन सक्छन्। (१ कोरिन्थी ५:११-१३; ६:९, १०) स्पष्ट छ अहितकर, असत्य र निर्दयी बोली बोलिरह्यौं भने पक्कै पनि परमेश्वरको प्रेम पाउन लायक भइरहन सक्दैनौं। यस्तो बोलीले विनाश गराउँछ।
“उत्थान गर्ने असल” शब्दहरू
१५. कस्तो बोलीलाई “उत्थान गर्ने असल” बोली भनिन्छ?
१५ परमेश्वरले उपहारको रूपमा दिएको बोलीलाई उहाँको इच्छाअनुसार कसरी प्रयोग गर्न सक्छौं? परमेश्वरको वचनले “अरूको उत्थान गर्ने असल वचन” बोल्नू भनेर आग्रह गरेको कुरा नबिर्सनुहोस्। (एफिसी ४:२९) हामीले उत्थानदायी, प्रोत्साहनदायी अनि अरूलाई बलियो पार्ने बोली बोल्दा यहोवा खुसी हुनुहुन्छ। यस्ता शब्दहरू बोल्नको लागि विचार पुऱ्याउनुपर्छ। यसको लागि बाइबलले हामीलाई नियम दिएको छैन, न त यसमा “हितकर वचन”-को सूची नै दिएको छ। (तीतस २:८) “उत्थान गर्ने असल” शब्दहरू बोल्न हामीले तीनवटा सरल तर महत्त्वपूर्ण पक्षलाई मनमा राख्नुपर्छ। हो, हाम्रो बोली उत्थानदायी हुनको लागि यी पक्षहरू हुनु जरुरी छ: हाम्रो बोली हितकर हुनुपर्छ, सत्यमा आधारित हुनुपर्छ र दयालु हुनुपर्छ। यस्ता पक्षलाई मनमा राख्दै आउनुहोस् हामी उत्थान गर्ने बोलीका केही खास उदाहरण विचार गरौं।—पृष्ठ १६० मा भएको “के मेरो बोलीले अरूको उत्थान गर्छ?” भन्ने पेटी हेर्नुहोस्।
१६, १७. (क) हामीले किन अरूको प्रशंसा गर्नुपर्छ? (ख) मण्डलीमा अनि परिवारमा अरूको प्रशंसा गर्ने कस्ता मौकाहरू छन्?
१६ मनदेखिको प्रशंसा। प्रशंसा अनि अनुमोदनका शब्दहरू बोल्नै पर्छ भनेर यहोवा र येशू दुवैलाई थाह छ। (मत्ती ३:१७; २५:१९-२३; यूहन्ना १:४७) ख्रीष्टियन भएकोले हामीले पनि अरूको साँचो प्रशंसा गर्नुपर्छ। किन? किनभने हितोपदेश १५:२३ यसो भन्छ: “ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ।” आफैलाई सोध्नुहोस्: ‘अरूले मनदेखि प्रशंसा गर्दा म कस्तो महसुस गर्छु? के मेरो मन प्रफुल्लित हुँदैन र? अनि के मेरो मन हौसिंदैन र?’ वास्तवमा मनदेखि गरेको प्रशंसाले तपाईंलाई कसैले याद गर्छ, ख्याल राख्छ अनि तपाईंले गरेको प्रयास मूल्यवान् छ भनेर आश्वासन दिलाउँछ। यस्तो आश्वासनले तपाईं अझै विश्वस्त हुनुहुनेछ अनि भविष्यमा अझै लगनशील भई काम गर्न उत्प्रेरित हुनुहुनेछ। अरूले तपाईंको प्रशंसा गर्दा तपाईं खुसी हुनुहुन्छ भने के तपाईंले पनि अरूको प्रशंसा गर्नुपर्दैन र?—मत्ती ७:१२.
१७ अरूको राम्रो पक्ष हेर्न सिक्नुहोस् अनि प्रशंसा गर्नुहोस्। मण्डलीमा कसैले राम्रोसित भाषण दिएको तपाईंले सुन्नुभएको होला, कुनै जवान भाइ आध्यात्मिक लक्ष्य प्राप्त गर्नको लागि अघि बढिरहेको याद गर्नुभएको होला अथवा कुनै वृद्ध भाइबहिनी ढल्कँदो उमेरको बाबजुद पनि विश्वासी भई सभा धाइरहेको देख्नुभएको होला। यस्ता व्यक्तिहरूलाई मनदेखि प्रशंसा गर्दा तिनीहरूको मन छुन सक्छ र परमेश्वरको सेवा गर्ने तिनीहरूको सङ्कल्प अझै बलियो हुन सक्छ। परिवारमा पति-पत्नीले एकअर्काको साँचो प्रशंसा गर्नै पर्छ र आपसमा कृतज्ञता व्यक्त गर्नै पर्छ। (हितोपदेश ३१:१०, २८) विशेषगरि बच्चाहरूलाई याद गरेको वा कृतज्ञता व्यक्त गरेको महसुस गराउँदा तिनीहरूले उन्नति गर्छन्। बिरुवालाई घाम र पानी चाहिए जस्तै बच्चालाई पनि प्रशंसा र अनुमोदनका शब्दहरू चाहिन्छ। आमाबुबा हो, आफ्ना छोराछोरीको असल गुण तथा प्रयासहरूका निम्ति तिनीहरूको प्रशंसा गर्ने मौका खोज्नुहोस्। यस्तो प्रशंसाले तिनीहरूको साहस अनि विश्वस्तता बढाउँछ अनि सही काम गर्नको लागि अझै कोसिस गर्न तिनीहरूलाई उत्प्रेरित गर्छ।
१८, १९. सँगी विश्वासीहरूलाई सान्त्वना दिन किन हामीले सक्दो प्रयास गर्नुपर्छ? त्यस्तो प्रयास कसरी गर्न सक्छौं?
