पाठ १५
तपाईँले यहोवाबारे सिक्न किन छोड्नु हुँदैन?
१. बाइबल अध्ययन गर्न नछोड्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?
यस पुस्तिकाबाट बाइबलका आधारभूत शिक्षा सरसर्ती केलाउँदा यहोवाप्रतिको तपाईँको प्रेम पक्कै बढेको हुनुपर्छ। यो प्रेम अझै बढाउन मेहनत गरिरहनुपर्छ। (१ पत्रुस २:२) तपाईँले अनन्त जीवन पाउने कि नपाउने भन्ने कुरा बाइबल अध्ययन गरेर उहाँको नजिक हुनुहुन्छ कि हुनुहुन्न, त्यसैमा निर्भर छ।—युहन्ना १७:३; यहुदा २१ पढ्नुहोस्।
तपाईँ परमेश्वरको ज्ञानमा जति बढ्दै जानुहुन्छ, तपाईँको विश्वास त्यति नै बलियो हुँदै जानेछ। परमेश्वरलाई खुसी पार्न विश्वासले तपाईँलाई मदत गर्छ। (हिब्रू ११:१, ६) यसले तपाईँलाई पश्चात्ताप गर्न र जीवनमा आवश्यक छाँटकाँट गर्न झकझक्याउँछ।—प्रेषित ३:१९ पढ्नुहोस्।
२. आफूले सिकेको कुरा तपाईँ कसरी अरूको फाइदाको लागि प्रयोग गर्न सक्नुहुन्छ?
तपाईँ यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्नुहुन्छ
निश्चय पनि आफूले सिकेको कुरा तपाईँ अरूलाई बताउन चाहनुहुन्छ। सुसमाचार हामी सबैलाई सुनाउन चाहन्छौँ नि, होइन र? बाइबल अध्ययन गर्दै जाँदा तपाईँले यहोवा र सुसमाचारमाथिको आफ्नो विश्वासबारे बताउन बाइबल चलाउने तरिका सिक्नुहुनेछ।—रोमी १०:१३-१५ पढ्नुहोस्।
धेरैजसोले सुरु-सुरुमा आफ्ना साथीहरूलाई र नातेदारहरूलाई सुसमाचार सुनाउँछन्। तर तिनीहरूको धर्म गलत हो भन्नुको सट्टा परमेश्वरको प्रतिज्ञाबारे कुरा गर्नुहोस्। नबिर्सनुहोस्, तपाईँले भनेको कुराबाट भन्दा तपाईँले गरेको दयालु व्यवहारबाट मानिसहरू धेरै प्रभावित हुन्छन्।—२ तिमोथि २:२४, २५ पढ्नुहोस्।
३. तपाईँ परमेश्वरसित कस्तो सम्बन्ध गाँस्न सक्नुहुन्छ?
परमेश्वरको वचन अध्ययन गरेर तपाईँ उहाँलाई अझ राम्ररी चिन्दै जान सक्नुहुन्छ। अन्ततः तपाईँ यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्नुहुन्छ। वास्तवमा तपाईँ उहाँको परिवारको सदस्य हुन सक्नुहुन्छ।—२ कोरिन्थी ६:१८ पढ्नुहोस्।
४. तपाईँ कसरी उन्नति गर्दै जान सक्नुहुन्छ?
परमेश्वरको वचन अध्ययन गर्न छोड्नुभएन भने उहाँसितको तपाईँको सम्बन्ध अझ प्रगाढ हुँदै जानेछ। (हिब्रू ५:१३, १४) यहोवाको कुनै एक जना साक्षीलाई ‘म बाइबल अध्ययन गर्न चाहन्छु’ भन्नुहोस्। तिनले तपाईँलाई बाइबलले हामीलाई के सिकाउँछ? किताबबाट सिकाउनेछन्। परमेश्वरको वचनबाट जत्ति धेरै सिक्दै जानुहुन्छ, तपाईँको जीवन त्यत्ति नै सफल हुनेछ।—भजन १:१-३; ७३:२७, २८ पढ्नुहोस्।
सुसमाचार आनन्दित परमेश्वर यहोवाबाट आउँछ। यहोवाका जनहरूसँग नजिक भएर तपाईँ उहाँको नजिक हुन सक्नुहुन्छ। (हिब्रू १०:२४, २५) यहोवालाई खुसी पार्न निरन्तर प्रयास गर्दा तपाईँ साँच्चैको जीवन अर्थात् अनन्त जीवन पाउन अघि बढिरहनुभएको हुनेछ। परमेश्वरको नजिक हुनु तपाईँले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो।—१ तिमोथि १:११; ६:१९ पढ्नुहोस्।