प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr chap. ३ pp. ३२-३८
  • यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य किन चाहियो?
  • यहोवा राज्यसम्बन्धी सत्य कुरा प्रकट गर्न थाल्नुहुन्छ
  • परमेश्‍वरको उद्देश्‍यबारे येशूले थप कुरा बताउनुहुन्छ
  • “अन्तको समय”-मा साँचो ज्ञान प्रशस्त हुन्छ
  • बुझाइमा छाँटकाँट हुँदा परमेश्‍वरका जनहरूको परीक्षा हुन्छ
  • हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • “पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”
    यहोवासित नजिक हुनुहोस्‌
  • ख१ बाइबलको सन्देश
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr chap. ३ pp. ३२-३८

अध्याय ३

यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

यहोवा आफ्नो भय मान्‍ने मानिसहरूलाई मात्र आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ, तर क्रमैसँग

१, २. यहोवा आफ्नो उद्देश्‍य कसरी प्रकट गर्नुहुन्छ?

पूरै परिवारलाई असर गर्न सक्ने विषयमा छलफल गर्नुपर्दा मायालु आमाबाबुले छोराछोरीलाई पनि बोलाउँछन्‌। तर तिनीहरूले आफ्ना छोराछोरीलाई सबै कुरा बताउँदैनन्‌। छोराछोरीले बुझ्न सक्ने कुरा मात्र तिनीहरू बताउँछन्‌।

२ त्यसैगरि यहोवा परमेश्‍वरले पनि आफ्ना मानव छोराछोरीलाई आफ्नो उद्देश्‍य क्रमैसँग प्रकट गर्नुभएको छ। तर उहाँले ठीक समयमा मात्र आफ्नो उद्देश्‍य प्रकट गर्नुभएको छ। यहोवाले आफ्नो राज्यसम्बन्धी सत्य कुरा कसरी प्रकट गर्दै आउनुभएको छ, छोटकरीमा विचार गरौं।

परमेश्‍वरको राज्य किन चाहियो?

३, ४. के यहोवाले मानिसजातिको भविष्य पहिल्यै कोर्नुभएको थियो? व्याख्या गर्नुहोस्‌।

३ यहोवाले मानिसजातिको भविष्य पहिल्यै कोर्नुभएको थिएन। त्यसैले मसीही राज्य स्थापित गर्ने वास्तवमा उहाँको सुरुको उद्देश्‍य थिएन। आदम र हव्वाको सृष्टि गरेपछि उहाँले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभएको थियो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्प. १:२८) यो नै उहाँको सुरुको उद्देश्‍य थियो। तर उहाँले मानिसहरूलाई आफ्नो इच्छाअनुसार रोज्ने अथवा निर्णय गर्ने क्षमता पनि दिनुभएको थियो। त्यसैले असल र खराबबारे परमेश्‍वरले तोक्नुभएको स्तर तिनीहरूले पालन गरेको उहाँ चाहनुहुन्थ्यो। (उत्प. २:१६, १७) आदम र हव्वाले वफादार रहने छनौट गर्न सक्थे। तिनीहरू र तिनीहरूका सन्तानले यसो गरेका भए परमेश्‍वरको उद्देश्‍य पूरा गर्न उहाँको राज्यको आवश्‍यकता नै पर्ने थिएन। अहिले संसारभरि परमेश्‍वरको उपासना गर्ने त्रुटिरहित मानिसहरू मात्र हुने थिए।