१८ सान्त्वना। यहोवाले “नम्र” अर्थात् दीन अवस्थामा भएकाहरूलाई अनि ‘चूर्ण मन भएकाहरूलाई’ गहिरो चासो राख्नुहुन्छ। (यशैया ५७:१५) “एक-अर्कालाई सान्त्वना” दिन र “जो निराश छन्, तिनीहरूसित सान्त्वनादायी कुरा” गर्न उहाँको वचनले हामीलाई आग्रह गरेको छ। (१ थिस्सलोनिकी ५:११, १४) दुःखले पिरोलिएका सँगी विश्वासीहरूलाई सान्त्वना दिन हामीले गरेको प्रयासलाई यहोवा याद गर्नुहुन्छ र त्यसप्रति कृतज्ञता देखाउनुहुन्छ भनेर हामी पक्का हुन सक्छौं।
हामीले अरूलाई उत्थान गर्ने तरिकामा बोल्दा यहोवा प्रसन्न हुनुहुन्छ
१९ तर हतोत्साहित वा निराश भएका सँगी ख्रीष्टियनलाई उत्थान गर्ने सम्बन्धमा तपाईं के भन्न सक्नुहुन्छ? तपाईंले नै समस्या समाधान गर्नै पर्छ भन्ने नठान्नुहोस्। कतिपय मामिलामा सान्त्वनाका दुई-चार शब्द बोलिदिंदा पनि अक्सर ठूलो मदत पुग्न सक्छ। दुःखले पिरोलिएको व्यक्तिलाई तपाईं ख्याल गर्नुहुन्छ भनेर आश्वस्त पार्नुहोस्। हतोत्साहित व्यक्तिसँगै बसेर प्रार्थना गर्नुहोस्। तिनलाई अरूले कत्ति धेरै माया गर्छन् र परमेश्वरले कत्ति धेरै माया गर्नुहुन्छ भनेर बुझ्न मदत दिनको लागि यहोवालाई बिन्ती गर्न सक्नुहुन्छ। (याकूब ५:१४, १५) मण्डलीमा तिनको आवश्यकता छ र सबैले तिनलाई मोल गर्छन् भनेर आश्वासन दिनुहोस्। (१ कोरिन्थी १२:१२-२६) तिनलाई यहोवाले व्यक्तिगत तवरमा साँच्चै ख्याल गर्नुहुन्छ भनी आश्वासन दिन प्रोत्साहनदायी बाइबल पद पढ्नुहोस्। (भजन ३४:१८; मत्ती १०:२९-३१) उदास व्यक्तिसित “दयालु वचन” बोल्न प्रशस्त समय दिंदा र तिनीसित हृदयदेखिनै कुरा गर्दा तिनले पक्कै पनि आफूलाई माया गरेको र कृतज्ञता व्यक्त गरेको महसुस गर्नेछन्।—हितोपदेश १२:२५.
२०, २१. कस्ता पक्षहरूले सल्लाहलाई प्रभावकारी बनाउँछ?
