अतिरिक्त लेख
रगतका सूक्ष्म तत्त्वहरू र शल्यक्रिया विधि
रगतका सूक्ष्म तत्त्वहरू। रगतका चार मूल तत्त्वहरू—रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेटस् अनि प्लाज्माबाट रगतका सूक्ष्म तत्त्वहरू निकालिन्छ। उदाहरणको लागि रातो रक्तकोषमा हेमोग्लोबिन नामक प्रोटिन हुन्छ। रातो रक्तकोष एकदमै कम भएर एनेमिया भएको बेला अथवा अत्यधिक रक्तस्राव भएको खण्डमा बिरामीलाई मानिस वा पशुको हेमोग्लोबिनबाट बनेको औषधी दिइन्छ।
प्लाज्मा—यसमा ९० प्रतिशत पानी हुन्छ। यसमा हर्मोन, अजैविक नुन, इन्जाइम, खनिज र चिनीजस्ता पोषक तत्त्वहरू पनि हुन्छन्। प्लाज्मामा रगत जमाउने तत्त्वहरू, रोग प्रतिरोधात्मक तत्त्वहरू अनि एल्ब्युमिन जस्ता प्रोटिनहरू पनि हुन्छन्। यदि कसैलाई कुनै विशेष प्रकारको रोग लागेको छ भने डाक्टरले गामा ग्लोब्युलिनको सुई लिने सल्लाह दिन सक्छन्। यो गामा ग्लोब्युलिन रोगविरुद्ध लड्ने क्षमता भएका मानिसहरूको रगतको प्लाज्माबाट निकालिन्छ। कुनै-कुनै प्रकारका भाइरल इन्फेक्सन र क्यान्सरको उपचारमा प्रयोग गरिने इन्टरफेरोन र इन्टरल्युकिन सेता रक्तकोषबाट बनाइएको हुन सक्छ।
के ख्रीष्टियनहरूले रगतका सूक्ष्म तत्त्वहरू प्रयोग हुने उपचारविधि स्वीकार्न मिल्छ? बाइबलले यसबारे विस्तृत वर्णन नगर्ने हुँदा हरेक ख्रीष्टियनले परमेश्वरसामु आफ्नै अन्तस्करण अनुरूप निर्णय गर्नुपर्छ। कोही-कोहीले कुनै पनि सूक्ष्म तत्त्वहरू नलिने निर्णय गर्छन्। किनभने तिनीहरू यस्तो तर्क गर्छन्: परमेश्वरले इस्राएललाई दिएको व्यवस्थामा कुनै प्राणीबाट झिकेको रगत “भुइँमा पोखाइदिनू” भन्नुभएको छ। (व्यवस्था १२:२२-२४) अरूले भने रगत अनि त्यसका मूल तत्त्वहरू नलिने तर त्यसका सूक्ष्म तत्त्वहरू समावेश भएको उपचार विधि स्वीकार्ने निर्णय गर्छन्। तिनीहरूको तर्कअनुसार यदि कुनै प्राणीको रगतबाट सूक्ष्म तत्त्वहरू निकालिन्छ भने ती सूक्ष्म तत्त्वहरूले त्यस प्राणीको जीवनलाई प्रतिनिधित्व गर्दैन।
रगतका सूक्ष्म तत्त्वबारे निर्णय गर्दा कृपया निम्न प्रश्नहरू विचार गर्नुहोस्: रगतका कुनै पनि सूक्ष्म तत्त्व लिन अस्वीकार गर्नुको अर्थ रोगका किटाणुहरूसित लड्न मदत पुऱ्याउने रगतका सूक्ष्म तत्त्वबाट बनाइएका केही खास प्रकारका औषधीहरू अनि रक्तस्राव रोक्न सहयोग गर्ने तत्त्वहरू पनि लिन इन्कार गर्नु हो भनेर के मैले राम्ररी बुझेको छु? रगतको कुनै खास सूक्ष्म तत्त्व किन लिन चाहन्नँ वा किन लिन चाहन्छु भनेर के म चिकित्सकलाई चित्तबुझ्दो जवाफ दिन सक्छु?
शल्यक्रिया विधि। यसमा हेमोडाइलुसन र सेल साल्भेज समावेश छ। हेमोडाइलुसन गर्दा रगतलाई ब्यागमा भरेर त्यसको ठाउँमा रक्तविहीन भोलुम एक्सपान्डर (रगतको मात्रा बढाउने झोल) शरीरमा पठाइन्छ। शल्यक्रिया गर्दा सेल साल्भेज प्रविधिले रगतलाई सोस्ने अनि खेर गएको रगतलाई फेरि शरीरभित्रै पठाउने काम गर्छ। शल्यक्रिया गर्न घाउ पारेको ठाउँ वा त्यसकै वरपरबाट रगत सोसिन्छ। त्यसपछि रगतलाई धोएर वा छानेर शरीरभित्रै पठाइन्छ। यो विधि डाक्टरअनुसार फरक हुन सक्छ। त्यसैले यससम्बन्धमा आफ्नो डाक्टरको धारणा कस्तो छ भनेर ख्रीष्टियनहरूले सोध्नुपर्छ।
यी विधिहरूबारे निर्णय गर्दा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘मेरो रगत शरीरबाट बाहिर पठाएर फेरि शरीरभित्रै पठाइन्छ र त्यसरी रगत शरीरभित्र पठाउनुअघि कहिलेकाहीं रगतको बहावलाई एकछिन रोकेर पनि राखिन्छ भने के मेरो अन्तस्करण त्यसलाई स्वीकार्न तयार हुन्छ? अथवा रगतको बहावलाई त्यसरी एकछिन मात्र भए पनि रोकेपछि, त्यसलाई ‘भुइँमा पोखाइदिनुपर्छ’ भन्ने मेरो धारणा छ कि? (व्यवस्था १२:२३, २४) उपचारको सिलसिलामा मेरो रगत निकालेर त्यसमा औषधी मिसाएर पुनः शरीरभित्र पठाइएको खण्डमा के मेरो बाइबल-प्रशिक्षित अन्तस्करण विचलित हुन्छ? आफ्नै रगत प्रयोग हुने सबै उपचार इन्कार गर्नुको मतलब रक्त-परीक्षण, हेमोडाइलसिस अथवा मुटु/फोक्सोको काम गर्ने यन्त्रहरू (हार्ट-लङ मेसिन) प्रयोग गर्न समेत अस्वीकार गर्नु हो भनेर के मैले राम्ररी बुझेको छु?
शल्यक्रिया गर्दा आफ्नो रगत कसरी प्रयोग गरिने हो भनेर कुनै ख्रीष्टियन आफैले निर्णय गर्नै पर्छ। यही सिद्धान्त उपचारसम्बन्धी परीक्षण अथवा आधुनिक थेरापी गर्दा पनि लागू हुन्छ। यसमा आफ्नो रगत निकालेर त्यसमा औषधी मिसाएर पुनः शरीरभित्र पठाइनु पनि समावेश छ।