४ सैतान, आदम र हव्वाले विद्रोह गरे भन्दैमा यहोवाले आफ्नो उद्देश्‍य त्याग्नुभएन। बरु त्रुटिरहित मानिसहरूले पृथ्वी भर्ने आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले अर्कै बाटो रोज्नुभयो। उहाँको उद्देश्‍य रेलगाडीजस्तो होइन। आफ्नो गन्तव्यमा पुग्न रेलगाडी एउटै मात्र लिकमा हिंड्‌छ र अरूले ठक्कर दियो भने लिकबाट उछिट्टिएर दुर्घटना हुन सक्छ। यहोवाले एकचोटि ठान्‍नुभएपछि ब्रह्‍माण्डको कुनै शक्‍तिले त्यसलाई पूरा हुनदेखि रोक्न सक्दैन। (यशैया ५५:११ पढ्‌नुहोस्‌) कुनै कारणवश एउटा बाटो बन्द भयो भने यहोवाले अर्कै बाटो रोजेर आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ।a (प्रस्थ. ३:१४, १५) आफ्नो उद्देश्‍य पूरा गर्न नयाँ बाटो रोज्नुहुँदा उहाँ आफ्ना वफादार सेवकहरूलाई उचित समयमा त्यसबारे बताउनुहुन्छ।

५. अदनको बगैंचामा विद्रोह भएपछि यहोवाले के गर्नुभयो?

५ अदनको बगैंचामा विद्रोह भएपछि यहोवाले एउटा राज्य खडा गर्ने उद्देश्‍य राख्नुभयो। (मत्ती २५:३४) मानव इतिहासको त्यस अन्धकारमय घडीमा यहोवाले आशाको किरण छरेर त्यस अन्धकारलाई बिस्तारै चिर्न थाल्नुभयो। कसरी? उहाँले एउटा माध्यम तयार पार्नुभयो। त्यो माध्यम परमेश्‍वरको राज्य थियो। त्यही माध्यमले मानिसजातिलाई फेरि पहिलेकै अवस्थामा फर्काउने थियो। अनि शक्‍ति हत्याउने सैतानको व्यर्थ प्रयासले निम्त्याएको सबै हानिको क्षतिपूर्ति गर्ने थियो। (उत्प. ३:१४-१९) उहाँको यत्ति राम्रो उद्देश्‍य भए तापनि यहोवाले सबै कुरा त्यति नै बेला खुलाउनुभएन।

यहोवा राज्यसम्बन्धी सत्य कुरा प्रकट गर्न थाल्नुहुन्छ

६. यहोवाले के प्रतिज्ञा गर्नुभयो तर उहाँले कुन कुरा खुलाउनुभएन?

६ यहोवाले आफ्नो पहिलो भविष्यवाणीमा नै एउटा खास “सन्तान”-ले सर्पलाई नाश गर्नेछ भनेर प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति ३:१५ पढ्‌नुहोस्‌) तर त्यो सन्तान कसको सन्तान हो र सर्पको सन्तानले कसलाई चित्रण गर्छ भनेर यहोवाले त्यतिबेला सबै कुरा खुलाउनुभएन। भन्‍ने हो भने, झन्डै २,००० वर्षपछि मात्र उहाँले त्यसबारे अरू कुरा बताउनुभयो।b

७. यहोवाले अब्राहामलाई किन रोज्नुभयो? यसबाट हामी के सिक्छौं?

७ अब्राहामको वंशबाट प्रतिज्ञा गरिएको सन्तान आउनेछन्‌ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो। उहाँले अब्राहामलाई रोज्नुभयो किनभने तिनी उहाँको “वचन पालन” गर्थे। (उत्प. २२:१८) हामी यसबाट एउटा महत्त्वपूर्ण पाठ सिक्छौं। त्यो हो, उहाँको भय मान्‍नेहरूलाई मात्र यहोवा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ।—भजन २५:१४ पढ्‌नुहोस्‌।

८, ९. यहोवाले अब्राहाम र याकूबलाई सन्तानबारे कस्ता कुरा प्रकट गर्नुभयो?