२० प्रभावकारी सल्लाह। त्रुटिपूर्ण प्राणी भएकोले हामी सबैलाई समय-समयमा सल्लाह अवश्य चाहिन्छ। बाइबल हामीलाई यस्तो प्रोत्साहन दिन्छ: “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर, यसरी बुद्धिमान् भएर तिमी मर्नेछौ।” (हितोपदेश १९:२०) एल्डरहरूले मात्र सल्लाह दिन्छन् भन्ने छैन। आमाबाबुले छोराछोरीलाई सल्लाह दिन्छन्। (एफिसी ६:४) परिपक्व ख्रीष्टियन बहिनीहरूले आफूभन्दा कलिलो उमेरका बहिनीहरूलाई सल्लाह दिनुपर्ने हुन सक्छ। (तीतस २:३-५) अरूप्रतिको मायाले हामीलाई कसरी सल्लाह दिन उत्प्रेरित गर्छ? सल्लाह पाउने व्यक्तिले आफूलाई दबाएको महसुस नगर्ने गरी अनि सजिलै सल्लाह स्वीकार्न सक्नेगरि सल्लाह दिन उत्प्रेरित गर्छ। यस्तो सल्लाह दिन हामीलाई केले मदत गर्न सक्छ? हामीले दिने सल्लाहलाई अझ प्रभावकारी बनाउने यी तीन पक्ष विचार गर्नुहोस्: सल्लाह दिने व्यक्तिको मनोवृत्ति अनि मनसाय, सल्लाह दिइने आधार र सल्लाह दिइने तरिका।
२१ सल्लाह प्रभावकारी हुनु/नहुनु सल्लाह दिने व्यक्तिमा भर पर्छ। आफैलाई सोध्नुहोस्: ‘मलाई कस्तो सल्लाह स्वीकार्न सजिलो लाग्छ?’ हो, सल्लाह दिने व्यक्तिले तपाईंको ख्याल गर्छन्, तिनले आफ्नो मनको आवेग पोखिरहेका छैनन् र तिनको मनसाय अनुचित छैन भन्ने तपाईंलाई लाग्छ भने त्यो सल्लाह स्वीकार्न सजिलो हुन्छ। त्यसैले अरूलाई सल्लाह दिंदा पनि हाम्रो मनोवृत्ति र मनसाय त्यस्तै हुनुपर्दैन र? अर्को कुरा, प्रभावकारी सल्लाह परमेश्वरको वचनमा आधारित हुन्छ। (२ तिमोथी ३:१६) बाइबलबाट सीधै उद्धरण गरेको होस् या नहोस्, हामीले दिने कुनै पनि सल्लाह बाइबलमा आधारित हुनै पर्छ। त्यसैले सल्लाह दिंदा एल्डरहरू अरूमाथि आफ्नो विचार नथोपर्न होसियार हुन्छन्। तिनीहरूले कुनै व्यक्तिगत विचारलाई समर्थन गरेको देखाउन बाइबलको कुरालाई बङ्ग्याउँदैनन्। साथै सल्लाह दिंदा यदि सही तरिकामा दिइएको छ भने त्यो झनै प्रभावकारी हुन्छ। नुनले स्वादिलो पारेको दयालु बोली बोलेको छ भने सल्लाह स्वीकार्न अझ सजिलो हुन्छ र त्यस्तो सल्लाह सुन्ने व्यक्तिको मर्यादा पनि कायम रहन्छ।—कलस्सी ४:६.
२२. उपहारस्वरूप पाएको बोली प्रयोग गर्ने सन्दर्भमा तपाईंले कस्तो सङ्कल्प गर्नुभएको छ?
२२ पक्कै पनि बोली परमेश्वरले दिएको अमूल्य उपहार हो। यहोवाप्रतिको प्रेमले गर्दा हामी त्यो उपहारको दुरुपयोग होइन तर सदुपयोग गर्न उत्प्रेरित हुनुपर्छ। अरूसित बोल्दा हामीले चलाउने शब्दहरूमा शक्ति हुन्छ भन्ने कुरा नबिर्सौं। अनि त्यो शक्ति या त उत्थानदायी या विनाशकारी हुन्छ। त्यसैले आउनुहोस्, यो उपहार दिनेले चाहेअनुसार अर्थात् “उत्थान गर्ने” ढङ्गमा यसको प्रयोग गर्न प्रयास गरौं। यसो गर्दा हाम्रो बोली सुन्नेहरूका लागि प्रोत्साहनदायी र स्फूर्तिदायी हुनेछ र त्यसले हामीलाई परमेश्वरको प्रेम पाउन लायक भइरहन मदत गर्नेछ।
a यस पदमा “छली” भनी अनुवाद गरिएको हिब्रू शब्दले “जाली” र “भ्रष्ट” भन्ने अर्थ पनि दिन सक्छ।
b “व्यर्थ” भनी अनुवाद गरिएको ग्रीक शब्दलाई “निरर्थक” भनेर पनि अनुवाद गरिएको छ।—१ पत्रुस १:१८.
c धर्मशास्त्रमा प्रयोग गरिएको “अशुद्धपन” भन्ने शब्दको विस्तृत अर्थ छ र यसले पापको ठूलो घेरालाई ढाक्न सक्छ। सबै अशुद्धपनलाई न्यायिक कारबाही गर्नु आवश्यक नपरे तापनि यदि कुनै व्यक्ति पश्चात्ताप नगरीकन घोर अशुद्धपनमा संलग्न भइरहन्छ भने उसलाई मण्डलीबाट निकाल्नु पर्ने पनि हुन सक्छ।—२ कोरिन्थी १२:२१; एफिसी ४:१९; प्रहरीधरहरा, अगस्त १, २००९ को “पाठकहरूको प्रश्न” हेर्नुहोस्।