८ यहोवाले स्वर्गदूतमार्फत आफ्नो मित्र अब्राहामसित प्रतिज्ञा गर्नुहुँदा एउटा महत्त्वपूर्ण कुरा प्रकट गर्नुभयो। त्यो हो, मानिसकै सन्तानले सर्पको शिर कुच्याउने थिए। (उत्प. २२:१५-१७; याकू. २:२३) तर ती सन्तानले कसरी सर्पको शिर कुच्याउने थिए? सर्प को थियो? यी प्रश्‍नको जवाफ पछि प्रकट हुने थियो।

९ त्यसपछि यहोवाले अब्राहामको नाति याकूबलाई रोज्नुभयो। तिनले यहोवामाथि बलियो विश्‍वास देखाए। तिनकै वंशबाट त्यो सन्तान आउनेछन्‌ भनेर उहाँले तिनलाई भन्‍नुभयो। (उत्प. २८:१३-२२) त्यसपछि यहोवाले त्यो सन्तान याकूबको छोरा यहूदाको वंशबाट आउनेछन्‌ भनेर याकूबमार्फत प्रकट गर्नुभयो। यहूदाको उक्‍त सन्तानले “राजदण्ड” पाउनेछन्‌ र “मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌” भनेर याकूबले भविष्यवाणी गरे। (उत्प. ४९:१, १०) यस भविष्यवाणीमार्फत यहोवाले प्रतिज्ञा गरिएको सन्तान राजा हुने थिए भनेर बताउनुभयो।

१०, ११. यहोवाले किन आफ्नो उद्देश्‍य दाऊद र दानियललाई प्रकट गर्नुभयो?

१० यहोवाले यहूदालाई रोजेको झन्डै ६५० वर्ष बितेपछि राजा दाऊदलाई छान्‍नुभयो। दाऊद पनि यहूदाकै वंशका थिए। तिनी यहोवाको “मन मिल्ने मानिस” थिए। (१ शमू. १३:१४; १७:१२; प्रेषि. १३:२२) त्यसैले उहाँले आफ्नो उद्देश्‍यबारे तिनलाई अझ धेरै कुरा प्रकट गर्नुभयो। तिनी परमेश्‍वरको भय मान्‍ने व्यक्‍ति भएकोले उहाँले तिनीसित एउटा करार पनि बाँध्नुभयो। तिनका सन्तानमध्ये एक जनाले सधैंभरि शासन गर्नेछन्‌ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो।—२ शमू. ७:८, १२-१६.

११ उक्‍त अभिषिक्‍त जन अर्थात्‌ मसीह पृथ्वीमा ठ्याक्क कहिले देखा पर्नेछन्‌, झन्डै ५०० वर्षपछि यहोवाले भविष्यवक्‍ता दानियलमार्फत प्रकट गर्नुभयो। (दानि. ९:२५) दानियल यहोवाको नजरमा “अति प्रिय मानिस” थिए। किन? किनभने दानियल यहोवाको गहिरो आदर गर्थे र तिनले वफादार भएर उहाँको सेवा गरिरहे।—दानि. ६:१६; ९:२२, २३.

१२. दानियललाई के गर्न लगाइयो र किन?

१२ सर्पको शिर कुच्याउने सन्तान अर्थात्‌ मसीहबारे थुप्रै जानकारी लेख्न यहोवाले दानियल अनि अरू वफादार भविष्यवक्‍ताहरूलाई चलाउनुभयो। तर तिनीहरूले लेखेका कुरा यहोवाका जनहरूले बुझेनन्‌। किनभने यहोवाले त्यतिबेला यसको अर्थ बुझाइराख्नु उचित सम्झनुभएन। उदाहरणको लागि परमेश्‍वरको राज्य स्थापित हुने समयबारे दानियललाई दर्शन दिनुभएपछि बेला नभएसम्म त्यसलाई छाप लगाएर बन्द गर्न लगाउनुभयो। भविष्यमा साँचो ज्ञान ‘प्रशस्त हुने’ बेला आएपछि उहाँले त्यो भविष्यवाणीको अर्थ प्रकट गर्नु हुने थियो।—दानि. १२:४, NW.

[पृष्ठ ३४-मा भएको चित्र]

यहोवाले मसीही राज्यसम्बन्धी कुराहरू लेख्न दानियलजस्ता वफादार मानिसहरूलाई चलाउनुभयो

परमेश्‍वरको उद्देश्‍यबारे येशूले थप कुरा बताउनुहुन्छ

१३. (क) प्रतिज्ञा गरिएको सन्तान को थियो? (ख) उत्पत्ति ३:१५ को भविष्यवाणीबारे येशूले के भन्‍नुभयो?

१३ प्रतिज्ञा गरिएको सन्तान, दाऊदको वंश अनि सधैंभरि शासन गर्ने राजा येशू नै हुनुहुन्छ भनेर यहोवाले छर्लङ्‌ग पार्नुभयो। (लूका १:३०-३३; ३:२१, २२) येशूले प्रचार गर्न सुरु गर्नुभएपछि ज्योति उदाएझैं भयो। मानिसहरूले परमेश्‍वरको उद्देश्‍यबारे धेरै कुरा बुझ्न थाले। (मत्ती ४:१३-१७) उदाहरणको लागि सैतान नै उत्पत्ति ३:१४, १५ को “साँप” हो भनेर येशूले पर्दाफास गर्नुभयो। उहाँले त्यसलाई “हत्यारा” र “झूटको बुबा” भन्‍नुभयो। (यूह. ८:४४) त्यसैगरि यूहन्‍नालाई दिनुभएको दर्शनमा येशूले त्यो “पुरानो सर्प” “दियाबल अनि सैतान” हो भनेर चिनाउनुभयो।c (प्रकाश १:१; १२:९ पढ्‌नुहोस्‌) त्यसै दर्शनमा येशूले उत्पत्ति ३:१५ मा प्रतिज्ञा गरिएको सन्तानको रूपमा उहाँले कसरी अदनको बगैंचामा गरिएको भविष्यवाणी पूरा गर्नुहुन्छ अनि सैतानलाई सदाको लागि नाश गर्नुहुन्छ भनेर प्रकाश पार्नुभयो।—प्रका. २०:७-१०.

१४-१६. के प्रथम शताब्दीका चेलाहरूले येशूले बताउनुभएको सबै कुरा बुझे? बताउनुहोस्‌।

१४ येशूले परमेश्‍वरको राज्यबारे धेरै कुरा बताउनुभएको थियो भनेर यस किताबको अध्याय १ मा हामीले छलफल गरेका थियौं। तर उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा बताउनुभएन। कुनै खास विषयमा उहाँले केही बताउनुभए तापनि त्यसको पूरै अर्थ तिनीहरूले पछि र कुनै-कुनै अवस्थामा त सयौं वर्षपछि मात्र बुझे। केही उदाहरण विचार गर्नुहोस्‌।

१५ इस्वी संवत्‌ ३३ मा येशूले परमेश्‍वरको राज्यको राजालाई सघाउने शासकहरू पृथ्वीबाट छानिनेछन्‌ भनेर प्रस्ट पार्नुभयो। तिनीहरू पुनर्जीवित भएर स्वर्गमा जानेछन्‌ भनेर पनि उहाँले बताउनुभयो। तर यी सबै कुरा चेलाहरूले त्यतिबेला बुझेनन्‌। (दानि. ७:१८; यूह. १४:२-५) त्यही वर्ष येशूले आफू स्वर्ग जानेबित्तिकै परमेश्‍वरको राज्य स्थापित हुनेछैन भनेर बुझाउन एउटा उदाहरण बताउनुभएको थियो। (मत्ती २५:१४, १९; लूका १९:११, १२) तर चेलाहरूले यो महत्त्वपूर्ण कुरा बुझेनन्‌। त्यसैले येशू ब्यूँतनु भएपछि तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न गरे: “के तपाईंले इस्राएलमा परमेश्‍वरको राज्य अहिले पुनर्स्थापित गर्न लाग्नुभएको हो?” तर येशूले त्यतिखेर यसको जवाफ दिनुभएन। (प्रेषि. १:६, ७) साथै येशूले उहाँको “अरू भेडा” पनि छन्‌ भनेर बताउनुभयो। तिनीहरू “सानो बगाल”-का भाग नभएकोले उहाँसँगै शासन गर्ने थिएनन्‌। (यूह. १०:१६; लूका १२:३२) सन्‌ १९१४ मा राज्य स्थापित भइसकेको धेरै समय बितिसकेपछि मात्र येशूका अनुयायीहरूले यी दुई समूहबारे राम्ररी बुझे।

१६ पृथ्वीमा हुँदा येशूले आफ्ना चेलाहरूलाई अझ धेरै कुरा सिकाउन सक्नुहुन्थ्यो। तर तिनीहरूले ती कुरा बुझ्न सक्दैनन्‌ भनेर उहाँलाई थाह थियो। (यूह. १६:१२) हो, प्रथम शताब्दीमा परमेश्‍वरको राज्यसम्बन्धी थुप्रै ज्ञान प्रकट गरियो। तर ज्ञान प्रशस्त हुने बेला अझै भइसकेको थिएन।

“अन्तको समय”-मा साँचो ज्ञान प्रशस्त हुन्छ

१७. राज्यसम्बन्धी सत्य कुरा बुझ्न हामीले के गर्नै पर्छ? तर यसको लागि के पनि चाहिन्छ?

१७ “अन्तको समय”-मा धेरै जना “यता र उता जानेछन्‌” र परमेश्‍वरको उद्देश्‍यसम्बन्धी “साँचो ज्ञान” प्रशस्त हुनेछ भनेर यहोवाले दानियललाई बताउनुभएको थियो। (दानि. १२:४, NW) त्यो ज्ञान प्राप्त गर्न चाहने मानिसले कडा मेहनत गर्नुपर्छ। एउटा किताबअनुसार “यता र उता जानेछन्‌” भनेर अनुवाद गरिएको हिब्रू क्रियाले कुनै किताबलाई एक-एक शब्द केलाएर जाँच्नु भनेर पनि बुझाउँछ। तर हामीले बाइबलको कुरा जत्ति नै राम्ररी जाँचे तापनि यहोवाले नबुझाउनु भएसम्म राज्यसम्बन्धी सत्य कुरा प्रस्ट बुझ्न सक्दैनौं।—मत्ती १३:११ पढ्‌नुहोस्‌।

१८. यहोवाको भय मान्‍नेहरूले कसरी विश्‍वास र नम्रता देखाएका छन्‌?

१८ सन्‌ १९१४ सुरु हुनअघि यहोवाले राज्यसम्बन्धी थुप्रै सत्य कुरा क्रमिक रूपमा प्रकट गर्नुभयो। अहिले अन्तको समयमा पनि उहाँले त्यसै गरिरहनुभएको छ। बितेको सय वर्षमा परमेश्‍वरका जनहरूले थुप्रै चोटि आफ्नो बुझाइमा छाँटकाँटहरू गर्नुपरेको छ। यसबारे हामी अध्याय ४ र ५ मा सिक्नेछौं। तिनीहरूसित यहोवाको अनुमोदन नभएकोले यसरी बारम्बार छाँटकाँट गर्नु परेको पक्कै पनि होइन। तिनीहरूले परमेश्‍वरको समर्थन पाएका छन्‌। किनभने तिनीहरूले उहाँलाई मन पर्ने दुई वटा गुण देखाएका छन्‌। ती हुन्‌, विश्‍वास र नम्रता। (हिब्रू ११:६; याकू. ४:६) परमेश्‍वरको वचनमा भएका सबै प्रतिज्ञा पूरा हुनेछन्‌ भनेर परमेश्‍वरका सेवकहरू विश्‍वास गर्छन्‌। ती प्रतिज्ञाहरू कसरी पूरा हुनेछन्‌ भन्‍नेबारे आफूले बुझेको कुरा गलत थियो भनेर थाह पाउँदा तिनीहरू नम्र भई त्यो स्वीकार्छन्‌। मार्च १, १९२५ को प्रहरीधरहरा-मा यहोवाका जनहरूले यस्तै नम्र मनोवृत्ति प्रकट गरेको पाउँछौं: “प्रभु आफैले अर्थ खुलाउनुहुन्छ भनेर हामीलाई थाह छ। उहाँले उचित समयमा उचित ढङ्‌गले आफ्नो वचनमा भएका कुराहरूको अर्थ बुझाउनुहुन्छ।”

“प्रभु आफैले . . . उचित समयमा उचित ढङ्‌गले आफ्नो वचनमा भएका कुराहरूको अर्थ बुझाउनुहुन्छ”

१९. (क) यहोवाका जनहरू कहिलेकाहीं किन गलत निष्कर्षमा पुगे? (ख) यहोवाले अहिले कुन कुरा बुझ्ने मौका दिनुभएको छ र किन?

१९ सन्‌ १९१४ मा राज्य स्थापित हुँदा परमेश्‍वरका जनहरूले राज्यसम्बन्धी भविष्यवाणीहरू कसरी पूरा हुनेछन्‌ भनेर पूरै बुझिसकेका थिएनन्‌। (१ कोरि. १३:९, १०, १२) परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको हेर्ने तीव्र इच्छाले गर्दा तिनीहरूले कहिलेकाहीं गलत निष्कर्ष निकालेका छन्‌। माथि उल्लिखित प्रहरीधरहरा-मा अर्को एउटा कुरा पनि बताइएको थियो, “कुनै भविष्यवाणी पूरा नभएसम्म वा पूरा हुने क्रममा नभएसम्म हामी त्यसको अर्थ बुझ्न सक्दैनौं भन्‍नु उचित छ।” यो कुरा साँचो हो भनेर हामीले वर्षौंदेखि देख्दै आएका छौं। अहिले हामी अन्तको दिनको अन्तिम चरणतिर पुगिसक्यौं। त्यसैले राज्यसम्बन्धी थुप्रै भविष्यवाणी पूरा भइसकेका छन्‌ वा पूरा हुने क्रममा छन्‌। परमेश्‍वरका जनहरूले नम्र भई आफ्नो सोचाइमा छाँटकाँट गरेको हुनाले यहोवाले हामीलाई उहाँको उद्देश्‍य अझ राम्ररी बुझ्ने मौका दिनुभएको छ। साँचो ज्ञान साँच्चै प्रशस्त भएको छ!

बुझाइमा छाँटकाँट हुँदा परमेश्‍वरका जनहरूको परीक्षा हुन्छ

२०, २१. प्रथम शताब्दीका ख्रीष्टियनहरूले आफ्नो बुझाइमा छाँटकाँट गर्नुपर्दा तिनीहरूको कसरी जाँच भयो?

२० बाइबलको कुनै शिक्षा यहोवाले अझ राम्ररी बुझाउनुहुँदा हामीले आफ्नो सोचाइमा छाँटकाँट गर्नुपर्ने हुन्छ। त्यतिखेर हाम्रो मनको जाँच हुन्छ। के हामी विश्‍वास र नम्रता देखाउँदै छाँटकाँट गर्न तयार हुन्छौं? प्रथम शताब्दीका ख्रीष्टियनहरूले त्यस्तै गर्नु परेको थियो। कल्पना गर्नुहोस्‌, तपाईं त्यतिखेरको यहूदी ख्रीष्टियन हुनुहुन्छ। तपाईं मोशाको व्यवस्थालाई गहिरो आदर गर्नुहुन्छ अनि आफू यहूदी भएकोमा गर्व गर्नुहुन्छ। तर एक दिनको कुरा हो तपाईंले प्रेषित पावलले परमेश्‍वरको प्रेरणा पाएर लेखेका पत्रहरू पाउनुहुन्छ। ती पत्रहरूमा यस्तो लेखिएको रहेछ: मोशाको व्यवस्था अबदेखि पालन गर्नुपर्दैन; यहोवाले जन्मजात इस्राएलीहरूलाई तिरस्कार गर्नुभयो र त्यसको सट्टा आध्यात्मिक इस्राएल गठन गर्नुभयो; अब यहूदी मात्र होइन अन्यजातिका मानिसहरू पनि यहोवाको इस्राएलका भाग हुन्‌। (रोमी १०:१२; ११:१७-२४; गला. ६:१५, १६; कल. २:१३, १४) अब तपाईं के गर्नुहुन्छ?

२१ परमेश्‍वरको प्रेरणा पाएर पावलले लेखेका कुराहरूलाई नम्र ख्रीष्टियनहरूले स्वीकारे र तिनीहरूले आशिष्‌ पनि पाए। (प्रेषि. १३:४८) कतिपयले विरोध गरे र आफ्नो सोचाइ परिवर्तन गर्न चाहेनन्‌। (गला. ५:७-१२) ज-जसले आफ्नो सोचाइ परिवर्तन गरेनन्‌, तिनीहरूले ख्रीष्टसितै शासन गर्ने सुअवसर गुमाए।—२ पत्रु. २:१.

२२. परमेश्‍वरको उद्देश्‍यसम्बन्धी हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्दा तपाईं के गर्नुहुन्छ?

२२ बितेको दस-पन्ध्र वर्षमा यहोवाले राज्यसम्बन्धी थुप्रै कुराहरू अझ राम्ररी बुझ्न हामीलाई मदत गर्नुभएको छ। जस्तै: बाख्राहरूको माझबाट भेडाहरूलाई अलग पारेजस्तै राज्यको सुसमाचार सुन्‍न नचाहने मानिसहरूको माझबाट उहाँका प्रजालाई कहिले अलग पारिनेछ? एक लाख चवालीस हजारका सबै सदस्य जम्मा गरिने काम कहिले सिद्धिनेछ? येशूले बताउनुभएका राज्यसम्बन्धी दृष्टान्तहरूको अर्थ के हो? अनि अभिषिक्‍त जनहरूमध्ये पृथ्वीमा बाँकी रहेका अन्तिम सदस्य कहिले स्वर्ग जानेछन्‌?d यस्ता विषयहरूमा हामीले आफ्नो बुझाइमा छाँटकाँट गर्नुपर्दा तपाईं त्यसलाई कसरी लिनुहुन्छ? के त्यस्तो छाँटकाँटले गर्दा तपाईंको विश्‍वास पहिलेभन्दा झन्‌ बलियो भएको छ? यहोवाले अहिले पनि आफ्ना नम्र जनहरूलाई सिकाउँदै हुनुहुन्छ भन्‍ने कुरामा के तपाईं पहिलेभन्दा झनै विश्‍वस्त हुनुभएको छ? यदि छ भने यसपछिका अध्यायहरूमा यहोवाले उहाँको भय मान्‍ने मानिसहरूलाई आफ्नो उद्देश्‍य कसरी क्रमिक रूपमा प्रकट गरिरहनु भएको छ भन्‍ने कुरा बुझ्न पाउँदा तपाईंको विश्‍वास झनै बलियो हुनेछ।

a परमेश्‍वरको नाम “गराउनु” भन्‍ने अर्थ भएको हिब्रू क्रियाबाट आएको हो। त्यसैले यहोवा नामले उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर बुझाउँछ। अध्याय ४ मा भएको “परमेश्‍वरको नामको अर्थ” शीर्षकको पेटी हेर्नुहोस्‌।

b हामीलाई २,००० वर्ष अहिले धेरै लामो लागे पनि त्यतिबेलाका मानिसहरूको आयु लामो हुन्थ्यो भनेर हामीले बिर्सनुहुँदैन। आदम जिउँदो छँदा नूहको बुबा लेमेक जन्मिसकेका थिए। त्यसैगरि लेमेक जिउँदो छँदा नूहको छोरा शेम जन्मिसकेका थिए। अनि शेम जिउँदो छँदा अब्राहाम पनि जन्मिसकेका थिए।—उत्प. ५:५, ३१; ९:२९; ११:१०, ११; २५:७.

c मूल हिब्रू धर्मशास्त्रमा “सैतान” भन्‍ने शब्द १८ चोटि चलाइएको छ। तर ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा भने ३० चोटिभन्दा धेरै चलाइएको छ। हिब्रू धर्मशास्त्रमा सैतानलाई अनावश्‍यक महत्त्व नदिई मसीहको परिचयमा ध्यान दिनु उपयुक्‍त छ। मसीह आउनुभएपछि उहाँले सैतानको पूरै पर्दाफास गर्नुभयो, जुन कुरा ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा पाइन्छ।

d थप जानकारीको लागि प्रहरीधरहरा, अक्टोबर १५, १९९५, पृष्ठ २३-२८; जनवरी १, २००८, पृष्ठ २१-२५; जुलाई १, २००८, पृष्ठ २५-२९; जुलाई १५, २०१३, पृष्ठ ९-१४ हेर्नुहोस्‌।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • के सुरुमै मसीही राज्य स्थापित गर्ने उहाँको उद्देश्‍य थियो? बताउनुहोस्‌।

  • येशूले परमेश्‍वरको राज्यबारे अझ धेरै कुरा कसरी खुलाउनुभयो?

  • कस्ता गुणहरू विकास गऱ्‍यौं भने परमेश्‍वरको राज्य हामीलाई वास्तविक लाग्नेछ?

यहोवा क्रमिक रूपमा आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्छ

  1. आदम र हव्वा

    ईसापूर्व ४०२६

    आदमको सृष्टि

    पछि यहोवा सर्पको शिर कुच्याउने सन्तान पठाउने प्रतिज्ञा गर्नुहुन्छ

  2. अब्राहाम

    ईसापूर्व १९४३

    अब्राहाम

    ती सन्तान अब्राहामको वंशबाट आउनेछन्‌

  3. जन्म: ईसापूर्व १८५८

    याकूब

  4. ईसापूर्व १७११ तिर

    यहूदा

    ती सन्तान राजा हुनेछन्‌ भन्‍ने प्रतिज्ञा

  5. दाऊद

    ईसापूर्व १०७० तिर

    दाऊद

    ती सन्तान दाऊदको वंशबाट आउनेछन्‌ र तिनले सधैंभरि शासन गर्नेछन्‌

  6. दानियल

    ईसापूर्व ५३९ तिर

    दानियल

    ती सन्तान अर्थात्‌ मसीह पृथ्वीमा ठ्याक्क कहिले देखा पर्नेछन्‌, यहोवा भविष्यवक्‍ता दानियलमार्फत प्रकट गर्नुहुन्छ

  7. येशू

    इस्वी संवत्‌ ३३

    येशू

    येशूले परमेश्‍वरको राज्यको राजालाई सघाउने शासकहरू पृथ्वीबाट छानिनेछन्‌ भनेर प्रस्ट पार्नुभयो; तिनीहरू पुनर्जीवित भएर स्वर्गमा जानेछन्‌ भनेर पनि उहाँले बताउनुभयो

  8. इस्वी संवत्‌ १९१४

    अन्तको समय

    परमेश्‍वरको राज्यको ज्ञान प्रशस्त हुन थाल्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने